सानो छँदा रेडियो नै सञ्चारको एकमात्र साधन थियो । रेडियो नेपालबाट गीतहरू सुन्ने क्रममा आफू पनि यस्तै गाउन पाए कस्तो हुन्थ्यो भन्ने रहर पलाउँथ्यो । त्यसबेला लेखक–कवि बन्छु भन्ने एक मनमा पनि थिएन।
२०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौं आएँ । गायक बन्छु भन्ने सोच मनभरि थियो । गायक बन्नलाई सुरतालको अनेक ज्ञान चाहिने रहेछ भन्ने बुझेपछि यो बाटो मेरो होइन भन्ने लाग्यो । बरु कवि–लेखकहरूसँग सरसंगति बढ्दै जाँदा गीत र कविता लेख्न थालेँ।
‘म मरेको पल’ करिब २७ वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि भइरहँदा गीतकारको मन गदगद हुन्छ । यो गीत लेखिनुमा कारुणिक विगत छ।
२०४० सालताका साथीभाइसँग सम्पर्क गर्ने माध्यम चिठीपत्र नै थियो । मोबाइल फोन त परको कुरा, ल्यान्डलाइन फोन पनि सहज भइसकेको थिएन । त्यो बेला पत्रमित्रताकै जमाना थियो।
म पूर्व–पश्चिमका नयाँ–नयाँ साथीसँग पत्रमित्रता निकै गर्थें । गोरखापत्र संस्थानबाट छापिने युवामञ्च पत्रिकामा पत्रमित्र बन्नका लागि शिक्षा, उमेर, रुचि र सम्पर्क ठेगानासहित फोटोहरूको सूची नै छापिएर आउँथ्यो ।
त्यसै क्रममा पत्रमित्र स्तम्भमा चितवन टाँडी ठेगाना भएकी अस्मिता थापा (क्षेत्री) नाम गरेकी केटीलाई देखेँ । उनको रुचि पनि साहित्य र संगीत देखेपछि विचार मिल्ने देखेँ । चिठी पठाएँ।
चिठी आदानप्रदान बढ्दै गएर हामी राम्रो पत्रमित्र भयौं । चिठी आदानप्रदानको क्रम दुई–तीन वर्ष चल्यो । म त्यसबेला ल क्याम्पसमा पढ्दै थिएँ । उनी चितवनमा आईएड सकेर बीएड पढ्न राजधानीमै आइन् । हाम्रो भेट भयो । झन् घनिष्ट साथी भयौं।
त्यतिबेला म वानेश्वरमा दिदीको घरमा बस्थेँ । अस्मिता चाहिँ बागबजारमा डेरा लिएर बस्थिन् । हाम्रो घनिष्टता बढेसँगै उनी बेलाबेला वानेश्वर आउन थालिन् । मेरो दिदीसँग पनि उनको राम्रो घुलमिल भयो । बिस्तारै परिवारकै सदस्य जस्तो भइन् । कुनैबेला त हप्ता–दस दिनसम्म पनि हाम्रैमा बस्थिन्।
दिदी र हाम्रै छिमेकमा बस्ने दिदीकी मितिनीले उनलाई हाम्रो भाइसँग विवाह गर्नुपर्छ है भनेर जिस्क्याउँदा रहेछन् । अस्मिता लजाउँदै त्यसै मक्ख पर्दिरहिछन् । म त आफ्नै तालमा बहकिएर हिँड्ने अल्लारे पाराको थिएँ । उनलाई विशुद्ध साथी मात्र ठानेकाले त्यस्तो केही सोचेकै थिइनँ । दिदीहरूको कारण हाम्रो चर्चा झ्यांगिन थालेपछि एकदिन मैले उनलाई सोधेँ, ‘के हो कुरा, हामी साँच्चै विवाह गर्न सक्छौं त ?’ उनले घरमा सोध्नुपर्छ भन्ने जवाफ दिइन्।
सम्बन्धबारे आपसमा कुरा भएपछि हामी डेटिङ जान थाल्यौं । तर, अचेलको जस्तो दुईजना मात्र होइन । डेटिङ जाँदा कहिले उनको साथी, कहिले मेरा साथीहरू साथै हुन्थे।
२०४३–४४ सालतिर अन्तरजातीय विवाहका लागि हाम्रो समाज आजको जस्तो उदार थिएन । उनी फेरि सेनाको कर्णेलकी छोरी रहिछन् । पछि उनी चितवन (घर) गइन् । उनले विवाहका लागि घरबाट अनुमति मिलेन भन्ने खबर पठाइन् । अनि मलाई लाग्यो, यो त खासमा प्रेम नै होइन रहेछ।
सुरुमा साथी मात्र सम्झेर त्यति ख्याल नगर्दा मलाई वास्तै थिएन । तर, हामीबीच बिहेबारीसम्मको कुरा हुन थालेपछि म त प्रेम मानेर एकोहोरिन थालिसकेको थिएँ । भर्खर २४ वर्षको पट्ठो थिएँ । दुखेको मन पोख्दै मैले उनलाई अन्तिम चिठी लेखेँ–
प्रिय अस्मिता,
अशेष प्यार ।
