January 6, 2025

मानसिक स्वास्थ्य


मानसिक स्वास्थ्यको विषयमा कुनै दिन सोचिएला, लेखिएला भन्ने कहिल्यै लागेको थिएन। मानसिक समस्या मैले नसोचे पनि सायद जीवनका कतिपय मोडमा भोगेको कुरा हुन सक्छ। तर, त्यो अस्वस्थता मानसिक स्वास्थ्य समस्या नै थियो कि थिएन भन्ने स्पष्ट भइएन। यसै कारण यसबारे खासै मतलब पनि गरिएन। तर, बुझ्दै आउँदा यो निकै संवेदनशील विषय र स्वास्थ्यको एउटा अभिन्न हिस्सा रहेछ।

विगतमा जीवनको एउटा कालखण्डमा निकै निराश थिएँ म। किशोरवयको सिमाना काट्दै गर्दा वर्तमानको असन्तुष्टि र भविष्यको अनिश्चितताले मन-मगजलाई हदै गहिरो दलदलमा जाकेको थियो। खुइय्य गर्दा पनि बीसको उन्नाइस नहुने गरी पिरो सासले छाती पोलिराख्थ्यो।

त्यो समय पटकपटक आत्महत्याको विचार आउँथ्यो। आफ्नै सोच देखेर डर लाग्थ्यो। तर, फेरि चरम उदासीले तान्दैतान्दै त्यही सोचको अँध्यारो ओढारतिर लैजान्थ्यो।

मभित्र चलेको त्यस्तो हुन्डरीबारे मेरा स्वजन र निकटस्थहरूलाई के पत्तो! यसै पनि हामीकहाँ घरपरिवार र समाजमा मानसिक स्वास्थ्य भन्ने कुरा पनि हुन्छ है भन्नेबारे हेक्का नै छैन। बाहिरी चोटपटक मात्र देख्ने आँखाहरूले अदृश्य घाउ र दुखाइबारे अनुमानसम्म गर्दैनन्। मभित्र पनि सायद मनोभाव बुझ्न नसक्ने परिवारकै दबाबका कारण मानसिक घाउ हुर्किंदै गएको थियो, जुन पारिवारिक उपेक्षाकै मल पाएर झन् पाक्दै थियो। हरेक मध्यम वर्गीय परिवारका युवाले कुनै न कुनै मोडमा यस्तो जलनसँग मुकाबिला गर्दा हुन्।

कसोकसो त्यो चरण पार गरेँ। कुन आँटले त्यो पीडाको बोझ उठाएर पन्छाउन सकें कुन्नि। बिस्तारै जिन्दगीको लय मिल्दै गयो। नमिले पनि मिले झैं मान्दै गयो मनोभावले, तब त भावनामा तातो छाल उठ्न छाड्दै गयो। त्यसपछिका दिनमा आफूले सकारात्मक चिन्तन गर्ने त छँदै छ, अरुलाई पनि हौसला र आडभरोसा दिँदै आइयो।

तर, चेतन मनले जतिसुकै सम्झाइ-बुझाइ गरेर पीर र बहको बहाव थामथुम पार्न तटबन्ध बाँधे पनि यदाकदा कमजोर मनोभावले गति छाडिहाल्छ, आफ्नो पारा देखाइहाल्छ। अनि त जिन्दगीको बाटोमा पाइलाहरू यस्सै लरखराए झैं भइदिन्छन्। टेकेको जमीन भास्सिए जस्तो, समाउने हाँगो भाँच्चिए जस्तो।

केही समययता त्यस्तै मानसिक अवतरणमा खसे जस्तो भएँ। उस्तै पिरो सास। टाउकोमा उस्तै तातोपन। उस्तै बेचैनी। वर्तमानका यावत् कुरामा बेपरवाह। कामकाज चौपट।

मान्छेको मन न हो, कहिलेकाहीँ तलवितल भइजान्छ भन्ने पनि लाग्न सक्छ। तर, आफ्नो मनको आरोह र अवरोह कतिसम्म माथि वा तल जाने गर्छ भन्ने नापो त आफैंलाई थाहा हुन्छ। त्यस हिसाबमा मलाई लागेको हो, म यतिसम्म मानसिक भुङ्ग्रोमा बाफिने, पग्लिने मान्छे त हैन। मैले चिनेको म त यतिसम्म कमजोर थिइनँ।

१० दिन लामो विपश्यना ध्यान शिविरमा नियमपूर्वक साधना पूरा गरेर आएको मान्छे एउटा तहसम्म त मनलाई वशमा राख्दै आएको थिएँ। तर, यो के भयो, म त आफैंदेखि एकदम बाहिर भाग्दै छु। मगजले जे नगर्न भन्यो, मन त्यतैतिर लहसिन्छ। जे गर भनेर अह्रायो, फिटिक्कै टिप्दैन। घरिघरि अपरिचित गल्लीमा परिचयको भीख माग्न गइराख्छ।

