Subscribe:

Ads 468x60px

27 June 2008

चुनावको गफदेखि स्वयंसेवकसम्म




- सरोज बस्नेत


दयपुर सदरमुकाम गाईघाटबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तहको अध्ययनका लागि राजधानी छिरियो । अध्ययनसँगै अवसरको सम्भावनासँग नजिकिन धेरैजना आज राजधानीलाई संघर्षमैदानका रुपमा रोज्ने गर्दछन् । म पनि यो सङ्घर्षमा हेलिँदै राजधानी आएँ । क्याम्पसको छनोट गर्ने क्रममा वाणिज्यशास्त्रको राम्रो पढाइ हुने भनेर कहलिएको शंकरदेव क्याम्पस नै रोज्न पुगें ।

घर छाडेर काठमाडौँ आइपुगेपछि मनमा अनेक कुरा उब्जिएको थियो । सुरुका दिन नयाँ ठाउँमा नयाँ मान्छेहरूसँग व्यवहार गर्नुपर्दा अप्ठेरोसँग बिते । आफैँजस्ता युवा अनुहार भए पनि क्याम्पसका साथीहरू कहाँकहाँका नौला थिए । पाँच-सात दिन त एक्लोपनले सताएर निकै नरमाइलो लाग्यो । बेकारमा जिल्ला छाडेर काठमाडौँ आइएछ भनेर थकथकी लाग्यो । तर पछि बिस्तारै साथीहरूस“ग चिनजान बढ्दै गएपछि त्यही नौलो संसार आफ्नो बन्दै गयो ।

स्नातकमा दुई वर्षघि भर्ना भएयता क्याम्पसमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरूसँग परिचित भइयो । फरक-फरक क्षेत्र र ठाउँबाट आएका ती साथीहरूको आनीबानी पनि आफूभन्दा अलग पाउँदा सुरुमा त घुलमिल हुनै गाह्रो भयो । उही नेपाली बोल्दा पनि पूर्वको साथीले बोल्ने र पश्चिमकोले बोल्ने भाषामा ठूलो अन्तर पाएँ ।

बिहान र दिउँसोको सिङ्खटमा गरी कुल १० हजारजति विद्यार्थी अध्ययनरत शंकरदेवमा स्नातक तह दोस्रो वर्षा मात्रै १२ सय विद्यार्थी छन् । जसको असर फाइनान्स र अकाउन्टको कक्षामा भोग्नुपर्छ, विद्यार्थीको चापले खुट्टै हाल्न ठाउँ नपाइने । तीन-चार सेक्सन हुँदा पनि कक्षाको पछाडि र डेक्स-बेन्च लहरबीचको प्यासेज भागमा समेत उभिएर पढ्नुपर्दा के पढियो भन्ने मुश्किलले सम्झिनुपर्ने हुन्छ । समयमै अगाडि ठाउँ सुरक्षित नगरे त्यो पिरियड नै काट्न नसकिने हुनाले विद्यार्थीहरूबीच अगाडि नै आएर बस्नलाई भएको प्रतिस्पर्धात्मक खेल कुनै रमिताभन्दा कम देखिँदैन । कुनाकन्दराबाट राजधानीमा सबैजना बाढी भएर पस्नुको नतिजा यस्तै हो भन्ने लाग्यो । कसले पढ्यो कसले पढेन, को आयो को गयो त्यो हूलमूलमा कसैलाई सरोकार नभएको देख्दा सहरिया चालचलनमा बानी पर्दै गयो ।

सरकारी क्याम्पसमा राजनीति बढी हुन्छ भनेर सुनेको थिएँ । त्यसमा पनि शंकरदेव क्याम्पसमा त बढ्तै राजनीतिक ताउरमाउर चल्छ भनेर सुन्दै आएको थिएँ, आखिर सत्य पनि रहेछ । संविधानसभाको पूर्वसन्ध्यामा विद्यार्थी संगठनहरूले कलेजमा दिनहुँजसो कार्यक्रम राख्दथे । क्याम्पस चुनावमय भएको थियो । अञ्चल तथा जिल्लागत रुपमा आ-आफ्नो क्षेत्रका विद्यार्थीहरूलाई भेला गराई चुनाव सम्पन्न गर्न गाउँ जाऔँ नारा घन्किएको थियो । कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष नेताहरूको भाषणले क्याम्पस हाता स-सानो खुला मञ्चझैँ लाग्थ्यो । पढाइमै एकोहोरिने साथीभाइहरू समेत स-सानो समूहमा बसेर चुनावी चर्चा गर्नमा मग्न देखिन्थे । संविधानसभाको चुनाव थियो नै त्यस्तै, सबै जाग्नुपर्ने जुगकै महत्वपूर्ण पर्व ।

चुनावको लागि चैत १५ देखि ३० गतेसम्म शिक्षण संस्था बन्द गरिएकोले समयमै घरतिर गइयो । घर पुगेपछि त झन् आफ्नो स्थानीय परिवेशले गर्दा होला, चुनावकै रौनकले छोपिहाल्यो । दाइ तथा साथीहरूसँग चुनावको सचेतना जगाउन टोल तथा बस्तीतिर स्वयंसेवकका रुपमा खूबै घुमियो । चैतको घाम खेप्दै दुःख गरीगरी चुनावी चर्चामा हि“डे पनि दिनदिनैको बढ्दो माहोलले रमाइलो बटुलियो । यस्तो ऐतिहासिक चुनाव सफल हु“दा त्यसमा आफ्नो संलग्नता पनि रहेको सम्झेर गर्व लाग्यो । चुनावपछि अहिले मुलुक नयाँ दिशातर्फ कोल्टे फेर्ने तयारीमा छ । अबको नयाँ परिवेशमा शिक्षा क्षेत्रमा पनि शुद्धीकरण तथा परिमार्जन हुने अपेक्षा गरिएको छ । त्यसो हुन सकेको खन्डमा समग्र युवा तथा विद्यार्थीको भविष्य अझ व्यवस्थित रुपमा अगाडि डोरिनेथ्यो । भोलि देश कस्तो बनाउँदै लैजाने हो, शिक्षा क्षेत्रलाई नै जगको रुपमा हेरेर सबैले व्यवहार गरिदिए राम्रो हुनेथ्यो ।

जीवन भनेको सङ्घर्षकै अर्को नाम हो । झन् विद्यार्थी जीवनलाई त दुःखीया भनिन्छ । यो दुःखीया जीवनको अनुभव गर्दै भोलि केही राम्रो होला भनेर गाउँबाट यान्त्रिक सहरको हतारोमा सामेल भइएको छ । छिट्टै स्नातक दोस्रो वर्षको परीक्षा पनि सुरु हुँदै छ । सबै विद्यार्थीहरू परीक्षाको तयारीमा जुटेका छन् । पढ्ने सबैका लागि यहाँ अवसर पक्कै छैन । हेरौँ समयले पनि निर्धारण गर्छ, कसरी आफूलाई डोर्‍याउनुपर्ने हो ।

गाईघाट, उदयपुर ।
हाल: शङ्करदेव क्याम्स, खसीबजार, पुतलीसडक ।

No comments:

Post a Comment