June 27, 2008

भवतु सब्ब मङ्गलम्

आँखा चिम्लिएर
१० दिनको
दृष्टि

चिम्लिनु आँखा अनि प्रस्टसाथ हेर्नु रे !
त्यो पनि सत्यलाई हेर्नु रे !
यस्तो पनि हुन सक्नेछ र ? कल्पनाको ऐनामा सानो तरङ्गसम्म बनेको थिएन । तर धम्मको यात्रामा साम्प्रदायिक सङ्कुचित एवम् ढोंगी सोचको पत्तासाफ हुनु आखिर स्वाभाविक नै रहेछ । 'पूर्व जन्ममा कुनै पुण्य गरिएको थियो होला, तब पो मिल्यो सत्यको यस्तो सङ्गति !', जुन १४ देखि २५ तारिखसम्मको विपश्यना ध्यान शिविर बुढानीलकण्ठस्थित धर्मशृङ्ग मुहानपोखरीमा सहभागी साधकहरूको युवा चेहराबाट पनि अध्यात्मको कमलो वाणी फुटेको थियो । सधैँ बाहिरी दुनियाँमा हराइरहने यान्त्रिक चोलालाई साढे तीन हातको आफ्नै कायामा साँगुरिएर केही खोज्नुपर्ने अमूर्त उडान भर्नु थियो । आफूभन्दा बाहिर अरु वस्तु अनि व्यक्तिलाई हामीले यत्तिका जीवन जिउन्जेल धेरै हेर्‍यौँ, खासमा त्यही मात्र त हेर्‍यौँ । अब सिक्नुपर्ने जीवन जिउने कला थियो । लुकेर रहेको अन्तर्सत्य खोतल्नु थियो अन्तर्तपबाट ।

यात्राको गर्भाधान
यस्तो विपश्यना, उस्तो विपश्यना ! चर्चाले बारम्बार कानमा पङ्खा हम्किरहेकै थियो । साथीभाइको सानो जमघट या दाइहरूको कोठे गफ, सबैतिर सानो रुपमै भए पनि विपश्यना शब्दको चिरफार र ध्यान शिविरको अनौठो नीतिनियमबारे तहल्का बहस चल्दा रन्को छुट्ने गथ्र्यो । त्यही रन्कोको गर्भ आफूभित्र बस्न थालेछ र आखिरमा त्यो गर्भ बढ्दै गएर ध्यानशिविरमा प्रकट भएर मौलाउने गर्भाधानको त्यो दिन पनि मेरो आयो । अर्थात् जुन १४ (२००८) तारिख शनिबारको मध्य दिन । यसमा केही व्यक्तिको पवित्र मनको प्रेरक साथ प्रत्यक्ष-परोक्ष रुपमा पाएकोमा तीप्रति कृतज्ञताको शिर नुहेको छ यतिखेर । यस्ता पुण्य हात भएका मान्छे हात छुटेर पनि छोडिनसक्नुका हुन्छन् ।

२० दिन लामो उदयपुर बसाइपछि जुन ११ मा राजधानी फर्किएलगत्तै दुई दिनपछि ध्यानमा जानुपर्ने थियो । अनिताको सुझाव थियो, पहिले नै फोन सम्पर्क गरेर के-कस्तो स्थिति छ बुझ्नू । कुरा मनासिब लाग्यो र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्गको कान्तिपथस्थित ज्योति भवनमा रहेको नगर कार्यालय फोन नं. ४२५०५८१ मा सोधी हेरेँ, जाने दिन नै आफ्नो सरसामानसहित कार्यालयमा पुगे हुने रहेछ । विपश्यना साधनाको लागि म १० दिनको ध्यानशिविर पुग्नुमा मेरी निकटतम पात्र तथा यस क्याफे ब्लगकी सह-ब्लगर अनिताले त मलाई उठाएर शिविरको हलभित्रसम्मै डोर्‍याई आसनमा बसाएजस्तै देन पाएको छु । दुई वर्ष पुरानो विपश्यना-साधिकाले मलाई यस्तो धर्मको साक्षात्कारमा पुर्‍याएर कतिसम्म धर्म बटुलिन्, यसको लोखाजोखा छैन । ध्यानको लागि शिविरतिर प्रस्थान गर्नजाने दिन उनको हातको बिदाइलाई घुर्की लगाउँदै बेवास्ता गरेथेँ मैले । शिविरमा साधना गर्दै गर्दा सबै भूलहरू फनफनी फ्ल्यासब्याकमा घुमेर मन एकाएक कतिविघ्न टिलिक्क भयो भने, प्यारा मान्छेलाई सम्झिएर यो मन झन् प्यारोप्यारो हुँदै आयो । प्राणीले प्राणीलाई बाढीजस्तो तेज प्रवाहले गर्न सक्ने र पर्ने यही धर्म त हो आखिर । यो धर्म कुनै जैन, मुस्लिम, पार्सी, ईसाइ, बौद्ध वा हिन्दु नामक सम्प्रदायको लेप लगाएको टक्क ठाडो शिर होइन है ! शुद्ध धर्म मात्र । सद्गुण र सत्यको बाटो । यो कुनै सम्प्रदायको ठेक्काको कुरा त पक्कै होइन ।

विपश्यनाको बोलविशेष किसिमको हेराइ अर्थात् विपश्यना । बहिर्मुखीपनलाई त्यागेर अन्तर्मुखी यात्राबाट संवेदनामय स्वअनुभूतिलाई प्रतिक्रियाबिना सम भएर जान्नु नै विपश्यनाको मूलमन्त्र हो । विपश्यनाबारे भर्खर सुन्न थाल्दा यो कतै बौद्ध धर्मसम्प्रदायको मौजा तन्त्रमन्त्र हो कि भन्ने भ्रम धेरैलाई हुँदो रहेछ । तर यो त नितान्त धर्मको कुरा रहेछ, अर्थात् मानिसमा सत्य र ईश्वरीय गुण जगाउने आत्मिक औषधि । जसको लागि कुनै काल्पनिक श्रद्धामूर्ति चाहिँदैन, आत्माको आश्रय चाहिँदैन अनि चन्दनको चिसो लेप र रटानको मन्त्र पनि चाहिँदैन । विपश्यना आफ्नो मनको मालिक हुने ध्यानविधान रहेछ । नोकरबाट मालिकमा पदस्थापन हुन को नचाहला, तर फेरि यो त आफैभित्रको शासनसत्ताको त कुरा हो ।

मान्छेको मन यति चञ्चल छ, एकाग्रता र शुद्ध सोचबाट भागेर अनेक विकारको आयातमा प्रयोग हुने यो मानौँ विशाल मालवाहक ट्रक हो । यस्तो मनको के हामी उपचार नगरी बसौँ ? कहीँ कतै सानोसम्म पनि जानकारी छ भने अरु सोधखोजबाट बुझेर एकचोटि विपश्यना ध्यानशिविरमा १० दिनको बन्दी हुनुमा नै सबैको कल्याण होला । १० दिनको मौन एवम् धर्मालु बन्दी... अनि त जीवनभरको स्वतन्त्र र स्वाधीन अस्तित्व.... । पस्ने होइन त विपश्यनाको कलकल जरुवामा ? एकचोटि प्रयोग गरेर त हेर्नुस् ! अवश्य सबै गाँठाहरू खुल्नेछन् । तपाईँको भलो होस् ।
क्रमश :

***
जुन २६, २००८ (नक्साल)

No comments:

Post a Comment