Subscribe:

Ads 468x60px

22 April 2010

भाँडाकुटी स्वाहा !! (भूमि, सबनम र तिनीहरूकी आमामा समर्पण )

धेरै नयाँ अनुहारसँग जम्काभेट हुन्छ यात्रामा । कोही हेराइमै पार हुन्छन्, (कसैलाई त देखे पनि नदेख्यै हुन्छ ।) कोहीसँग भने लामो सङ्गति चल्छ । कस्तो भने, यो उर्वरा समयमा जिन्दगीको सङ्घर्षमयी बतासमा हुत्तिँदा बरू घरपरिवारसँग हाम्रो दूरी छिप्पिन्छ, अन्य अनुहारले भने झन्-झन् निकटमा पार्दै लैजान्छ । मान्छे खल्तीमा अँट्दैन–टिक्दैन र मात्रै,  नत्र यात्राको एउटा मोडको बिसाउनीमा हेर्दा  आफूभरि मान्छेहरूको समुद्र भरिएको हुनेथ्यो होला । धन्न मान्छे बग्दै जाने भेल हो, छुट्दै जाने रेल हो !!
तर समय कMadalस्तो छ भने, हावाको तहभन्दा पनि पातलो छुवाइ लिएर कोही आउँछ र उसै गरी हराउँछ झट्टै । मानौँ घर पछाडिकै करेसामा फलेको छ मुला, उखेल्यो, पुछपाछ पारेर खायो र सकिहाल्यो । जागिर नखाँदै अवकाशपत्र बुझे जस्तो ! यस्तो निकै हुन्छ दैनिकीमा । फास्टफुड कल्चरको प्रभाव यस्तै यस्तै होला । एउटा साथी थियो भीमेन्द्र, बिहेपछि पनि यसरी अहिले जस्तै नियमित उठबस हुन्छ भन्थ्यो ऊ । बेलुकीपखको बसाइमा हामी साहित्य, देश र भावी  जीवनबारे विषयमा गम्भीर वार्ता गर्थ्यौँ । हाम्रो भेट ‘गफ’ मा कहिल्यै सीमित भएन । तर एउटा साउतीसम्म नगरी अरबी भूमिमा भासियो, जानुअघि ‘गएँ’ सम्म नभनी । बिहे गर्‍यो, भागी, भकुल्ले छोरो जन्मायो आफू जस्तै । तर बिहेअघिको मित्रता कायम गर्न सकेन ।

यो भर्खरैको ‘सकेन’ शब्द पनि कति उपयुक्त भयो होला, मित्रता टिकाइरहनु उसको सामर्थ्यअन्तर्गतको कुरा थियो कि टिक्नु समयको लेखा थियो !? आखिर छुट्यो सम्पर्कको पुल । कम्युटर कहिल्यै नचलाएको उसले अब कतै सोधखोज गरेर अनलाइन सम्बोधन गर्ला भनेर भर छैन ।  भाँडाकुटी खेल जस्तै ख्यालख्यालको पकाउने, चिउँडोमा गाँस पुर्‍याएर ‘चिउचिउ’ ओठ बजाएर खाए जस्तो गर्नुपर्ने बालापनको खेल सँगै स्वाहा भए झैँ लाग्छ कतिपय कुरा । साथीहरू नै औँलामा गन्न थाल्ने हो भने धेरै औँलालाई भाग पु्ग्दैन । कति जनालाई त कोटै पुर्‍याउनका लागि झैँ ‘साथी’ मानेर राख्‍नुपर्ने हो कि भन्ने लाग्छ । सोच्ने हो भने मलाम-यात्रा निकै सुनसान हुनेछ आजका मान्छेहरूको ।  कारण, आत्केन्द्रित हुने प्रचलन र तनावपूर्ण जीवनशैली निकै बढेको छ, कतिसम्म भने यान्त्रिकताको दौडाहा चेपमा भुनभुनाएर आफैँदेखि पनि एक्लिने अवस्थाको कामना गर्न मन लाग्छ आजका कतिपय हामीलाई । खरी झर्नुअघिको मादलको मधुर घिन्ताङको यादमा त्यस्तै सुरको चाहनामा खरी झरेको मादललाई अझै नमीठो झनझनाहटमा ठटाइरहेछौँ ।

कुनै तयारीमा थिइनँ यो लेख्‍नुपर्ला भनेर । र जीवनको  सडक त यस्तै हो आखिर, बिनातयारी पनि पैयाँ गुडाउनुपर्ने ।


