बालापनको झझल्कोले नचिमोट्ने पलै हुँदैन । जति-जति उमेरले सिरै सेताम्मे सगरमाथा पार्दै जिन्दगीलाई अत्यासलाग्दो रङमा रङ्ग्याउँदै जान्छ, उति बालापनको सम्झनाले पिरोल्छ । हुन त यस्तो हुनु 'हातदेखि झरेको धुलो सुन लागेजस्तो' हामी मानिसको असन्तोषी स्वभावको उपज पनि होला । तर बालापन हुन्छ नै अति प्यारो, शोक न सुर्ता भोक न भकारी भनेजस्तो । त्यही प्यारो र निश्‍छल पललाई गजलमा उन्ने मेरो प्रयास हो यो । यसमा बुनोट सोचेजस्तो त्यति चित्तबुझ्दो हुन सकेन, र पनि जब यो गजलतिर आँखा पर्छ, मन एकतमास हुन्छ र म माटोमा लडीबुडी गर्ने उमेरमा कोल्टे फेर्छु । आहाऽऽ बालापनमा !!!


फुच्चा गोडा, बलेंसी र पानी बालापनमा
छप्ल्याङछुप्लुङ नाङ्गाबुङ्गा नानी बालापनमा ।

काले थियो लुरी, दोर्जे, माइली सबै थिए,
सिङ्गै टोल लाग्थ्यो राजधानी बालापनमा ।

लुगा सिउने कान्छा दाइको टालाटुली चोरी,
पार्थ्यौं ठिक्क बेउला-बेउली छानी बालापनमा ।

फकाउन मिठाइ दिए पढ है भनेर,
सरको अघि बन्थ्यौं सारै ज्ञानी बालापनमा ।

बुढा-बुढी, चोर-पुलिस अनेक खेल थिए,
जे खेले'नि बाङ्गो थिएन बानी बालापनमा ।