Subscribe:

Ads 468x60px

30 November 2008

चौतर्फी आतङ्कको रजाइँ किन ?

नोभेम्भर २६ तारिख बुधबार राति छिमेकी मुलुक भारतको मुम्बई सहर आतङ्कवादी हमलामा परेयता शनिबार रातीसम्ममा मृत्यु हुनेको सङ्ख्या २०० को हाराहारीमा पुगेको छ । यो सङ्ख्या बढ्ने निश्‍चित छ, समग्र घटनास्थलमा राज्यस्तर पुगेर तथ्यहरू आधिकारिक पूर्णताका साथ अझै आइपुगेका छैनन् । समाचार माध्यमहरूमा जनाइएअनुसार, समुद्रको बाटोगरी भारत छिरेका उग्रवादी बन्दुकधारीहरूले एकाएक बार, होटलमा हमला गरे र केही स्थानलाई कब्जामा लिएर मानिसहरूलाई बन्धक बनाइराखे । उनीहरूले यहुदी सङ्गठनको कार्यालय पनि कब्जामा लिएका थिए ।
साम्प्रदायिक दुराग्रहको घनचक्करभित्र विश्वव्यापी आतङ्कवादको रापमा भारत पनि केही समयदेखि दन्किन थालेको छ । प्रगतिको हरेक पाटोमा लम्किँदै विश्वका शक्तिसम्पन्न राष्ट्रहरूसँग अन्तर्राष्ट्रिय मुद्दा तथा आपसी लेनदेनको कुरामा कुममा कुम जोड्दै आएको आजको भारतको लागि टाउको दुखाइको एउटै कुरा छ - आतङ्कवाद । चाहे त्यो, देशभित्रै विभिन्न व्रि्रोही समूह (विशेषतः माओवादी) बाट थालिएको छिटफुट आक्रमणको गृहयुद्धोन्मूख भय होस् या विदेशी भूमिबाट भूमिगत रुपमा सञ्चालित आतङ्कवादी जत्थाको हरसमय सम्भावनात्मक अनेकौँ तारो होस् ।
यसैले नेपालजस्तो निरीह देशको भूमि पनि कतै आफूविरुद्ध प्रयोग नहोस् भन्नेमा भारत सदा चनाखो रहन्छ, नेपालसँग हुने विभिन्न साझेदारी तथा सहयोगको अभियानमा भारतको एउटा 'बार्गेनिङ प्वाइन्ट' त्यो रहन्छ नै । र त, नेपालमा कोही नयाँ प्रधानमन्त्रीले बालुवाटार सम्हाल्नेबित्तिकै भारत कान थापेर पर्खिन्छ - नेपालको भूमि कुनै देशको विरुद्ध प्रयोग हुन नदिने कुरामा हामी सदा प्रतिबद्ध छौँ ।
धर्मभेद, जातिभेद, वर्गभेद आदि जुनसुकै नाममा हिंसालाई मन-मगजमा हुर्काएर फुक्का तुल्याउनेहरू विश्वशान्तिको जनसपनामा जब्बर चुनौती बनेर तेर्सिएका छन् । जे होस्, कुनै पनि नाममा आतङ्क र आतङ्कवादलाई स्वीकार्न सकिँदैन । आतङ्कवादको विश्वव्यापी टकराव यसरी दिनानुदिन तेज हुनुमा महाशक्ति राष्ट्र अमेरिकाको अनियन्त्रित खेलखोरले पनि धेरै हदसम्म काम गरेको छ । सानातिना मुलुक, खासगरी मुस्लिम राष्ट्रमा उसको सफाया अभियान र हेपाहा व्यवहारले बारुलाको गोलालाई जिस्क्याएजस्तै हुन पुगेको छ । तर आतङ्कको जन्ममा अमेरिकी भूमिका अंशतः मात्र छ, आजको थामिनसक्नु मानवीय अराजकताको स्रोत त शक्तिको होड र प्रतिस्पर्धाको अनैतिक लडाइँ नै हो, जसमा मानवीय मूल्य दिनानुदिन खस्किँदै गइरहेको छ । कीरा-फट्याङ्ग्रा मर्‍यो कि एउटा मान्छे, असर र महत्व नराख्‍ने भइसकेको छ ।
नेपाल जस्तो शान्त र सन्तुलित देशमा पनि मानवीय अवमूल्यनको यस्तो भयावह जङ्गल झ्याङ्गिइसकेको छ । भगवान् छन् भन्ने विगतको आस्थापूर्ण समयमा पाप र ईश्वरीय सजायको डरले भए पनि समाज एक हदसम्म सन्तुलित र धार्मिक ओजयुक्त रहन्थ्यो । तिनताका मान्छे मार्नु त के, समग्र जीवजन्तु र विरुवा-वनस्पतिको जीवनप्रति मानव-जगत्‌मा करुणाको अथाह राशि रहन्थ्यो । अहिले त बौद्धिक फाँटमा नित्शेले गरेको ईश्वर मरेको घोषणा र्सवव्यापक बनेझैँ भएको छ, न पापको डर न त दण्डको नै परलौकिक व्यवस्था ! राज्यले नै दन्डहीनताको वकालत गरेजस्तो नेपाल जस्ता आजका अन्य मुलुकको हकमा, दन्ड दिने सर्वाधिकार पूरापूर विभिन्न इलाकामा लुकेछिपेका आपराधिक गुटले नै लिएजस्तो देखिन्छ । धन्य कलियुग !

नोभेम्भर ३०, २००८ © जोतारे धाईबा
*********************************************************************************

2 comments:

  1. मलाई पनि विश्वव्यापी आतङ्कको श्रृङ्खलामा अमेरिकाको हेपाहा प्रवृत्ति नै हावी भएजस्तो लाग्छ । यसको हेपाहा प्रवृत्तिको विरोधमा अर्को कुन शक्तिको उदय हुने हो, अनि कहिले उदय हुने हो खै !!!!!

    ReplyDelete
  2. प्रति टिप्पणिको लागि धन्यवाद उजेलीजी । तर अमेरिकक वैकल्पिक शक्ति तत्कालको लागि सम्भव देखिदैन भन्ने स्वीकार्नु नै अहिलेको एउटा विकल्प हो ।

    ReplyDelete