April 7, 2008

अर्को घनचक्कर

निबन्ध

गुरुकुलमा सञ्जीव उप्रेतीको "घनचक्कर" उपन्यास नाटकमा मञ्चन हुँदै गर्दा म काठमाडौँको चिसो समय नियाल्दै "अर्को घनचक्कर" लेख्दै छु । चितवनका 'हाम्रो मझेरी' सम्पादक पुष्प अधिकारी 'अञ्जली' को मित्रवत् धम्कीलाई खेप्न नसकेर पनि कनिकुथ्न थालेको हो । नत्र ...... भन्ने शब्द फेरि दूरभाषबाट सुन्नुपर्छ । एकपटक सम्पादकको संगतमा के पर्नुपर्छ, अनि थाहा लाग्छ लेख्न कति गाह्रो र नाम जोगाउन कति साह्रो । होइन भने पत्रिकाको भित्री आवरणमा छापिने आफ्नो नामले आफैंलाई गिज्याउँछ । अनि शब्दहरूको वाणले ब्रम्हास्त्र खेप्नुभन्दा थाहा हुन्छ, पुष्प अधिकारी 'अञ्जली' को स्नेहपूर्ण धम्की चर्को कि ब्रम्हास्त्र चर्को ?

दृश्य १
लेख्न नपरे हुनेजस्तो लाग्ने आजकल मलाई लेखी टोपल्ने भन्नु पर्ला । कति गाह्रो साथ लेख्यो, कुखुरीले अण्डा खसाले जस्तो । साथी भाइलाई, ए हैन साथी बहिनीहरूलाई सुनायो "कटकट कट्यास" गर्दै अनि ........। छापिएर आइपुगुन्जेल लेखेको कुरो अर्थात् अण्डा त कहिले पोच, कहिले अमलेट, कहिले ब्वाइल भइसक्छ । कहिले पात्रको नाम बदलिन्छ, कहिले अनुच्छेद, कहिले हरफ नै फेरिन्छ, रायमाझी आयोगको प्रतिवेदन बदलिएझैं । नाम 'समृद्धि शायद' नै तोडमरोड हुन्छ कहिलेकाहीँ । अस्ति भर्खरको मात्र अनुभव 'अन्तराल' शीर्षकको कथा छपाउन एक अग्रजबाट सहयोग रहृयो । सहृदयी अग्रजलाई मेरो कथाको संतापले छोएनछ पक्कै पनि । भएछ के भने कथा थियो नारीवादी, सम्पादक र कम्प्युटरमा परे पुरुष मित्र अनि कथाको त पूरै सत्यानाश । अर्को पटकको लागि मैले नै कान समातेँ अहँ ! परेन लेख्न कथासथा भनेर । कति पटक त मसम्म आइपुग्ने पत्रिकाहरूको व्यथा देखेर पनि अत्यास लाग्छ । रेडियो प्रसारक मित्रहरूको टेबलमा चाङका चाङ साहित्यिक पत्रिका र संग्रहहरूको बिल्लीबाठ त्यस्तै । संग्रहको नाम कुरा चल्नासाथ कागजको सत्यानाश भन्छन् मेरा मित्र । कहिलेकाहीँ मलाई पनि गिज्याउनुहुन्छ - "तिमी मरेपछि नरकमा जान्छौ, पक्का ।" वन फँडानीको पाप मलाई पनि लाग्छ रे, तर संग्रह निकाल्नेहरूजत्तिको चाहिँ होइन है ।

दृश्य २
त्यही भएर हिजोआज लेख्ने जाँगर पटक्कै लाग्दैन । लेखे पनि बिजुली पत्रिका (वेबसाइट) हरूमा लेखी टोपल्छु । फेरि मेरो भनेर पढिदिनेहरू नै कति होलान् । साँच्चै भनूँ भने म आफैं पनि मेरा आफ्नो सिर्जना छापिएको पत्रिकालाई मात्र काखी च्याप्छु भने । चिनाजानका अग्रजहरुबाट प्राप्त हुने, निगाह हुने पत्रिकाहरू, संग्रहहरू हात पार्दा भनाइहरू पनि कानमा पर्छन् । "अलि नाम चलेकाहरुको पो पढ्नु, जसले पनि थमाइदिन्छन् अनि के गर्नु ? यता नाम चलिसकेका, बिकिसकेकाहरूको बेग्लै चिन्ता । संग्रह निकाल्न कम सजिलो छ र ! पाण्डुलिपिको छायाकपी भूमिकाको लागि बुझाउँदैमा हैरान । प्रकाशकहरू त्यस्तै चुतिया (माफ गर्नुहोला भाषा जस्ताको त्यस्तै राखेको मात्र) । बजार व्यवस्थापन, विक्री दुवैको कारण संकट निम्त्याउनु पर्छ । हरे शिव ! लेखक र लेख्नेको हविगत, कठैबरा नभनी सुख पाइँदैन । दैनिक, साप्ताहिक, पत्रिका पढ्न त समय नभ्याउने अब कहाँ साहित्यिक पत्रिका पढ्नु फुर्सद रे । म स्वयम्‌को कुरो गर्ने हो भने पनि 'आवश्यकता' नै प्राथमिकतामा पर्छ । हातमुख जोर्ने चिन्ताले नछोड्नेहरूको लागि के पत्रिका, के सिर्जना, के साहित्य ! कामको मार दिनभर रहन्छ, अलिकति बचेखुचेको समय पढाइ र घरपरिवारसँग । अनि कहाँ हुनु नयाँ सिर्जनात्मक अभिव्यक्ति ।

