- जुरेली चरीको बक्खु काखीको न्यानोसमान ओइरिइरहने स्नेहधारा,
- मुटु छेड्ने पिराहा गालीको रेटिरहने स्रोत ।

सराबरी दुई हातको एउटा खँदिलो अँजुलि ।
अर्थात् आमा ।

सायद यही पहिलोपल्ट, आमा भन्ने दुईअक्षरी भाका मेरो लेखनीबाट झङ्कारमा उठेको छ । त्यो पनि विशेष रुपले । यस भूगोलमा कुनै पनि अस्तित्त्वलाई आफू हुनुको बोध गराउने अंश छाड्ने आमालाई नजिकबाट अभिव्यक्तिको केस्रामा उप्काउन मैले कहिलेदेखि हो सोचिरहेको । तर के भएर हो, आमा-समाजको ठूलो घेरामा पनि ती आमा त मैँसँग रहेर पनि मबाट छुटिरहिन् । अर्थात् मैले छुटाएँ । बिनाचर्चा, बिनापर्चा । चर्चा र पर्चाका कुरामा, उसो त आमा कुनै आम निर्वाचनको उम्मेदवार पनि होइनन् । र फेरि पनि खोइ कुन अर्थ र गहिरो उचाइले गर्दा हो, मैले आमाको भावलाई शब्दमा खेलाउन चाहेँ । जसरी बालापनमा उनले आफूहरूलाई झोलुङ्गोमा झुलाइन् । तर मैले आमाको आभायुक्त घोललाई उमेरभरि तापिलो गरी चाखिरहे पनि त्यसलाई देखिनँ । म कुन लङ्काको निद्रामा रहेछु यत्तिका बेरसम्म ? यी आँखाहरूमा कति किलो नौनी जम्मा भइरहेको रहेछ र पग्लिएर सफा हुनलाई यतिन्जेल लाग्यो - मानौँ यो सबै आमा भन्ने बोधकै रापिलो भावको प्रतिफल हो, जसले मलाई एकाएक आज छ्याङ्ग बनायो ।

र् भर्खरै यति लेखिँदालेखिँदै फोन सम्पर्कमा आएकी एउटी सखीलाई सामान्य भलाकुसारीपछि केरकार गरेँ-
'एउटा कुरा सोधूँ ?' भूमिका बाँध्छु (खासमा फुकाउँछु) ।
-'सोधूँ भनेर सोधि त हाल्यौ, के हो भन ।'
'आमालाई तिमी कति माया गर्छ्यौ ?'
- 'धेरै ।' उनको छोटो र सजिलो जवाफ ।
'मतलब ?' मेरो गहिराइ अझ गहिरिन्छ ।
- 'धेरै भन्या धेरै नि !' लगभग झर्किएको लबजमा उनको आमाप्रेम परिभाषामा पोखिन्छ ।

अँ, पुग्यो सायद । धेरैधेरै माया ।
चिठीपत्र लेख्दा पनि हामी सिरानमै उक्त 'धेरै' को ट्याग झुन्ड्याइहाल्छौँ । खासमा मनको प्रेमालु तरलता त्यहाँभन्दा बढ्ता अटाउँदैन पनि । र त हामी धेरैऽऽ भन्दै अमूर्तताको पोखरीबाट छाल उब्जाएर शीतल बटुल्न खोज्छौँ । साथै, बाँड्छौँ सम्बोधित कुनै प्यारो पात्रलाई पनि ।

उनै सखीकी खुला दिलकी आमासँग पनि म फोनवार्तामार्फत एकाध पटक स्नेहको सौभाग्यमा गाँसिएको छु । कस्तो भने, छोरीको मोबाइलमा फोन गर्दा आमाचाहिँले उठाउने । त्यसो हुँदा बुझ्नुपर्ने- यी स्नेही आमाकी चञ्चल छोरी पक्कै कुनै नित्यकर्मको परिबन्दवश घरभित्र अलप भएकी छे । अनि त मानौँ छोरीको प्रतिनिधिका रुपमा आमासँगै गफिनुपर्ने ! गफिँदा उनै आमाको खोइ कस्तो रसैरसले भरिएको शीतल स्वरले म भिज्छु ।
भन्छिन्- 'बाबू, खाना खान नआउने हाम्रोतिर ?'
औपचारिकतावश या जुनसुकै रुपले त्यो बोली आएको होस्, घरदेखि दूर राजधानी सहरको निर्जनतामा आफ्नै साँगुरो परिवेशमा बस्ने मलाई त्यो आमाबोलीले कसोकसो हुरुक्क बनाउँछ ।

