Subscribe:

Ads 468x60px

17 May 2011

काठमान्डू !

ख्वाबो ख्यालो का एक बडा ही सुन्दर शहर है काठमान्डू
किसी के लिए अमृत किसी के लिए जहर है काठमान्डू ।


बडी बोतलों से पिलाये या फिर किसी की नशीली आँखो से,
हर किसी को पिनेके लिए मय का नहर है काठमान्डू ।


जीधर देखो यारों उधर सिर्फ फैसन ही नजर आए,
सच कहो तो फैसन की बदलती लहर है काठमान्डू ।


एक बुंद पानीके लिए तरसते है कितने लोग यहाँ,
हाला कि खुद ही एक खूबसुरत बहर है काठमान्डू ।

२०६२ सालको कुनै समयमा उसले लेखेको थियो यो गजल । पर्सा जिल्लाको हावापानी खेप्दै हुर्किए पनि कलेज पढ्न काठमाडौँ पसेसँगै राजधानीको नरमदेखि गरमसम्मका रहनसहन र यहाँका मान्छेहरूको अजब लीलाहरूको विश्‍लेषणस्वरूप यो गजल लेखेको थियो । उसलाई अझै पनि लाग्छ, सहरका अधिकांश मान्छे घिरौलाको जालो जस्तै रुखासुखा र संवेदनाको एक अंश पनि शेष नबचेका प्राणी हुन् । हेर्दा झट्टै बोलिहाल्ला जस्तो गुडिया, तर कागज कोचिएर तयार ! तर प्रस्तुत गजलमा काठमाडौँलाई यसको बदलिँदो रूपमा केलाए पनि सौन्दर्यकै भाकामा हेरेको छ उसले । छिटफुट लेख्‍ने उसले उर्दू र हिन्दीको खिचडी सान्निध्यमा रत्तिएको फलस्वरूप हिन्दी गजलमा अभिव्यक्त हुन सहज मान्यो । नाम उसको गनी
अन्सारी । पर्साको तराई समुदायमा जन्मिएको र त्यहीँको वातावरणमा हुर्किएको फलस्वरूप मातृभाषा भोजपुरी भए पनि हिन्दी भाषाको पकड पनि छँदैछ । नाम जस्तै अनौठो प्राणी छ गनी । पहिलो पटकको चिनापर्चीमा कतिपयले उसको नाम ‘गणित’ पनि बुझिदिन्छन् ! त्यसमा ऊ संशोधन विधेयक पेश नगरी फिस्स हाँसिदिन्छ । अँ, हाँस्ने कुरामा अचेल ऊ अलि बिखर्ची जस्तै भएको छ, अथवा भनौं न भरिपूर्ण भएर पनि – मितव्ययी । बुढेसकालमा दम्पती सुखमा खुब निमेकले बाती काटे जस्तै मुस्कानको लहरा मुहारको मुजाभरि तान्न उसले अहिले हाँसो जोगाएको हो ? 