जिन्दगीका विभिन्न घुम्तीमा अनेक खालका बेचैनी र उकुसमुकुसले घेरे। यस पटकको उकुसमुकुस तीभन्दा बेग्लै भए।

केही वर्षयता म लेख्न र सोच्न नसक्नुको अर्कै उकुसमुकुसमा थिएँ। बाँचे पनि सास थुनिए जस्तो भएको थियो। जिन्दगीले उमेर त निलिरहेको थियो, स्वाद हराएको थियो। मानौं, उड्ने आकाश उपहार दिएर त्यसको बदलामा कसैले मेरो पखेटा काटेर लगेको होस्।

लेखनमा अर्थात् जीवनमा फर्किन म जुनसुकै हदसम्म जान तयार थिएँ। जस्तोसुकै नैतिक पर्खाल नाघ्न खुट्टा उचाल्नेवाला थिएँ। खान नमिल्ने फल खान तयार थिएँ, गाँस्न नमिल्ने नातामा हात बढाउन व्यग्र थिएँ। अपरिचित अनुहारमा प्रेमिल परिभाषा कोर्न पनि मेरो लागि सङ्कोचको कुरा थिएन। लेख्नु मेरो लागि मर्दामर्दैको प्राणलाई एक घुट्को अमृत झैं थियो।

त्यस्तै एउटा अनुहार भेटेर मेरो आँखामा सपनाको चमक चढ्न थालेको थियो। पाइलामा फूर्ति र हृदयमा मुस्कान फर्केको थियो। मरेका रहर र मूर्च्छित ऊर्जा चलायमान हुन थालेका थिए। हराएका शब्द बटुलेर अर्थको खोजी गर्दै थिएँ।

त्यो अनुहारबाट अपेक्षित मुस्कान नपाए पनि त्यहीँबाट सबथोक पाए झैं आफ्नो ओठमा हाँसो पोत्ने प्रयासमा थिएँ। त्यही बलजफ्ती बटुलेको धारले आफ्नो मन-मगजका खिया झार्दै थिएँ।

तर, बलपूर्वक ल्याएको र मागेको प्रकाशले तपाईंको घर कति लामो समयसम्म उज्यालो रहन सक्छ र? उज्यालोमा आत्मनिर्भर नहुँदासम्म सापटी बत्ती वा कता-कताबाट चुहिएर आउने भ्रमको प्रकाशमा बामे त सरिन्छ, जसमा गति हुँदैन। चुहिएर आउने प्रकाश देखेर मैले उज्यालो पाएँ भन्ने भ्रम हुन सक्छ, तर त्यो ज्योति आफ्नो हुँदैन। त्यो साथ, त्यो भर, त्यो काँध कदापि आफ्नो हुँदैन। एक चुट्कीमा सारा टेको भाँच्चिन्छ।

मैले पाएको उज्यालो र टेको पनि भ्रम रहेछ। निभ्यो, भाँच्चियो।

मान्छेको जीवन पनि ट्रान्जिट त रहेछ, जीवनयात्रामा भेटिने बटुवा क्षणभर टहलिने र हठात् गुम हुने। आफू ट्रान्जिट बनिरहेको पत्तो हुन्थ्यो भने सायद मान्छेले आफूलाई त्यस्तै हलुका रूपमा प्रस्तुत हुन तालीम दिन्थ्यो होला, जस्तोसुकै सम्भावित मोडलाई स्वाभाविक रूपमा लिन मानसिक रूपमा तयार पार्थ्यो होला। तर, जीवनयात्रामा त्यस्तो जोरजाम र बन्दोबस्त गर्ने समय कहाँ पाइन्छ र! यो यात्रा त तत्काल अगाडि जे आइपर्छ, नाङ्गै पैताला रापिला कोइलामा नाच्दै हिँड्नुपर्ने सर्कस हो।

मैले पनि पछिल्लो समय यही कोइला-नृत्यमा भाग लिनुपर्‍यो।

आँखामा घरिघरि डबडब बादल खेलिरहे। टाउको र सास एकतमास पिरो गरी पोलिरहे। राति सुत्न त सुतेँ, तर निद्रा नपुगेर आँखा भारी र मन थकित भइरह्यो। काम गर्न त बस्थेँ, तर मन अधैर्य भएर छटपटिँदै कता कता पुगिरह्यो। दिमागको प्रेसरले कति छलाङ लगायो कति!