आफ्नी आमालाई मैले कहिले बिर्सिन खोजेँ ? थाहा छैन । र बिर्सिनै खोज्दा पनि भागेर अलप भइजाने आमा त्यस्ती लुखुरे आन्दोलनकारी हुँदै होइनन् । उनी त एकाएक आत्माको मैदानमा धावा बोल्ने र बोलिरहने ममताकी लडाकु हुन् । यस मानेमा आमा हाम्रो आत्माकी हमलाकारी तागत हुन् । तर सहृदयी हमलाकारी । जसले कोखपछि काखको मुलायम संसारमा लुटुपुटु पारेर हामीलाई अनेक आततायी हावाहूरीबाट जोगाएर राखिन् । खोइ किन अथवा केका निम्ति... ।

रुसी साहित्यमा गर्विलो स्पेस रचेका गोर्कीको विश्वप्रसिद्घ औपन्यासिक कृति आमा (सन् १९०७) भर्खरै यसपालिको दसैँछेक पढेँ । त्यो पनि तेस्रो-चौथो होइन, पहिलोपटक । सन् १९०७ देखि २००८ सम्ममा कति आमाहरूले आफ्नै सेरोफेरोमा सानातिना भए पनि क्रान्ति गरे होलान् । तर बल्ल आज सय वर्षपछि मैले एउटी रुसी आमाको साहसिकतासँग साइनो बनाउन भ्याएँ । यसैबाट थाहा हुन्छ, आमा भन्ने सृष्टिको थुङ्गाप्रति म आफ्नो ताउरमाउर जनाउन कतिसम्म पिछडिएको छु । पढेपछि यस्तो लाग्यो, धेरै पहिल्यैदेखि गोर्कीरचित आमा पेलागेया निलोभ्नाको साहसी र कर्मठ छातीको स्पन्दन सुन्न म व्यग्र बनिरहेथेँ । तर के लाग्दोरहेछ र, कुनै पनि कुराको एउटा साइतविन्दु त हुँदोरहेछ । मैले सायद त्यही विन्दुलाई पर्खिरहनुपर्‍यो, पढ्नका निम्ति । प्रस्तुतिको तिक्खरता त्यहाँ कस्तो छ भने, मानौँ साक्षात् सिद्घ योगीको असरदार फुर्ति उत्रिएझैँ लाग्छ । कतै यो आमा भन्ने ओजिलो आधारभावकै प्रभाव र प्रवाह हुन सक्छ । कृतिभित्रका चल्तापूर्जा पात्रहरू पाभेल भ्लासोभ, आन्द्रेइ, निकोलाइ र साथीहरू यही मगजमा गजबसँग सुकुल ठोकेर बसेका छन्, अति सादापनले ।

'आमा होइऽऽ',
ग्रामीण लबजमा यस्तै लयले ममताको आश्रय खोज्दै मूर्च्छना उराल्छ । सम्बन्ध खोइ कस्तरी मन्द सुरमा स्वतः नाचिरहेको हुन्छ आमा र सन्तानबीच त्यतिखेर । मानौँ यो पृथ्वी घुम्नुजत्तिकै स्वाभाविक छ- आमाको सारीको फेर समात्‍नु । अनि तारा चम्किएजत्तिकै प्राकृतिक छ- कस्तै डरमर्दो घडीमा पनि आमासँगको आत्मीय आमनेसामने । बालापनमा आमा एकैछिनलाई कता हराउँथिन् र उनको दूधका भरोसिला लाम्टाहरूले हामीलाई बोलाउँथे । होइन र ? कामको धुवाँधपेडीले आमा मुहारका चाउरीपत्रहरूमा कहाँकहाँ लोप भएको मुस्कान खिलखिलाउन खोज्थिन् र हामी तिनको शुष्क हाल देखेर पनि मौनतामा जिल्लिरहन्थ्यौँ । उफ्, त्यो दोहोरो विवशता ! न आमा 'यस्तै हो बाबू-नानी' भनेर सुस्केरा हाल्दै वैराग्य साटि्थन्, न हामी आडभरोसाको लोली मिलाउन सक्थ्यौँ । विडम्बना ! भर गर्न नालायक हाम्रो कलिलो उमेरको अवस्था । खासमा धेरै आमा र भुराभुरीहरू जीवनको आरम्भिक सङ्गतिका दिनहरूमा बोलेर पनि परस्परलाई केही सुनाउन सक्दैनन् । जे छ, बिस्तारै आफैँ बुझ्दै र मनन गर्दै जानुपर्ने । मानौँ हामीले भद्र भनाउँदो मौन समारोहबीच 'वफेट डिनर'मा चम्चा व्यस्त पारिरहनुपरेको छ, अघिल्तिरका भरिभराउ भाँडाकुँडाहरूमा ।

