May 20, 2011

आत्मप्रकाशनभन्दा परको आनन्द

निन्छ, आत्मप्रकाशनमै छ आत्मिक तृप्‍ति । लेखेर-बोलेर मनभित्रका उहापोह बाहिरी संसारलाई पढाउँदा-सुनाउँदा अपार खुसी मिल्छ रे ! सत्य हो एक हदसम्म । तर यो सत्य आंशिक मात्र हो कि भन्ने लाग्छ । आफूलाई अभिव्यक्त गराउने खुसीभन्दा पर अरूको उकुसमुकुसले पनि मुखरित हुने पुल बन्ला कि भनेझैं हामीलाई पर्खिरहेको हुन्छ । हामी कति त्यो उकुसमुकुसको नजिक पुगेर हावा खुस्काएर त्यसमा ताजगी भर्न सक्छौं भन्ने मूल प्रश्‍न हो । अरूको भाव उतारेर त्यसमा बोली भरिदिनुमा चाहिँ झन् दोब्बर खुसीको भेल उर्लिने रहेछ । भोकले आकुल-व्याकुल कोही मान्छेलाई खान्की दिएपछि त्यो व्यक्तिको मुहार छाएको तृप्‍ति देखेर तपाईं आफैं पनि मुस्काउनुभएको छैन र कुनै बेला ?  अरूको खुसीमा भागीदारी भएर तपाईँले पनि  सुखद अनुभूति गरेको हुनुपर्छ केयौं पटक । समाजसेवाको थालनी पनि यस्तै आनन्दको लाभ लिने ‘लालसा’का साथमा भएको हुनुपर्छ । यहाँनेर समाजसेवामा लालसा शब्द जोडिएकोमा आपत्ति पनि मान्न सकिएला, तर यो लालसा अरूलाई दिएर आफू टन्न भएको प्रफुल्ल भाव सञ्चय गर्ने चाह मात्र हो । यो कुनै भ्रष्‍टाचार होइन ।

भ्रष्‍टाचार हो भने त्यस्तो खुसीको एउटा लुटेरा म पनि हो । सन्दर्भ फेसबुक सञ्जालमा रहेको मेरो फोटो एल्बम Creator’s Corner को हो । [हेर्न आफ्नो फेसबुक एकाउन्टमा लग इन गरिसकेपछि यहाँ क्लिक गर्नुहोला ।]

लेखक, कलाकार, गायक, रङ्गकर्मी आदि सर्जकहरूको फोटो समेट्ने उद्देश्यका साथ एल्बम बनाएकाले आरम्भिक दिनमा ‘सर्जक डबली’को रूपमा समेत न्वारान गरेको थिएँ । फलस्वरूप कवि, कलाकार, चित्रकार, सङ्गीतकर्मीहरूको मैले भेटेका र फोटो खिच्न मेसोSrasta मिलेजति सबैको फोटो एल्बममा सजाउँदै गएँ । (अब यो सजावटको सामग्रीभन्दा पनि अत्यावश्‍यक जस्तो बनिसक्यो मेरो लागि, र सम्बन्धित सर्जकहरूको लागि परिचयको थप माध्यम पनि धेरथोर बनेको हुँदो हो । फेसबुकमा छरिएका पाठक, स्रोता र दर्शकको लागि पनि आफ्ना प्रिय पात्रको मुहार चित्र चिनजान र निकटताको सानोतिनो बहाना बनिदेला ।

सर्जकहरूको फोटो खिचेर दुनियाँसामु बाँडेको कथा-उपकथाको यो बयान मेरो अहङ्कार भने होइन है ! यति गरेँ, यसले गर्दा यस्तो रौनक छायो भनेर मैले धेरै बित्ता उफ्रिनुको अर्थ छैन । मान्छेले कति कुरा आविष्कार गरेर, कति समय साधना गरेर त उचाइ नमिलिरहेको होला । तिनको अगाडि त चेसबोर्डको पिउसो मात्र हुँ म । घमण्डको ठाउँ बरू गर्वले लिएको छ, अनि माथि भने झैं अरूलाई तस्विरमार्फत व्यक्त गर्न पाउनुको आनन्द र तृप्‍ति भने मनभरि टम्म छ । कुनै लोभ र कुत्सित स्वार्थले फोटो सँगाल्न थालेको भए कामसामको दुनो सोझ्याएर क्यामेरा एक कुनामा मिल्किसकेको हुनेथ्यो होला । नेपाली साहित्य, कला, रङ्गमञ्चका पौरखी हात र प्रतिभाशाली खोपडीलाई खुला संसारसँग साक्षात्कार गराउनु नै एकमात्र स्वार्थ हो मेरो । जसले गर्दा आम पाठक, भावकसँग तिनको दूरी कम होस्, चिनारी झ्याम्मियोस् र कला-साहित्यको फाँटमा डुबुल्की मार्न प्रेरित पनि गरोस् । तस्विरको बहानामा सर्जक र सिर्जनाप्रतिको श्रद्धा, प्रेम र सद्‌भावभन्दा अरू केही प्रकट गरिरहेको छुइनँ ।

