जनकवि दुर्गालाल श्रेष्ठ (जन्म १९९२ साउन कृष्ण एकादशी) पनि बिदा भए। साउन ३१ गते आइतबार राति ९३ वर्षको उमेरमा उनको निधन भएछ। नेपाल र नेपाली भाषा-साहित्यका अग्रणी स्रष्टामध्ये एक उनको ‘फूलको आँखामा फूलै संसार’ चर्चित गीति सिर्जना हो। नेपाल भाषा परिषद्ले ‘जनकवि’ को उपाधि दिएपछि उनलाई साहित्यिक वृत्तमा यसबाटै सम्बोधन गर्न थालियो।
यी स्रष्टासँग मैले पनि भेटघाट गर्ने अवसर पाएको थिएँ, २०७३ साउनमा। पत्रकारिता कर्मको सिलसिलामा तिनताका ठमेलस्थित उनको निवासमै गएर संवाद गरेको थिएँ। उनको घर जलेको केही दिनपछि आगलागी र अन्य विषयमा कुरा भएको थियो। यही कुराकानी फिचर लेखमा बुनेको थिएँ। २७ साउन २०७३ मा अनलाइनखबरमा प्रकाशन भएको थियो।
त्यही सामग्री जनकविप्रति श्रद्धासुमनस्वरूप यहाँ प्रस्तुत छ:
काठमाडौँको व्यस्त बजार ठमेलको नरसिंहचोक नजिकै चिबहालमा कवि दुर्गालाल श्रेष्ठ सपरिवार घर पखाल्न र पुछपाछ गर्नमा व्यस्त थिए। ध्वाँसोका कारण सबैका कर्मशील हात कालै देखिन्थे। ‘आगोको आँखामा आगै संसार’ भनेजस्तै दृश्य थियो त्यहाँ।
नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको घरमा आइतबार (साउन २३, २०७३) आगलागी भयो।
म बुधबार त्यहाँ पुग्दा धूवाँको गन्ध अझै आलै थियो।
पाँचतले घरको भुइँतलादेखि नै तिखो गन्ध र अस्तव्यस्त अवस्थाले आगोको विनाशलीला बताइरहेको थियो।
दुर्गालालले आगलागीबाट के-कति क्षति भयो भन्ने हरहिसाब अहिलेसम्म
केलाउन भ्याएका छैनन्। वर्षौंदेखिको उनको साहित्यिक संग्रहालयमा आगोले मिनेटभरमै ध्वंश
मच्चायो। संग्रहालयमा उनले जीवनभर पाएका सम्मानपत्र, प्रकाशित
कृतिहरू, चित्र र फोटो, धातुका
मूर्तिहरू लगायत थिए। कागजी सामग्री जम्मै नष्ट भए। धातुका मूर्तिलगायत एकाध सामान
जोगिए।
आगोको भयानक रिस देखे उनले। मिनेटभरमै सिङ्गो घर जलाउने!
उनी यो घडीमा के गरुँ र कसो गरुँ भन्ने अशान्त मनस्थितिमा छन्। न मन
हल्का छ, न त आँसु नै झर्न सकेको छ।
‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जकले भक्कानिएको
मनको हालत बताए, “मेरो यति नाश भो भनेर अझसम्म पनि ठम्याउन
सकेको छुइनँ। अहिले त मूर्च्छितजस्तै छु। सायद सबै बुझिसकेपछि भक्कानो छोडेर मैले
रुने बेला आउला।”
उनलाई अझै पनि आगलागी हुँदैछ कि जस्तो लागिरहेको छ। छोराहरूको
व्यवसाय चौपट भएकोमा पीर उत्तिकै छ।
आगोले
हार्यो
घरको भुइँतलामा छोराहरू सुमन र सुरजले दुई दशकदेखि कपडा, जुत्ता, ब्यागलगायत हस्तकलाको पसल चलाउँदै आएका थिए।
त्यही पसलबाट आगलागी सुरु भएको थियो। बिजुली सट भएर लागेको आगोबाट पसलका सामान
स्वाहा भए।
पसलको बिमा नगरिएकाले के-कसो गर्ने भन्ने छोराहरूको चिन्ता छ।
