Subscribe:

Ads 468x60px

04 December 2008

सम्पादकलाई लेखिकाको पत्र

प्रस्तुत लेखनीसँग एउटा रोचकता गाँसिएको छ । यो मेरो कलमको उद्‌गार होइन, तर मेरो लागि निशाना साँधिएको कसैको कलमको तीर हो । मैले नछोएर पनि मसँग पूरापूर एकाकार !

नितान्त निजी कुरा भए पनि यस्तो रोचकता सबैसँग यसरी ब्लगको खुला मञ्चमार्फत बाँडीचुडी गर्न मनैले अह्रायो, अब मनैले अह्राइसकेपछि टार्न कसरी पो सकिएला ? फेरि, मनलाई दास बनाएर आफू त्यसको मालिक बन्ने कुरा हरेक कुरामा लागू गर्नुपर्ने बाध्यकारी आवश्यकता पनि त हुँदैन होला नि ! त्यसैले यो CaFe को खुराकमा सजाइँदैछ । भदौ २१ (सेप्टेम्बर ६) को परिवेशमा लेखिएको यस पत्रको सामयिकतामा शङ्का हुन सक्छ, तर सोचीसम्झी नै यसलाई सान्दर्भिक भावभूमिका कारण प्रस्तुत गरिएको छ ।

धेरै कुरा त पत्र पढ्दै जाँदा बुझिहालिन्छ । तर मेरो तर्फबाट भन्दा, जन्मदिनको उपहार - यो पत्रात्मक 'टोकन' व्यक्तिगत भएर पनि सांसारिक चेत र व्यापकता बोकेको सामुहिक भावनाको छ । कम्तीमा, मलाई यस्तै लाग्यो । जीवनयात्राको किरिङमिरिङ निवेदनलाई यस पत्रका कहीँ कोमल/कहीँ कठोर (कटु होइन) भावले समाधानकारी दस्तखत चलाएर स्वीकृति दिएझैँ लाग्छ । र पनि, सहृदयताको लेप भरपूर छ यहाँ, नागराजले लुकाएको मणिझैँ । लेखिकाको पत्र सम्पादकलाई ! पत्रको लेखाइ अनि सम्बोधनमा साहित्यिक नौँल्याइ त छ नै, पारिवारिक जीवनको कलिलो सपना पनि छ ।

यस्तै ढाँचाको मेरो पत्र (लेखिकालाई सम्पादकको प्रेमपत्र), कथा विधाअन्तर्गत हङकङबाट सञ्चालित nepal.hk मा पनि अघिल्लो वर्ष (२०६४ मा) प्रकाशन भएको थियो । पढ्न यहाँ - स्पर्श गर्नुहोस् ।
बाँकी कुरा तल आफैँ पढेर निष्कर्ष बनाउनुस् है त !
कस्तो लाग्ला कुन्नि यो कोसेली ?

