Subscribe:

Ads 468x60px

05 December 2011

निर्विकल्प सुर

Sketch by Suraj Shakya (http://surajshakya.com)
निन्छ - पुरानोलाई राम्रो भनेर त्यसैमा अल्झेर बस्यो भने नयाँ कुराले ठाउँ बनाउने कुनै सम्भावना हुँदैन । कुनै वस्तु होस् कि व्यक्ति,  हरेकमा लागू हुन्छ यो कुरो । पुरानोको राजले नयाँले परिचयको मञ्च नपाउने कुरा केही हदसम्म सत्य पनि हो । तर नयाँलाई स्थान दिने नाममा छेक न छन्दको पाइलालाई स्वागत गर्न सकिन्न । नयाँ प्रतिभा सम्भावनायुक्त भएर आएन भने पुरानोको विकल्प कदापि हुँदैन ।

नेपाली सुगम संगीतको क्षेत्रमा नारायण गोपाल त्यस्तै मुहान हुन् । जुन मुहानबाट अरु-अरु शाखा फैलिंदै त्यसले छुट्टै भंगालोको रूप लिनुपर्ने हो, तर त्यस्तो केही देखिएको छैन अहिलेसम्म । नारायणसँग दैवले नै थमाएको गला त छँदै थियो, त्यो गलामार्फत पस्किने व्यञ्जन तयार पार्न भने उनको आफ्नै मिहिनेत रहने गर्थ्यो । साथी मण्डलीको सिर्जनशील जमात छँदै थियो, आफ्नो कामलाई झारा टार्ने हिसाबले त्यो जमातमा उनले आफन्तवादको भाव घुसाएनन् कहिल्यै । गीत चयनमा अडिग रहँदै बरु आफ्नो गीतकार साथीलाई झन् खार्न लगाए,  कति साथीलाई 'यस्तो त भएन' भन्दै जिल्याए । अनि कतिपयको गीत चाहिं केही जानकारी नै नदिई एकैचोटि धुन भरेर सुनाउँदा तिनलाई आकस्मिक लाभको खुसी पनि दिए ।

केही वर्षअघिसम्म रामकृष्ण ढकाल नामका युवा खुब चम्किए, नारायण गोपालकै गीतको बाटो समातेको भन्दै नारायणका प्रेमीहरुले समेत उनको सराहना गरे । आशपूर्ण नजर छाडे एक नवयुवकतिर । त्यो आशलाई स्याहार्दै केही समय विरासत पनि थामेकै हुन् ढकालले । 'यात्रा रहेछ जिन्दगी' बाट उनी अघि बढे, 'ओराली लागेको हरिणको चाल' बाट अझै उकालो लागे चर्चाको । तर उनले सायद आफू र आफ्नो क्षमता चिन्नै सकेनन्, अन्तत: बाटो बिराए । आफू केका लागि हो भन्ने नबुझेपछि परिणाम प्रतिकूल आउनु स्वाभाविक हो । पछिल्लो समयमा रामकृष्ण ढकाल स्रोताबाट छेउ लाग्दै गएको देखिंदैछ ।

गायन क्षेत्रमा एक तहको जग बसाएपछि अब सुगम संगीतमा मेरै वर्चस्व ठाने होलान् उनले, स्रोतालाई तुच्छ सम्झेर मनमौजी गर्न थाले । बुझ्न सकेनन् काँध थाप्ने स्रोताले काँधबाट थेचार्छन् पनि । रातारात सुपरहिट भएका कलाकार बिहानको झुल्के घाम देखिँदासम्म गुमनाम भएको उदाहरण धेरै छ । ढकालले सबै कुरा बिर्सेर अहंकार देखाए, आफूलाई भर्सटायल गायक सावित गर्न होला पप गीत पनि गाए, आफ्नो पहिचान भुलेर ओजपूर्ण गीत चयनमा आँखा चिम्लिन थाले । यसले एउटा नयाँ सम्भावना टुसाउँदा टुसाउँदै भाँचियो । यस्तै अहङ्कारको बुई चढ्दै गरेका शिव परियार पनि देखा पर्दैछन् । मानवीय स्वभावको तुच्छतम पतनचक्र हो : संघर्ष - प्रगति - उत्पात सफलता - अहङ्कार - असफलता !

जे होस्, धन्य हो - कुनै नयाँ चुनौतीले ढोका नढकढक्याएकैले हाम्रा स्वर सम्राटलाई हामीले पहिलेकै सघन भावमा हामीसँगै गुन्जिरहेको पाएका छौं । 

स्वर सम्राट नारायण गोपालको २१ औं स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन ! 

6 comments:

  1. गजब कुरा । चारवटा गीत छ वटा एफएममा आठपल्ट बजेपछि नेपाली गायकहरु सुपरहिट । देशविदेश कन्सर्टमा हिँडे तिनै गीत गाए भै'गो ।

    स्वर सम्राट प्रति मेरो तर्फबाट पनि श्रद्धा सूमन !

    ReplyDelete
  2. लेख राम्रो लाग्यो धाइवाजी ।

    ReplyDelete
  3. स्वरसम्राटलाई श्रद्धा सूमन....
    स्वागतयोग्य विचार धाईवाजीको ।

    ReplyDelete
  4. प्रभाकर गाैतमDecember 05, 2011

    धाइबाजी,
    रामकृष्ण ढकाल प्रवृति राम्ररी उजागर भएकाे छ । यम बराल र राजेश पायल राइलाइ पनि यही कित्तामा राख्नु पर्ला । तर पुराना कलाकार र नयाँ कलाकारले बाँचेकाे अार्थिक सामािजक सन्दर्भकाे पनि हेक्का राख्नु पर्ला नि । मिडिया र बजारकाे प्रभावले पनि कलाकारहरूकाे क्षमतालाइ प्रभािवत गरेकाे छ । नत्र किन कर्ण दासहरू बिदेशिनु पर्थ्याे ?

    ReplyDelete
  5. nice tribute to Narayan Gopal!!!

    ReplyDelete
  6. संक्षिप्त नै सहि, नेपाली सांगितिक क्षेत्रको विडम्बना उजागर गर्नुभयो । प्रशंसनीय छ । तर यहाँ हामी अर्को नारायण गोपाल खोजिरहनु भन्दा रामकृष्ण, यम, कर्ण आदिलाई जीवित राख्नेबारे सोच्ने दिन आएको छ। तपाईंले भनेजस्तै यहाँ कलाकारहरु उत्पात सफलतापछिको अहङ्कार आफ्नै रापमा खरानी हुन्छन् कि त शिखरमा अडिरहने धरातल भेट्न नसकेर मुन्तिर खुर्मुरिहाल्छन्।
    अनि अलिकति यहाँले चर्चिनुभएको सन्दर्भमै पनि शिव परियार जस्ता केहि कलाकारलाई उल्लेख गरिहाल्नुपर्ने अवस्था सायद आइसकेको छैन। प्रतिभाको छनक पाउनु एउटा कुरा, कसैको विरासत थाम्नु अर्को कुरा ।

    ReplyDelete