Subscribe:

Ads 468x60px

23 March 2011

परम्परागत गजलमा धावा

नेपाली साहित्यिक जमातमा एकथरीले गजललाई आयातीत विधा भन्दै गाइने गीतको संज्ञा दिए पनि पछिल्ला वर्ष गजल लेखन साहित्यको मूलधार झैं बनेर उर्लिएको छ ।
त्यही शृंखलामा युवा गजलकार डा. निरज भट्टराई गजलसंग्रह 'तलाश' लिएर पाठकमाझ आएका छन् । गजलका किताब प्रकाशनमा निरन्तरता जस्तो देखिए पनि यसमार्फत गजलकारले आफ्नो अलग पहिचान कोर्न मिहिनेत गरेका छन् । ५१ थान गजल समेटिएको कृतिले नेपाली गजलमा कायम परम्परागत कोमल र शृंगारिक विधाको चिनारी टकटक्याउँदै बौद्धिकताले पोसिएको काव्यिक स्वाद पस्किएको छ ।

त्यसो त बडो मुश्किलले हाम्रो तस्वीर बनाइन्छ
जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ ।

मलाई मैनका खुट्टा दिएर जानेले भनेका छन्,
'अबदेखि तेरो बाटोभरि आगो बिछ्‌याइन्छ ।'

फारसी, उर्दू र हिन्दीको पोषण हुँदै दरिलो तिघ्रामा उभिएको नेपाली गजलले संख्यात्मक रूपमा गजलकार तथा गजलहरू पाएअनुसार हल्काफुल्का लेखनको पनि प्रवेश हुँदा यसको बजार साहित्यको बौद्धिक जमातमाझ केही सस्तिएको पाइन्छ । मूलधारका नेपाली साहित्यिकहरूको दृष्टिमा गजलको परिसूचक त्यसरी ओरालो लागिरहेको बेला निरजका गजलले केही ओटको काम गर्ने सामर्थ्य बोकेको देखिन्छ ।

राTalash-Bookजनीतिक दिशाहीनतामा मुलुक लामो समयदेखि छटपटाइरहेको परिवेशमा निकासको खोजीलाई संग्रह 'तलाश'को नामले मुखरित गर्न खोजेका छन् गजलकारले । गजलका सेरहरूले पनि यहींका मान्छेहरूको छटपटी, अत्यास, केही आश र सपनाहरूको साझा भावना उनेका छन् । अझ उनका गजलले भावगत तीव्रता भन्दा वैचारिक गम्भीरताको वकालत गरेको भन्दा न्यायसंगत हुन्छ । पीडालाई विषय बनाइएको गजलमा पनि गजलकार स्वाभाविक आँसु मात्रै बगाउँदैनन्, त्यो आँसुमा धारिलो पत्र पनि छचल्काउँछन् ।
 
परम्परागत अभिव्यक्तिबाट अलग्गिएर चोखा शब्द चलाउने निरजका गजलले पाठकसँग बौद्धिक बात मार्छन् । तर सँगै, उक्ति विचित्रता र तार्किक शैलीका कारण नयाँ बान्कीको लेखनमा बानी नपरेका पाठकलाई उनका कतिपय गजल सम्प्रेषणमा अक्कर पहाड पनि लाग्न सक्छन् । तिनलाई काव्यिक एवं दार्शनिक उचाइमै गएर बुझ्नुपर्ने हुन्छ । कतिपय सेरमा गजलकारले भाषिक बलमिच्याइँ पनि गरेको देखिन्छ । यस्तो दोष यति वजनदार संग्रह ल्याउने सर्जकबाट अपेक्षा गरिन्न । थाहा पाई-पाई 'चल जाएगा' प्रवृत्तिको सिकार भएर भाषिक विचलन, वर्णविन्यास र व्याकरणगत त्रुटि दोहोर्‍याएको भान हुन्छ । गजलका आधारभूत प्राण काफिया र रदिफको संयोजन गर्नुपर्ने बाध्यताले गर्दा नाम र क्रियापदको संगति बेमेल भएको 'फलाम गर्ने' जस्तो वाक्यांश समेत लेखेका छन् गजलकारले ।

संग्रहका अधिकांश गजलका सेर सर्वमान्य जीवनदर्शन झैं सूक्तिमय छन् । सूक्ति र तर्कपूर्ण सेरहरूको खजाना भरिएको दराज भन्दा हुन्छ यो संग्रहलाई । अकाट्य विषय-प्रसंगलाई कलात्मक बुनोटमा भरिएको छ । बोलीचालीको अभिव्यक्ति शिल्पमा लेखिएका गजल टेबल गफ जस्तो सहज पनि लाग्छ ।
केही झलक :

