कति-कति भर्खरका भाइ-बहिनीले किताब छापिसके, सात वर्ष पनि साधनामा नभिजेकाहरूले सात वटा किताबको ताँती लगाएर उछिनिसके भनेर फत्र्याकफत्र्याक हुनु पनि भएन । सक्नेले नै त गर्ने हुन् । यसमा कति वर्ष कतिले साधना गरे, कतिले फोकटमा चोरचारमा रात कटाए र कति आलाकाँचाले हौवामा किताबी रकेट उडाए भन्ने कुराले के माने राख्ला ? किताब निकाल्नु आफ्नो बर्कत भएर पनि पुग्ने कुरा होइन, यो खास त अरूमा निर्भर हुने कुरा हो । किताब निकाल्ने तयारी अवस्थामा आफू रहेर मात्र कहाँ हुनु र, तँ तयार भइस् है भनेर मनोवैज्ञानिक टाँचा लगाएर अपेक्षाको स्वर भर्ने त समाजले नै हो जस्तो लाग्छ । एउटा अप्रत्यक्ष दबाब भनूँ न !
मेरा कतिपय साथीहरू छन्, मैँ जस्तो साहस गर्न नसकेका । जो सोच्छन्, आफ्नै खर्चमा किताब निकाल्नुको के अर्थ, र मजा पनि के नै ? किताब नै तयार परेपछि त कोही प्रकाशक होस् अनि पो 'किताब प्रकाशनमा आयो' भन्नमा पनि तुक मिल्छ भन्ने सोच राख्ने तिनको एक स्तरको व्यावसायिकता पनि कसोकसो मन पर्छ मलाई । अनि कतिपय सोच्छन्, किताब निकालेपछि त्यस्तो के हुन्छ र निकाल्ने झन्झटमा फस्नु ? किताबको थान गन्ती गरेर लेखकको स्तर निर्धारण हुँदैन भन्ने तिनको सोचाइप्रति पनि सम्मतिको शिर झुक्छ । मेरै छिमलमा कुम मिलाएर साहित्यिक कर्म गर्ने केही अनुज अनुहारहरू छन्, तिनको किताब पल्टाउँदा यस्तो लाग्छ – यो किताब त बरू ननिस्किएकै भए वेश हुनेथ्यो । (यसो भन्नुमा मेरो अहङ्कार लुकेको हुन्न, बरु भाषिक-साहित्यिक प्रेमका कारण यस क्षेत्रमा केही राम्रै होस् भन्ने आग्रहभावको भूमिका होला ।) ती प्रति मेरो सद्भाव-शुभेच्छा नहुने होइन, भरपूर हुन्छ । त्यही भएर त त्यस्तो किताबको मुख देख्नु नपरोस् भन्नेमा म निर्धक्क सोच्न सक्छु । आफूले किताब छपाउने ल्याकत नराखे पनि छपाउनेहरूले गतिलै चिज दिऊन् भन्ने चाह राख्नु पाप पक्कै होइन ।
तर सोझै मुख फोर्न भने सक्दिनँ, कतै तिनको कलिलो रहर कहिल्यै नलेख्ने गरी नभाँचियोस् । र कहिलेकाहीँ डर लाग्छ – तिनको रहरको भीडमात्र यसैगरी उर्लिरहँदा साहित्यमा कच्चा लेखनको विकृत स्वरूप मात्र त जम्मा हुने होइन ? यस्तो डरको ठेक्का मैले लिनु पनि आवश्यक नहोला । तिनको लेख्ने हक पनि स्वतन्त्र छ आफ्नो ठाउँमा । तर मेरा ती अनुजहरूलाई एउटै कुम जोडेर हिँडिरहेको मेरो पुस्ताले नभने कसले भन्ने ? साहित्य र कलाको बारे के राम्रो भइरहेछ, के नराम्रोले जकड्याइरहेछ भन्नेमा हामी यही क्षेत्रमा रहेकाहरूले चर्चा नगरे कसले हो गर्ने ?
अर्कोतिर, आफ्नै रहर र तृप्तिका लागि लेख्न सुरु गरेपछि आफूलाई कसैले चासो दिएन, प्रकाशनबारे खोजीनीति गरेनन् भनेर राज्य वा कुनै स मूहको भूमिकाको अपेक्षा गर्नु पनि आफैँमा बेफ्वाँकको कुरा लाग्छ ।
आत्मप्रकाशनको रन्थनीले आफू वा समाजकै लागि लेखे पनि आफ्नो प्रतिभाललाई जगाइराख्ने, संरक्षण गर्ने जिम्मा त आफ्नै हो । सके आफूलाई हौस्याउने, फलाउने र नसके काम्रो कसेर बस्ने । हो, राज्यले विकास-निर्माणको क्षेत्रमा जस्तै बौद्धिक फाँटमा पनि केही प्राथमिकता निर्धारण गरी व्यवस्था गर्नु उसको दायित्वभित्र पर्नुपर्ने कुरा हुन् । तर गैंडामाथिको प्रहार त्यो गैंडालाई लुतो न कन्याइ भइरहन्छ भने ' श्री दयनीय माननीय' भन्नुभन्दा बढी केही गर्न सकिन्न ।
यस्तोमा, पुस्तक प्रकाशनको साहसिक आरोहण विफल भइरहन्छ भने पनि आफ्नै गोडा बल्ढ्याङ खाएर हो । कसलाई पो दोष दिनु र ?
3 Comments
कुरा एकदमै सान्दर्भिक र रोचक लाग्यो । आरोहण त साहसिक नै हो तर आरोहणको कुनै ‘वजन’ हुने बेलामा मात्रै आरोहण सार्थक हुन्छ जस्तो लाग्छ मलाई ।
ReplyDeleteप्रसङ्ग मिल्छ मिल्दैन थाहा भएन । तर तपाईँको “...तिनको किताब पल्टाउँदा यस्तो लाग्छ – यो किताब त बरू ननिस्किएकै भए वेश हुनेथ्यो “ भन्ने वाकय पढ्दा एउटा कुरा याद आयो ।
कतै पढेको थिएँ । भारतमा तात्कालिक मुगल बादशाह बहादुर शाह 'ज़फर' (जो पछि सुप्रसिद्ध गजल कार पनि भए) ले सुरुमा गजल सिक्न एकजना गुरु राखेका रहेछन (सायद गालिब वा उस्ताद तन रास खान थिए अहिले याद आएन)।
एकदिन बहादुर शाहले आफ्ना गुरुलाई सोधेछन् : तपाईँलाई एउटा गजल लेख्न कति समय लाग्छ ?" । उनका गुरले भनेछन् । २ महिना, ३ महिना वा कहीलेकाही ६ महिना पनि लाग्छ ।
बहादुर शाहले भनेछन् "म त विहान 'गुशलखाना' मा बस्दा-बस्दै पनि एउटा दुईटा गजल लेख्न सक्छु"
त्यसको जबाफमा उनको गुरुले भनेको कुरा मेरो स्मरणको आधारमा जस्ताको त्यस्तै राख्दैछु । उनका गुरुले भनेछन् : “इसिलिए तो तुम्हारी गजलमे गुलशखाने का बू आती है"
'इमानदार' आलेख एकदमै चित्त बुझ्ने लाग्यो ।
इमान्दारीपूर्वक लेखिएको कटु वास्तविकता! माथि दिलिप सरको प्रतिकृया पनि निकै घतलाग्दो लाग्यो।
ReplyDeleteदिलिप सरको भनाईमा मेरो पनि समर्थन,
ReplyDelete