अनौठो प्राणीको कुGani Ansariरा निस्किहाल्यो, स्थानीय मादकतामा लट्ठिन छाडेर सीमापारका आँखाहरूसम्म अनलाइन चरामार्फत मोहनी जाल बिछ्‌याउँछ । स्वदेशी केटीहरू उसको प्रेमका योग्य छैनन् ? युवासुलभ जोस, जिज्ञासा र  जीवनभोक उसमा चुली छ । जीवनलाई हदै चिल्याऊँ भन्ने धुनमा एकसुरिएको हुन्छ दिनको हरेक घन्टा, मिनेट र त्यसभित्रका खुजुरा सेकेण्डहरूमा । जीवन चिल्याउने खाक्सी के चाहिन्छ खासमा ? ऊ सँग तालिम लिन छुटेको कुरा यही हो मैले । “टेन्सन छ”, निधार खुम्च्याउँदै भविष्‍यको आरोह र अवरोहको ज्वरोमा डुबेर थेगो जस्तै बोल्न ऊ कहिल्यै छुटाउँदैन । यो टेन्सनको बच्चो मानौं अनिच्छित गर्भबाट फुस्किन पुगेको सन्तान हो, कस्तै भीड छिचोलेर पनि जन्मदातालाई पैल्याउँदै ढ्याप्प काख हडप्न आइहाल्छ !  स्वाभिमानको बुई चढेर आत्मसम्मानमा सयर गर्ने आजका युवा पुस्ताको साझा गुण उसमा पनि भरपूर छ । भेट हुँदा अफिस र घरमा कसलाई कसरी तह लगायो, कुनै बहादुरी साबित गरे झैं बेलिविस्तार लगाउँछ । हुन पनि हो, खुला दिलले हाकाहाकी मान्छेहरूको सामना गर्ने र साँचो कुरामा हक्की भई सामुन्नेको ठालु मान्छेलाई पनि नाक थेप्च्याइदिने अहिलेको समयमा कति पो छन् र ? सबैजसो जसोजसो पुरेतजी, उसोउसो स्वाहाको चक्कर लगाउनैमा सहजता पाउँछन्, आफ्नो दुनो सोझिने प्रविधि पनि त्यसमै त छ !
गनी अन्सारीलाई मैले पात्र बनाएर यसरी चर्चामा उभ्याउनुको कुनै सन्दर्भ छैन । न ऊ कुनै प्रतिष्ठित केन्द्रबाट वर्ष व्यक्ति घोषित, न कुनै पुरस्कार र पदवीबाट उचालिएको । त्यसो त ओझेलमै राखिरहनुपर्ने भूमिगत गिरोह पनि होइन ऊ । अझ ऊ त मुलुककै राजधानी सहर, जसलाई उसले आफ्नो गजलमा समेत महत्त्व दिंदै उल्लेख गरेको छ । काठमान्डू ! उसको काठमान्डू आगमन आम युवाको सपनाको खेती जस्तै साझा सुर हो । चाहे सारेगमको सरगम कुन मोडमा मिलोस्-नमिलोस्, अनिश्‍चयमै पर्साबाट राजधानी खाल्डोमा अवसरको तार छुन आइपुग्यो ऊ । यसबीचमा उसले यो खाल्डोमा हानेको बल्छीमा कति माछा पर्‍यो ? बल्छी हुर्‍याउने क्रममा कतै आफैं त रगतपच्छे भएन ऊ ? जिल्लाको दूरदराजको ठिटो, त्यसमा पनि अल्पसङ्ख्यक र सीमान्तकृत मुस्लिम परिवारको बच्चो, निरक्षर बाबु-आमाले जसोतसो गरी पढाए । बाबु-आमा भनेका त्यस्तै हुन्, सन्तानलाई अग्ल्याउन आफ्नै हातको खराउ बनाइदिने ! उफ !! धन्न अरु कतिपय सन्तान जस्तो कृतघ्न भएन गनी, दु:खले कटकटिएको घरबूढा र बूढीको कमिज-लुङ्गी र चाल्नो साडी देखेको छ । यसैले मौका पर्दा दिल खोलेर सुकसुकाउँछ पनि यदाकदा । काठमान्डूको प्रदुषण पखालिएर जाने भए थप आँसु बगाउन उसलाई आपत्ति हुने छैन, यति सहृदयी ऊ पक्का छ । पिलपिलाउनेहरू अरूको वेदनामा पग्लिन्छन् र त कतिपय अवस्थामा गलत रूपमा प्रयोग पनि हुन्छन् ।

