Subscribe:

Ads 468x60px

03 April 2009

पहिलो वर्षगाँठ : अनुभूतिका गाँठाहरू

ब्लगिङ गर्न थालेको पनि वर्षदिन पुगिसकेछ । फर्किएर हेर्दा ठीक अप्रिल १ कै दिन पहिलो पोष्‍ट प्रस्तावनास्वरूप पस्किँदै ब्लगिङको संसारमा पाइलो हालेको रहेछु । लेख्‍न त २०५४/५५ ताकाको स्कुलेबेलादेखि नै लेख्थेँ, तर प्रविधिलाई आत्मसात् गर्दै इन्टरनेटको सहारा लिएर लेख्दै जानु र लेखिरहनुको चुनौतीलाई आत्मसात् गर्दा अर्को 'लेख्य-पाठशाला' बन्यो मेरा लागि । भर्खर लेख्‍न थालियो भने जस्तो भयो । तर पनि ब्लग भनेको व्यावसायिकताको पङ्खमा फटफटाइरहने यान्त्रिकता नभई एक मानेमा मनमानी खेती हो, मन लाग्यो लेख्‍यो नत्र चुपचाप बसिदिए पनि हुने । चुपचाप बस्दा भने पोष्‍ट र पठनमार्फत पाठकसँग बन्दै गएको परिचयको नवीकरण टुटेर सम्बन्ध विकर्षित हुने सम्भावना रहन्छ । नलेख्दा केके छुटे जस्तो मनको तुलबुल र तलतलले अत्याउने आत्मरन्थनी त ब्लगरलाई हुने गर्छ नै । त्यसैले पाठकसँगको परिचय नवीकरण गर्ने हतारो भन्दा पनि प्राथमिकतामा आफ्नै रन्थनी शान्त पार्ने क्रममा एउटा ब्लगरले लेख्छ क्यारे ! एवम् रीतले ब्लगिङको निरन्तरता बढ्दै जान्छ । त्यसैले यस्तो खुला संसारको ब्लगिङ-सफरमा मस्ती छ ब्लगरलाई ।

ब्लगको नागरिकता र थातथलो

ब्लग सुरु गर्दा केही लेख्‍दै जानु नै ठूलो र मजादार कुरा भए पनि समयक्रमसँगै मजादार एकरूपता पनि निस्तो भइदिन्छ । र खोजी हुन्छ अलि नयाँपनको, अरू ब्लगभन्दा फरक रङरोगनको । ब्लगको मस्तीमा फन्को मार्न थालेयता जानीनजानी ब्लगपेजलाई मस्काउने र छाँट्ने खेतीमा यो अन्जान 'बबुरो' पनि पछि परेन । नतीजा, भत्काएपछिको जोडजाडमा अनेक सास्ती खेपेर अहिलेको रूपाकार पाएको छ ब्लगले । अझै प्रयासरत छु, café कै पर्यायको रूपमा ब्लगलाई पहिचान दिलाउने पथमा ।

परिवर्तनशील मानवीय स्वभावअनुरूप सुरूमा चित्त बुझेको ब्लगको नापनक्सा र नाम पनि बिस्तारै खल्लिँदै जाने 'रोग' र जो कोही ब्लगरलाई कुनै मोडमा लाग्दो हो । मेरो कुरा पनि लगभग त्यस्तै रह्यो । तर म त अझ त्यस्तो रोग काखी च्यापेर रमाउने सवालमा अगाडि निक्लिएँ । ब्लगको पहिलो वार्षिकोत्सव (!) कै मौकामा ठेगाना नै फेरेँ । यो फेर्नु भन्ने कुरा पनि बाध्यतै हुनेरहेछ क्यारे जिन्दगीमा । फेशनको लहर सकिएर अथवा मैलिएर लुगा फेर्नु, पावर कम भएर चश्मा फेर्नु, मन नमिलेर मीतज्यू फेर्नु …… पाए भने के मात्र बाँकी राख्दो होला है मान्छेले फेर्नलाई !

