Subscribe:

Ads 468x60px

30 September 2011

दसैं आयो है !


लालाबालाको लागि त आउँछ दसैं
तालिममा बारम्बार औंला उठाएर सतर्क गराए जस्तो ए है, दसैं त आयो भनेर आफैंलाई याद गराउनुपर्ने भएको छ । होशचेत गुम भए झैं चाडबाडको पत्तो नै छैन । होश नभएपछि यसको अनुभूति नहुनु स्वाभाविकै हो । दसैंको रमझमलाई स्वर्गै ठानेर मक्खिने बालापन अब रहेन, यसैले उमेरकै पनि दोष होला । कि त चाडबाड मनाउने चलन नै फेरिएकोले दसैंको अनुभूति हुन छाडेको हो ! वरिपरि हेर्‍यो, कुनै रौनक पनि देखिन्न ।

हुनत, 'सहरको दसैं' सानो हुन्छ, दसैं मान्ने खास जमात गाउँतिर उर्लिएपछि दसैं उतै बढी फक्रिन्छ । गाउँलेहरूकै ओइरोले त सहरलाई 'सहर' बनाएको हो । काठमाडौंको दसैं कहिल्यै पनि खुलेको देखेको छैन । बरु तिहारमा बेहुली झैं रातो-पिरो हुन्छ । यसैले भुक्तभोगी दाइहरूले दसैंमा गाउँ जान नपाएर काठमाडौंमै कुथुर्किनुपर्दा भनेको सुनेको छु, "यहाँ दसैंमा साह्रै नरमाइलो, तिहारमा बरु ठीक !"

दसैं आयो है भन्ने कुरा पनि टेलिभिजन र रेडियोमा मालश्री धुन बज्न थालेपछि मात्र चस्का लाग्छ । मिडियामा निर्भर हुँदै गयो चाडबाडको रौनक पनि ! अर्कोतिरबाट हेर्दा यस्तो बेला मिडियाको महत्त्व पनि साबित हुँदो हो, रेडियो-टिभी नहुँदा हुन् त चाडको उल्लासमा मन कसरी पो फुरफुर हुँदो हो गाँठे भनेर ! अहो, मालश्रीको मुटु रेट्ने खालको विरही गुञ्जन । कहिलेकाहीं त लाग्छ, यो धुन पर्वकै खुसियालीमा बजाउने हो कि वियोगमा सुकसुकाउँदा ? यो धुन बजिरहँदा औडाहा हुन्छ, मन सुकेको पात जस्तै फरफराउँछ ।  मेरो अनुभूतिको कुरा यो । कतिलाई रमाइलै लाग्ला । घरदेखि टाढा एक्लै दसैं मनाउनुपर्दा (मनाउनु पनि के भन्नु !) को पिरोलोले होला विरह जागेर निरस लागेको । अझ विदेशमा रहेकाहरूलाई त झन् के बित्दो हो यस्तो व्याकुलताले ! यसपाली आफू पनि घर नजाने भइयो ।

दसैंको रमझमलाई स्वर्गै ठानेर मक्खिने बालापन गयो । आजकाल दसैंमा मक्खिँदै हिंड्ने लालाबाला देख्दा इर्ष्या जाग्छ । सबै उल्लास बालापनसँगै बिदा गरियो जस्तो लाग्छ । त्यही बेला मनाइयो जीवनभरिको दसैं । नयाँ नाना, मीठो खाना, लिङ्गे पिङमा झट्का ! चेलीबेटी आफू नपरिए पनि आँखा पिलपिल पारेपछि उ बेला हजुरबा र बाबाट ५-१० रुपैयाँ भेट्दा मिल्ने खुसीको तुलना केसँग होला र अब ? तिनै हजुरबा-बाको आँखा छल्दै गाई-गोरु बाँध्न भनी बाटिएको डोरी लगेर भाइ-बहिनीहरूको फर्माइशअनुसार तिनकै बटालियन जम्मा पारेर बडहरको रुखमा पिङ हाल्नुको मस्ती अब कुन कुरामा छ ? ठूलो हुन्जेल पनि दसैं-तिहारमा जानी-नजानी जुटपत्तीसम्म भए पनि तास खेल्दा, अर्कोले झेली गर्‍यो भन्दै २-४ रुपैयाँको लागि झगडा गर्दाको तृप्‍ति अपरम्पार छ !