एउटा तस्विर (चाहे मुहारको वा अरू) यसो हेर्दा तस्विर जस्तो लागे पनि त्यसको सन्देश व्यापक हुन्छ । भनाइ नै छ- तस्विर आफैं बोल्छ ।  मुहारचित्रले भावमा सीमाहीन भएर काम गर्छ, व्यक्तिको हरेक मनोभाव भनिरहेको हुन्छ, चाहे सुखद, चाहे दु:खद । हेरूँ, कति सम्भव हुन्छ- यसरी फोटो खिच्ने र संग्रहित गर्ने कामलाई निरन्तरता दिने तत्कालको सोच छ । पछि त कसले पो देखेको छ र ? जुकरवर्ग दाजुले कुनै दिन कुन सनक चढेर फेसबुकको ढोका ढ्याम्मै बन्द गरे भने मेरो के लाग्छ ? :-)  तर फेसबुकको प्रविधि-पखेटाले चौतारी बनेर साथ नदिए पनि वा मैले कुनै दिन फेसबुक छाडे पनि व्यक्तिगत रूपमा मसँग रहेका तस्विर कुनै न कुनै तवरबाट सबैको लागि उपयोगी तुल्याउनेछु, सूचना‍-प्रविधिसँग जोडिएर वा त्यसबाहेक पनि ।  

मे २५, २००९ मा सुरु गरेको रहेछु सर्जक फोटो ग्यालरी । तर यति पछिसम्म निरन्तर फोटो राख्दै जाऊँला भन्ने सोचेको थिइनँ ।  फोटोग्राफीको सोख त क्यामेरा किन्ने नाममा खल्तीमा हावा मात्र भरिएको हुने सुरुको बेलादेखि नै थियो (अहिले पनि कति नै चुरीफुरी गर्नु, २० हजार रुपैयाँको कम्प्याक्ट डिजिटल क्यामेरा हल्लाउँदै फन्को मारिरहेको हुन्छु :-) । न लेन्स फेर्ने टन्टा, न फोकस गर्ने हैरानी ! बस क्यामेरा सोझ्यायो र खुत्रुक्क मार्‍यो चरी !  ठ्याक्कै दुई वर्ष पुगेछ यो फोटो-यात्राको । यसरी सर्जकहरूको आसपास चक्कर काट्दा दुई वर्षमा  १ सय ४० को हाराहारीमा फोटो जम्मा हुनु साह्रै कम्ती हो । तर त्यो मिसन जर्नालिजम भने झैं ‘मिसन फोटो’ थिएन । साहित्यिक कार्यक्रममा पुग्दा, कुनै जमघटमा रमाउन जाँदा, सडकमा चहार्दै गर्दा, बजारमा रमाइलो गर्दै गर्दा समेत ‘लौ, खिचूँ कि क्या हो’ भनेर बिनायोजना खिचिएका हुन् यी फोटोहरू । कति सर्जकलाई त यसरी आफ्नो फोटो खिचिएको थाहै नहुन सक्छ, अझ त्यो फोटो सामाजिक सञ्जालको तीव्र प्रवाह फेसबुकमा राखिएको त कसरी जानकारी हुनु ?  Creator’s Corner का अधिकांश फोटो थाहा दिएर, पोज मिलाएर खिचिएको होइन । जे-जस्तो अवस्था र हाउभाउमा सर्जक-साधक भेटिए, क्यामेरामा तानिए । त्यसरी प्राकृतिक रूपमा खिचेको फोटो राम्रो पनि आउने रहेछ, खिचेका फोटोहरूमा तुलना गर्दा पाएँ । कुन सुरमा, कुन महक र तनावमा कतिपय सर्जक हुँदा हुन्, मैले त्यसैलाई समातें । अब त्यो भाव तस्विर नमेटुन्जेल मेटिनेवाला छैन पनि । 