भक्तहरूसँग ईश्‍वर पराजित भए
अनि मन्दिर र मस्जिदमा विभाजित भए ।

यता उसले रुख काटेर घर बनायो,
उता चराहरू घरबाट विस्थापित भए ।

***
कि अनुहार हुनुपर्छ कि होनहार हुनुपर्छ
होइन भने बाँच्नलाई बेग्लै संसार हुनुपर्छ ।

म रुख हल्लाएर झारिदिन्छु माटोमा ताराहरू,
मसँग तिमी हुनुपर्छ र तिमी तयार हुनुपर्छ ।

यस्ता सशक्त र हक्की भाव भरिएको गजल संगीतबद्ध गर्नेभन्दा मञ्चकेन्द्रित हुन्छ । हिन्दी साहित्यमा रत्तिएका पाठकले संग्रहभित्रका गजल पढ्दै जाँदा गजलकारमाNiraj. त्यताको प्रभाव चुलिएको छनक पाउनेछन् । हिन्दी गजलको प्रभावको मातले उनले कतिपय गजलमा नेपाली लेखनभित्र सुपाच्य नहुने हिन्दी शब्द समेत घुसाएका छन् । प्रविधिको जालोले विश्‍व एउटा गाउँ बनिसकेको उदाहरण अगाडि सार्दै कुनै पनि कुरा पराइ नहुने व्यापक सीमारेखा कोरे भाषिक पहिचान र निजतामै संकट आउने पाटो पनि बिर्सिन मिल्दैन । झन् आयातीत विधा भनिंदै साहित्यका अन्य विधाको चेपुवामा निन्याउरो अनुहार पारेको गजललाई नेपालीपन दिन पनि अभिव्यक्तिगत चोखोपनमा ध्यान पुर्‍याउनु उपयुक्त हुनेछ । प्रभाव ग्रहण गरेर आफ्नो शैली प्रखर पार्नु एउटा कुरा हो, तर अदा, इन्तजाम, दिवाना, इरादा जस्ता शब्दको प्रयोगले विशुद्ध नेपाली गजल पढ्ने तिर्खामा हिलो छ्‌यापिदिन्छ ।     
संरचनागत पक्षलाई गजलको मूल पाटोको रूपमा लिइने प्रचलन स्वरूप तुलनात्मक रूपमा भावपक्ष र वैचारिक पुट नेपाली गजलले गुमाउँदै गएको पाइन्छ । गजल लेखनको लामो अभ्यासबाट अगाडि बढेर आउँदा संरचनात्मक पाटोमध्येको पर्ने तुकबन्दीयुक्त काफिया र रदिफ संयोजनमै अलमलिएर बस्ने समय अहिले छैन । उसै पनि मात्रा, लय आदि पक्षलाई ध्यान दिंदै लेख्नुपर्ने नियम रहेकोमा काफिया बन्न सुहाउने शब्दहरूको सीमाले नेपाली गजल केही जकडिएको गुनासो गजल लेखकहरूबाट सुनिन्छ । यस्तोमा, एकाक्षरी काफियामा भरपूर खेल्दै पूर्ण काफिया भएको गजलको जस्तै सुललित प्रवाह त्यसमा भर्न सकिने उदाहरण संग्रहमा निरजले पेश गरेका छन् । जुन अभ्यासमा उनी सफल पनि देखिन्छन् । तर वैचारिक पुट दिएर साहित्यिक महत्ताको गजल लेख्‍ने धुनमा मात्रा र लयभंगतिर गजलकार हुत्तिएको ठाउँ धेरै देखिन्छ संग्रहभित्र । त्यसमा सम्हालिएमा उभिने मात्र होइन, गजलकारितामा प्रयोगधर्मिताको वकालत गर्ने निरजको पुस्ताको दौड नै देखिने दिन आउन टाढा छैन । 

* * * * * *
तलाश
स्रष्टा : डा. निरज भट्टराई
प्रकाशक : साहित्य परिवार, नेपाल मेडिकल कलेज, जोरपाटी
मूल्य : १०१ रुपियाँ
पृष्ठ : ५१

2 comments:

  1. राम्रो परिचयात्मक लेख। निरज जी लाइ हार्दिक बधाई तथा काव्यको सफलताका लागी शुभकामना ।

    ReplyDelete
  2. साहित्य क्षेत्र अझै फस्टाओस् ।

    ReplyDelete