Subscribe:

Ads 468x60px

19 March 2011

त्यो फागु …

Basantapur-Fagu
(होलीको अघिल्लो दिन राजधानीको एउटा स्कुलका विद्यार्थी होलीको बिदाअघि रङ्गिएर रमाउँदै)

हामीमा उल्लासको रङ नै हराउँदै गएको हो कि, होलीको रङ वर्षेनि फिका हुँदै गइरहेको छ । होली पर्वको आत्मीयता र सौहार्दताको पाटोलाई पछिल्लो समयमा लुकेर-छलेर अभद्र पारामा हानिने लोला र पिच्कारीको आतङ्कले माइनस गरेको छ । (यसपाला त त्यही लोलाको वर्षा पनि धेरै कम देखियो !) पर्वमा विकृतिले ठाउँ पाएकैले होला, सभ्य रूपले रमाइलो गर्न चाहने मन पनि ‘होली आयो’ भनेपछि ओइलाउने गर्छ ।

मन त कसको चाहँदैन र रङमा भुलूँ, रङ्गीन बनूँ ! तर, होलीमा अचेल अबिर र रङ मुश्किलले देख्‍न पाइन्छ । पहिले-पहिलेका वर्ष सडकछेउमा डङ्गुर रङको पसल थाप्नेहरू अचेल बेलुन र प्लास्टिकको धोक्रोमा खुम्चिएका छन् । हुँदाहुँदा सहरबाट लोलाप्रेमीहरूको बाछिटा गाउँसम्म पुगेको छ । गाउँमा लोला किन्न कन्जुस्याइँ गर्नेहरूको पनि आफ्नै शैली छ - बाल्टिन, अम्खोरा र मगले नै काम चलाउँछन् पानी छ्‌याप्न । उसै पनि सहरभन्दा पानीको फालाफाल नै हुन्छ गाउँमा ।

यस्तै पानी आतङ्कको सिकार हुँदा होली पर्वदेखि नै विरक्ति भएको छ आफूलाई । अहिले पनि अरूहरूले होली खेलेको हेरेर आनन्द लिन्छु, आफू खेल्न भने कसैगरी मन जुरमुराउँदैन । उदयपुरमा छँदा २०५३-५४ सालको कुरा हुँदो हो । १२-१३ वर्षको केटो, चञ्चलता त थियो नै । घरबाट कुन्नि के किन्न चौकतिर झर्नुपर्ने भयो । आफ्नै पारामा उफ्रिँदै हिँडे । होलीको उमङ्गले हा-हा-हो-हो सुनिन्थ्यो टोलभरि । दृश्य देख्‍न नपाइए पनि मान्छेहरू खुबै रमाइलो गरिरहेका छन्  भन्ने लख काट्न सकिन्थ्यो । हाँसो र खित्काको गुञ्जन नै उखरमाउलो थियो ।

मुख्य चौक चारबिघे भन्दा अगाडि चुहाडे आउँछ । जहाँ कुसुमको ठूलो गाछीमुनि बस्नको लागि अहिले चौतारा समेत बनेको छ । उतिबेला भने व्यवस्थित थिएन । कुसुम गाछीको छेउमा धेरै पहिलेदेखि चल्नचल्तीमा रहेको इनार अद्यापि छँदैछ । उफ्रिँदै त्यहाँ के पुगेको थिएँ, त्यहाँ त बलियाबाङ्गा दाइहरूले फुच्चा केटाहरूलाई समातेर पानी छ्‌यापिदिँदै रै’छन् । दङ्ग परेर रमिता हेर्न थालेँ । म त राम्ररी चिनेजानेको फुच्चे, फेरि जिम्बाल बाको नाति ! Smile मलाई त केही गर्दैनन् होला भनेर निर्धक्क हेर्दै थिएँ केटाहरू भिजेर मुसो भएको ।  अलिबेरमा त मैंलाई पो कर्‍याप्प समातेँ । फुत्किन खोजेँ, हलचल गर्न सके पो ! सानैदेखि खिरिलो ज्यानको आफू पाखुरावालहरूको फन्दामा परियो, अघिसम्म रमिता हेर्दै गरेको अब आफैं रमिता भइने भो भनेर इन्तु न चिन्तुको अवस्थामा परेँ । अनि त दुईजनाले समात्‍ने, एकजनाले इनारबाट पानी निकाल्दै ममाथि खन्याउन सुरु भयो । मानौँ म रौँ खुइल्याइसकेको खसी हुँ, अब छुटेरहेका भुत्ला पखाल्न मात्र बाँकी छ ! बिहान ८-९ बजेको समय थियो, बाल्टिनका बाल्टिन पानीको वर्षाले जाडोले कक्रिएँ । पानी खन्याउने दाइ पुस्ताका जैरेहरू रमाइलोमा हाँसिरहेका थिएँ, आफू भने न रुनु न हाँस्नुको अवस्थामा थिएँ । पछि तिनलाई पनि अति गरियो जस्तो लागेछ क्यार, छाडिदिए । आँखाभरि दबदब आँसु पार्दै पसलमा किनमेल समेत नगरी घरतिर फर्किएँ ।