यो एल्बमका कतिपय फोटो राष्‍ट्रिय स्तरका अखबारले प्रयोग गरेका छन्, कतिपय इन्टरनेट पत्रिकाले पनि सर्जकको रचनासँगै सजाएर राखेका छन्, कतिपय सर्जकको आफ्नै रोजाइमा पनि परेको छ । भोलि को कहाँ कुन कुनामा पुग्छ, सबैजना सधैं संसारमा रहने होइनौं पनि । यसैले नेपाली साहित्य र कलाको संसारमा यस्ता फोटो संकलन कार्यको महत्ता सधैं छ । परिचय कोषको आवश्यकता रहे झैं । कोही मान्छे पहिलो पटक भेट्दा ऊप्रतिको हाम्रो अनुमान-धारणा बन्ने, उसको परिचय मिल्ने र ऊ हाम्रो स्मरणमा बस्ने सबै उसको अनुहारबाटै हो ।

नेपालका बहुसङ्ख्यक साहित्यिकहरूमा प्रविधिसँग उत्तिको पहुँच र घुलमिल छैन । थोरै संख्याका मात्र अभ्यस्त छन् प्रविधिमा । गाउँमा टेलिफोन र इन्टरनेट सुविधा पुगे पनि पत्रपत्रिकामा रचना पठाउनुपर्‍यो भने विविध सीमितताका कारण कतिपय लेखकले हुलाकको सहारा लिनु स्वाभाविक मान्नुपर्छ । तर, सहरमा समेत सूचना-प्रविधिप्रतिको चासोमा कमी र प्राथमिकता निर्धारणमा प्रविधि नपर्दा उत्तरआधुनिक साहित्य र कलाको कुरा गर्ने साहित्य र कला मर्मज्ञ पनि पत्रिकामा लेख-रचना पुर्‍याउनु छ भने लुखुरलुखुर पत्रिका-अड्डामै पुग्ने गरेको देखेको छु । तर यो क्रममा केही सुधार हुँदैछ । बिस्तारै उनीहरू प्रविधिको पङ्खसँग लय मिलाउन आउँदैछन् । कतिपय साहित्यिकको सूचना-प्रविधिको विश्‍वव्यापी जालो  इन्टरनेटमा पहिलो प्रवेश नै सामाजिक सञ्जाल फेसबुकबाट भएको पाइन्छ । इन्टरनेटको पर्याय बनेको छ फेसबुक । कम्प्युटर अन भयो, इन्टरनेट छ भने सीधै फेसबुकसम्म एकद्वार नीति अवलम्बन भइहाल्छ ! यसैले यो सर्वव्यापी फेसबुकको चौतारीलाई नै रोजें सर्जक फोटो सजाउन । आफैं पनि जब सर्जक एल्बममा आँखा डुलाउँछु, आफू कति मात्रामा देखिएँ र कति चर्चामा परेर लेखिएँ भन्ने कुराले उस्तो अर्थ राख्दो रहेनछ भन्ने चेत खुल्दै जान्छ मेरो । अरूलाई थप अरूहरूसँग आँखा मिलाइदिन पाउँदा मेरा आँखाहरूमा चमक आउनु …. यही हो परमानन्द !

3 comments:

  1. Definitely it is an innovative idea and wonderful too. It is great to see the pictures of people who are involved in Arts as a whole. It has been a window of seeing the people whose writings we read, whose songs we listen and so on. Keep going. All the best :)

    ReplyDelete
  2. नाम मात्र सुनिदै आएका सयौं सर्जकहरुलाई एउटै सुत्रमा उनेर सुन्दर माला तयार पार्नु हुने धाइबा जी मैले खर्चने दुई चार शब्दले तपाईंको यो प्रसंसनीय कामको भर्पाइ हुन सक्ने छैन । शिरनत गरेर सम्मान गर्न चाहन्छु तपाईंलाई - सलाम !

    ReplyDelete
  3. ल धाइबा मेरो पनि एउटा फोटो खिच्न पर्यो र फस-बुकमा त्यास्स पार्दिन पर्यो । क्याप्सनमा लेख्न पर्यो " यो नया अनुहार - यसले चाहि अर्थ न बर्थ सँग ब्लगको झटारो हान्न थालेको छ।"

    ReplyDelete