त्योभन्दा पनि ठूलो चिन्ता छ, बुबाको संग्रहालय जलेकोमा।
व्यवसाय त फेरि लागीमेली गर्दा फर्किएला, जलेका मान-सम्मानपत्र
र साहित्यिक मूल्यका सामानहरू अब दुरुस्त आउने छैनन्।
त्यो दिन आगलागी हुँदा दुर्गालालले एकैसाथ दुःख र सुखको अनुभूति
सँगाले।
उनको घर नयाँ र पुरानो एकैसाथ जोडिएको छ। अगाडिपट्टिको ४५ वर्ष
पुरानो र पछाडिको अलिक नयाँ। बिहान साढे नौ बजेतिर उनी पुरानो घरको सुत्ने कोठाबाट
तातोपानी लिन नयाँ घरतिर बढ्दै थिए। बीचको कौसीमा डम्म धूवाँ भरिएको देखे। धूवाँले
निसास्सिएर निल्लाजस्तो भयो। बीचमा रहेको भेन्टिलेसनबाट हावाले आगोको लप्का
ह्वारह्वारी माथितिर फैलाइरहेको थियो।
आगो लाग्यो भन्ने थाहा भएपछि हत्तपत्त निस्किन खोजे पनि धूवाँको
कुइरीमण्डलमा मेसो भएन। जसोतसो छोरा र अन्य सहयोगीले आमा-बुबालाई निकालेर छिमेकको
घरमा पुर्याए। घरका महिला र केटाकेटीहरू ज्यान जोगाएर कोही दायाँतिरको छिमेकमा
थिए, कोही बायाँतिर। उनी सम्झन्छन्, “अरुले सघाइदिएकाले धन्न उम्किन सक्यौँ हामी। नत्र त यहीँ भष्म हुन्थ्यौँ।”
छरछिमेकका मान्छे र दमकलको झन्डै डेढ घण्टाको प्रयासमा आगो साम्य भयो। दनदनी सल्किएको आगोले पूरै घर खरानी होला भन्ने सोचिरहँदा सबै हितैषीको सरसहयोगले आगो निभेपछि यसलाई धन्य मानिरहेका छन्, दुर्गालाल।
कोही आगो निभाउन धपेडीमा थिए, कोही सरसामानको
सुरक्षाका निम्ति पहरेदार भएर खटिएका थिए। कतिसम्म भने, ठिमी
र पाटनदेखिका मान्छे आएर आगो निभाउन सघाइरहेका थिए।
“विपत्ति भनेको योभन्दा बढी देख्न पाएको थिइनँ
जिन्दगीमा। तर, विपत्ति भोगिरहेकै क्षणमा मैले ठूलो सुखको
अनुभूति गर्न पाएँ,” दुःखभित्रबाट सुखानुभूति खोज्ने प्रयास
गर्दै कवि हृदय खोलेर दुर्गालालले भने, “टोल, छरछिमेक र साथीसँगातीहरूको माया, आत्मीयता, सहानुभूतिको अगाडि आगोले हार्यो।
साथीहरूको त्यो आत्मीय प्रेम नै मेरो सर्वस्व हो, जुन
कहिल्यै नष्ट हुँदैन।”
यसरी साथीहरूबाट पाएको आत्मीयता आफ्नै आचरणका कारण कमाएको सम्पत्ति
लाग्छ उनलाई। सबैसँग आत्मीय किसिमले घुलमिल हुन्छन्।
घर जले पनि मर्मत र रङरोगन गरेर बस्न मिल्ने अवस्थाको छ। छिटै आगो
निभाएकाले पुरानो घरतिर आगो फैलिन पाएन।
फूलको आँखामा फूलै संसार देख्ने दुर्गालाल आशावादी जीवनदर्शन बोकेका
कवि हुन्। त्यसैले त उनले आफ्नो घर जलिरहँदा पनि इष्टमित्रको सहयोग र सहानुभूतिलाई
आगोले चहर्याएको घाउ बिसेक गराउने मल्हम सम्झेका छन्।
संग्रहालयमा राखिएका पुस्तकहरू त आगोले सखाप नै भए। त्यो कोठासँगैको
छोरीको कोठामा रहेको कम्प्युटरमा उनका आधा दर्जनभन्दा बढी अप्रकाशित कृतिको
पाण्डुलिपि थियो।
त्यसलाई पनि आगोले खायो कि भन्ने दुर्गालालको ठूलो डर थियो। त्यो