फेरबदलको फन्कोमा रहँदा हाम्रो Life नामबाट थालिएको ब्लग Café मङ्गलम् मा बास बस्न आइपुगेको छ, भर्खरै ठेगानामा clickdhaiba अङ्कित भएर annagee को यात्रा मैजारो भयो । यस्तै हो परिवर्तनशीलताको नियम र फेरबदलको आवश्यकता । नाम र ठेगानामा कायम र स्थिर भएर बस्ने मन भएर मात्र हुँदैन रहेछ । बाध्यताभित्रको रहरमा पनि रमाउनुपर्ने खन्खाँचो आइपर्छ र भक्कानो गलाको किलकिलेमा पट्याएर फनक्क मोडिनुपर्ने हुन्छ जीवनपथमा । जस्तो कि जीविकाको खोजीमा खाडी मुलुक बहराइन पुगेको एउटा आफन्त भाइ म देशमै बस्न पाएकोतर्फ इङ्गित गर्दै फोनमा बह पोख्दै थिए- "दाजुलाई पो चैन छ है, जे-जस्तो भए पनि आफ्नै ठाउँमा बस्न पाइएको छ । आफू त अर्काको देशमा हाड घोट्न आइएको छ, भने जस्तो पनि हुँदैन ।" उनले औँल्याएको 'जे-जस्तो भए पनि' अन्तर्गत स्वदेशमै रहेका (यो रहनुलाई रहन पाएका भन्ने हो कि सकेका भन्ने हो, मेरो दिमागको ह्याउ चलेन है !) हरूले व्यक्तिगत स्तरमा घरनीतिदेखि राष्‍ट्रिय स्तरमा राजनीतिबाट कस्तो प्रकोप खपिरहनुपरेको छ, अनुभव र अनुभूतिको सामाजिक, आर्थिक र मनोवैज्ञानिक राप नाप्न त यहीँ बस्नुपर्छ । र पनि जहाँको पनि समस्याको गाँठो त उही नै हो । बस्, यति फरक हो- त्यो गाँठोभित्र कोही कनिके चामल (कतै त्योभन्दा गएगुज्रेको !) को पोको चाखिरहेका हुन्छन् त कोही मगमग बास्मती चामल । गाँठोको उकुसमुकुसबाट त को नै मुक्त होला र ?

यही सत्यतालाई साक्षात्कार गर्दै ब्लगयात्राको पहिलो वर्षगाँठको मेलोमा ब्लगको थातथलो फेर्नपुगेँ म । Café मा नियमित छिरिरहनुहुने पाठक मित्रहरूमध्ये के-कति थाहा होला, ब्लगठेगाना annagee भाकालाई मैले अरू कसैको नामसँगै आफ्नो नाम गाँसेर बनाएको थिएँ । अनुरागको पहिलो बुँद उपस्थिति(भौतिकता)बाट गर्दै त्यसलाई बोधको अर्को चरणमा अनुभूतिको स्तरमा प्रणय-मिठास चाखिरहेको थिएँ म । तर परिस्थितिका झटाराहरूले हामीलाई झाङमा लर्किरहेको सप्रिएको काँक्रो फेला पारेर अचूक निशाना त छोडिहाल्ने रहेछन् । annagee को युगल पङ्खलाई पनि त्यही तीरले छोयो र टुटेको दुई मनलाई वैधानिकता दिँदै आज त्यही भौतिकताको भेट्नो चुँड्दैछु । पुरानै युगल नामलाई अँगालिराखूँ, त्यति उदार हुन सकिनँ म । फेरि कुन पो अर्थ, संयोग र हकले त्यो अवस्थालाई कायम गर्न सक्नु मैले ?

परिवारिक भर र लदबद संवेदना


ब्लगको बगालमा लस्किन थालेपछि आफ्नो कुरा भन्नु र मग्न हुनुले केही अर्थ नराख्‍ने अनुभव म गर्दैछु । यस यात्रामा चाँडै एउटा सञ्जालमा पारिवारिक साथ पाइयो, आत्मीयता बढ्यो । यसैले मान्छे हुनुको बोध गराउँछ, सामाजिक प्राणीको घेराबन्दीको स्वाद चखाउँछ । यही नै मूल प्राप्‍ति हो जस्तो लाग्छ । आफ्नो भावना-विचार बाँड्नु, हात मजाले बस्नु र खारिँदै जानु, चर्चा पाउनु त हुँदै जाने कुरा हुन् ।

यस्तोमा कहाँ कुनाकुना छरिएर रहे पनि, घर र परिवारको यादले कायल भए पनि प्राप्‍त नयाँ पारिवारिक माहौलमार्फत संवेदनाले उपल्लो भरणपोषण पाउने रहेछ । मनमा मान्छेको कीरा ओल्टापल्टा खेलुन्जेल, परिस्थिति जीवनअनुकूल रहुन्जेल, प्रविधि-पहुँच उपलब्ध हुन्जेल अर्थात् समग्रमा जीवन छउन्जेल हामी लेखिरहौँला । लेख्‍नु अब लत मात्र होइन, जीवनऐ पनि त भइसक्यो ।

