Subscribe:

Ads 468x60px

01 August 2010

जवाफी पत्र : म धुम्म परेकी पोखरी ...

खिरमा आयो जवाफ । पत्र लेखेपछि जवाफ नआई पनि त भएन ! केही समयअघि यसै ब्लगमा सिड्नीकी साथीलाई सम्बोधन गर्दै आत्मीयताको यथार्थ रङले तर साहित्यिक रोगन मिसाएर पत्र लेखेको थिएँ - " पत्रमित्रको नाममा "। त्यसको जवाफ पाइएला भनेर चिताएको सम्म थिइनँ, तर भयो त्यस्तै । अनुमान नगरेको र नपर्खिएको पत्र पाएर खुसीले निथ्रुक्कै रुझेँ । यो खुसी अस्ट्रेलियाको सिड्नीमा रहेकी उनै पत्रमित्र साथीसँग साट्न चाहन्छु । उनी नै हुन् यसको हकदार र खास अधिकारी । यो पत्रले अझै सघायो- उनीलाई बुझ्न, म प्रति उनको मित्रवत सद्भाव कति चाङ लागेर बसेको रहेछ भन्ने जान्न । र यो पनि हो कुरा- मलाई, मेरो व्यक्तित्वको ओजलाई वास्तविक भन्दा चुलीमा उनले चर्चा गरेकी छन् । यो उनको आत्मीयताको प्रमाणचिन्ह मात्र हो ।  

मित्रता दिवसको अवसरमा हार्दिकता, बह, खुसी र विरक्तिका मुनाहरू मिसिएको त्यही पत्रको हरियो रुख  यहाँ बाँड्दैछु सबैसामु । उनकै अनुमतिमा । त्यो रुखको छहारी मलाई प्रिय छ । मेरो पत्रको भन्दा घना स्पष्टता, धारिलो माया (कति धारिलो भने म यस पत्र पढेसँगै चिरिएको छु) ले गह्रुङ्गिएको सिड्नीकी साथीको पत्र यस्तो छ :- 

-------------------------------------------------------


प्रिय साथी,
तिमी जे हौ, जस्तो हौ , तिम्रो सम्पूर्ण रूपलाई मैले सम्मानपूर्वक साथीको रूपमा स्विकारेकी छु , त्यही रूपलाई सदा झैँ शर्तरहित माया 

पत्र लेख्न मलाई आउँदैन, साँच्चै आउँदैन भनेको, तर आज लेख्दैछु ...  'तर' ले जे को पनि बाटो खोल्दो रै'छ .... कवितामा व्यक्त गर्न नसकेको भावना, गीतमा नअटाएको सुर, कथामा उन्न नसकेको कथानक , आज म पत्र लेख्दैछु, धन्न् हो इन्टरनेट.......मलाई तिम्रो पोस्टबक्स नम्बर थाहा नभए पनि तिमीले पढ्नेछौ .....
म के लेखूँ ?.... हाम्रो पहिलो भेट .... हाम्रो चिनारी .... एक-अर्कामा परेको प्रभाव ..... वा होसमा वा मदहोसमा उड्ने प्रेमिल शब्दचरीहरु..... कहाँबाट सुरु गरूँ, सुरुवातबिनाको हाम्रो चिनारी ,....आदि अन्तबिनाको आद्योपान्त हाम्रो चिनारी 

साथी ! 
तिमी मलाई पाँचतारे होटलको सेफ जस्तै लाग्छ , सबै कुरा चटक्क पारेर, ठिक्क मिलाएर, सजाएर तिमीले पस्किने व्यन्जनहरु, हेर्दै एकैपल्टमा कप्लक्क निलूँ जस्तो, अनि खाँदै गएपछि मुखमा खेलाउँदै स्वाद लिइरहूँ जस्तो, जति खाए पनि नअघाउने, मेरो नजरमा तिमी साहित्यको कुशल भान्से हौ 

तिमी कम्ती चलाख छैनौ भन्ने कुराको अनुमान मैले त्यतिखेर लगाएँ, जब तिमी सबैको परिकार चाख्न माहिर छौ भन्ने जानेँ, ..... अरुले पकाएको चाख्ने, अनि गुण-दोष देखाइदिने, अनि आफू सधैँ सीप लगाएर पकाइरहने ...... 

