Subscribe:

Ads 468x60px

06 August 2008

लुभूमा लभगुरुहरूसँग



"घर नछाडी धेरै टाढा जाने एउटा बाटो कला हो ।"
टाउला थार्पको यही भनाइजस्तै सधैँ त म त्यही कलामा पौडिरहेको हुन्थेँ । अर्थात् दौडधूप नगरी र कहीँ नपुगी धेरै दूरी अनि निकै गहिराइ नाप्नु छ भने चार भित्ताको कोठामा एक्लो आफू नै काफी हुन्थ्यो । यो अन्तर्मुखी स्वभावको विशेषता र लाभ हो । भीड, हल्ला र बजारु लुकाछिपीको मारबाट गुज्रिनुपरेपछि आफैँसँगको र आफैँभित्रको यात्रा प्रीतिकर लाग्छ ।

तर यस्तो अन्तर्मनको यात्रा पनि जङ्गलमा जीवजन्तुलाई प्रकृतिको हरियो एकरुपताले दिक्याएजस्तो कुनैबेला त दिक्दार लाग्दो रहेछ । अनि त बेलायतिर बरालिँदा भनेझैँ विकल्पको खोजीमा कतै बरालिन मन हुन्छ ।

यस्तै बरालिने काममा काठमाडौँको ५/७ वर्षे बसाइमा पहिलोचोटि निस्किएको म ललितपुर जिल्लाको लुभूतिर लस्किएको थिएँ । सहयात्रीहरू थिए - जोडी पखेटाहरूलाई समाजको पारिवारिक गुँडमा बिसाउन आतुर र तम्तयाररत दुई थान मनहरू । अर्थात् मेरो कलेज-मित्र मनु र उसले यदाकदा बोलाउने प्यारो नाम, उसकी 'कल्पे' ।

ती दुईको युगल यात्रामा आफू 'कबावमा हड्डी' भइने डर भए पनि आत्मीयताले पगालेरै मलाई तिनले आफूसम्म तानेका थिए । अनि त त्यही कबावमा हड्डी बन्ने आफ्नो लिखुरे ज्यानलाई बिजोर सङ्ख्यामा भए पनि सँगै मैले होमिदिनु पर्‍यो । खास त म ती दुईको यात्रामा तिनको घर-परिवारको शङ्कास्पद आँखालाई सहज तुल्याइदिने 'लाइसेन्स'को रुपमा प्रयोग भएको थिएँ । र त मलाई तिनको आफ्नै खर्चबर्चमा लैजान पनि दुवै तयार ! कस्ता बदमास चखेवाहरू ! यिनै बदमास लभगुरुहरू मेरो सहयात्री बन्दै थिए ।
यात्राका हामी यात्रीजस्तै बिजोर र जोर स्याउ !



जुलाईको आखिरी दिन ललितपुरको ग्रामीण भित्री पाटोले हामीलाई निल्दै थियो ।

तीनतिरका तीनजना बागबजारमा जसोतसो भेला भई रत्‍नपार्कबाट माइक्रोमा छलाङ मारेर लगनखेल बसपार्क पुग्दा दिउँसोको १ बजिसकेको थियो । त्यहीँ १ किलो स्याउ र १ दर्जन केरा किनेपछि लौ आज दिनभरिको पेटको मुसा खत्तम भन्ने सोचेर हाइसन्चो लाग्यो । मध्य दिनको तातोमा बसपार्कमाझको छहारीमा ज्यान बिसाएर पिरो चटपटे खाइरहेका युवतीहरूले हाम्रो खानतलासी लिएका भए भेट्ने थिए- गर्मी, गर्मी केवल गर्मी । तर यात्राको गन्तव्यमा शीतलता भेटेर त्यो गर्मीलाई उतै कसो थान्को नलगाइएला, हामी ढुक्क थियौँ र पनि लुभू पुग्ने हतारोले अझै हामी बाफिएर तातिँदै थियौँ ।

