Subscribe:

Ads 468x60px

26 March 2009

... साथी ! (गजल)

बाहिर चैते झरीको ठट्यौली लीला जारी छ, भित्र कोठामा म छु, अक्षरको बलेंसी सम्हाल्दै फुरुङ्गिँदै । धेरैपछि लेखेँ आज गजल र टाँस्न हतार लागिहाल्यो । सुर त अरू नै केही लेख्‍ने थियो, तर बगेको मन फर्किएन । आज तीनवटा गजल लेखियो, गन्ती गर्नुको के नै तुक हुन्छ र ! र पनि धेरै समय बाँझिएको जग्गामा बाली लाग्दा किसान मक्खिए जस्तै रमाउँदो रहेछ मन । बालीमा कोसा-गेडी मजैले लाग्यो कि लागेन, पछि आँक्ने कुरा हो । म पनि लेखिएका गजल कतिविघ्न रसिला-कसिला रहेछन्, कोट्याउने क्रममै छु, अझै पालिस लगाउने ठाउँ कता छ, जोखाना हेर्दैछु । एउटा गजल भने तात्तातै CaFe मा भतेर लाउने हुटहुटी लागिहाल्यो र मध्यरातको बत्ती उछिन्ने तर्खरमा धर्ना बसेको छु ।

यो मेरो हेराइमा औंसत गजल हो, सामान्य विषयमा सामान्य ढाँचाले लेखिएको । त्यसो यसलाई उच्चस्तरीय कमसल पनि नभनिहालूँ, मध्यमस्तरीय कमसल भने यो पक्कै हो :-)

यसो हेर्दा यस गजलमा कसैले अर्तीको बाक्लै ध्वनि गुन्जिएको पाउला । आजको उत्तरआधुनिक तनावमा अर्तीको के नै मोल र महत्ता होला र ! खासमा गजलको भावमा यो मैले मैंलाई गरेको साउती र सम्झाउनी हो । यो साउती हरू धेरैसँग मेल खाला र मेल नखानेहरूमा पनि रचनागत सामीप्यता राख्ला बनेर बाँड्ने मन भयो । खुलेरै भन्दा ब्लगर मित्रहरूलाई मेरो निजी मामिला थोपरेर के बहको बोझ दिऊँ ! तर केही समययता म अलि बिथोलिएको छु, त्यसैको मलमपट्टी गर्नतिर आफैँ लागेको छु । यो गजल त्यसै प्रयासको एउटा चक्की हो ।

साइनोको मोडमा पीडाको तोड नपरिरहन कसरी पो सक्छ र ? सम्हालिन्छु भन्दाभन्दै पनि जाकिएको किला खियादार चिस्यान उमारेर भित्रभित्रै भुलभुलाउँछ र रन्थनी छुट्छ । यस्तो भावनात्मक मनोदशामा मान्छेले सामाजिक, सांस्कृतिक र पारिवारिक र अन्य नसनातो र सरोकार आदि केही कुराको वास्ता राख्दैन रहेछ । मग्न त होइन, भग्न हुँदो रहेछ मान्छे । यस्तोमा, सबै कुरा एउटै चोटको केन्द्रविन्दुमा फिक्री मान्दै परिक्रमारत हुन्छ । कति मान्छेले कति साह्रो हण्डर र व्यथा झेलेका छन् र पनि सामान्य लयमा उही दैनिकीमा बाँचेकै छन् , म भने किन यस्तो ? आफैँलाई थर्काउँछु र चक चोरेर कक्षाको डेस्कमुनि लुक्ने विद्यार्थीलाई मास्टरबाबूले खबरदारी औंलाले लुचुक्क बनाए जस्तै आफैँलाई चूप लगाउँछु । र पनि चुइँक्क बोल्न पुग्छु यस्तै गजलमार्फत -
----------------------------------------------------
भाँचिँदैमा एउटा छाता जीवनभरि भिजिन्न साथी
टुट्न सक्छ गाढा साइनो संसार सारा रितिन्न साथी !

पाइलैपिच्छे थपक्कन ओइरिदिन्छन् शिखरहरू,
उक्लिँदैमा कुनै शिखर समग्र यात्रा जितिन्न साथी !

यस्तै हो यो जीवन-संसार सिक्छ कहिले सिकाउँछ,
पला-पला घोटिनैपर्छ हत्त न पत्त सिकिन्न साथी !

एकै भेट भरपूर कुनै बारम्बार भेट्दा शून्य केही,
कोटा र गन्ती हिसाब गर्दै आत्मीय फोटो खिचिन्न साथी !