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू ।– तिम्रो वीरेन ।
चिठीको जवाफ आएन । सम्बन्धको धागो त्यत्तिकै चुँडियो । चिठीका ती पंक्तिलाई पछि मैले गीतको रूपमा लेखेँ । गीत ०४५/४६ सालतिर सुरेश अधिकारीको स्वर र संगीतमा रेकर्ड भएर रेडियोमा बज्न थाल्यो । रेडियो नेपालको फर्मायशी कार्यक्रममा निकै बजिरहन्थ्यो।
अकस्मात् एक दिन नेपाल टेलिभिजनमा अस्मिताले बागबजारमा झुन्डिएर आत्महत्या गरेको खबर आयो । ०४७ सालको घटना हो यो । मैले गीतमा आफू मर्ने कुरा लेखेको थिएँ, उनको मृत्युको खबर सुन्नुपर्यो ! आत्महत्या गर्दा उनले आफ्नो लुगाभित्र मैले लेखेका चिठी, मसँग खिचाएका फोटोहरू राखेको भेटिएछ । उनले ‘यो जुनीमा त तिम्रो हुन सकिनँ, अर्को जुनीमा हुने वाचाका साथ बिदा’ भन्ने आशयसहितको आफ्नो अन्तिम चिठी पनि छाडेकी रहिछन्।
रेडियोमा ‘म मरेको पल’ गीत बज्ने क्रममा उनले पनि सुनेकी रहिछन् । गीत सुनेर व्यग्र भए पनि परिवार नमानेकाले फर्किएर आउने हिम्मत गर्न नसकेको र आफू अरु कसैको हुन नसक्ने देखेपछि आत्महत्या गरेको कुरा पनि उनले चिठीमा लेखेकी थिइन्।
खासमा उनी पनि मलाई अति नै प्रेम गर्थिन् । तर, आफ्नो परिवार र समाजसँग जुध्न सकिनन् । बीचमा उनले घर–परिवारमा के–कस्तो अवस्थाको सामना गर्नुपर्यो, फोन सम्पर्कको माध्यम नभएकाले मैले बुझ्न पनि पाइनँ।
उनको मृत्युपछि निकै विरही भएर काठमाडौंका सडकहरूमा भौंतारिएँ । उनी नमरेकी भए हाम्रो विवाह हुन पनि सक्थ्यो होला, समयको लेखा न हो । मैले लेखेका सयौं गीतका पाठक र श्रोता बन्ने थिइन् । तर, केटीहरूप्रतिको मेरो उदासीनताका कारण मैले समयमै उनको प्रेम चिन्न सकिनँ र त्यसका लागि आवश्यक जोड गरिनँ।
‘लभ ट्राजेडी’ को पराकाष्ठा हो यो गीत । रेडियो नेपालको गीतिकथामा हरिभक्त कटुवालले लेखेको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ पछि यो गीत बढी बज्थ्यो । यसमा गर्व लाग्छ । रेकर्ड भएका मेरा चार सयजति गीतमा यही गीतले मलाई बढी चिनाएको छ।
०५१ सालमा मैले भोजपुरकी तारा राईसँग बिहे गरेँ । उनी कवि/गीतकार भूपाल राईकी दिदीकी छोरी हुन् । भोजपुरमा जाँदा उनीमाथि आँखा परेपछि बिहेको कुरो चल्यो । पछि तारासँग मागी बिहे नै भयो । बिहेपछि श्रीमतीलाई मेरो विगतको प्रेम भन्दै अस्मिताको कुरा सुनाएको थिएँ । श्रीमतीसँग आफ्नो विगतको कुरामा पारदर्शी हुनुपर्छ भन्ने सोचेर सबै सुनाएँ।
श्रीमतीलाई भने यो कुराले नराम्रो लागेछ । उनी सामान्य ठाकठुक परेको बेला अझै पनि ‘आखिरमा म त कान्छी पो रै’छु’ भनेर गुनासो जस्तो गर्छिन् । म भने विगतको प्रेम र दुःखद घटना सम्झेर भक्कानिन्छु।
-----------------
गीत: म मरेको पल
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू।
विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ, ढलाइदिन सक्छौ
आश्वासनको वाचा बदलिदिन सक्थ्यौ, भुलाइदिन सक्छौ
निरस यो सपना रित्तो छ जीवन
बदनामी पिँजडा कैदी छ यो मन
म मरेको पल … ।
व्यथालाई समेटी विस्मृतिमा भुल्छु, उदासीमा डुब्छु
रंगिएको सिउँदो भ्रान्तिभित्रै रम्छु, तरंगमा झुम्छु
सुकेको पलाँसलाई वसन्तले के भो
यो पागल तिमीले नचिने’नि के भो
म मरेको पल … ।
रचना : वीरेन्द्र राई
स्वर/संगीत : सुरेश अधिकारी
No comments:
Post a Comment