देशभर र इन्टरनेटको सागरसम्म फैलिने राष्‍ट्रको रेडियोमा चार वर्षभन्दा बढी ‘पुस-अप’ गर्‍यो गनीले । तर बडी उसको फुलेन ! साहुजीको मात्र गाँठिंदै गयो । आखिरमा घोटियो-घोटियो हात लाग्यो शून्य जस्तो । लुटी ल्यायो भुटी खायो उही ज्यामी र मजदुरको दिनचर्या भयो । भान्सा तीतो भएपछि पिर्का छाडेर उठिन्छ, गनी अघाएर उठ्यो आखिरमा । काठमान्डूमा रहँदा-बस्दा अघाए पनि झ्वाट्ट विकल्प नदेख्दा निरुपाय काठमान्डूकै गौंडामा थुनिएका कैयौं युवा जस्तो उसको पनि नियति भएको हुनुपर्छ । राजधानी लगायतका सुविधासम्पन्न सहर अवसरको ढडिया थाप्न उपयुक्त नदी हुन्, किनारा त आखिर आफ्नै जिल्ला र गाउँठाउँ हो । अस्थायी किल्लामा आखिर केही समय त हो लडाइँको मोर्चा खुँद्‍ने, फिर्ती सवारीको ढोका खोलेर जिल्लामा घरपरिवार बसिरहेकै हुन्छन् । तर जति उफ्रिए पनि कान्लामुनिको भ्यागुतामा किन परिणत हुन्छन् आखिर सहरमा गाउँका मान्छे ? एउटा गाउँले सहरबासी भए पनि सहरिया कहिले हुन सक्ला ? बहसको विषय हुन सक्छ । 

अध्ययन तथा कामकाजी जीवनमा सङ्घर्ष गर्दागर्दैको सहर छाडेर गाउँ फर्किँदा त्यहाँ आफ्नो आधार बनाउन फेरि शून्यदेखि मेलो सार्नुपर्ने हाउगुजीले पनि हामीलाई सताउँछ । फर्केर गाउँमा छाडिएको आफ्नो पुरानै स्थितिबाट आफूलाई डोर्‍याउन तयार कत्तिको हुन सक्छौं हामी ? सहर ढुक्कको थलो लागे पनि यहाँ सावधानीसूचक जेब्राक्रसिङ हरेक ठाउँमा हुन्छ, सतर्क भइरहनुपर्ने । सहरको व्यस्त र मारामार कुरुक्षेत्रमा बेलाबेला उँघ्‍न थाल्ने आफ्ना सपनालाई झकझक्याउनु,  गाउँ फर्किने भोक पाल्ने मनलाई दिनदिनै सहरिया दौडाहामा घिसारेर खियाउँदै लैजानु, घुमिफिरी अवसरै अवसर र सम्भावनाको ढोका ढकढक्याउँदै रित्तो हात र मनस्थितिमा कठैबरा बन्नु ! सब उपहारमा गनी र उसको पुस्ताले काठमान्डू र अरू सहरको डिग्री नापेका छन् । र नापमा फेल आखिर उनीहरू नै भइरहेका छन्, यो हावापानीमा अनफिट भएकाले । तर हिँड्दाहिँड्दै लोथ भएर गनीले सहरमा विश्राम घरतिर पाइला मोडेको छैन ।

करिब एक दशकको सङ्गतमा काठमान्डूले उसलाई चिन्यो कि चिनेन, उसले भने काठमान्डूको आनीबानी मजाले बुझेको छ, काठ्मान्डूले आफू जस्ता सङ्घर्षका पूजारीलाई भाकल गर्न लगाइरहन्छ, पाती पर्खिरहन्छ ।

4 comments:

  1. yo ni mitho chha.kamsekam malai mithai lagyo hehehe.really nice one.

    ReplyDelete
  2. अन्सारीजीको गजल गजब लाग्यो । हिन्दी भाषाले उर्दु, फारसी साथै अन्य स्थानिय भाषालाई आफ्नैझैं गरि अंगालेको भएर हुनसक्छ हिन्दीका गजलहरुले सहजै तान्छन् मलाई ।

    साथमा अन्सारीजीको संघर्षमय परिचयात्मक ब्लग पनि मनपर्यो । हो त चर्चा भएका/चलेकाहरुकै बारे मात्र सबैले लेख्नुपर्छ भन्ने केहि छ र?

    ReplyDelete
  3. सामान्य बिषय र पात्रहरु अघी सारेर पनि यती गहिरो सँग जीवन र यसका आरोह अबरोहहरुलाई केलाउन सकिदो रहेछ तपाईंको यो ब्लग पढे पछीको अनुभुती मेरो। धन्यवाद धाइबा !

    ReplyDelete
  4. AnonymousJune 06, 2011

    really labourious icon,,one of our fren ganie...miss him always with his smile ...
    miss u lure kanchho 2

    ReplyDelete