पश्‍चिमबाट आएँ म बग्दै तिमी पूर्वै लागेछौ अझै,
सोचाइ-रोजाइ बेग्लेपछि बलैले दुई मिलिन्न साथी !
*तस्बिर: ट्राभेल.वेबसट्स.कम

10 comments:

  1. बडा गजबको गजल लेख्‍नुभएछ !! औसत होइन निकै राम्रो लाग्यो मलाई त !!

    ReplyDelete
  2. गजल, मलाई पढन् र सुन्न एकदमै मन पर्ने तर लेख्‍न भने त्यत्तीकै गाह्रो लाग्ने बिधा हो ।

    कहिलेकाहि लेख्‍न थाल्दा पनि १-२ शेर बनेपछि अरु तारतम्य टुट्छन र मेरो कम्प्युटरमा आधा-अधुरा गजल, शेर र मिस्राहरुको ठेली नै छन।

    खै मौसमले र वातावरणले साथ नदिएर हो कि,तपाईले भने एउटै चैते झरीमा तिन तीन गजल तयार गर्नु भएछ।

    तपाईको यो गजल पनि मलाई भने मन पर्‍यो ।
    उक्लिँदैमा कुनै शिखर समग्र यात्रा जितिन्न साथी !

    सोचाइ-रोजाइ बेग्लेपछि बलैले दुई मिलिन्न साथी !
    यी दुई हरफहरुमा भने जिवन जगतको समग्र यथार्थ घनीभूत भएर रहेको पाएँ।

    ReplyDelete
  3. प्रवेशजीले भनेझैं यो औसतमा दरिने गजल होईन भन्छु म पनि , किन त्यसो भन्नुभयो यस्लाई ? त्यस बखतका बाँकी दुई अझ बलवान् हुनुपर्छ भन्ने अनुमान लगाएं मैले त । बाँकी पिँडाको तोडको जुन कुरा उल्लेख छ त्यो तोड नसहेसम्म जीवनको यौटा महत्वपूर्ण पक्ष नै अपुरो रहन्छ भन्छु म चैं । जीवन पूर्ण हुनलाई पनि यस्ता कुराहरु आफ्नो आफ्नो भागमा पर्नु आवश्यक हुन्छ तर भागमा भन्दा धेरै सहिदिनु पनि अन्याय हुन्छ है ।

    ReplyDelete
  4. धन्यवाद मेरो लिखुरे प्रयासमा हाड-मासु थपिदिनुभएकोमा ।
    तपाईँले नयाँ मायाको कुतकुत्याउने गजल उने जस्तो त अलि सिगार्न सकिनँ है मैले प्रवेश भाइ !

    दिलीप दाइले १-२ सेरमा थान्को लागेका गजल-खेस्रा पनि यसो कुनै बेला कुनै टाँसोको बहानामा पोक्याएर हामीसामु पनि बाँडे हुने नि, एकैचोटि त जिन्दगानीमा के नै कुरा पूरा हुन्छ र ? कतै हाम्रो पाठकीय सुम्सुम्याइ पो खोजेको हो कि तपाईँको गजलकारिताले ? मलाई पनि कुनै जमानामा यो गजल भन्ने हत्तेमा कहिल्यै हात नबस्ने भयो भनेर थकथकी लाग्थ्यो । तिनताका गजलको भेलबाढी उर्लिँएको मौसममा आफूले गजल लेख्‍न नसक्दा-नजान्दा अरूको दाँजोमा आफू निकै अपाङ्ग भएको मनोदशा भोग्नुपर्थ्यो । तपाईँलाई त्यस्तो दबाब नरहे पनि ब्लगमा यसो बेलाबेला चुटुक्क स्वाद फेर्नै भए पनि गजल-खेती गर्नतिर लागे वेशै होला ।

    दीपकजीको ढाडस मलम लगाउने खालको छ । अनि यो औंसत गजल किन भनेको भन्ने जवाफ चाहिँ ट्वाक्कै यो नहोला, तर यसमा खासै नयाँपन दिन सकिनँ जस्तो लाग्यो । पहिलेकाहरूले लेखिसकेकै कुरालाई शैली फेरफार गरेको बनौट भए जस्तो लाग्यो । जीवनमा तोड नपरी त मान्छे बनिँदैन रहेछ भन्ने बुझ्दैछु म । तपाईँको अवस्थाअघि मेरो तोडको त यहाँनेर के कुरा गरिराखू र ? र पनि कुनै नराम्रै कुरा हुनुको पनि धेरै कारण हुने रहेछ यात्रामा, त्यसले आगामी पलको लागि धेरै कुरा सिकाउँदो रहेछ । गडबडीले मान्छेलाई परिस्थितिको सामु बलियो बनाउँदै लग्दो रहेछ । त्यसतो गडबडी नभए त साँच्चि ने जीवन अपूरो हुँदो हो ।

    ReplyDelete
  5. धाईबाले मंगलम क्याफे खोल्या छन भन्ने कुरो भर्खर भर्खर मात्र था पाए पनि पसेर उनका कुरा सुनेको चाही थिइन, ग़ज़ल त गज़ब छ नै उनका सबै बखान पढ़ी रहूँ सुनी रहूँ लाग्ने रहेछन , धाईबा जी लाइ धेरै धेरै प्रगति र शुभ कामना छ उनको यो मंगलम क्याफे पसल बौद्धिक खुराकको खानी नै बनोस!

