Subscribe:

Ads 468x60px

23 February 2012

- शिवरात्रि लाइभ -

वागमती कुलकुलाएको आवाज सुन्न के पाइन्थ्यो ! ऊ नै च्याट्ठिई-“हात समात न हौ, म हराउँछु के !” उसको मुख हेरेँ, कलिलो काँक्रामा कसैले चक्कु घिसारे जस्तै देखियो ।
भीडमा उसको झर्को बोलीले सुटुक्कै मैं पो हराइदिऊँ कि जस्तो झोंक पनि नचलेको होइन । तर हामी त जीवनसाथी पो त भन्दै साथमा रहने मैच्याङलाई पशुपतिको भीड देख्दैमा झिंजो मानेर कसरी पो छाड्न सक्थेँ र ?

तर हातै समातेर त के हिंड्नु गाँठे, अप्ठेरो लाग्यो । कसैले देख्‍ला, नदेख्‍ला भन्दा पनि आफ्नै हेराइमा यस्तो हर्कत अलि विचित्र लाग्छ । तर पश्‍चिमा संस्कृतिको बैशाखीमा रत्तिँदै आएकी स्वरूपा त्यस्तै छे, उसलाई सब कुरा जायज लाग्छ । स्वरूपा यसैले रूपसँगै जीवनशैलीको हिसाबले पनि झिलिमिली छे । उहिले उताको संस्कृतिलाई बैशाखी बनाएर रमाई, अहिले यो भीडमा मलाई बैशाखी बनाउन खोज्दैछे ! “केटीहरूको कुरो बुझ्न सकिन्न ब्रो”, कसैले भनेको थियो कुन सर्कोमा । ठीकै भनेको रै’छ त्यो जैरेले । अहिले दिव्य ज्ञान पलाए जस्तो भयो ।

झुसिल्कीरा जस्तै लाम लागेर सुस्तरी  बढ्दैछन् मान्छे । पशुपतिमा के खोज्न आका होलान् यत्राविधि ठिटाठिटी ? अचम्म लाग्नुभन्दा पनि रिस उठ्यो । लौ ठिटाहरू त बुटी-सुटीको मोहनीले हुर्रिए होलान्, ठिटी चाहिँ किन च्यापिएर आउनुपरेको ?
अरूलाई के भनूँ, आफैँ जोडी भएर आ’को छु !

सोहोरिएर हिंडेका एक हुल युवालाई छेक्न एउटा लिखुरे प्रहरी डण्डा घुमाउँदै तेर्सियो ।
“लाइनबाट जाऔं है लाइनबाट !” गौशाला चोकबाट मन्दिरतिर पस्ने गेटअघि धुइरिएको भीडमा उसले गरेको आग्रह कसले टेर्ने हो लौ न ! आफ्नो सङ्केत नमान्ने छाँट देखेपछि ऊ लुरुक्क पर्दै पल्लो लाइनलाई सम्हाल्न लागे झैँ पन्छियो ।   
 
“फेरि उक्लिनै सकिनँ भन्या उफ् !”, पशुपति मन्दिरमा रात छर्लङ्गै काट्ने भनेर बत्तिएकी स्वरूपाको ताल देख्‍दा आफ्नो गति महादेवकै जस्तो भइसक्यो । भाङ, धतुरो नखाए पनि र जटा धारण नगरे पनि पागल झैं ताण्डव नृत्य देखाउन बेर छैन । जसोतसो आफूलाई सम्हाल्नै पर्‍यो । आफूभन्दा पनि यहाँ सम्हाल्नु अरूलाई छ । उसलाई सम्हाल्नुपरेको यो कुरा अहिले उसले सुनी भने नारी जाति कमजोर छैनन् हे पुरुष भनेर जब्बर जवाफ दिन बेर छैन । तल वागमतीको फेदीमा एक हुल केटाहरू भजन मण्डली बसेको तर्फ नजर लगाउँदै कोकोहोलो मच्चाउँदैछन् । रातो र पहेंलो पोशाकधारी युवतीहरू आरतीमा नाच्न कम्मर कस्दै रै’छन् । केटाहरूको सिठी तिनै युवतीलाई सिग्नल दिनमा एकोहोरिएको रै’छ । छेउमा मुसतन्डे युवकहरू पनि हातमा आरतीको थाली लिएर हल्लिन सुरु गरिसकेका रै’छन् । भजन मण्डलीले गला सफा गर्न नपाउँदै फेरि हुल्याहा केटाहरू तलबाट सिठी र हल्लासहित बहकिए । शिवरात्रिमा साक्षात् शिव धरतीमा विचरण गर्न निस्किए भने गाँजाको धुवाँ र गन्धले भन्दा मान्छेहरूको कोकोहोलोले निस्सासिन्थे होलान् । Pasupati-LIVE-@-Shiva-RatriPasupati.

 

बाटोको दायाँ-बायाँ साधुको सभा छ । पृथ्वी नै सेकाउँला भने झैं धुनी जागेको छ सबै अखडामा । मेरो कानमा भने सिरेटोले कानेखुसी गरिरहेछ । काठमाडौंमा यो वर्ष कति लामो जाडो है !

