Subscribe:

Ads 468x60px

18 November 2011

रफ्तारको बसबाट Viewfinder

फोटो खिच्ने पनि नशा नै रहेछ । यसपटक अफिसमा ८-१० दिनको बिदा लिएर पूर्वी नेपालतिर लाग्दा यो नशा अझ प्रकट भयो । मैले खिचेका केही तस्बिरमा मन भुलाएका काठमाडौंका साथीहरूले ‘ल, उताबाट राम्रा फोटो ल्याउनू है’ भनेर कोसेली फर्माइश गर्दै बिदाइका हात हल्लाएका थिए । आफू पनि त्यही सुरमा थिएँ । काठमाडौंमा कोठा र अफिस गर्दा पनि ब्याग र खल्तीबाट हत्तपत्त क्यामेरा छुट्दैनथ्यो । साधारण खालको प्वाइन्ट एन्ड सुट क्यामेराबाट कति नै राम्रो फोटोको आश गर्न सकिन्छ र, तर सम्पत्तिको नाउँमा भने झैं आफूसँग त्यही कम्प्याक्ट डिजिटल क्यामेरा छ । सानो आँखाबाट राम्रो र असल दृश्य हेरे जिन्दगीको सार हुन्छ भन्ने उखान मेरो क्यामेराको हकमा लागू गर्नुपर्ने देखिन्छ ।

पूर्वको यात्रामा पहिलो पटक झन्डै-झन्डै पूर्वी नाकामै पुगेँ यस पटक, झापाको चन्द्रगढी । त्यहाँ एकदिनको बसाइपछि उदयपुर जिल्लास्थित घर फर्किने बेला गुडिरहेको बसबाट खिचेका तस्बिर यस्ता आए -

Paddy-Field

सप्‍तरीको धानखेतीको विशाल फाँटले आँखालाई लामो समय फुर्सद दिएन । जता पनि पहेंलपुर संसार । त्यसअघि कोशी नदीको छालहरूसँगै बगियो । बस रोकिएर केही समय त्यतातिर पैदल टहल्न पाएको भए अझ कति शीतल बटुलिन्थ्यो होला । तर टाढा बग्दै गरेको डुंगालाई क्यामेराको भ्युफाइन्डरमा बल्लतल्ल समेट्न पाउँदा पनि ठूलै युद्ध जितेको भावमा मक्ख हुनुपरेको थियो ।

Koshi-River

तीन वर्षअघि कोशी नदीको तटबन्ध भत्किएपछि भएको विनाशको अवशेष अझै छ सुनसरीमा । कोशी बाढीअघिका थुप्रै जमिन्दारहरू बाढीपछि एकाएक सुकुम्बासी बने । हजारौं बिगाहा खेतीयोग्य जमिन बालुवाले पुरेपछि मरुभूमि जस्तै देखिन्छ त्यो क्षेत्र ।

Koshi-Flood-Affect

राजमार्ग पनि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइएको रहेछ । झापाको भद्रपुरदेखि गुडेको म चढेको त्रियुगा ट्राभल्सको बस पनि उदयपुर सदरमुकाम गाईघाट पुग्ने हतारोले सडकको खाल्टाखुल्टीबाट जोगिएर अघि बढ्दै थियो । तीन वर्षअघिको कोशीको घाउ भोगेकाहरूले ढुक्क हुन पाएका छैनन् । अझै पनि वर्षायाममा कोशीले आसपासका बासिन्दालाई नमीठो गरी जिस्काउन छाडेको छैन । कोशी ब्यारेजमा खतरासूचक रातो बत्ती बल्दा सर्वसाधारणको मुटुले ठाउँ छोड्छ । तर यो अब बानी पनि भइसकेको छ ।

 

In-Search-Of-Dream

 

 

 

 

र यिनी हुन् – मैं चढेको बसमा मभन्दा अघिल्लो सिटमा बसेका यात्रु । यात्रा अवधिभर यी अधवैंशेसँग बोलचाल भएन । बसको झ्याल बाहिर कुनै सपनाको खोजीमा फैलिरहे जस्ता उनको आँखाको भाव त पढ्न सकिनँ, ऐना-झ्यालमा देखिएको उनको प्रतिविम्ब भने लोभलाग्दो लागेर तस्बिरमा समेटिहालेँ । सिट नपाउन्जेल मेरै सिटको सामुन्नेमा उभिएका उनको अनुहार सिट पाएपछि पनि उस्तै उदास देखिन्थ्यो ।

8 comments:

  1. nice and artistic picture...wah guru, wah!!!
    CHANDRA GURUNG, BAHRAIN.

    ReplyDelete
  2. awesome!
    The first one and the last ones are my fav!

    ReplyDelete
  3. First and Last are awesome!

    ReplyDelete
  4. :)......सवै राम्रा छन् उत्तिकै!!!

    ReplyDelete
  5. मोनालिशाको मुस्कानको अनेक अर्थ लगाएर कविता रच्ने रचनाकारहरुले यो अन्तिम फोटोमा देखिएको यात्रुको गम्भिर अनुहार हेरेर कस्तो कविता रच्दाहुन्, फोटोलाई धेरै बेर हेरिरहेँ ।

    ReplyDelete
  6. यस्तै नशामा म पनि लठ्ठ छु ... संसार हेर्ने आँखा, नजरिया नै फरक भएको जस्तो लाग्छ तस्विर मार्फत हेर्दा..
    अन्तिम तस्विर गज्जबको छ :)

    ReplyDelete
  7. NICE PICS...........ME TOO LOVE CLICKING PICS...

    ReplyDelete
  8. धन्यवाद छ सबैलाई । अझै तस्बिर खिच्न हौस्यायो कमेन्टहरूले :)

    ReplyDelete