Subscribe:

Ads 468x60px

22 March 2011

तिमी सन्तान

हेरिरहेछु तिमीलाई
तिमी हेरिरहेछौ हावाको धारतिर
सायद परको चन्द्रमा
तिमी सानो छँदा
हेर्ने गर्थ्यौ मलाई
म हेर्थेँ तिम्रै सपना घुलेको आँखाले
टोलाउँथेँ पर क्षितिजको दैलोमा
घरक्क उघ्रिहाल्ला कि  भन्दै
नजरलाई बनाउँथेँ एकतमास पहरेदार

म यहीँ छु छेउमै
उहिले तिमीलाई मुसार्ने
यी कत्लेदार हत्केला खै छुँदैनौ तिमी
छुन खोज्छौ -
आकाशिएको पुतली
उड्दै डाँडापारि खस्ने तारा
न्यानो लाग्छ तिमीलाई असिना दाना
बिझाउँछ मेरो अँगालो

तिम्रो पखेटा पलाएपछि
मेरो अँगालोमा पनि काँडा उम्रियो कि !

पहिले
मेरो पैंतालाको डोंब नै तिम्रो बाटो
मेरो काख तिमीले कोल्टे फेर्ने पृथ्वी
डुब्दै गरेको जहाज छाड्ने यात्री जस्तै
धाँजा फाटेको बाटोमा अहिले कता जाँदैछौ ?

उमेरको हदबन्दीमा मासिएर म त
खिइँदैछु-धुलिंदैछु
यसरी बिस्तारै-बिस्तारै
अँटाउँदिनँ कि म तिमीले डोर्‍याउने बाटोमा ?

खुम्चिए पनि यी निधार
सम्झनाको नसा भक्कानिन कहाँ छाडेको छ र ?
तिमीलाई डोर्‍याउने हात यिनै त हुन्
जो दरफराइरहेछन् यतिखेर हावामा
रोक्न खोजिरहेछन्
सँघार नाघ्न तम्सिएको तिमीलाई  ।

2 comments:

  1. तिम्रो पखेटा पलाएपछि
    मेरो अँगालोमा पनि काँडा उम्रियो कि !
    ramro chha guru sabbai.

    ReplyDelete
  2. गज्जब गयो नि त कबिता ।
    तपाईंकै कबितालाई फेरेर तपाईको बारेमा कमेन्ट यस्तो बन्यो ।
    हेरिरहेछु तिमीलाई
    तिमी हेरिरहेछौ परको धारतिर
    सायद हावाको चन्द्रमा ।
    कबिता बिगारेकोमा माफी पाम् ।

    ReplyDelete