त्यसपछि आजका दिनसम्म होली खेल्न मन कहिल्यै रौसिएन ।

* * *     

२०५८ सालपछि पढ्ने सिलसिलामा काठमाडौं बस्न थालेपछि ललितपुरको कुपण्डोलमा दाइसँगै बस्न थालियो । आफूले नखेले पनि एक वर्षको होली निकै मादक लाग्छ । वल्लो-पल्लो कोठामा बस्ने दाइ-दिदीले रङ दलेर सास्ती देलान् भनेर बिहानदेखि ढोकामा चुकुल लगाएर बसियो । होली खेल्न मन पर्दैन भने लगाइदिंदैनौं भनेपछि बाहिर र छतमा बसेर अरूहरू खेलेको हेरेर रमाइलो लिन थालियो । हामी बसेको भन्दा पल्लो कोठामा उदयपुर जिल्लाकैअविवाहित भए पनि वर्ष २८ जतिको हाराहारीमा पाका भइहाले, बहिनी रमिला पनि मस्त जवान थिई । सायद यसैले होला होलीको त्यो दिन पहिले त्यसै घरमा डेरा गरेर बस्दाताकाको चिनाजाना केटो सञ्जय साह होली खेल्न भनेर अबिर लिएर आएको । सञ्जय मेरो दाइको साथी, त्यसैले दाइ भन्थेँ । छेउकै कोठामा बस्ने भए पनि अन्तर्मुखी स्वभावको म भने सङ्कोचका कारन विशेष कामबिना उति बोल्दिन थिएँ रमिला र शङ्कर दाइसँग ।

कहिले छतमा अनि कहिले तलको प्यासेजमा टहलिंदै सञ्जय पनि होलीको रमिता हेर्दै थियो । म पनि छतमै बसेर पल्ला घरहरूमा लोला र पिच्कारी छ्‌यापाछ्‌याप गरेको हेर्दै थिएँ । कहिले आफूतिरै निशाना भएर आउँथ्यो लोला, छल्थेँ । एक्कासि तल केटी मान्छे हुलुलु गरेर खित्किएको सुनेँ । यसो हेर्छु त सञ्जयले रमिलालाई अबिर दल्दै रहेछ । मलाई भने हेर्दा पनि कस्तो असहज लाग्यो त्यो दृश्य ।  पछाडिबाट अँगालोमा कसेर अनुहारमा अबिर रगड्दै सञ्जय आनन्नमग्न थियो । बिचरी रमिला के गरोस्, अँगालोबाट छुट्न खोज्दा पनि झन् लपेटालपेटमा पर्दै थिई ऊ । एउटै घरमा डेरावाल भएर बस्दाको नाताले एउटी उमेरदार केटीलाई एउटा उमेरदार केटोले होलीको बहानामा बाहुपासमा बाँध्यो । त्यो घरमा सँगै बसुन्जेल हातसम्म मिलाएका थिएनन् होला ती दुईले । होलीको नाममा यस्तो गजब पनि हुँदोरै’छ भन्ने ठानेर मलाई भने अचम्म लाग्यो ।
सञ्जय भने अहिले कहाँ छ कुन्नि, रमिलाको भने तीन वर्षजतिअघि बिहे भइसक्यो ।

* * *     

परार साल राजधानीमा खेलिएको होलीको तस्बिरसहित ब्लग पोस्ट हेर्न यहाँबाट भित्र जानुहोला ।

2 comments:

  1. Jotare Dhaiba ji Happy Holy..... होलीको अबसरमा म यहा लाइ हार्दिक शुभकामना दिन चाहन्छु ! धन्यबाद !
    जोगिरा सरररर ...वोलो जोगिरा ...सररर - हो ! वोलो सररर.....

    ReplyDelete