Subscribe:

Ads 468x60px

30 May 2010

पत्रमित्रको नाममा

सिड्नीकी साथी,

धेरै माया र सम्झना ।

तिम्रो कपाल र हाम्रो सम्बन्धले हातेमालो गरेछन् । दुवै छोटो । छोटो कपाल र छोटो समयमा झ्याङ्गिएको आत्मीयता ।  र पनि त्यसको असरदार प्रभाव छँदैछ आफ्नो ठाउँमा । कपाल छोट्याएको खबर सुनाएपछि म रिसाउँला भन्ने तिमीलाई हेक्का रहेछ । यो थाहा पाएर मनैमन खुब रोएँ हुरुक्क भएर, खुसीले । निकटताको अन्दाजमा तिमीले हालेको भर्‍याङ उक्लिँदै संसारको सबैभन्दा अग्लो मैँ भएको अनुभूतिमा रमाएँ । लामो र छोटो कपालको मेरो बयानदेखि दिक्किएर तिमीले मलाई राम्रैसँग मर्मत गर्थ्यौ, “तिमीलाई रुपसँग सरोकार रहेछ है !” सरोकार त मलाई जनताको वाहुलीबाट बन्ने मुलुककै पहिलो संविधानप्रति पनि थियो, तर के फरक पर्छ र !? म लोलाउँथेँ तिम्रो कुराले । अरूले थर्काउँदा मलाई उत्ति फरक पर्दैन, तिमीले चानचुने गाली गर्दा पनि किन म लोलाउँछु, थाहा छैन । म पनि तिमीलाई नै सताउँछु, बाटोछेउ माग्न बस्नेहरूसँग के साइनो हुन्छ र तिनलाई सताउनु ? आफ्नो बारेमा तिमीले मलाई छेकबार लगाए जस्तो लाग्यो । मानौँ, हिउँदको कष्‍टकर रातमा तिमीले मलाई ढोकाबाहिर उभ्याएराखेकी छ्‌यौ । त्यसो भए तिम्रो बारेमा मलाई केही सरोकार नहोस्, यो कसरी सम्भव छ ? जस्तो कि तिमीलाई नै यो पत्र लेख्दैछु, यो पत्र पठाउन पनि मलाई सरोकार नहोस् ? यो पत्रको शिर छैन, कपाल छैन, र पनि रूप त छ आखिर ! मलाई रुपको साँच्चै सरोकार छ प्यारी ।

www.cordarounds.comm पत्र लेख्दै गर्दा अनौठो अनुभूति भयो । लेख्‍नै नआए जस्तो अप्ठेरोपनले मनमा गाँठो परे जस्तो । हुन पनि मित्रतामा लहरिने धुनमा पत्र लेखनलाई छिमल्न थालेछौँ हामीले आफ्नो दैनिकीबाट । कति पो भइसकेछ तिमीलाई केही नलेखेको । खोई त, तिम्रो पनि एउटै सम्बोधन नपाएर म यति व्याकुल छु ।

पत्रमाथि यो कस्तो अन्याय ! जुन पत्रले हामीबीच पहिलो चिनारीको पुल हालेथ्यो, अझ निकटता र आत्मीयताको रेसा बाटेथ्यो, त्यही पत्रसँग हामीले साइनो तोड्यौँ । खासमा मानवीय प्रकृति भनेकै यस्तै होला – मुखभरि पानी उभाउने र अँजुलीलाई बिर्सिदिने ।

सिड्नीको आकाशमा बहकिएको हावामा तिम्रो कपाल कतिविघ्न सुहाउँदिलो झण्डा बनिरहेको होला ! म कल्पना गर्छु । कल्पनामै तिमी मुस्काउँछ्‌यौ, तिम्रो गालाको खाडलमा अनि त म भासिइहाल्छु । कल्पनाको रिल घुम्दै जान्छ । मैले मस्का मार्न थालेपछि तिमीले सातो खान्छौ – “हामी साथी मात्र हौँ के गधे !!” मानौँ म ट्राफिक नियम मिच्दै बीच सडकमा ढसमस्स उभिएको छु र तिमीले सिटी फुकेकी हौ ।