धन्न बस आइपुग्यो, अलि नखाइलाग्दो बनौटको । बस आएको खुसीभन्दा पनि बेलैमा सिटमाथि धावा बोलेर आफ्नो लागि सुरक्षित घेरा बनाउनु ठूलो भाग्यको कुरा हुने रहेछ । हामीले पनि पेलिँदै र जोगिँदै बसमा आफ्नो 'भाग्य' आजमाउने 'चानस' पायौँ । मनु र कल्पे 'लास्ट सिटमा मायाका एक जोडी' भनेझैँ खिपिएर बस्ने शुभलाभमा थिए । रहोस्, मलाई के ! म भने ब्यागबाट किताब टकटक्याएर त्यसैमा आफ्नो एक जोडा आँखालाई सीमाबन्द पार्न थालेँ । लुभू पुग्न लगनखेलबाट १ घन्टा लाग्छ भन्ने आवाज पनि त्यहाँ सुनिँदै थियो । बस खरायोको चाल न कछुवाको चाल भनेझैँ सुस्तसुस्त चिप्लिन थाल्दा अलमलिने साथी आफैँ भइयो । सिटमा सँगै रहेकी आमै पनि आफैँमा मस्त । उता पछाडि सिटमा कस्तो 'व्यस्तता' थियो, ख्याल गर्न कसलाई फुर्सद !

ग्वार्कोबाट चक्रपथलाई चिरेर ढिम्किएको बस इमाडोल, सिद्धिपुर हुँदै बल्ल लुभूमा ओथारो बस्यो । सिद्धिपुर सुकुलको लागि प्रख्यात रहेछ, घरैपिच्छे सुकुलको बिस्कुन । अनि घरमाथिपटि्ट झ्यालनेर कतै लसुन र कतै खुर्सानीलाई उनेर सुकाएको मालाको रमिता पनि देखियो । अब पालो पदयात्राको । यात्रामा कोही गाइड थिएन । फन्को मार्दामार्दै जहाँ पुगिन्छ बाटो बनिँदै जान्छ भन्ने अलपत्रे ताल थियो । तैपनि मनु कान्छालाई लुभूको संसार अलि केही थाहा रहेछ । उसैले आफू केही समय बस्दाबेलाको लुभू उहिले त्यस्तो अहिले यस्तो बखान्दै गयो । कान्छी उसकै भरोसामा हो मा हो मिलाएर साथ लागेकी । मेरो के कुरा, कुरा सुन्दै मट्यौली सडकमा जुत्ता बजाउँदै लस्किँदै थिएँ ।

लहलह धानको हरियाली हेर्दै बढ्ने क्रममा बाटो उक्लियो, हामी पनि बाटोसँगै उक्लियौँ । अनि सुरु भयो फोटो खिच्ने महाजात्रा । बाँडीबाँडी स्याउ टोकेकोदेखि लभगुरुहरूले अँगालोमा माया जोखेको सबै 'लीला' तस्बिरमय हुँदै थिए । धन्य हो मेरो तस्बिर खिचुवा पद ! लभगुरुहरूको जोडी आकृतिका बीचबीचमा म भने क्यामेरासामु ठिङ्ग एक्लै बुख्याँचाको हालतमा उभिएर क्लिक् क्लिक् ।


लुभू प्रकृतिको लिपपोत राम्रै पाएको ठाउँ रहेछ । धारामा पानी मजदुरको मैलो ज्यानमा खलखली पसिनाजस्तै कहिल्यै नटुट्ने रहेछ । उता 'काठमाडौँ र मेलम्ची' उखान सम्झेर खितखित हाँसो पनि उठ्यो । रसिलो-मलिलो माटो, हराभरा थुम्काहरू, बोलाइला मान्छेहरू, र बोल्लान् होइन बल्लान्‌जस्ता धपक्क घरहरू । तर अब त ठाउँठाउँमा यहाँ पनि सहरी हावा लागेर घरहरूमा मजैसँग कङ्क्रिटको चलखेल हुन थालेछ । मट्यौली सडकको दायाँ-बायाँ हरिया मकै र थाङ्ग्रोमा पिङ खेलिरहेका पोटिला काँक्राहरूमा लोभिँदै कुटुकुटु स्याउ टोक्दै हाम्रो यात्राले रमाइलो लुट्दै थियो । जे होस्, पदयात्राको लागि छानेको ठाउँ व्यर्थैको लागेन ।




ज्यागटा, शङ्खदेवी, विष्णुडोल आदि ठाउँ टेक्दै आँखाले स्वर्ग छोप्ने दाउमा हामी हावासँगै बगिरहेछौँ ।

