Subscribe:

Ads 468x60px

20 February 2012

रत्‍न दाइ, लेखकीय अहम् र धुपौरे

Ratna-Shamsher-Dai
कमलपोखरीमा छ्‌याप्पै एक पाटो ओगटेर बसेका थापा खलकमध्येको एउटा घरमा पुगिरहन मन लाग्छ । कवि-गीतकार रत्‍न शमशेर थापा निवास । नक्सालको डेराबाट यसो टहलिंदै जान सकिने भए पनि एक-डेढ वर्षको अन्तरालमा मात्र बल्लतल्ल झुल्किन पुग्दो रहेछु त्यहाँ । तैपनि रत्‍न दाइको कुनै गुनासो, दु:खेसो छैन । जतिसुकै अन्तरालमा जुनसुकै बेला पुगे पनि ‘ल, भाइहरू आएको बेला’ भन्दै साहित्यिक र सांगीतिक दुनियाँका विभिन्न ऐतिहासिक सन्दर्भहरू खुबै डुबेर सुनाउँछन् दाइले । सम्पदाका रूपमा ती किस्साहरू समेट्न लोभलाग्दो बन्ने गर्छ ।

रत्‍न दाइकहाँ धाएर पुग्न चाहनुमा पनि कारण छ, दाइको बिना नक्कल-झक्कलको बोली र व्यवहार । अझ भनौं न, प्रस्टवक्ता । लेखक हुनु त यस्तो भन्ने अहम्‌को टुप्पो उनको भौतिक अग्लाइ जस्तै छ । भूपी शेरचन, नारायणगोपाल, कृष्णभक्त श्रेष्ठका जिग्री यिनले पुरानो बेलाका घटना आफ्नो स्मृतिको सन्दुकमा दुरुस्तै राखेका छन् । कस्तो भने ती पुराना दिनलाई भुल्नु त परको कुरा, धेरै याद भएर होला - हरेकजसो भेटमा पहिले भनिसकेका कुरा दोहोर्‍याइरहेका हुन्छन् दाइ । अघिल्लै भेटमा सुनिसकेका कुरा पनि दाइको खरो र उत्साहजनक प्रस्तुतिले नयाँ लाग्छन् । कहिले दृष्टि साप्ताहिकको पत्रकारले आफूले भनेको कुरालाई बङ्ग्याएर अन्ठसन्ठ लेखेकोमा आक्रोश पोख्छन् र त्यो पत्रकार अहिलेसम्म डरले छायासम्म देखाउन आइनपुगेको भनेर खित्का छाड्छन् ! कहिले भने भारत जाँदा आफूलाई कसरी त्यहाँका साहित्यिकहरूले नै अपमानपूर्ण व्यवहार गरे भनेर तीतो मान्छन् । समकालीन कवि भूपी शेरचनसँगको संस्मरण त रत्‍न दाइसँग यति छन्, प्रज्ञा प्रतिष्ठानको ‘समकालीन साहित्य’ पत्रिकाको एउटा अंकमा दर्जनभन्दा बढी पृष्ठ  भूपी-चर्चाले भरेका छन् । ‘समकालीन साहित्य’ को ५० को दशकका सम्पादक अविनाश श्रेष्ठको आग्रहअनुसार लेखेको किस्सा भूपीलाई नजिकबाट बुझ्न सन्दर्भ सामग्री समेत बन्ला भन्ने लाग्छ उनलाई । एउटा साथीप्रतिको प्रेम, सदाशयता र सम्मान त्यसै गरी प्रकट गर्न सकिन्थ्यो होला, रत्‍न दाइले गरे ।

जम्मा दुई–तीन पटक पुगेको छु रत्‍न दाइको निवासमा, तर  आत्मीयता अस्वाभाविक रूपमा गाँसिएको छ । कुरा सुन्न, केही भन्न सहज लाग्छ एकदम । सबैलाई यस्तै छाप पार्दा हुन् दाइ । गाढा । एउटा घरका ठुल्दाजु जस्तो । कोठामा बसेको छ भने धोद्रो स्वरले कोठै थर्काउँछन्, छतमा बसेको छ भने झन्डै-झन्डै काग नै उडाउँछन् । तर मीठो धोद्रो स्वर ! अझ पनि आवाजको पाइन कडा देख्दा उनलाई उमेरले सात दशक अघि छाडिसक्यो भन्ने हिसाब मिलेन कि भन्ने लाग्छ । मुक्तक सुनाउँदै गर्दा त्यो स्वर अझ खुल्छ -

कुल्ची हिंड हाँसी-हाँसी यो छाती तिम्रै बाटो हो
मेरो देह त केही होइन केवल एक थुप्रो माटो हो
गालाको पाटाको लामो धर्सो त्यो घाउ होइन,
त्यो त झरी सुकेको आँसुको एक थोपा टाटो हो !