र यस्तोमा सतर्क हुने पालो मेरो हुन्छ । हो त, साथी भइसकेपछि कुनै न कुनै रेखी हामीले आपसमा तान्नैपर्ने, त्यो पनि स्पष्‍ट किटानीका साथ । र म साइजमा आउँछु । साइजमा आउनु यो समयको अपरिहार्यता हो । प्रतिपक्षी दलको घुर्की र धम्कीले च्यापिएर सरकार साइजमा आए जस्तै स्वाभाविक प्रक्रिया ।

समय बदलीकै अर्को नाम हो । बदलीकै उडानस्वरूप हुत्तिएर तिमी परदेशी भयौ, उतै सुर्तायौ; बदलीको घानबाट वञ्चित भएर म स्वदेशमै थुनिएँ, यतै सुर्ताएँ । कस्तो विचित्र रङ छ जीवनको । सायद आफूभन्दा दोस्रो व्यक्तिलाई गजब होला भन्ने भ्रमको चुल्ठो बाटेर त्यसैमा पिङ खेलिरहेछौँ । हामी सबैजना । हाम्रा छोराछोरीको पुस्ताले झन् एक-आपसमा कस्तो भ्रममा अडेसा दिएर चित्त बुझाउनुपर्ने होला ? हे रामचन्द्र ! यस्तै थेगो जोडेर तिमी पनि पिरोलिँदैछ्‌यौ होला । आखिर पिरोलिने एउटा-एउटा बहानाको खाँचो पर्ने रहेछ । नत्र जिन्दगीको बाटो खर्च नचल्ने रहेछन् । बहाना = बाटो खर्च ।

तिमीले छोडेको काठमाडौँ त्यस्तै नै छ । सडकहरू उस्तै रापिला, तिनमा चलमलाइरहेका अटेसमटेस गोडाहरू उस्तै भोका । मानौँ सबका सब हिंस्रक सिकारका लागि सुर कसेर खनिएका हुन् । बरू अझ यो सहरको तनाव भयङ्कर बढेको छ, घट्ने नाम छैन । कामको लिकबाट फुत्किएर हत्तपत्त साथीहरूसँग कफीको एक सुरुप लिन नपाउनु नै यो सहरको विशेषता हो जस्तो लाग्न थालेको छ अचेल । घडीको सुइसँगै एकाकार भएर दौड वत्स भनेर समय बूढाले कता-कता आदेश दिइरहे झैँ सबैमा एकोहोरोपनको भूत सवार छ । यस्तोमा म पनि घानमा परेको मकै हुनबाट कसरी पो छुट्थेँ र ?

घरबाट टाढिएपछि घरसँगको नाता अझ गाढा हुने र महत्व अकाशिने अनुभूति सबैले गर्दा हुन् । घरबाट मस्यौरा, भटमासको पोका र कुराउनी भरिएको डब्बा जबजब सहर छिर्छ, अनि मात्र गाउँघरको सम्झनाले छातीमा मार हान्छ । यस्तो मुटु भइसकेको छ । यसलाई स्वार्थको जामा भिराए पनि हुँदो हो, सहरिया प्रभाव भने पनि हुँदो हो । चिमोट्दा पनि अब त छुसुक्क छोए जस्तो मात्र असर हुने हो कि जस्तो भइसक्यो शरीरमा । म यस्तै भएको छु । तिमी कस्ती भएकी छ्‌यौ, कस्ती हुँदैछ्‌यौ, यो सबैको साक्षी बन्न पाउँदा सन्तोष लागिरहेको छ । आफ्नोबारे सानो-सानो कुरा सुनाउने तिम्रो बानी मलाई आत्मबखान कत्ति पनि लाग्दैन, बरू त्यसले मलाई तिमीसँग एउटै सिरानीमा शिर पारिदिएको आभास हुन्छ । विरानोपनमा रुमल्लिए पनि एउटै साझा घरको बास झैँ तृप्‍तिको भक्कानोले छोपिन्छु म । 

अँ त, म कहिलेकाहीँ आत्तिन्छु- कतै हाम्रो भेटै नभई यो विश्‍व ध्वस्त त हुँदैन ?