नष्ट नहोस् भनेर केही दिनयता भगवान् पुकारिरहेका थिए। तर, कम्प्युटरको हार्डडिस्क दुरुस्तै रहेको थाहा पाएपछि उनले यसलाई ‘बचेको
सम्पत्ति’ मानेका छन्।
बचेको सम्पत्तिमध्ये उनको आफ्नै मूर्ति पनि छ। जुन पाटनका कलाकार
राजेश अवालेको निर्देशनमा उनैका शिष्यहरूले वसन्तपुरमा बनाएका थिए।
पाँच सय
गीतका सर्जक
सात-आठ वर्ष भयो, दुर्गालालका हात काम्न थालेका छन्। उनले लेख्न छाडेका छन्।
बोलेको कुरा छोरी सुचिताले कम्प्युटरमा टाइप गर्ने र जगेर्ना गर्दै आएकी छिन्।
यदाकदा आफैँले कलम समाउन सक्दा त्यसलाई झटपट सदुपयोग गर्दै छोटा सिर्जना कोर्छन्।
यी दुई गीतकार/संगीतकारको जोडी कतिसम्म जमेको छ भने, ‘फूलको आँखामा फूलै संसार’ गीत हिट भएयता ट्युनिङमै गीत जन्माइरहेका छन्।
‘फूलको आँखा’ मा पनि धुन सुनेर जम्मा ५/७ मिनेटभित्र लेखेका थिए उनले। भन्छन्, “चर्चित गीत पनि थोरै समयमा तयार हुन्छ, कुनै गीत
भने धेरै समय लाग्दा पनि अर्थ न बर्थको हुन्छ।”
तर, उनलाई आफू आशु कवि हुँ भन्ने लाग्दैन। उनको विचारमा
छिटो लेख्न सक्नु कुनै गुण होइन। सिर्जना समयसापेक्ष हुनु महत्त्वपूर्ण कुरा हो।
घरको हैन, अधिकारको कुरा
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले घरमै आएर दुर्गालाललाई
सान्त्वना दिए। कविको घर जल्दा दुःख लागेको भन्दै सरकारको तर्फबाट सहयोग गर्ने
आश्वासन समेत दिए। तर, दुर्गालालले व्यक्तिगत कुरा गरेनन्। वर्षौंदेखि
आफूले उठाउँदै आएको जातीय र भाषिक समानताको कुरा झिके।
राज्य व्यवस्थाका कारण जातीय र भाषिक असमानता कायम रहेको भन्नेमा
उनको असन्तुष्टि रहेछ। आफूलाई जातीय मुक्ति आन्दोलनको सांस्कृतिक सिपाही भन्दै
उनले प्रधानमन्त्रीसँग सदियौंदेखिको जातीय असमानता हटाउनुपर्यो भनेर आग्रह गरे।
क्रान्तिकारी र अध्यात्मिक गीत/कविता लेख्दै आएका उनले प्रशस्त बाल
गीत र कविता पनि लेखेका छन्। लेखनमा किसान र शोषित-पीडितका कुरा लेखेका छन्।
आमजनताकै कथा-व्यथा लेखेकोले उनलाई नेपाल भाषा परिषद्ले २०६० सालमा ‘जनकवि’ उपाधिबाट सम्मान
गरेको थियो।
दुर्गालाल नेपाली र नेपाल भाषा दुवैमा साहित्य सिर्जना गर्छन्। तर, उनी आफूलाई मातृभाषाका लेखक मान्छन्। पछिल्लो समय भने नेपाली भाषामै बढ्ता
सिर्जना गरिरहेका छन्।
यस्तो किन त? उनी सुनाउँछन्, “राज्य व्यवस्थाले विभेद गरेकोले नै मातृभाषाको लेखनमा सुस्तता आएको हो।
बहुभाषिक र बहुजातीय देशमा राज्य संकीर्ण नभएर सबै भाषा-संस्कृतिलाई ठाउँ दिए पो
समानता हुनेथ्यो।”
पछिल्लो समय नेपाल भाषाको लेखाइ कम गरे पनि उनका तीन दर्जनभन्दा बढी
पुस्तक नेपाल भाषामै प्रकाशित छन्। नेपालीमा भने बाल साहित्य र अन्य गरी एक
दर्जनभन्दा बढी कृति निस्किएका छन्।
