September 7, 2024

गीतको कथा- 'म मरेको पल...' (वीरेन्द्र राई)

वीरेन्द्र राई
गीतकार वीरेन्द्र राईले सात सयभन्दा बढी गीत लेखिसकेका छन्। सयौं गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २६ वर्षयता बेलाबेला झस्काइरहन्छ। मुटु असह्य हुने गरी रेटिरहन्छ। खोटाङबाट काठमाडौं आएर राईले गीत–संगीतमा राम्रो नाम कमाए। घर–गृहस्थीमा आफ्नै संसार सृष्टि गरेर अघि बढे। तर, एक समयमा पत्रमित्र साथी हुँदै प्रेमिका बनेकी पात्रले उनलाई उही तरुनो बेलामा पुर्‍याइदिइन्। बैंसमा प्रेमको भुङ्ग्रोमा परेर छटपटाएका गीतकार राईले सफल गीत र असफल प्रेमको दुःखान्त किस्सा यसरी सुनाएः

सानो छँदा रेडियो नै सञ्चारको एकमात्र साधन थियो । रेडियो नेपालबाट गीतहरू सुन्ने क्रममा आफू पनि यस्तै गाउन पाए कस्तो हुन्थ्यो भन्ने रहर पलाउँथ्यो । त्यसबेला लेखक–कवि बन्छु भन्ने एक मनमा पनि थिएन।

२०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ । गायक बन्छु भन्ने सोच मनभरि थियो । गायक बन्नलाई सुरतालको अनेक ज्ञान चाहिने रहेछ भन्ने बुझेपछि यो बाटो मेरो होइन भन्ने लाग्यो । बरु कवि–लेखकहरूसँग सरसंगति बढ्दै जाँदा गीत र कविता लेख्न थालेँ।

‘म मरेको पल’ करिब २७ वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि भइरहँदा गीतकारको मन गदगद हुन्छ । यो गीत लेखिनुमा कारुणिक विगत छ।

२०४० सालताका साथीभाइसँग सम्पर्क गर्ने माध्यम चिठीपत्र नै थियो । मोबाइल फोन त परको कुरा, ल्यान्डलाइन फोन पनि सहज भइसकेको थिएन । त्यो बेला पत्रमित्रताकै जमाना थियो।

म पूर्व–पश्चिमका नयाँ–नयाँ साथीसँग पत्रमित्रता निकै गर्थें । गोरखापत्र संस्थानबाट छापिने युवामञ्च पत्रिकामा पत्रमित्र बन्नका लागि शिक्षा, उमेर, रुचि र सम्पर्क ठेगानासहित फोटोहरूको सूची नै छापिएर आउँथ्यो ।

त्यसै क्रममा पत्रमित्र स्तम्भमा चितवन टाँडी ठेगाना भएकी अस्मिता थापा (क्षेत्री) नाम गरेकी केटीलाई देखेँ । उनको रुचि पनि साहित्य र संगीत देखेपछि विचार मिल्ने देखेँ । चिठी पठाएँ।

चिठी आदानप्रदान बढ्दै गएर हामी राम्रो पत्रमित्र भयौं । चिठी आदानप्रदानको क्रम दुई–तीन वर्ष चल्यो । म त्यसबेला ल क्याम्पसमा पढ्दै थिएँ । उनी चितवनमा आईएड सकेर बीएड पढ्न राजधानीमै आइन् । हाम्रो भेट भयो । झन् घनिष्ट साथी भयौं।

त्यतिबेला म वानेश्वरमा दिदीको घरमा बस्थेँ । अस्मिता चाहिँ बागबजारमा डेरा लिएर बस्थिन् । हाम्रो घनिष्टता बढेसँगै उनी बेलाबेला वानेश्वर आउन थालिन् । मेरो दिदीसँग पनि उनको राम्रो घुलमिल भयो । बिस्तारै परिवारकै सदस्य जस्तो भइन् । कुनैबेला त हप्ता–दस दिनसम्म पनि हाम्रैमा बस्थिन्।

दिदी र हाम्रै छिमेकमा बस्ने दिदीकी मितिनीले उनलाई हाम्रो भाइसँग विवाह गर्नुपर्छ है भनेर जिस्क्याउँदा रहेछन् । अस्मिता लजाउँदै त्यसै मक्ख पर्दिरहिछन् । म त आफ्नै तालमा बहकिएर हिँड्ने अल्लारे पाराको थिएँ । उनलाई विशुद्ध साथी मात्र ठानेकाले त्यस्तो केही सोचेकै थिइनँ । दिदीहरूको कारण हाम्रो चर्चा झ्यांगिन थालेपछि एकदिन मैले उनलाई सोधेँ, ‘के हो कुरा, हामी साँच्चै विवाह गर्न सक्छौं त ?’ उनले घरमा सोध्नुपर्छ भन्ने जवाफ दिइन्।

सम्बन्धबारे आपसमा कुरा भएपछि हामी डेटिङ जान थाल्यौं । तर, अचेलको जस्तो दुईजना मात्र होइन । डेटिङ जाँदा कहिले उनको साथी, कहिले मेरा साथीहरू साथै हुन्थे।

२०४३–४४ सालतिर अन्तरजातीय विवाहका लागि हाम्रो समाज आजको जस्तो उदार थिएन । उनी फेरि सेनाको कर्णेलकी छोरी रहिछन् । पछि उनी चितवन (घर) गइन् । उनले विवाहका लागि घरबाट अनुमति मिलेन भन्ने खबर पठाइन् । अनि मलाई लाग्यो, यो त खासमा प्रेम नै होइन रहेछ।