मलाई अक्सर यही जिज्ञासाले खेदो गर्छ, आपसी दूरी नामेट पार्दै भेटघाट गर्नमा त्यस्तो के कुरा लुक्या छ, प्राणीजगत् किन मरिहत्ते गर्छ ? किन वर्षौँ पर्खिन्छे पहाडकी मसली खसम आउने आशमा ? किन मधेसको लछुनिया बेपत्ता छोरो भेट्ने आशमा राजमार्गछेउको जङ्गलमा चौध चक्कर लगाउँछ ? किन कहाँ-कहाँ पुगेर भाले चरा बेलुकीपख कोसौँ दूरको गुँड फर्किभ्याउने धुनमा पखेटा फतक्क गलाउँछ । किन म पर्खिनेछु यो पत्रको जवाफ ?  मान्छेहरूले टेलिफोन वार्तामा “क्या हो, अचेल त भेटघाटै छैन” भन्ने गुनासो गर्नुमा कति तुक छ ? मान्छेले कसैको साथ र आडभरोसा खोज्नु पनि ऊसामु आफ्नो मान्यता स्थापित गर्नलाई रहेछ । अनि मान्छेले कसैलाई चिज गर्छ नि, त्यो पनि साटोमा आफूलाई उस्तै व्यवहार होस् भन्ने आग्रहभाव त हो । समाजको व्यावहारिक जीवनको यो नाङ्गो नाङ्गो सत्य लुकाएर पनि लुक्नेवाला छैन । कारण, हामी अहिलेसम्म यसैको अभ्यासमा छौँ ।

तिमीप्रति साह्रै नजिकिँदो यो पत्रभित्रको अभिव्यक्तिले सायद तिमी आत्तिनेछ्‌यौ । आत्मीयता भन्दैमा कति जतन नगरी फुकाएका कुराहरू भनेर त्यो चुली नाक अझै रिसले चुलिएको होला । अब धक फुकाएरै आत्तिए हुन्छ, रिसमा दरफराए हुन्छ, स्थिति सम्हाल्न हाजिर म छँदैछु ! देश सम्हाल्नुपर्ने नेताहरू भाङ खाएर आफ्नै बोलीको बेठेगानमा चकित हुने हाम्रो राष्ट्रिय परिवेशमा स्थिति सम्हाल्ने कोही जन्मिएकोमा कम्तीमा तिमी ढुक्क भए हुन्छ ।

विदेशको ठाउँ, थरीथरी आविष्कारिक रमिताले दङ्ग पर्ने तिमी यता मेरो मित्रताको पुनरावृत्तिको उकुसमुकुसबाट विरक्तिन्छौ होला यदाकदा । तिमीलाई विरक्तिन पनि छुट छ ।  यही विरक्ति तिम्रो साथी होला कहिलेकाहीँ । तिमी भने साथी हौ मेरो सधैँलाई । तिम्रो एक वर्षे जेठो अवतारले मलाई कान निमोठ्ने इजाजत पनि सुरक्षित राखेको छ । म पनि लिकमा हिँड्ने दबाबमा रहन पाउनेछु । तिम्रो जीवनमा पनि मैले हाँसो छर्ने बाटो देखेको छु ।

यति भएपछि रेल छुट्नेछैन । तिम्रो सङ्गतबाट अब म गयल हुन सक्नेछैन । रेल छुट्यो भने दुवैमध्ये कसैको जीवन ठेगानमा हुनेछैन सायद ।