अर्को अनुच्छेदको लागि चुट्किला नै रमाइलो होला भन्ठान्छु है । क्याम्पसको वातावरणमा सुनिने यस प्रकारको चुट्किलाहरूले कतिदिन सम्म मुस्काउन सहयोग गर्छ । 'निद्रा नलाग्ने रोग लागेकाहरूको उपज हो साहित्य' कि प्रेममा परेकाहरूले मात्र 'सिर्जना' गर्छन् । नत्र अरुबेला भ्याउन्न, राती त त्यही २ किसिमहरूका लागि हो । अरुबेला त निद्रा परिहाल्छ नि त होइन र ! सुख, मज्जा र खुसी भएकाहरूलाई कहाँ नपर्नु र निद्रा .......... कुम्भकर्ण पनि कम पर्छ त्यस्ताका लागि ।

दृश्य ३
मेरा मित्र 'धरातल' धेरै दिनपछि कुपण्डोलको पुलछेउ भेटिए । म लोटस बुक सपमा अल्वेयर कामुको 'वह पहला आदमी' हिन्दी अनुवादको खोजीपश्चात किताब च्यापेर संसार जितेझैं भावमा फर्कंदै थिएँ । मित्र डिस्केट हातमा लिएर रणभूमितर्फ प्रस्थानमा, तेस्रो गजल संग्रहमा भूमिका प्राप्त गर्न भिड्न पूर्ण तयारीकासाथ । उही कुरो के 'स्यालको सिकारमा बाघको सरजाम' का साथ बाँकी कुरा आफैं-आफैं आफ्नै सार र अर्थ लाउनुहोला । अर्को नवमित्र हुनुहुन्छ- जोतारे धाइबा, लेख्न र बोल्नमा सराबरी खप्पिस । यी दुवैको संगतमा पर्नेहरूलाई थाहा हुनुपर्छ लेख्न, लेखाउन र छपाउन कति कसरत गर्नुपर्छ भनेर । कहिलेकाहीँ म पनि अचम्ममा कति धेरै पर्छु भनेर कुन अचम्म ठूलो भनेर छान्न अचम्मैको घोत्लिनुपर्छ । हुन जान्छ के भने, एउटै लेखकको उही कृति तीन-तीनवटासम्म फरक-फरक हातबाट सप्रेम उपहार बन्न आइपुग्छ । सायद मेरो भाग्य ठूलै भएर होला निधार यतिविघ्न ठूलो र मसँग पुस्तक उपहार पठाउने मित्रहरूको संख्या पनि अरुभन्दा बढी नै भएको । बिचरा किताबहरू पनि मबाट पढिन पालो कुर्नुपर्ने । कहिलेकाहीँ बिर्सने बानीले त किनिसकेको र रहेको पुस्तक पनि 'किनेर-बोकेर' ल्याइन्छ ।

यस्तो विघ्न इतिवृत्तान्त थाहा पाउँदापाउँदै म फेरि किन लेखूँ ? सबै लेख्ने भए पढ्ने को ? कमसेकम एउटा राम्रो पाठक बनेर निस्कनु पनि त नराम्रो होइन क्यारे ! मैले पनि कतै पढेकी थिएँ- एउटा राम्रो लेखक हुनुभन्दा सयौं गुणा गाह्रो एउटा राम्रो पाठक हुनु हो ।
- कोटेश्वर, काठमाडौं ।

1 comment:

  1. Of course, writing an article is not an effortless task but too much of pessimism is not there too! As a playwright or essayist, you are right in analyzing the issue but those are intentionally hopping from one to another without proper link on them. Otherwise, your style is so cute and topic relevant.

    ReplyDelete