अहिले आएर जीवनको २३/२४ वर्षको अध्यायलाई पल्टाएर उमेरका अघिल्ला पृष्ठहरूमा फैलिन्छु, तब केलाउँछु- हुर्किने क्रममा दूधको नाता टुटेपछि मेरी आमाको कति नजिक बसेँ फेरिफेरि म ? अर्थात् क्रमशः बूढी हुँदै जाँदा उर्मिलादेवी कार्कीले कतिपल्ट छोराको भरोसापूर्ण थपथपाहट पाउन सकिन् ? ती शिथिल भएर नसैनसा झ्याङ्गिएका हातलाई कति न्यानो गरी हामीबाट सुमसुमिएको पाइन् ?
... ... ...
प्रश्‍नैप्रश्‍नका चिन्ह मात्र ।

आमा तिनै प्रश्‍न बनेर सन्तानको आत्मा-पुस्तिकामा जवाफ खोज्न आउँछिन् झैँ लाग्छ । तर प्रश्‍नले र्‍याखर्‍याख्ती तुल्याएर सन्तानलाई हाडे ओखर चखाउँदिनन् आमा । संसारमा त्यस्तो परीक्षा कहिल्यै भएन । न त हुनेछ । र पनि, सन्तानलाई आमाको प्रश्‍नसूचक अनुहारले सताइरहन्छ, प्रश्‍नबाट घाइते हुनुभन्दा सटीक जवाफ आफूले के दिनु छ र ? (दिए पनि ठाउँमै छुनेगरी दिनलाई कहाँ सक्नु छ र ?) र आमा यहीँ हाम्रो आत्मामै खिपिएर बस्छिन्, आफ्नै ओजपूर्ण रङमा । जसमा कुनै होलीपूर्णिमाको जस्तो अल्लारे तडकभडक छैन अनि छैन रङको अस्वास्थ्यकर मिसावट पनि । आत्मामा उनको एकतमास कीर्तनको सुरले यात्राभरि हामीलाई कति मजाले पङ्खा हम्किरहन्छ ! र त हामी अक्करैअक्करको बाटोमा पनि शीतल पैँतालाको वेग मार्छौँ ।

मेरो जीवन-साथीको छनोटबारे झ्वाट्ट थाहा पाएर पनि सगरमाथाको फेदी उदयपुरस्थित भित्री मधेसको घरमा रहेकी मेरी आमा पटक्कै अलमलिइनन् । दसैँमा घर जाँदा उनलाई मेरो तर्फबाट कोसेली खबर त्यही थियो । सुनेर भन्थिन्-'सुन् है काले, ज्यादै मरिहत्ते चैँ नगर्नू, बाँकी राम्रै हुनेछ ।' उर्मिलादेवीको आँखाले मलाई लपक्क सौम्यपूर्वक नुहाइदियो र म एकदम सफा भएँ, अनुभूतिका अर्थमा ।

कस्तो हर्ष र विस्मात्‌को एउटै गुजुल्टो ! आमा मलाई समेत ममताले छेडेर मेरो जीवन-साथीको छनोटसम्मलाई छुन भ्याउँछिन् । म भने एउटी आमा उनैलाई पनि छुन भ्याइरहेको हुन्नँ । सायद आत्मामा मेरो, हत्केलाको सोलोढोलो आकार मात्रै छ, ...
औँलाहरू त गायब !
साकारमा छिन् आमा,
आमा मात्रै ।

(चैत ८ २०६४ शुक्रबार फागुपूर्णिमा, नक्साल काठमाडौँ)