panama.sweat-face

तापमान

पसिनाले नुहाउँदा पनि
शीतल हुन नसकेको यो जुनी !

पिंजडा

राप र तापको आहारा लिंदै
सूर्यको हातमा झुन्डिरहेछ पृथ्वी
यो गोलघर वरिपरि फन्का मारिरहेछन् सबै 
रिंगटामग्न छ समय ।

राहत

भोकमरी र खडेरीग्रस्त बस्तीमा
सरकारको जोडदार योजना -
घरघरमा शौचालय ।

माछा

पानीमा माछाहरु लुकिडुम खेल्दैनन्
कोही लुक्दैनन्
केही लुकाउँदैनन्
कोही कोलम्बस हुँदैन
कोही डुम हुँदैन
माछाहरु केवल माछा भएर बाँच्छन्
माछाहरु पानीमा पानीकै चश्माले हेर्छन् ।

बर्खा

परेलाको छाता ओढे पनि
कताबाट बाछिटाले भेट्छ-भेट्छ
डुबानमा पर्छन् आँखा
नानीहरु मानौं उद्धारको पर्खाइमा कालो-फुस्रो हुँदै
टुक्रुक्क बस्छन् दुई टापुमा ।

----------------------------------------------------
Pic Source :
www.toddlawsonphoto.com