अहो, मैले आफूभित्र अर्कै म झेल्नुपर्‍यो। मैले पहिलेको म गुमाएँ। त्यो शान्तपन, त्यो सकारात्मकता कसैका कारण बिदा गरिदिएँ। आफ्नो मन कसैको हातमा खेलौनासरि सुम्पिएँ। भावनालाई नै सबथोक मानेँ, जसले हदैसम्म कमजोर पारेर छाडिदियो। एक किसिमको अँध्यारो, अन्योल, निराशा र शून्यताले छोप्यो। जिन्दगी नै शिथिल बनिदियो।

मानसिक शान्ति वा अशान्तिको निश्चित आयु पक्कै हुन्छ। शान्तिमा रहँदासम्म अशान्तिको अस्तित्व छ भनेर अनुमानसम्म गरिन्न, तर अशान्तिको रापले पिल्स्याएपछि शान्तिको प्रतीक्षा  गरिहालिन्छ। यो अपेक्षाले भन्छ, अशान्तिको समय पनि पक्कै बितिजानेछ। भन्छन् नि, समय नै घाउ समय नै औषधि।

तपाईंले समयलाई आफ्नो ठान्नुभयो। जीवनकै हिस्सा बनाउनुभयो। तर, समयले तपाईंलाई आफ्नो नठान्न सक्छ, पाउँछ। उसले तपाईंलाई केही पनि नठान्न, नगन्न सक्छ।

तपाईं समयप्रति समर्पित हुनुभयो। ऊतिर बेहिसाब बग्नुभयो। तर, समयले हरेक कुरा नाप-जोख गरेर व्यवहार गर्‍यो। तपाईंको बेहिसाब बगाइ सायद समयलाई झर्को र बोझिलो लाग्यो। उसले तपाईंलाई कुल्चेर पुल बनायो। यो जमानालाई समयले ठीक पक्रियो, तपाईं बढ्तै भावुक हुनुभयो, अनावश्यक गम्भीर बन्नुभयो। समय कति अगाडि लम्किसक्यो, तपाईं उही बासी कुरामा अल्झिँदै आफ्नो मन भतभत पोलेर सेकुवा बनाइरहनुभयो।

तपाईंले समयलाई जसरी मनभरिको प्रेमिल साथ दिनुभयो, बदलामा त्यस्तै अपेक्षा गर्नुभयो। तर, दोष समयको हैन, तपाईंको अपेक्षाको हो। तपाईंलाई समयको हरेक व्यवहार रहस्यमय, छलयुक्त लाग्यो। तर, समस्या समयको व्यवहारमा हैन, तपाईंको शङ्कामा छ। तपाईं एकोहोरो उसमा केन्द्रित हुनुभयो, उसैमा खुशी देख्नुभयो। उसले तपाईंमा केही पनि देखेन, खासमा तपाईंलाई हेर्दै हेरेन। समस्या उसले नहेर्नुमा थिएन, तपाईंको नालायकीमा थियो। कसैले नहेर्दा ‘ओइ, मलाई पनि हेर न’ भन्ने लाजमर्दो आग्रह गर्ने कुरा पनि भएन। भीखले आत्मनिर्भरता दिने हैन क्यार।

तपाईंले समयलाई जति महत्त्व दिनुभयो, उसबाट उत्तिकै महत्त्व पाउने आश गर्नुभयो। जिन्दगीलाई लेनदेनको गणित बनाएर तपाईंले नै भुल गर्नुभयो।

तपाईंले आफूलाई मूल्यहीन ठान्ने समयलाई आइन्दा फर्केर नहेर्ने निधो त गर्नुभयो। तर, त्यसको पालना गर्न सक्नुभएन। घरिघरि अतीततिर फर्केर आफ्नै पीडाको आयतन बढाइरहनुभयो। मनको तुष्टिका लागि समयसँग सम्बन्धित कुरा सुटुक्क बारम्बार हेर्नुभयो, तर उल्टै आफूलाई दुखाइरहनुभयो।

तपाईंलाई आधा-अपुरो यात्रा चित्त बुझेन। समयलाई अपूरो कुरो नै रोमाञ्चक बनिदियो। अब तपाईंले समयलाई त्यो रोमाञ्चमा रमाउन दिएर आफूमा केन्द्रित हुँदा हुन्न? समयको अभिनय निश्चित अवधिको थियो, अब पर्दा खसिसक्यो भनेर मन बाँध्न सक्नुहुन्न? अहो ! यो पीडादायी यात्रा सम्झिनु पनि कति दु:खद छ, फेरि फेरि त्यही समयको स्मरण गरेर आफ्नो आलो घाउमा लात नहान्दा हुँदैन?

समय र तपाईंको कथा नै मेरो पछिल्लो कथा हो। यही कथाभित्रका घटनाले मेरो शान्ति बिथोलिदियो। आफ्नो शान्ति बिथोल्ने, मन भत्काउने अधिकार जोकसैलाई दिन हुन्न भनेर सम्झाउँदै छु।

यति सम्झाउने सफलता पाए जीवनमा शान्ति फर्केला। त्यो शान्तिलाई अबका दिनमा एक्लै उभिन र हिँड्न ऊर्जा बनाइरहनेछु। कारण, यस पटक भर्खरै भोगेको बेचैनी, अत्यास र एक किसिमको कहालीले मानसिक स्वास्थ्य कति महत्त्वपूर्ण रहेछ भनेर यसको रक्षा गर्न पाठ पढाएको छ।

यो र यस्तै मानसिक चोट कसैले भोग्नु नपरोस्।

No comments:

Post a Comment