Subscribe:

Ads 468x60px

26 November 2011

जरुर साथी .. ..

Devkota Sketch by Purna Banem

मैले…
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु
तिम्रा महापण्डित मेरो महामूर्ख !
तिम्रो स्वर्ग मेरो नरक !
तिम्रो सुन मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ

उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !

यस्तो व्यङ्ग्यात्मक कविता लेख्‍ने विद्रोही चेतका सर्जक देवकोटालाई सम्झिन कुनै साइत चाहिन्छ जस्तो लाग्दैन । यसैले उनको १०३औं जन्मजयन्तीको एक महिनापछि पनि यो चर्चा गर्दैछु ।

 

देवकोटा भन्नेबित्तिकै ‘पागल’ कविताले झ्वाम्मै छोप्छ । कवितामा त्यसरी पृथ्वी नै कोल्टे फेराउने गरी पागलको भातीमा देवकोटा कुर्लिएको साह्रै मन परेको हो मलाई । पागलको गर्जनमा कति सद्दे वाणी ! सिर्जनशील आयाममा अराजक स्वर झिक्न सक्नु अद्‌भूत कुरो हो । अराजक यात्रामा आनन्द पनि सँगै जोडिएर आउँछ सायद । सोझो रेखामा लम्बिएको जंगलबीचको सुनसान सडकमा अराजक भएर चिच्याउँदै र लरबराउँदै हिंड्नु त्यस्तै महाआनन्द हुँदो हो ।

 

मलाई देवकोटाबारे विभिन्न ठाउँमा सुनेको घटना-प्रसंग कुनै सुप्रसिद्ध कथाका प्लट जस्तै लाग्छ । देवकोटाले चुरोट खाएको पनि ‘सेलिब्रेटी लुक’ झल्किन्छ । घन्टाघरमाथि चढेर देवकोटाले खराखरी छिनमै कविता लेखेको बयान पनि गोरूले दाइँ गरेर धानका गेडी झारे जस्तो प्राकृतिक लाग्छ । म देवकोटाको ‘लक्ष्मी निबन्ध संग्रह’ कलिलो हातमा खेलाएर किशोर बेलामा जिल्लिएको मान्छे, अहिले उनकै भाती निबन्ध लेख्‍न तम्सिन थालेको छु । लेखिरहँदा देवकोटाले बल्ल त औंला चलाउन सिकाइरहे जस्तो लाग्छ, कहिले पो हो निबन्ध लेखिसक्नु ?

 

देवकोटाको कविताभन्दा निबन्धतिरै बढ्ता लहसिएको छु । आनन्दको अनन्त यात्रा जस्तो लाग्छ उनको निबन्धको उडान । कवितामध्ये पागल कविता पढ्दा विभिन्न भाव आउँछ मनमा । संसारको आँखामा मगज खुस्किएको साबित हुनेDevkota Cigarette मान्छे अलग सोच र विशिष्ट विचारयुक्त हुन्छ भनिन्छ । संसारले उसको प्रतिभा, क्षमता र शक्ति बुझ्दैन, उसले पनि बुझाउन जरूरी ठान्दैन आफूलाई । सायद आफूलाई यिनीहरूले बुझ्लान् भन्ने नै ठान्दैन । कवितामा त्यस्तो पागलको भाव उन्ने नेपाली भाषा-साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा यथार्थमा पनि त्यस्तै थिए भनिन्छ । कतिपय कुरा ‘अरे’ को रूपमा हल्का किंवदन्ती बनेर आए होलान् -

 

* तलब बुझेका दिन देवकोटा बाटोमा पैसा बाँड्दै आएर रित्तै हात घर फर्किन्थे रे !

* देवकोटा आफूले लगाएको कोट पनि फुकालेर दिन्थे रे !

* देवकोटा लेख्‍ने मुडमा कतिसम्म डुब्थे रे भने, चुरोट ठुटे भइसकेर पोल्न लागेको पनि चाल पाउँथेनन् रे !

* देवकोटा मासुका भोगी रे, खसीको टाउको लगिरहन्थे रे घरमा उसिनेर खान ।

 

तर देवकोटा गहिरो चेतना र द्रुत कल्पना बोकेका सिर्जना‍-घोडा थिए भनेर जगत्‌ले नै स्विकारिसकेको छ । न उनीअघि यत्तिको विशिष्ट र तीव्र गतिधाराका स्रष्टा थिए, न अब अर्को आउने छनक देखिन्छ । नेपाली साहित्यको ‘कुमारी उँचाइ’मा उभिएका देवकोटा शूरवीर नै हुन् । कुमारी उँचाइ - जरूर साथी, त्यहाँसम्म आइन्दा कोही उक्लिन सक्नेछैनन् नेपाली चेलाचेलीहरू ।
 

Devkota_Ticket

महाकवि देवकोटा जन्मिएको सय वर्ष पुगेको अवसरमा सन् २००९ डिसेम्बर ३१ मा जारी गरिएको हुलाक टिकट ।

1 comment:

  1. चुरोट किन्नका लागि आफ्ना कविता बेच्ने महाकवि ?

    ReplyDelete