'उः म यहाँ बस्दाको नुहाउने ठाउँ !',



फुकेर बिस्कुन खाइरहेको बस्तुभाउलाई झट्टी हानेझैँ हातले देखाउँदै मनु बोल्यो । हेरेको, गहिरो खोंचमा कञ्चन धारा रहेछ । केहीछिनअगाडि पनि एउटा सानो खोलालाई औंल्याउँदै उसको त्यही बोली सुनिएको थियो । जता पनि उसैको नुहाउने ठाउँ ! गजब लाग्यो ।

समय डाँडामाथिको कुप्रो घाम बनेर अडेसा लाग्दै गर्दा हामीले फर्किने बाटो मोड्दै थियौँ । अचम्म, तर थकाइले हामीलाई त्यतिविधि छोएको थिएन । एकफेरा तेजले झरी दर्कियो । दुइटा छाता उघ्रिए, एउटामा उनै दुई लभगुरुहरू घुस्रिए, म भने आफ्नो छाता थाम्दै ओरालोमा घिस्रिएँ । बाटाछेउछाउका खेतहरूमा घुम ओढ्दै धान गोडिरहेका आमैहरूको झुन्ड देख्दा आफ्नै गाउँघरको झलक आँखाभरि नाच्यो । सिद्धिपुरमा झरेर नुनिलो-पिरो तातो खाजा खान पाएर बल्ल सास आयो, नत्र त स्याउ र केराको गुलियोले सबै स्वाद मेटिइसकेको थियो । भोकले खरिएको झोंकमा हतारिँदै मासको दालको तात्तातो बारा खाँदा तालु सेकियो ।

फर्किँदा आउँदाको जस्तो खटारो बस झेल्नु परेन । माइक्रोको गतिवान् पखेटामा बहकिन पाइयो । अघिल्तिरको सिटमा चालकदाइकै लहरमा कोचिएर गुड्दागुड्दै मलाई एउटा गीत सुन्न मन भइरहेको थियो-


'म त दूरदेखि आएँ तिम्रो प्यार बोकेर....'


- (दीप श्रेष्ठ)

लभगुरुहरूले सायद यो यात्राको सहचालमा एकअर्कालाई भरपूर पाइसकेका थिए । लाग्यो, उनीहरूलाई पर्खिने कोही छैन र कसैले पर्खिनुपर्ने पनि छैन ।
मलाई भने काठमाडौँ पर्खिरहेको थियो । सायद खूबै निस्ताएर ।
***
अगस्ट ५, २००८ (नक्साल)

5 comments:

  1. यस्तो छोटो यात्राको पनि यति मिठो बर्णन । अहो! कस्तो रमाईलो पारेर लेख्नुभएको ।

    ReplyDelete
  2. Yatra ko ramro barnan garnu bhayeko rahecha.
    Padher samye biteko pattai bhayen.

    Good blog friend

    ReplyDelete
  3. २-३ घन्टाको यात्रा-वर्णन घरपछाडिको धारोमा गाग्री भरेर ल्याएजस्तै थियो । तर पनि आत्मीय वसन्तजी र भरतजीले मन पराइदिनुभयो । पल-पल जिन्दगी नै यात्रा हो, लेख्न र रोमाञ्चकता समात्न सक्ने दृष्टि भएमा दिनदिनैको नै नियात्रालेख बन्दो हो । तर त्यस्तो फुर्सद र सूक्ष्म दृष्टि घोट्ने हामीमा धैर्यता नै कहाँ ?? धन्न साथीभाइबहिनीले हौस्याउँछन् र झुक्किएर वर्षमा एकाध पटक डाँडा-कन्दराको जोखाना हेर्न सुर कसिन्छ । फेरि पनि त्यसरी नै 'झुक्किने' मौका मिलेमा अनुभवको झोक्का को CaFe को मेनूमा पस्किने नै छु । हुटहुटीको लागि धन्यवाद छ है !

    ReplyDelete
  4. सुन्दर वयान गर्नुभएको छ धाइबाजी आफ्नो यात्राको! नेपाल त्यसै-त्यसै रसिलो, रमाइलो र सुन्दर छ। तपाईँको सुन्दर वयान सुनमा सुगन्ध बनेको छ।

    अब दुबै हातमा जोडी स्याउ बोक्ने मेसो पनि अगाडि बढोस् भन्ने कामना:)

    ReplyDelete
  5. http://www.lubhoo.com

    ReplyDelete