“फुुुुुुु”,

कतैबाट कानको लोतीमा लु ओइरियो । सिरेटो खेपिरहँदा एकाएक बाफले सेकायो । कानैनेर आएर फुक्ने को साहसी पर्‍यो   ? यसो हेरेको त, मेरी बास्सै ! सकिनँ मैले । स्वरुपा पो ओठ चुच्चो पारेर धुवाँ बर्साउँदैछे । गाँजा तानेकी उसले ? के देख्‍नुपरेको यस्तो ! उसै त नशालु आँखा, झनै पर्लक्क पल्टिएको देखियो । रङमङिएको धुवाँले झ्वाट्ट अनुमान गर्न गाह्रो भो, हातमा उसले कतिवटा चुरोट मुक्याएकी हो । भीडमा कतिखेर आँखा छलेर बुटी किन्न भ्याइसकिछ ।

दिउँसो भेट्नेबित्तिकै भन्दै थिई, जिन्दगीमा अनुभव भन्ने कुरा लिनुपर्छ । कसैको र आफ्नो समेत बिगार नगर्दासम्म आपत्ति किन ? हो नि, अनुभव त जिन्दगीको गुरु नै हो । समर्थनमा टाउको मेरो पनि हल्लिएको थियो । तर मेरो समर्थनको जहाजमा थपक्क बसेर उसलाई यति छिटै यसरी जलक्रीडा गर्न सजिलो होला भनेर कहाँ सोचेको थिएँ र ! अहिले त आँट पनि के साह्रो बढेको केटीको, लामो सर्को तानेर मेरो अनुहारभरि धुवाँको स्केच बनाइदिई । भर्खरै हेरेको हिन्दी फिल्म ‘रकस्टार’ मा नायिका हीरले बिहेअघि निकै उदात्त भएर स्वतन्त्रताको उपभोग गर्ने क्रममा ग श्रेणीको फिल्म जंगली जवानी हेरेकी थिई । त्यति मात्र कहाँ हो र, फिल्महलबाट निस्किनेबित्तिकै लोकल दारु खाएर धमाका मच्चाएकी थिई । नभन्दै नायकले निशाना ताकेर ‘तँ त्यति हरामी कहाँ देखिन्छेस्, जति छेस्’ भन्छ पनि ।  आखिरमा त्यस्तै भई स्वरुपा ? अनि म चाहिं नायिकाले जे गर्‍यो, त्यसको लहैलहैमा लागेर हरेक कुराको साक्षी बस्ने नायक जोर्डन परें ? हरे, पशुपतिको यो धार्मिक कम र बढी नशालु भीडमा हीर र जोर्डनको के गति होला अब ? Swarupa_Model

अघि भर्खरै एउटा साधु बाबासँग खुबै लजाएर भलाकुसारी गर्दै थिई स्वरुपा । यही मौकामा म भने पशुपतिको रमिता हेर्दै फोटो खिच्नमा अलमलिएँ । केटीको लाज त बाबाबाट शिवबुटी हात पार्नका लागि पो छल्किएको रहेछ ।

“लाउ”, खिरिला हात अघिल्तिर सारी उसले । धुवाँको पातलो धर्सो कोर्दै गरेको सेतो ठुटो आँखासामुन्ने आइपुग्यो । अब पालो मेरो ? झनक्क दिमाग तात्यो । आफू त खानु-खानु अरुलाई पनि झोस्नु !? उप्रति उपेक्षाभाव देखाउँदै मृगस्थलीतिर मुन्टो फर्काएँ । मृगको छायासम्म देखिएन । बरु एउटा बाँदरले ख्याक्क गर्दै गिज्यायो ।

“प्लीज मेरो लागि एक पफ तानिदेउ !!”, उसले हात तन्काइरही । नशालु आँखामा लाली चढ्न थालेको थियो । कसम त मैले परम्पराको पुच्छर समात्दै तिमीले दिन्छौ भने विष नै खाइदिन्छु भनेर खाएको थिएँ कुनै समयमा । तर आज यो के फसाद पर्‍यो ! किशोर बेलामा चुरोट तान्दा चक्कर लागेर पुकलुक्कै ढलेको थिएँ । मुखमा कसैले घुर बालिदिएको जस्तो लागेको थियो कति दिनसम्म ।

संगतगुनाको फल । मेरो केही लागेन । जे भए पनि विषभन्दा त निकै सामान्य कुरा हो गाँजाको फाँको । यही सम्झेर दिगमिग मान्दै भए पनि फोक्सो खुकुलो पार्दै एक मुठी सास तानें जोडले ।

आँखैअघिकी स्वरुपा पग्लिंदै जान थाली ।

गाँजा किनमेलमा साधुबाबाहरुसँग झुम्मिएका युवाहरुलाई पुलिसले लखेट्दै गर्दा लाखापाखा लागेको भीड ठूलो जाँतो जस्तो देखियो ।

पशुपतिनाथ मन्दिरको छानामा तोरीको फूलैफूल थियो ।

5 comments:

  1. No More Comments! Simply Superb!!!

    ReplyDelete
  2. देखिस् भैरे तोरीका फूल !

    ReplyDelete
  3. damiiiii.
    supeb...

    ReplyDelete
  4. तोरीका फूल साह्रै राम्रा :)

    ReplyDelete