तर मेरो संवेदनाको लदबद सिमसार यतिखेर हल्लिरहेछ, कता-कता लाग्छ- जब म केही लेख्‍दिनँ, मेरो केही चालचुल हुन्न, कैयन् दिन-साता-महिना र वर्ष मौन बनिदिन्छु, म कतै हराउन पुग्छु, मेरो जीवनै रहनेछैन…… के मेरा मित्रले Café को कुनोबाट त्यो उपस्थिति अनुभव गर्लान् ? सोच्दैछु, म कति गुमनाम बनूँला ! म नयाँ पोष्‍टको प्रकाशनबिना कति त्याज्य एवम् निरीह बनूँला, बिना सोधखोज र खोजखबर …….!?
लाग्न सक्ला यो मेरो निकृष्‍ट निराशावादी कुरा हो । तर खासमा यो संवेदना र आत्मीयताको पोषणले उमारेको एक झिल्का पिरो ज्वाला मात्र हो । आत्मीयताको अदालतमा मेरो यस्तो टीठलाग्दो सुनुवाइ यस पहिलो वर्षको बेन्चमै समाप्‍त भइदेओस् । नत्र त ब्लग गुनासैगुनासाको ठेली बन्न के बेर !
ब्लगरहरू सरल-सहज जीवनप्रवाह र ब्लगधारामा बगिरहून् ।

8 comments:

  1. ब्लग यात्रा जारी रहोस्
    लेखाइ अझै खारिरहोस् ।

    ReplyDelete
  2. बधाइ तथा शुभकामना छ है !
    ब्लगिङ को नशा नै यस्तै हो ।

    ReplyDelete
  3. पहिलो जन्मदिनको बधाई छ 'Café मङ्गलम्'लाई! र भविष्यको निरन्तरता र अझ सफलताको लागि मुटुदेखिकै शुभकामना! तपाईँको सुन्दर लेखनीको पारखी रहिरहनेछु सधैं।

    जिन्दगीलाई निरन्तर परीवर्तनको पर्याय मान्ने ब्लगनै जिन्दगी हो। यस्तै अनुभव छन् मेरा पनि।

    ReplyDelete
  4. जन्म दिनको शुभकामना

    निरन्तर अपडेट भै रहेको यो ब्लगमा बारम्बार नयाँ र रमाईलो कुराहरू पढने सिक्ने मौका पाईन्छ ... कहिले नयाँ पोष्ट पढ़न पाईएला भनेर ढुकेर बस्ने हामी जस्तालाइ चाहीं यो बरदान जस्तो नै भएको छ

    ..भलै धाइबाजीको नयाँ ब्लग सम्म आइपुग्न धेरै मेहनत गरिएको होस... बेला बेला टेम्पलेट र टाईटलमा हुने फेरबदलले प्राय फ्रेस नै बनाउंछ.... साईड इफेक्ट त जेमा पनि हुन्छ नि

    ReplyDelete
  5. शुभ कामना र बधाईका निम्ति सबै प्रेमिल मित्रहरूलाई मुरी माया । ब्लगको 'चलखेल' हेर्ने-पढ्ने आँखाबिना बेअर्थ नै हुन्छन् ।
    परिवर्तनको साँधमा रहँदै आइपर्ने फरक परिस्थिति स्विकार्नमा Cafe पनि पछि पर्ने छैन ।

    अनि मिलनजी, आलोपालो सबै साथीहरूलाई ब्लग ठेगाना परिवर्तनबारे सूचित गर्ने क्रममा तपाईँलाई पनि तपाईँको नयाँ पोष्‍टको टिप्पणीमा रहने गरी यसो भेउ दिने चेष्‍टा तीन-चार बार लगातार गरेको हुँ, तर कसै गरी पोष्‍ट हुन सकेन । ढिलै सही बाटो ठीकै पैल्याउनुभएकोमा खुसी छु, बीचको अलमलको लागि माफी माग्छु ।

    ReplyDelete
  6. This comment has been removed by the author.

    ReplyDelete
  7. मैले सधैं भन्दै आएको छु मानिस बिचारले नै चिनिन्छ, त्यसैले ब्लगको जन्मदिन भनेको ब्लगरकै जन्मदिन पनि हो ।

    मैले हेर्दा एक बर्षको तपाईको यात्रा निकै रोचक, रोमान्चक र रसीलो रह्योहोला जस्तो लाग्छ ।

    उत्तरोत्तर प्रगतिको कामना सहित !

    दिलीप आचार्य

    ReplyDelete
  8. हार्दिक आभार कामनाका निम्ति दाइ ।
    समग्रमा रमाइलै भयो एकवर्षे सफर । सबभन्दा मुख्य कुरो त एउटा नयाँ घर बने जस्तो लागेको छ यस दैलोबाट छिरेर । यो घरलाई रोगन, मुस्कान थपिरहनु छ ।

    ReplyDelete