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

प्रिय सम्पादक,
लामो समय - झन्डै एक वर्षपछि, तिमीलाई यो पत्र लेख्दै छु । यो एक वर्षको लामो अन्तरालमा पत्र लेख्‍नकालागि प्रयास नगरेको पनि होइन तर समय र परिस्थितिको दासी हामी, हाम्रो वशमा के नै हुन्छ र ? अवरोधका विभिन्न तगारोले हामीलाई घेरिरहेकै हुन्छन् । त्यसैले लामो समयदेखि पत्र लेख्छु भन्दाभन्दै पनि पाइरहेको थिइनँ । तर आज तिम्रो जन्मदिन । तिमी मेरो सम्पादक, अनि म तिम्री लेखिका । तिम्रो जन्मदिनमा केही नलेखूँ ? त्यसैले औँलाहरू नचाउँदैछु, यो कालो किबोर्डमा ।
कसलाई थाहा, अर्को वर्ष तिम्रो जन्मदिनमा यसरी नै पत्र लेख्‍ने मौका मिल्ला या नमिल्ला… ।
आज तिम्रो जन्मदिन, फूलका गुच्छा नदिए पनि शब्दका गुच्छाहरू अवस्य पनि पायौ होला । पक्कै पनि आजको दिनमा तिमीले 'ह्याप्पी बर्थ डे' को भाकासँगै औपचारिकताको बतासमा बहकिएर मैनबत्ती निभाएनौ भन्ने आशा गर्छु । बिहानै दियो भने बालेको हुनुपर्छ, अँध्यारो बाटोलाई उज्यालो पार्न । तिमीलाई थाहा छ, मान्छेको औँसत आयु ६० वर्ष (नेपालको हकमा) मान्ने हो भने तिमीसँग अब ३६ वर्ष मात्र बाँकी छ । तिम्रो जन्मदिनको दिनमा पनि म तिमीप्रति कोमल हुन सकिरहेको छुइनँ । हुन त मैले तिमीलाई सुरुको दिनमा नै पत्रमार्फत माफी मागिसकेँ - म कोमल हृदयको छुइनँ भनेर ।
हरेक वर्ष रुखमा पालुवा पलाउँछन्, तर हरेक वर्ष पातको प्रकृति फरक-
फरक हुन्छन् । पात पनि पलाउँछन्, पहेंलिन्छन् र झरेर तिनको ठाउँमा अर्को पात फेरिन्छन् । एउटै बोटमा पलाएका पातहरूमा पनि अनेक भिन्नता पाइन्छन् । हामी त मानिस, विवेक अनि आफ्नो छुट्टै धारणा भएका, हामी सबैबीचमा एकरुपता आउन सक्छ भनेर कसरी भन्न सकिएला र ? पातमा भएका रेशाजस्तै हामीबीचमा विचारको भिन्नता छ । त्यसैले त भिन्न-भिन्न अस्तित्वको विविध सुरमा हामी बाँचिरहेका छौँ, नत्र बाँच्नुको अर्थ नै के ? सबैको जीवनमा एउटा लक्ष्य हुन्छ । तर जाने बाटो र पुग्ने ठाँउ फरक-फरक । नत्र लक्ष्य बनाउनुको अर्थ नै के ?
यसअघिका वर्षमा जस्तै यो वर्ष पनि भदौ २१ गते आजको दिन परेको छ । अर्थात् तिम्रो जन्मदिनको घडी । तर यो भदौ २१ पोहोरको भदौ २१ होइन । त्यो २१ लाई तिमी ल्याउन सक्दैनौ । पोहोरका वर्षले ल्याएका धेरै कुरा तिमीलाई छाडेर गइसकेका छन् । कतिलाई तिमी आफैँले पनि छाडिरहेका छौँ । हेर त, आफ्नो वरपरको वातावरण धेरै परिवर्तन भएको छ । अर्को वर्ष आजको यो वातावरणमा घटबढ अवस्य हुनेछ ।
उमेरसँगै बढेको परिपक्वताले मान्छेका इच्छा, रहर, सोचाइ, जीवनप्रतिको दृष्टिकोण परिर्वतन पारिदिन्छ । हुन त तिमी मेरो सम्पादक, म त मात्र लेखिका । तर नजाने पनि आत्मीयतावश केही भनिहालूँ भन्ने मानवीय स्वाभावबाट टाढा जान नसकेर यति लेख्दैछु । बितेका वर्षलाई अवलोकन गर्दा धेरै दुःख, सुखका उकाली-ओरालीहरू आए होलान् । आफन्तका न्यानो स्पर्शले निधारका पसिना पुछिए होलान् । अनि तिनै आफन्तका पराई बोलीले आँखाका डिलबाट तप्‌तप् अनमोल आँसुका धारा पनि बगे होला । आँसु पुछिदिने हातका पर्खाइमा बसेका आँसु आँखाकै डिलमा सुके पनि होलान् । अनुभवका सम्पत्तिले भकारी निकै भरियो होला ।
चुनौतीसँग जुध्नु नै जीवनको रमाइलो पक्ष हो । सार्थक जीवनको उपमा हो । अनुभवलाई पैसामा किन्न सकिँदैन । आ
फूले सिकेका कुरा अरुलाई सिकाउन सकिँदैन । मेरी आमाले बताएका कुरा आज यसरी तिमीलाई भन्दैछु । यसलाई जीवनको मूल मन्त्रको रुपमा त लिन नसकिएला, तर पनि जीवनमा उकाली-ओराली गर्ने क्रममा परिआउँदा लौरीको काम भने पक्कै गर्नेछ । मैले पनि त मेरी आमाले सिकाएका यिनै सूत्रमय लौरीले धेरै जँघार तरिसकेँ, आगामी दिनमा पनि यिनै लौरीको सहायताले धेरै काम गर्ने सोच बनाएको छु ।
लामो समयसम्म नलेखेर होला, सोचेजति केही लेख्‍न सकिनँ । मनको उकुसमुकुसलाई औँलाले पढ्नै सकेन जस्तो छ । त्यसैले आजका लागि यति भन्नु नै बुद्धिमानी ठान्दैछु । तिम्रो जन्मदिनमा अरु केही दिनलाई नसके पनि शब्दका केही थुङ्गा दिनेछु भन्ने सोच बनाएको थिएँ त्यो पनि तिमीले अपेक्षा गरेको रूपमा दिन असमर्थ भएँ क्यार । त्यसका लागि क्षमा माग्दै यो पालीका लागि बिदा चाहान्छु । अर्को वर्ष भने पक्कै शब्द अनि औँलाले साथ देलान् कि ?