सर्लाही हरिनगरस्थित मामाघर
अझ दसैं भनेपछि मामाघरको सम्झना आउँछ । वर्षदिनमा उदयपुरबाट सर्लाहीसम्मको लामो गन्तव्य पुग्न दसैं जस्तो विशेष अवसर नै कुर्नुपर्ने । अरु बेला अभिभावकलाई फुर्सद नहुने । दसैंमा पनि फूपु-चेली आउने हुँदा सबै बेला दसैंमा मामाघरको सपना पाल्दै घरमै थन्किनुपर्ने । मामाघर जाने कुरा चल्दा पनि दुई छोरी र दुई छोरामध्ये कसलाई लाने भन्नेमा बा-आमाको चयन सूचीमा आफू नपरिए भक्कानो छुटाएर डाँडै थर्काउने गरी रोइन्थ्यो । मामाघर पुगेपछि सेतै फुलेकी हजुरआमाले 'आच्या' भन्ने थेगो बोल्दै दराजबाट चकलेट, छोकडा र मिश्री दिएको त्यो पल अझैसम्म पनि गुलियो भएर दिमागमा लेस्याइलो बनिरहेको छ । मामाघरमा टन्ने साथी हुन्थे । तराईको बस्ती, मधेसी फुच्चा-फुच्चीसँग भाँडाकुटी र बिहेबारीको खेल त कति खेलियो कति । पक्काघर भन्दै केटाकेटीहरू मामाघरको मूलघरको पक्की आँगनमा भेला हुन्थे । कहिले क्यारामबोर्ड, कहिले तिति, कहिले गुच्चा खेलेर ज्यान लखतरान पारिन्थ्यो भोक नै बिर्सेर । दसैंमा टीका लगाउन हजुरबा र मामाहरूका साथै हजुरबाका भाइ अर्थात् काका हजुरबाको घरसम्म ताँती हुन्थे । बूढाहरू पनि बालमनोविज्ञान बुझेका बाठा, एउटा टक्की २०-५० रुपैयाँको ठाउँमा खुजुरा पारेर निकै मोटो बिटो हातमा थमाइदिन्थे । आफू दङ्ग !

पछि हजुरआमा पनि बित्‍नुभो । हजुरबा पनि उमेरसँगै होशचेत राख्‍न नसक्ने हुनुभो । इन्जिनियर मामा सपरिवार घरबाहिर नै बस्ने ।  मामाघर उजाड लाग्दै गयो । आफूसँगै फुच्चे रहेका मामाघरका साथीभाइले पनि जुँगारेखी हाल्दै गए । अब बनावटी शिष्टाचार राख्‍नुपर्ने भो, चञ्चलतामा लगाम कस्नुपर्ने भो । उमेरसँगै समाजले बनाइदिने साँचोमा ढालिँदै गइयो आफूलाई । आफ्नो पढाइको चाप, बा-आमाको पनि व्यावहारिक  व्यस्तता । मामाघर भन्ने रहरलाग्दो ठाउँको मोहनी छुटाउँदै जानुपर्‍यो । त्यस्तो प्यारो मामाघर नगएको अहिले कति वर्ष भइसक्यो ।

- दसैंको बहानामा सुनौं सुरसुधाको दसैं मङ्गल धुन 
- पप गायक योगेश्वर अमात्यले गाएको दसैं सास्तीको गीत 

दसैंको हार्दिक शुभकामना तपाईंलाई !


विगत वर्षका दसैंको सम्झना पनि पढ्ने कि :

3 comments:

  1. भक्कानो फुट्ला फुट्ला जस्तो भो दाजू......अनि खुसी नि लाग्यो दशैँको सम्झना ताजा गरिदिनुभएकोमा....पढिराख्दा आँखा झिमिक्क भयो भएन थाहा पाउन सकिन मैले...१ पेग एकै सासमा स्वाट्ट पारे जस्तो.....अलि अलि मातिए जस्तो.....

    ReplyDelete
  2. मालश्री धुनले परदेशी मनहरुमा साँच्चै नै बिरहको भू-कम्प ल्याउँछ धाइबा जी :(
    तपाईंको खिपिएका शब्दहरुमा बालापनको दसैं स्‍मृतिले मलाई पनि बालापनमा फर्कायो।


    तपाईंलाई पनि दसैंको शुभकामना!!!

    ReplyDelete
  3. dashainma gaule timilae pauna saken tar aasa 6 tiharama to abha purti hune 6

    ReplyDelete