    ReplyDelete
  6. धन्यवाद कृष्णजी । CaFe का मेन्यूहरू मन पराइदिनुभएकोमा खुसी लाग्यो । प्रयास गर्दैछु, केही आफ्नै मनको तुलबुल मेट्दै केही सार्वजनिक सरोकारका कुरा उठाउँदै, केही आपसी कुराकन्था बाँडीचुँडी गर्दागर्दै ब्लगिङको मातमा रङमङिन पुगियो । सकेसम्म खुराकदार कुरा लिएर आउनेछु निरन्तर ।

    साथसाथ रहौँ ।

    ReplyDelete
  7. जीवन जी निकै पोसिलो पोषण रहेछ ... अनि तपाइले आफ्नो लेखाइलाइ लिखुरे प्रयास भन्नु भएको रहेछ मलाई त राम्रो लागेन नि ... यती सुन्दर सब्द समायोजन र असल भाव रहेको छ ।

    अनि अर्को कुरा तपाईको पोस्टको पहिलो दुई लाइन खोई कुनि हो - अलिक खप्टिएको जस्तो देखिन्छ । अरु त सब राम्रो र फिट देखिन्छ ।

    ReplyDelete
  8. गजल सुन्दर शब्द, मिलेको लय र मिठो भाबले चिटीच्याट्ट छ | मन नपर्ने कुरै भएन ...

    मुख्य कुरो यो गजलको अधिकांश भाग P+ve छ ...मलाई यो गजल मन परेको प्रमुख कारण चाहीं त्यै हो...

    खै कसले लेखेको हो थाहा छैन, कहिले काहीं काम कुरा बिग्रिदा म एउटा गजल सम्झन्छु...

    आशा नमार साथी माटो अझै छ बाँकी
    हाम्रो भबिश्य खोज्ने बाटो अझै छ बाँकी
    जओस न एक मौका लाखौं अरु कयौ छन
    लामो छ जिंदगीको पाटो अझै छ बाँकी

    धाईबाजीका गजलका केही शेरहरुले यो गजल जस्तै ट्याब्लेटको काम गर्लान...

    ReplyDelete
  9. ढीलै भएपनि धाइवा जी को गजलको स्वाद लिने मौका पाए । मिठो गजल अनि शब्द संगै शेरहरुको पनि उत्तिकै समायोजन ।

    ReplyDelete
  10. पछिल्लो क्रममा आउनुहुने वेदनाथजी, मिलनजी अनि सिकारुजीलाई पनि हार्दिक शुभेच्छाका निम्ति धन्यवाद !

    वेदनाथजी, यस गजललाई लिखुरे प्रयास भन्नुको कारण यसको सिर्जनाको क्षणमा म आफैँ व्यथित थिएँ, यो त मैले आफैँलाई रेटेर निकालेको सारङ्गी-धुन हो । थाहा छैन, सारङ्गीको सुमधुरता यसमा मैले राख्‍न सकेँ कि सकिनँ ।

    मिलनजी, नकारात्मक मोडको यात्राबाट गुज्रिँदा गुज्रिँदै जीवन त्यस्तो धारिलो र पारङ्गत हुँदै जाँदो रहेछ, सकारात्मक सोचहरू पलाउन थाल्नु एकदम जरूरी हुँदो रहेछ । यही चक्रअनुरूप यो गजल आएको हो भन्नु ठीक होला मैले । यसलाई तपाईँले सकारात्मक रूपमा सविकार्नुभएकोमा मेरो भाव ठीक ठाउँमा परेको भनुबव गर्दैछु । "बाटो अझै छ बाँकी" गजल उद्‌धृत गर्नुबएको रहेछ, यो गजल मेरो ठम्याइँ अनुसार घनेन्द्र ओझाको हो । घनेन्द्र- राधा कँडेलको वैवाहिक समारोहको अवसरमा हालै केही महिनाअघि यसै शीर्षकमा दम्पत्तिको संयुक्त गजल सङ्ग्रह पनि प्रकाशन भएको छ ।

    ReplyDelete