Subscribe:

Ads 468x60px

08 January 2010

जीवनभित्र एउटा रेखा

हिलेकाहीँ पिरो मात लाग्छ र भीडदेखि उछिट्टिएर कतै अलप हुन मन लाग्छ । हिन्दी धार्मिक सिरियलहरूमा देख्न पाइने जस्तो आँखा चिम्लिनासाथै झुलुक्कै अलप भएर चाहेको ठाउँमा पुग्ने देउती माता-पिता त आफू परिएन । दिक्क लाग्दा लुखुर-लुखुर टहलिँदै हिड्दा मजै बेग्लै ।
त्यस्तै पिरो मातले छोप्दा एक दिन पशुपतिनाथ मन्दिरको शरणागत हुन जान मन लाग्यो । धिपधिपे साँझमा ऊर्जावान् लाल्टिन खोज्दै भौतारिएको म पशुपतिनाथ परिसरमा पोलिँदै गरेका ताजा शवहरूको धुवाँले तरङ्गित भएँ । परमानन्द ! जीवन भेट्नु-चिन्नुको हलुकापनबाट म सुमसुमिएको थिएँ । 
केही तस्बिरहरू खिचेँ, दर्शक बनेँ आफ्नो भावी आरामकक्ष जस्तो चिताहरूको । र घर फर्किएर मध्यरातमा यो कविता लेखेँ ।
-----------------




जीवनभित्र एउटा रेखा

झोसेको चुरोट हो कि
आफैँलाई ?
 
सल्किँदै 
खिइँदै 
चुसाइका बेहिसाब कोरनहरुमा 
अचाक्ली पेलिँदै 
फेरि फेदीसम्मैको यात्रा 
लागेको छ हात 

यसैलाई डोर्याउनु छ 
र जानु छ चुपचाप 
लम्बिएर पनि छोटिँदै तय भएको
नचिनेको आफ्नो घर ।

7 comments:

  1. प्रसंगहरु सानो र ठूलो नमानी दिनका दृश्यावालोकन हरुले कलम समात्न बाध्य तुल्याई अँधेरी रातमा उजेली बनेर प्रस्फुटन हुने तपाइको कवितालाई सलाम धाइबा जी!

    ReplyDelete
  2. भावनाहरू कतिविघ्न व्यवस्थित भएर आउँदा रहेछन् मनभित्रवाट । म अचम्मित हुन्छु वेलावेला तपाईँको कौशल देखेर(पढेर..) जीवनको कटुसत्यलाई अनि मानव भोगाईलाई कति कलात्मक तरिकाले प्रस्तुत गर्नुभयो म तारिफ नगरी वस्नै सकिन ।

    ReplyDelete
  3. बेलाबखतमा सम्झिनु पर्ने कुरा भुलिराखेको बेला यो तस्विरले र तस्विरमाथीको कविताले सम्झाईदियो ।

    ReplyDelete
  4. जीवनलाई सारपूर्ण बनाएर बाँच्नका लागि जीवनको क्षणभंगुरताको बोध हरदम भईरहनु अनिवार्य छ जस्तो लाग्छ। धाइबाजीले गर्नुभएजस्ता यात्राले त्यो बोधलाई अझ गाढा र अझ ताजा बनाईरहन्छन्। धन्यबाद यो सानो यात्रा र त्यसले जन्माएको सुन्दर कविता हामीसंग पनि बाँड्नुभएकोमा।
    ---------
    एउटा सानो विचार है यसै प्रसंगमा। तपाईँ लगभग हरेकजसो रचनाहरुको पृष्ठभूमि पहिले दिएरमात्रै रचनाहरु पस्किनुहुन्छ। मलाई लाग्छ, यसरी पृष्ठभूमि पहिल्यै दिँदा पाठकको मन एक हिसाबले 'आग्रही' र 'दूषित' भईसक्छ। रचनाको बारेमा उसले पहिल्यै एउटा सोलोडोलो धारणा बनाईसक्न पनि भ्याऊँछ पृष्ठभूमि पढिसक्दासम्म। यसरी रचनालाई ऊ निरपेक्ष ढंगले अनुभूत गर्न र विश्लेषण गर्न धेरै हदसम्म असमर्थ हुनजाने सम्भावना हुन्छ। मलाई लाग्छ, रचनाहरु, विशेष गरी काव्यगत-कविता, गजल आदि-को पृष्ठभूमि सकेसम्म नदिएको राम्रो र दिनैपरे पनि रचनापछि मात्र दिएको राम्रो।
    मेरो विचार मात्रै राखेको है:)

    ReplyDelete
  5. सूर्य जी, अशेष जी, दीपकज्यू अनि वसन्तज्यू सबैमा प्रतिकृयाको लागि आभार ।

    वसन्तज्यूको सुझावमूलक टिप्पणीका निम्ती अझै आभारी छु । मैले उत्तिको होश पुर्याएको रहेनछु यस सम्बन्धमा । कतै कार्यक्रम हुँदा रचना सुनसुनाउनुअघि कसैले रचनाबारेको भूमिका पढ्दा भने 'सबै कुरा रचनाले बखानिहाल्छ नि' भन्ने खासखुस सुन्थेँ दायाँ-बायाँ मेचमा, आफैँलाई पनि त्यस्तो महसुस हुन्थ्यो । तर कार्यक्रमहरूमा भने भूमिकाले पाठकको कान 'घोट्ने' बेबकुफी कहिल्यै गरिएन आफूले ।

    तर ब्लगमा भने आफ्नो कविता नै अलि जेलिएको बनोटको (प्राय:ले मेरो कविता लेखनको शैलीलाई दुरुह मानेको पाएको छु, बिस्तारै सरलीकरणमा फैलिदै पनि छु) कारण पनि पृष्‍ठभूमि खुलाउँदा आम पाठकअलाई रचनाको अन्तरकुन्तरमा झ्याङ्गिन मद्दत पुग्छ कि जस्तो ठान्छु । आफैलाई पनि ब्लगमा त्यसरी भूमिकासहित रचना पस्किदा सन्तुष्टी ज्यादा पाउँछु । एउटा पूर्णताको अनुभूतिमा मन रमाउँछ । तर यहाँले भन्नुभएको एकदम सही कुरा हो, कविता पढ्नुअघि नै त्यो भूमिकाले पाठकको धारणालाई जकड्याइसक्छ ।

    आगामी रचनामा सोहीअनुसार गर्ने प्रयास गर्नेछु, आवश्यक भएमा मात्र, त्यो पनि पुछारमा भूमिका दिनेछु । मननीय सुझाव सबैका लागि उपयोगी भयो होला, पुनश्च: धन्यवाद !

    ReplyDelete
  6. जीवन जी ! मलाइ लाग्छ - यस्तो दृश्य देखे पछी जो कोही पनि एक पटक - झस्काउछ नै !

    यसैलाई पछ्याउदै जानु छ चुपचाप ...........

    ReplyDelete
  7. We never know when our life is going to end...No one is immortal...
    At times I feel so depressed especially when sometimes....I go to Pashupatinath and some other places where I see human being burning...at a side and people crying at the other....

    However, later I feel one has to die...I have to die...one day...today or tomorrow...this realization makes me more sad and depressed....I have to leave behind everything...Feels like going to forest alone...and live in solitude....

    But the social network won't let me and me myself rather than thinking that way...I prefer accepting the fact...in fact I love to forget it that I am also not immortal...not eternal :(

    ReplyDelete