यही क्रममा त हो, तिमी मेरो भान्सामा आएको, म ढङ्ग नभएकी केटी, अरुले पकाएको देखेर रहरै रहरमा आलोकाँचो पकाउने, अनि सबैलाई चाख्न पुर्याउने ........ तिमीले मीठो मानेर खायौ, म कस्ती हुस्सु ! दङ्ग परिहालेँ .... हो नि, सानो छँदा बा ले सधैँ  ' फुर्के' भन्नुहुन्थ्यो मलाई ...... म अझै त्यस्तै .... तिमीले मीठो भनिदियौ, मेरो भुइँमा खुट्टा भएन ....... पाँचतारे होटलको सेफलाई गाउँको रेसिपीबिनाको फर्सीको तरकारी मन पर्छ र ? कुन्नि है !?

सद्भाव  जोडियो, परिकार बनाउँदै, जिब्रो पड्काउँदै खाने बानी परियो ........ जस्तो मान्छेको सङ्गत गर्यो त्यस्तै भइहाल्ने मेरो स्वभाव छ ..... आखिर त्यस्तै भयो... तिमीसँग कुरा गर्दा म लेख्ने भएँ, साँच्चै तिमी जस्तै साथीहरुको सङ्गतले मैले केही कविता, कथाहरु लेखेकी छु 

समय सधैँ उस्तै हुने भए त ....पहिलो पहिलो चिनजान कति राम्रो नि !.... गुण मात्र थाहा भएको चिनजान, केही प्रभाव, केही कुतकुती, केही उत्सुकतासहितको चिनजान ...... कति आत्मीय हुन्छ ..... तर चिनजान त पुरानो हुँदै जान्छ , गाढ़ा हुँदै जान्छ ..... गाढामा सबै रङ रातो मात्र कहाँ हुन्छ र ? कालो रङ पनि प्रशस्त हुन्छ ...... कहिले हामी रातो रङसँग खुलिरह्यौ, कहिले हामी कालो रङसँग तर्सिरह्यौ .....

अनि अचानक एक दिन तिमीले मलाई काल्पनिक प्रेमिका बनाइदियौ, तिम्रो एक्लोपनको साथी हुन आग्रह गर्यौ, दुई-तीन दिनमा भेटिरहने बात मारिरहने ...... खोला हुन भन्यौ ......

मेरो परिवेश, मेरो सक्कली अनुहार, मेरो दैनिकी, मेरो विवशता, मेरो जिन्दगीको ज्वालामुखी, सबै-सबै कुरादेखि अनभिज्ञ तिमी ....के थाहा तिमीलाई मेरो लाचारी ?

अस्ट्रेलिया आएपछि म मैली भएकी छु । तिमीले चन्द्रमा र म मा के फरक छ भनेर नसोध, चन्द्रमामा दाग छ, मेरो जीवनमा ग्रहण छ, कहिले नजाने ........। तिमी पूजा नगर, म पूजा गर्न योग्य छुइनँ ।

तिमी जस्तै असाध्यै माया गर्ने मान्छे मैले पहिलो प्रेमको रूपमा पाएको भए, म यतिखेर पूर्ण नारी भइसक्थेँ .... तर भगवानले मेरो भागमा कन्जुसी गरिदिनुभयो, बज्रहरुले प्रहार गरेर कठोर-कठोर बनाइदिनुभयो, कति ठूलो दुर्भाग्य, म कसैलाई प्रेम गर्न सक्दिनँ ।

म पनि एउटी केटी हुँ, रातो सारी, सानो संसार, मैले पनि सपना देख्थेँ, ........ उमेर बढ्दै गयो ...... सपना झर्यामझुरुम भयो, जब म बुझ्छु, म सानो संसार बसाउन सक्दिनँ, अनि म बाँच्ने आधार भेट्दिनँ, तर मैले बाँच्नुपर्छ, तिम्रो लागि होइन, अर्को मलाई असाध्यै माया गर्ने मान्छेको लागि होइन, ....... जसले मलाई यो धरती देखायो, उसैले मलाई यहाँबाट उठाउँछ, म प्रतीक्षा गर्न सक्छु मृत्युको ...... (अनर्थ नलगाऊ..म बजारू होइन र कहिले हुनेछैन, बरु भावना परिवर्तन भएको छ सांसारिक सम्बन्धहरुसँगको) ।

मेरा थुप्रै मित्रहरु छन्, कसै कसैले अति नै हल्का रूपमा लिइदिन्छ्न् , कसैले अति नै आत्मीय प्रेम गर्छन्, कसैले केही सोचेर प्रेम गर्छन्, छन् मेरा थुप्रै इस्टमित्र ........... के भनुम् म .....  मलाई यति थाहा छ, साथी हुन केही चाहिँदैन, कुनै बड़ा शर्त चाहिँदैन ...... तर प्रेमिका हुन, श्रीमती हुन निश्चित बुँदाहरु चाहिन्छ, र त चिना जुराउछन् पुरेतहरू, तिमी र मेरो मित्रता चिना जुराएर भएको हो र ? चिना जुराउने कुरा कसरी निस्कन सक्छ र ? खड्गो पर्यो भने ... !  हे हे हे ....