र बाँच्नु हामी दुवैलाई छ ।

चाहे यसैगरी टाढिएर । चाहे आसपास रहेर ।

मायाले लेखेको हो पत्र, तर खोई कहाँ अड्कियो, असन्तुलित ट्याक्टर जस्तै थर्थरायो क्यार । मायाले पढ्नू । तिम्रो सजिलो मनले पढेपछि यसका खाल्टाखुल्टी टालिनेछ । मेरो बाटो पनि यसैगरी भर्न चाहान्छु ।

आजलाई यत्ति नै ।

11 comments:

  1. खुरुखुरु पढें । कुनै मिठो संगीत सुनिरहेजस्तै लाग्दै गयो पुछारसम्म । तर प्रतिक्रियामा लेख्ने कुरा भने केहि निस्केन । त्यसैले यत्ति लेखें ।

    ReplyDelete
  2. एउटा सान्दर्भिक पोष्ट !

    "अनि मान्छेले कसैलाई चिज गर्छ नि, त्यो पनि साटोमा आफूलाई उस्तै व्यवहार होस् भन्ने आग्रहभाव त हो "

    सबै भन्दा सान्दर्भिक र वास्तविक वाक्य यही नै हो !!! यो सबै मा लागु हुन्छ कारण एक हात ले ताली बज्दैन । यदि एउटा ले, आफ्नो लक्ष्य ठान्छ तर अर्को ले त्यही कुरा विकल्प झैँ रोज्छ भने, आपस को जिवन को रेल सँधै को लागि छुट्नेछ । अनि यो, देख्दै र भोग्दैआएको तितो यथार्थ हो ।

    "आफ्नोबारे सानो-सानो कुरा सुनाउने तिम्रो बानी मलाई आत्मबखान कत्ति पनि लाग्दैन, बरू त्यसले मलाई तिमीसँग एउटै सिरानीमा शिर पारिदिएको आभास हुन्छ" - अनि यो कुरा चाँहि राम्रो लागुन्जेल मात्र हो, अन्यथा यी सबै कुराहरु बच्चा र केटाकेटी कुरा लाग्छन् कुनै तुक नभएको !

    आजलाई यत्ति नै !
    :)

    ReplyDelete
  3. गज्जब! बेजोड!! नि:शब्द बनायो यो मनमोहक लेखाई, निर्बिघ्न पोखिएको भाव‍प्रवाह र ईमान्दार अभिब्यक्तिले! सलाम तपाईँलाई! तपाईँको लेखाई सधैं मन पर्छ मलाई तर यो विशेष लाग्यो।
    र म ठोकेर भन्दिन्छु यो निबन्ध नेपाली साहित्यको कालजयी कृति बन्ने पात्रता राख्दछ। मेरो अनूरोध तपाईँसंग, यसले प्रकाशनमा पनि आउन पाओस्।

    ReplyDelete
  4. पढ्दै जाँदा...एकदमै रोमाञ्चक र लयबद्ध संगीतको झैं मिठास भेट्दै थिएँ..."आजलाई यत्ति नै !" मा पुगे पछि मनमा 'किन यत्ति मात्रै' जस्तो लाग्यो । साँच्चै भनेको अझै 'पढुँ-पढुँ' लाग्दै थियो :)

    ReplyDelete
  5. AnonymousJune 09, 2010

    पढ्ने रहर नमेटिदै बीट मारिएका तपाईका शब्दहरुले पछ्याइरहे,कसिलो सम्बन्धको key कहाँ खोज्ने होला ???