अब एउटा कथाजस्तो एक टुक्रा :
उसलाई निद्रा लागिरहेको थियो । घरकी आमा भएपछि मनसँगै दिमाग र शरीरको खटन बढी हुँदा ऊ नथाकोस् पनि किन ? त्यसमाथि उसको शरीरको भार पनि त अचाक्ली । मर्निङ वाकमा जाने गरेकी  भए ज्यानले अलि हल्किने नाम लि्न्थ्यो होला । एकदिन गएकी पनि त हो ।  स्याँस्याँ फ्याँफ्याँ गर्दै १० मिनेट जति त कुदिछ पनि । तर उसको केही जोर चलेन । आफ्नै शरीरको बोसो बाटोबीच छेकबार बनेर उभिएको हिमपिण्ड साबित भयो उसको लागि । दगुर्न नसकेपछि एउटा फुच्चे केटोको साइकलमा बसेर घर फर्किछ । अब सकस सर्‍यो केटोमा । मरीतरी कन्दै पाइडल पेल्दै केटोले बडेमानको शरीर ‘ढुवानी’मा विजय प्राप्‍त गर्‍यो । 
त्यसपछिको भोलिपल्ट अब बच्चाहरूले मर्निङ वाक गर्ने बेलामा म बूढी माउले के कुद्‌नु लुखुरलूखुर भन्दै बाहिर निस्किन मन गरिन उसले । घर : एक संसार खसोखास लागू भएको थियो उसको जीवनमा । धुम्धुम्ती घरमा बस्नु उसको रुचिको कुरा । अरूहरू पेन्टिङ गर्ने, मान्छेहरू भेट्ने सोख राख्दै त्यो पूरा गर्न कहाँ-कहाँ पुग्छन् । उसलाई भने उही घरकै चौकुना रङ्गीन क्यानभास भएको छ । उसका बाक्ला गोडाहरू ब्रस हुन् उसोभए ? 
“बा !”, 
जूनकीरीको पुच्छरभन्दा पनि मधुरो आवाजमा आमाले  कोट्याई । निद्राले चुर उसका ओठ पनि चलमलाउन जाँगर मानिरहेका छैनन् । छोराछोरीको बा लाई पनि बा नै भन्ने रीत उसैले चलाएकी हो घरमा । छोराछोरी हाँस्छन् आमाले पनि आफ्नो बा लाई बा भन्ने सम्बोधनले बोलाएको सुनेर । तर त्यसरी बोलाउन पाउँदा उसको मनमा कति सन्तोक फैलिन्छ त्यो यी भुराभुरी के बुझ्लान्,  फिस्स हाँस्छे । तर अहिले भने धेरै कुरा बुझे जस्तो बुद्ध झै गहिरो निद्रामा छन् दुवै बचेरा । सुतिरहेका छन् असरल्ल । भूमि र सबनम । जवानीमा खुबै सोचेर बूढा-बूढीले छोरा-छोरीको नाम निकालेका थिए । अब यिनले आफू जोईपोइको नाम बिर्सिनमा पो त्यो कसरत उमेरमा देखाउने हुन् कि भन्ने त्राही छ बूढा-बूढीलाई । इन्भर्टरको आडमा टेबल ल्याम्प बाल्ने हैसियतको थियो कि एक छेस्का मैनबत्तीमै रात कटाउनुपर्ने विवशताको थियो घरबूढो ! आँखा गाडिरहेको थियो कुनै किताबमा । केही केर्दै पनि थियो । बूढालाई चश्मा लगाउन मन नपर्ने, तर कमजोर आँखाले त्यही खोज्यो । एक माना तेल अँटाउने जस्तो गढेको आँखा । हावाको सानै भेलले हुत्याउने काँटको दाउरे ज्यानलाई कसरी पो भर गरेकी हो उसले ?  आँधी आयो भने बूढोले आफूलाई अँड्याउन किलो ठोक्ने बन्दोबस्त गर्ला कि परिवारलाई नै पखेटाले छोप्ला ? सम्बन्ध पनि कसो-कसो गरी बाटिएर बस्छ ! 
“हुँ”, बल्ल उसको त्यो ‘बा’ को बोली फुट्यो । चार भित्तामा ठोक्किएर लत्र्याकलुत्रुक परे झैँ  आवाज छिनमै सुस्तायो । छेउमा सुन्ने ऊ पनि त अब जागा थिइन । आजीवन साथसाथ जिउने भनेर सात फेरो मारेका यिनले सँगै सुत्‍ने र सँगै उठ्ने सामान्य दैनिकी पूरा गर्ने साइत पनि कहिल्यै जुरेन । चश्माको धारबाट नियाल्ने दु:ख पनि गरेन उसले माथि पलङमा । सधैँ यही हो रीत । एउटै छानाको ओत लागेर बसेका, तर गोलार्द्धका दुई छेउ जस्तो । मानौँ खेलिरहेका हुन् यिनले निरस भाँडाकुटी खेल । बूढा पकाउने बूढी खाने, बूढी पकाउने बूढा खाने । तर सँगै खाने तालमेल कहिल्यै नमिल्ने !

अन्तिममा एक टुक्रा: 
जिउन पाउनुपर्छ जीवन भन्दै
सडक थुन्यौँ
आन्दोलन चर्कायौँ
अविरल उम्लिरह्यौँ
यसरी हामी
जीवनको हरियाली भेट्न
पल-पल
जीवनकै अनमोल चउरमा
मडारिएर मैलिरह्यौँ ।

1 comment:

  1. सन्दर्भ अलिक बुझ्न सकिनँ कि जस्तो लाग्यो, तर लेखनशैली मन छुने छ। भूमि, सबनम र तिनीहरूकी आमालाई मात्र समर्पित भन्नुभयो, बिचरा बा बूढाको तोड पनि सानो होला र!

    ReplyDelete