भाषिक-सांस्कृतिक आन्दोलनमा २०२२ सालदेखि नै लागेका उनी यो आन्दोलन
अहिले सुक्खा जस्तो देखिए पनि भित्रभित्रै बगिरहेको बताउँछन्। सांस्कृतिक
आन्दोलनका क्रममा एक समय उनी साहित्यिक र सांस्कृतिक कार्यक्रमको टोलीमा काठमाडौँका
विभिन्न ठाउँका साथै बिराटनगर, हेटौँडा, वीरगञ्जसम्म पुगेका थिए।
त्यही भाषिक आन्दोलनका कारण नेपाल भाषामा धेरै स्रष्टाहरू जन्मिएको
उनको ठहर छ।। “नेपाल भाषामा कलम चलाउनेहरू पहिले जस्तो धेरै देख्दिनँ, तर लेखिरहेकाहरूमध्ये गुणात्मक लेख्नेहरू बढ्दै छन्,”
उनी खुसी मान्छन्।
प्रौढहरूको लागि पनि गीत र कविता लेखे पनि उनी बालबालिकाका प्रिय
लेखक हुन्। बालसाहित्यकार हुनुमा कन्या मन्दिर हाइस्कुलमा साढे दुई दशक पढाएको
अनुभव निकै उपयोगी भएको छ। त्यसमा स्कुलका हेडसर केदारनाथ न्यौपानेको गुन
बिर्सिनसक्नुको मान्छन्। ब्राह्मण भए पनि उनी कस्ता भने, मातृभाषामा लेख्नु जस्तो ठूलो कुरा अरु केही हुँदैन भनेर दुर्गालाललाई
प्रेरणा दिन्थे।
अहिले बसेको घर पनि उनै हेडसर केदारनाथको अग्रसरताले बनेको रहेछ।
न्हैकन्तला टोलमा भएको उनको घर साँघुरो र होचो देखेपछि २०२६ सालमा स्कुलमै सरसहयोग
जुटाउने काम भयो। आठ हजार रुपैयाँ पाए दुर्गालालले। त्यो रकमले चिबहालमा जग्गा
किनेर घर बनाए। २०२८ सालमा बिते गुरु केदारनाथ।
हाल ८१ वर्षमा हिँडिरहेका दुर्गालालले आफ्ना प्रेरकलाई पुरानै
दिनहरूबाट सम्झिएँ, “घर बनेपछि मैले एक दिन झ्यालबाट बिहानपख घाम
झुल्किँदा सूर्यमै हेडसरलाई देखेँ। उनीप्रति मेरो श्रद्धाभाव त्यतिसम्म रहेछ।”
चित्त शुद्ध होस्
घर जल्दा अति प्रिय के कुरा नष्ट भयो? उनले
यत्रतत्र छरिएका कुरा हेर्न र बुझ्नै बाँकी छ।
यतिबेला भने उनले आफ्नै दरिद्र चित्तलाई दयनीय देखिरहेका छन्। भएछ के
भने, आगलागी भएको दिन ज्यान जोगाएर छिमेकीको घरमा
बसिरहँदा उनको दिमागमा अरु केही कुरा आएन। एउटा गीत लेखेवापत कसैले दिएको सात हजार
रुपैयाँ कमिजको खल्तीमा कोठाभित्र राखेका थिए, एक्कासी त्यही
सम्झिए।
घरै नाश भएर संसारै गयो भनेर दुःख मनाउनुपर्ने बेला लोभी मन पैसामा
टाँसिएको थियो। आफ्नो द्रव्यमोह देखेर थकथक मान्दै भने, “घर सखाप हुन लागेको बेलामा आगोले त्यो पैसा केही भयो कि भन्ने पो पीर
थियो मलाई। ए बाबा, त्यस्तो पनि कहीँ पीर हुन्छ?”
आफूलाई आरोपित गर्दै मानवीय लोभी-पापी मनको पत्र पल्टाए उनले। त्यति
बेला उनलाई आफू अझसम्म शुद्ध हुन पाएको छैन भन्ने लागेछ।
अघिदेखि बुद्धको तस्वीरमुनि गफिइरहेका छन् दुर्गालाल। बुद्धकै आशिष
थापेर चित्त शुद्धिको कामना गरिरहेका छन्। यही ठाउँमा बसेर कुनैबेला उनले गीत
फुराएकै थिए –
चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्।



0 Comments