    ReplyDelete
  6. ३ पटक पढे तेही पनि फेरी पढन मन लागि रहेको छ ।
    ( मैले मस्का मार्न थालेपछि तिमीले सातो खान्छौ – “हामी साथी मात्र हौँ के गधे !!” मानौँ म ट्राफिक नियम मिच्दै बीच सडकमा ढसमस्स उभिएको छु र तिमीले सिटी फुकेकी हौ )
    यो वाक्यले साह्रै मन छोयो
    धन्यवाद अंकल

    ReplyDelete
  7. AnonymousJune 18, 2011

    पढ्न थालेपछि छाड्नै सकिन, र एकै सासमा सिद्ध्याएरै छाडें । एउटा मिठो र मार्मिक आत्मियता-हार्दिकताको रुपमा यो चिठी जीन्दगीको बाटोखर्च पाएझैं मान्यो मनले । सुन्दर वाक्य विन्यासका शील्पका कारण पढीरहँदा आँखाका कोसकोस रसाए, मन कस्तो कस्तो भारी जस्तो भो । तर धीत मरेन, अझै पढीरहन पाए हुन्थ्यो भन्ने लोभले ह्रदयमा कब्जा गरीरह्यो । समग्र लेखाईले आफूतिर तानिरहे, तर तलका यी हरफले हुरुक्क पारे मलाई .... प्रिय मित्र ! बधाई है!!!
    "तिम्रो एक वर्षे जेठो अवतारले मलाई कान निमोठ्ने इजाजत पनि सुरक्षित राखेको छ । म पनि लिकमा हिँड्ने दबाबमा रहन पाउनेछु । तिम्रो जीवनमा पनि मैले हाँसो छर्ने बाटो देखेको छु ।"

    -कल्पना बान्तवा

    ReplyDelete
  8. 'तिमीले छोडेको काठमाडौँ त्यस्तै नै छ । सडकहरू उस्तै रापिला, तिनमा चलमलाइरहेका अटेसमटेस गोडाहरू उस्तै भोका । मानौँ सबका सब हिंस्रक सिकारका लागि सुर कसेर खनिएका हुन् । बरू अझ यो सहरको तनाव भयङ्कर बढेको छ, घट्ने नाम छैन । कामको लिकबाट फुत्किएर हत्तपत्त साथीहरूसँग कफीको एक सुरुप लिन नपाउनु नै यो सहरको विशेषता हो जस्तो लाग्न थालेको छ अचेल । घडीको सुइसँगै एकाकार भएर दौड वत्स भनेर समय बूढाले कता-कता आदेश दिइरहे झैँ सबैमा एकोहोरोपनको भूत सवार छ । यस्तोमा म पनि घानमा परेको मकै हुनबाट कसरी पो छुट्थेँ र ?'
    - तपाईंका निबन्ध हुन् या कविता - गजल सबैंलाई म उसरी नै रुचाउँछु ।जुन भावप्रवाह र कलात्मक चित्रण हुन्छन् नि ती मन,मस्तिष्क छुँदै बग्छन् सङ्लो नदी बनेर पाठकका स्वप्न फाँट हुँदै.....।

    ReplyDelete
  9. मनै छुने प्रेमपत्र भन्न रुचाएँ । यस प्रेमी पात्रले प्रेम गर्न मात्र जानेको होइन । ऊ आफू वरपरको सामाजिक, राजनैतिक,अन्य थुप्रै परिवर्तन र स्थितिदेखि परिचित छ र आफ्नो प्रेमिकाको साथै देश, गाउँ समाज र वरिपरिका वस्तुस्थितिबारे राम्रो जानकारी राख्दा छ । राम्रो लाग्यो लेखन । चाँडै मिलनको शुभकामना!

    ReplyDelete
  10. आजलाई किन यत्तिनै ?? अन्याय भयो पाठकलाई दाजु । कुन वेला पढि सकियो थाहा भएन । म निथ्रुक्क भिजिसकेँ यि भावनाका सितहरूले । धेरै वोल्दिन ।

    ReplyDelete
  11. यी शब्दका खेलाडी हुन् , कुन बेला थाहै नदिई 'गोल' गर्छन ... कति रमाईलो लाग्छ !

    ReplyDelete