 
झट्ट हेर्दा कडा मिजासको लाग्ने र रुखो सुनिने यस्तो धोद्रो बोली भएको मान्छेले ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ , ‘घुम्तीमा नआऊ है’ , ‘गोरेटो त्यो गाउँको’  जस्ता गीत लेख्यो होला भनेर पत्याइहाल्न गाह्रो पर्न सक्छ । कुनै कुरो चित्त बुझेन कि त हाकाहाकी भन्ने स्वभावका कारण फुस्ल्याउने नशामा लट्ठिएको समाजमा समस्या पनि आइपर्छ । लागेको कुरा तीतो भए पनि सम्बन्धित मान्छेकै सामुन्नेमा भन्ने बानीले उनी छुच्चो पनि बनेका छन् धेरैको लागि ।  समकालीन साथीभाइको प्रशंसा र टिप्पणीमा अघि सर्न कुनै गाह्रो लाग्दैन । कविता, गीतमा भाषा र व्याकरणमा कसिकसाउ गरिरहनु पर्दैन भन्नेसँग उनको ग्रह मिल्दैन । ‘फूलको आँखामा’ का सर्जक दुर्गालाल श्रेष्ठसँग उनलाई त्यस्तै सकसक लागेको रहेछ । कुनै समय चर्चाकै शिखरमै बसेको फूलको आँखामा बोलकै गीतप्रति असहमति छ उनको ।

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
झुल्किन्छ है छाया वस्तु अन्सार
काँडाको आँखामा काँडै संसार


“छाया पनि कहीं झुल्किन्छ ? छाया त देखिन्छ, घाम पो झुल्किन्छ । के लेखेको यो ?”, कुनै मेसोमा भेट भयो भने दुर्गालाललाई तीरकमान ताक्ने सोचमा छन् उनी । साहित्यिकताको नाममा नमिल्दो र असुहाउँदो अभिव्यक्तिले भाषा-साहित्यकै हुर्मत लिने चिन्ता उनको छ । कुनै वादको गर्जनभन्दा ह्रदयको भाषामा विश्वास गर्ने रत्‍न दाइले आफ्नो संग्रहको नाम पनि भावमय ढंगमा सजाएका छन् - कविता संग्रह ‘चकलाभरिको घाम’ , गीत संग्रहहरु ‘ओभानो सिउँदो’ र ‘रुझेको परेला’ ।

आफ्नो पुर्ख्यौली सम्पत्तिकै टेकोमा बाँच्दै आएकोमा ग्लानि होइन, गर्व छ रत्‍न दाइलाई । कतै जागिर खान, हात पसार्न नगएकोमा अहम् छ । स्वादिलो अहम्, कसैसामु जी-हजुरी नगरी ठाडो शिर पारेर जिउनुको स्वाद चाख्दा मिल्ने मजा यस्तै हुँदो हो । सिर्जनाको संसारमा रहेर पनि मनग्गे तृप्ति आर्जन गरेका छन् उनले । कतै खुसामद नगरी आफ्नै प्रतिभाको बलले सम्मान र पुरस्कारले पुरिएका छन् । गीत, कविता र मुक्तकको कमाइ । कोठाको भित्तामा प्रमाणपत्र अनि टेबल र शोकेसहुँदी अवार्डको ओइरो । त्यही भएर होला, कहिलेकाहीं पुरस्कारको घेराइले उनी निसास्सिन्छन् पनि । केही समयअघि भेट्न जाँदा पुरस्कार र सम्मानकै कुरा निकाले दाइले ।  कोठाभरिका अवार्ड देखाउँदै व्यङ्ग्यमिश्रित लबजमा बह पोखिहाले - "यी काठका लङ्गुर के काम मलाई ? न बिरामी हुँदा ओखतीमुलो, न तातो चुलो ! हा हा हा ... "

निकै चल्तीका एफएम रेडियोहरुले लाइफटाइम एचिभमेन्ट अवार्ड दिएका रहेछन् । लाइफटाइम एचिभमेन्टको नाममा टङ्ग्रङ्ग काठे सिउर ! स्रष्टाको विडम्बनामा एकैछिन दिक्किए पनि उनलाई आफ्नो सिर्जनाकर्मप्रति थकथकी भने छैन । कता-कताबाट नाम सुनेर आइपुग्ने नवगायक-गायिकालाई पनि गीतिरचना थमाएर चित्त बुझाएरै पठाउँछन् । तर त्यसरी आएकामध्ये धेरैजसो चाहिं गीत लगेपछि बेखबर हुन्छन् । “पैसा पेलेर आउनुपर्ने सांगीतिक बजारमा बरा टिक्न सक्दैनन् होला र लाखापाखा लाग्दा हुन्”, तीप्रति पनि सान्त्वना बोली छ उनको ।

हुन पनि आजकाल प्रतिभा भएर मात्र केही हुन्न । लगानी गर्न सक्ने खल्ती छैन  र अझ आफ्नो प्रचार गर्न सक्ने सीप छैन भने अगाडि सोझो बाटो छ पलायनको । आफ्नो पलायन त को नै चाहला र ? तर धुपौरे भएर कसैको आरती उतार्दै आफ्नो लागि ठाउँ सुरक्षित गर्नु र यश राख्नुभन्दा एउटा स्वाभिमानीको लागि पलायन नै स्वीकार्य होला ।

2 comments:

  1. "यी काठका लङ्गुर के काम मलाई ? न बिरामी हुँदा ओखतीमुलो, न तातो चुलो !
    कति घत लाग्दो कुरा । अनि तितो यथार्थ पनि । र,उस्तै धाइबाजीको लेख पढूँपढूँ लाग्ने ।

    ReplyDelete
  2. कस्तो मज्जको मान्छे हुनुहुँदो रैछ रत्न दाइ । धैब-ज्यू ह्रिदय देखिन धन्यवाद तपाईंलाई । हुन नि हो नि हगी "यी काठका लङ्गुर के काम मलाई ? न बिरामी हुँदा ओखतीमुलो, न तातो चुलो !" बरु अलिकती रकम नि दिनु नि यस्ता अवार्ड सँगै , जिविकोपार्जनलाई मद्दत त हुन्थ्यो ।

    ReplyDelete