Subscribe:

Ads 468x60px

01 March 2009

मनमाया र मजेत्रो

यो कविता मेरो केही वर्षअघिको कमाइ हो । सादा विषय, सादा पात्र, सादा लेखाइ भएको कविता । र पनि किन-किन यो कविता पढ्दा मन चङ्गा हुन्छ, मानौँ म नै हुँ त्यो हतभागी मनमाया चरित्र । आफ्नै व्यथा चौतारीमा कहे जस्तै हलुङ्गो लाग्छ । आज हाम्रो समाजमा मनमाया जस्ता थुप्रै अनुहारहरू निचोरिएको मन लिएर बाँचिरहेछन्, छि:छि र दूर्‌दूर्‌मा तेर्सिने औँलाहरूलाई हाँक दिँदै उनीहरू बाँचिरहेछन् । हेलाहोचा नै मनमायाहरूको दैनिक श्‍वासप्रश्‍वास हो । केवल बाँच्नु ठूलो कुरो होइन, र पनि प्रतिकूलताबीच बाँच्नु महान् यात्रा हो । मनमायाको धुस्रेफुस्रे कपाल र खपटे अनुहार त प्रतीक मात्र हो, खासमा समाजमा तिनको जिन्दगानी नै धूस्रेफुस्रे र रूग्ण छ । मनको सुन्दरतामा जोड दिँदै जिन्दगीको 'डायनामो'मा चार्ज गर्दै गुड्ने मनमायाहरू एक्का-दुक्का सामाजिक आँखाले थोपरेको कायिक झलकको झम्टा खेप्नुपर्दा असाध्यै ठेस भोग्छन् र ऐनासामु पसारो पर्न अभिशप्‍त बन्छन् । यस्तो भीडबजारमा समान अवसर र सम्मानभावको ब्यूटी पार्लर कहाँ होला यिनको लागि ? कविता प्रस्तुत छ -

--------------------------------------------
मनमाया र मजेत्रो

मङ्गको आकाशमा
स्वच्छन्द उड्नेभन्दा
विरक्तिको विरानो वनमा
विरह गाउने
मैन जस्तो मन छ
मनमायासँग

थाहा छ उसलाई
केवल
हाँगा फाटेको
लट्टा परेको
गुजमुज्ज कपाल,
मेहन्दीको घोलको
चम्किलो रङ्गीन लेपन
र सेम्पुको सलसलाउँदो गुन
अहँ, मनमाया
असाध्यै अबुझ छे,
अग्घोरै अक्षम छे

चौँरीको पुच्छर निमोठ्नु
भेंडाको बगाल सम्हाल्नु
त्योभन्दा बढी पटक्कै
आफैँलाई समेत
नियाल्दिन मनमाया
रातो तर फुटेका गालामा
चमक उडेको सादा ऐनाबाट

भद्दा ओठले
मलिन भाका गुनगुनाउनु
बाटुला अमिल्दा दाँतले
मुख छोपेर हाँस्नु -
मनमाया विवश छे
सारै विवश,
केही क्षणलाई खल्तीको फुरूङ्ग पर्न
कसैबाट लिएको सापटी नोट जस्तो
अत्यन्त हिफाजतसाथ
राख्छे मनमाया
मजेत्रो शिरमा

घुँगुरिएका फुस्रो कपालसँगै
बाँधेर मजेत्रोले
कुबेलामै फुलेको आफ्नो बैँस
मनमाया यतिखेर
आफैँलाई हेरिरहिछे
सान्त्वनाको सन्झ्यालबाट
मनमाया
कसिराख्छे मजेत्रो
केवल हराएको यौवन
सम्हाल्न,
मैलो मजेत्रोभरि गुम्सिएको
कपालको एक झुप्पा बादल झैँ
कतिविघ्न गन्हाइरहँदो हो
जिन्दगी !

मनमाया
विवश छे,
सारै विवश !

* तस्बिर :
नेपाल स्कूल प्रोजेक्ट

7 comments:

  1. धाइवा जी अति नै प्रसंसनिय र यथार्तमा डुबेको नेपालि मनमायको चित्रण गर्नु भयो । साच्चै नेपालि समाजमा तपाइले दर्शाएका जस्ता हजारौ मनमाया हरु छन । कहिले र कसले बुझ्ने तिनको बिबसता र बाध्यतालाई? देशमा सयौ कुराहरुको परिवर्तन् भयो तर यि मनमायाहरुले परिवर्तनको स्वाद सम्म चाख्न पाएनन ।

    ReplyDelete
  2. साह्रै सुन्दर कविता! धन्यबाद धाइबाजी!

    ReplyDelete
  3. धेरै राम्रो कविता लाग्यो मलाई !! अलिकति लामो पो भएको हो कि ?? सुन्दर चैँ धेरै सुन्दर र अलिकति छोट्याउनुभए राम्रो हुन्थ्यो जस्तो लाग्यो मलाई !!

    ReplyDelete
  4. आफ्नै संसारमा मग्न छे मनमाया...

    ReplyDelete
  5. असल चित्रकार जस्तै हुनु हुन्छ तपाई कति कलात्मक तरिकाले तपाई आफ्नो शब्दद्रारा मनमाया को वर्णन गर्न सक्नु भएको छ .........यथार्थ रहेको छ ।
    अनि सफल रहेका छन तपाइका शब्दहरु मजेत्रो को ... परिस्थिति बोधगराउन ।

    ReplyDelete
  6. मनमायाको विवशता र हुर्केर लाखापाखा लागेका उनका संततीको अकर्मण्यता एकैसाथ बोलेको छ कविताले । साह्रै सुन्दर !

    ReplyDelete
  7. Sarai ramro lagyo. I see manmaya as a woman who is free from the influences of media and beauty parlours. For whom beauty is within but not on skin. It is difficult whether to see her oppressed or free. Remarkably great poem.

    ReplyDelete