म सधैँ हाँसेको देख्छौ तिमी ...., म कहिले रुने छुइनँ, रोए पनि आँसु देखाउने छुइनँ, ..... मेरो मुहारमा दुःखको एउटा धर्सो तिमीले पनि खुट्याउन सक्नेछैनौ, मेरो दुःखको एउटा लहरसम्म तिमीले अनुमान लगाउन सक्नेछैनौ ....... म धुम्म परेकी पोखरी हुँ, कति ढुङ्गाले हाने पनि एकैछिनमा लहर हराउँछ ।

घरबाट टाढा भएछि पक्कै पनि न्यास्रिएकी छु, आत्मीय माया गर्ने यो सात समुन्द्रपारि कोही पनि छैन, नेपालमा हुदा सोचेको कल्पनाको महल खण्डहर भएको छ, इन्टरनेटमा आफ्नो दुई-चार कुरा सुनिदिने मान्छे भेट्नेबित्तिकै मन मुटु नै ह्वात्त पारेर खोल्ने नराम्रो रोग लागेको रै'छ मलाई, जसलाई भेटे पनि सहर्ष स्वीकार गर्ने कुलतले ग्रस्त रहिछु, जब मैले एक पछि अर्को गर्दै आरोपहरु सुनेँ, त्यसपछि अपराधबोध भएको छ, आज मलाई थाहा छ, म मेरो शून्यता बाँड्ने  नाउँमा कुनै तन्नेरी मुटुलाई छिया-छिया पार्दिरै'छु ।

तिमी र तिमी जस्तै साथीहरुको आँसु लागेको हो कि ? ..., म उकुसमुकुसिँदै गएकी छु .....आज तिमीले भन्यौ- " तिमी माया गरिन योग्य छैनौ"....   हो ! म माया गरिन योग्य छुइनँ । .... प्रेमिका हुन सक्दिनँ भने श्रीमती हुन सक्दिनँ भने, म साथीको माया पाउन पनि योग्य छैन, तिमीले ठीक भनेका छौ ।

कपाल छोटो पारेकी छु, कहिले रातो धागो नबाँधिने बिधवा कपाल ! लामो पार्नु, छोटो पार्नु केहीको अर्थ छैन ........अझ छोटो पारेर म सकमबरी बदला लिन सक्दिनँ, तिमीलाई अपराधी पनि बनाउन सक्दिनँ ...... जस्तो छ छोडिदिन्छु ....  आजकल मेरो कपाल कत्रो छ भनेर मलाई हेक्का पनि हुँदैन ।

अचानक तिमी भेटियौ...सत्ते ! साथी भन्दा धेरै होइन, हो धर्को अलिक गाढ़ा भएछ, तिमीले चित्त दुखाउँदा म आफूलाई अपराधी सम्झिँदोरै'छु, आँसु नझारिदेऊ, मलाई नबुझी झरेका थुप्रै आँसुको श्राप म कटाइरहेकी छु, सिड्नी नामक नर्कमा ।

कति लेख्नु साथी ! बाँकी भगवानको मर्जी, मलाई भगवानमाथि विश्वास लाग्छ, उनैले देखाउलान् बाँकी बाटो, म 'नेविगेटर' बिनाको बटुवा हुँ ।

मैले लेखेको कुरालाई नबढाई माया गरेर पढ्यौ भने आभारी हुनेछु, आशा छ तिम्रो चित्त दुख्ने शब्दहरु प्रयोग गरेकी छुइनँ .... ढङ्ग पुगेन भने पनि तिमीलाई थाहा छँदैछ - म साधारण, ढङ्ग नभएकी भान्से हुँ ।

यत्ति नै ।

2 comments:

  1. गज्जबको भावात्मक लयबद्धता छ ।

    पहिलो पत्रमा जस्तो बहाव, आकर्षण र सुन्दरता थियो जवाफी पत्रमा उस्तै संगीत, मिठास र आत्मियता को गहिरो आभास छ ।

    यत्ति साधारण शब्दमा यत्ति गहिराइ !

    वाह !!!

    ReplyDelete
  2. आहा ! शब्दहरुमा कति मिठास रहेछ ... पढीरहू जस्तो लाग्यो ! जीवन जी पहिलो पत्र भन्दा नी बढी ओजपूर्ण रहेको छ !
    ढिलै भए'नी मित्रता दिवसको -शुभ कामना !!

    ReplyDelete