उही -
तिम्री लेखिका

7 comments:

  1. नौलो खालको (शुभकामना) पत्र रहेछ, निकै भावपूर्ण र रोचक पनि।

    यति नितान्त निजी कुरा पनि हामीसंग पनि बाँड्नुभएकोमा धेरै-धेरै धन्यबाद!

    ReplyDelete
  2. पत्र त रमाईलो छ तर अलिकति परिवेश बुझ्न गाह्रो भयो मलाई ।

    ReplyDelete
  3. यो कुरा पत्ता लगाउनै पर्यो जस्तो छ गाँठे । कस्तो छुपेरुस्तम तैपनि कस्तो रमाइलो

    ReplyDelete
  4. अत्यन्तै आभारी छु सबै शुभेच्छा र कौतुहलको लागि ।

    निजी कुराको थोरतिनो बेलिबिस्तार लगाउँदा सामुहिकताको न्यानोपनले छोप्दो रहेछ वसन्तजी ! र त्यसमा केही कुरा लुकाउन पाउँदा तरङ्गित पनि भईदो रै'छ ।

    परिवेश खुलाउन त्यति मन नगरेको हो, र पनि जति लेख्न मिल्ने हो लेखियो जस्तो लागेको छ । बाँकी कुरा सुत्रात्मक रुपमा बुझे कसो होला उजेलीजी ?

    अविनाशीजी, यति खुलाएर व्यक्त गर्दा पनि छुपारुस्तम भयो तपाईंलाई ? पत्ता लगाउने अभियानमा सरिक भएर निकालेको निश्कर्ष पहिले म नै सुन्न पाउँ है ।
    रुचाउनुभएकोमा धन्यवाद !

    ReplyDelete
  5. म त आउँदै पढ्दै जाँदै गर्दैछु । आज पढ्दा ३ पटक भयो तर प्रतिक्रियामा के भनेर लेख्ने भयो सँधैं र आज चैं कुनै कुरामा जस्तो महसुस हुन्छ प्रतिक्रिया त्यस्तै त लेख्ने हो नि भनेर यति लेखेँ ।

    ReplyDelete
  6. खास कुरा त त्यही नै त हो नि गर्नुपर्ने जडितजी ।तर किन यस्तो भएछ त आउँदै पढ्दै जाने ? जुन कुरामा जस्तो महसुस हुन्छ सोही भाव व्यक्त गर्ने त हो नि । तपाईंलाई के लेखुँ भन्ने भावले चिमोट्यो, त्यो पनि त एउटा प्रतिकृया हो । तपाईंको आँखा र मन पाएँ, यही काफी छ ।

    ReplyDelete
  7. Sarko Jagir Milla Jasto chha. It's a clever idea.
    very intresting and artistic lagyo.

    ReplyDelete