सुरुमा साथी मात्र सम्झेर त्यति ख्याल नगर्दा मलाई वास्तै थिएन । तर, हामीबीच बिहेबारीसम्मको कुरा हुन थालेपछि म त प्रेम मानेर एकोहोरिन थालिसकेको थिएँ । भर्खर २४ वर्षको पट्ठो थिएँ । दुखेको मन पोख्दै मैले उनलाई अन्तिम चिठी लेखेँ–

प्रिय अस्मिता,
अशेष प्यार ।
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू ।

– तिम्रो वीरेन ।

चिठीको जवाफ आएन । सम्बन्धको धागो त्यत्तिकै चुँडियो । चिठीका ती पंक्तिलाई पछि मैले गीतको रूपमा लेखेँ । गीत ०४५/४६ सालतिर सुरेश अधिकारीको स्वर र संगीतमा रेकर्ड भएर रेडियोमा बज्न थाल्यो । रेडियो नेपालको फर्मायशी कार्यक्रममा निकै बजिरहन्थ्यो।

अकस्मात् एक दिन नेपाल टेलिभिजनमा अस्मिताले बागबजारमा झुन्डिएर आत्महत्या गरेको खबर आयो । ०४७ सालको घटना हो यो । मैले गीतमा आफू मर्ने कुरा लेखेको थिएँ, उनको मृत्युको खबर सुन्नुपर्‍यो  ! आत्महत्या गर्दा उनले आफ्नो लुगाभित्र मैले लेखेका चिठी, मसँग खिचाएका फोटोहरू राखेको भेटिएछ । उनले ‘यो जुनीमा त तिम्रो हुन सकिनँ, अर्को जुनीमा हुने वाचाका साथ बिदा’ भन्ने आशयसहितको आफ्नो अन्तिम चिठी पनि छाडेकी रहिछन्।

रेडियोमा ‘म मरेको पल’ गीत बज्ने क्रममा उनले पनि सुनेकी रहिछन् । गीत सुनेर व्यग्र भए पनि परिवार नमानेकाले फर्किएर आउने हिम्मत गर्न नसकेको र आफू अरु कसैको हुन नसक्ने देखेपछि आत्महत्या गरेको कुरा पनि उनले चिठीमा लेखेकी थिइन्।

खासमा उनी पनि मलाई अति नै प्रेम गर्थिन् । तर, आफ्नो परिवार र समाजसँग जुध्न सकिनन् । बीचमा उनले घर–परिवारमा के–कस्तो अवस्थाको सामना गर्नुपर्‍यो, फोन सम्पर्कको माध्यम नभएकाले मैले बुझ्न पनि पाइनँ।

उनको मृत्युपछि निकै विरही भएर काठमाडौंका सडकहरूमा भौंतारिएँ । उनी नमरेकी भए हाम्रो विवाह हुन पनि सक्थ्यो होला, समयको लेखा न हो । मैले लेखेका सयौं गीतका पाठक र श्रोता बन्ने थिइन् । तर, केटीहरूप्रतिको मेरो उदासीनताका कारण मैले समयमै उनको प्रेम चिन्न सकिनँ र त्यसका लागि आवश्यक जोड गरिनँ।

‘लभ ट्राजेडी’ को पराकाष्ठा हो यो गीत । रेडियो नेपालको गीतिकथामा हरिभक्त कटुवालले लेखेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ पछि यो गीत बढी बज्थ्यो । यसमा गर्व लाग्छ । रेकर्ड भएका मेरा चार सयजति गीतमा यही गीतले मलाई बढी चिनाएको छ।

०५१ सालमा मैले भोजपुरकी तारा राईसँग बिहे गरेँ । उनी कवि/गीतकार भूपाल राईकी दिदीकी छोरी हुन् । भोजपुरमा जाँदा उनीमाथि आँखा परेपछि बिहेको कुरो चल्यो । पछि तारासँग मागी बिहे नै भयो । बिहेपछि श्रीमतीलाई मेरो विगतको प्रेम भन्दै अस्मिताको कुरा सुनाएको थिएँ । श्रीमतीसँग आफ्नो विगतको कुरामा पारदर्शी हुनुपर्छ भन्ने सोचेर सबै सुनाएँ।

श्रीमतीलाई भने यो कुराले नराम्रो लागेछ । उनी सामान्य ठाकठुक परेको बेला अझै पनि ‘आखिरमा म त कान्छी पो रै’छु’ भनेर गुनासो जस्तो गर्छिन् । म भने विगतको प्रेम र दुःखद घटना सम्झेर भक्कानिन्छु।

 -----------------
गीत: म मरेको पल

म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू।

विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ, ढलाइदिन सक्छौ
आश्वासनको वाचा बदलिदिन सक्थ्यौ, भुलाइदिन सक्छौ
निरस यो सपना रित्तो छ जीवन
बदनामी पिँजडा कैदी छ यो मन
म मरेको पल … ।

व्यथालाई समेटी विस्मृतिमा भुल्छु, उदासीमा डुब्छु
रंगिएको सिउँदो भ्रान्तिभित्रै रम्छु, तरंगमा झुम्छु
सुकेको पलाँसलाई वसन्तले के भो
यो पागल तिमीले नचिने’नि के भो

म मरेको पल … ।

रचना : वीरेन्द्र राई
स्वर/संगीत : सुरेश अधिकारी

No comments:

Post a Comment