गीतिकारिताको २५ वर्षे यात्रापछि पहिलो गीति एल्बम लिएर आए रमेश क्षितिज । आफ्नै पुच्छ्रे परिचय ‘क्षितिज’ नाममा । सँगालोमा परेका गीतहरूमा यिनले शैली र विषयगत विविधता दिए पनि एउटै खालका भाव उनेका छन्, मान्छेका कुरा, ती मान्छेका मर्म र मनका कुरा ।
मान्छे र मनका कुरा गर्ने क्षितिजका शब्दमा पस्न सजिलो र आनन्दमय पनि लाग्छ । दिनभरि टन्टलापुर घाम खेप्दै पहाडको आफ्नै घरमा पुगेर मोहीले आँत मेटे जस्तो ! सामान्य व्यवहारमा काव्यलाई ओखर मानेर त्यसको स्वाद लिने प्रयाससम्म नगरी ‘कठिन’ भनेर उपाधि दिने एउटा पठित जमात हामीकहाँ सधैं छ । क्षितिज ती उपाधिदाताको लागि पनि सहज बनेर लेखिन्छन् । यसैले यिनलाई पछ्याउन मलाई प्रिय लाग्छ । यी कुनै सीमा कोरेर कुनै गुटको ऐनामा साँगुरो झलक दिंदैनन्, यसैले उनी सबैका हुन सकेका हुन् कि । उनलाई पढिनभ्याएकाको लागि यो बयान निराधार लाग्न सक्छ, एक पटक पढ्नेले भने एउटा-एउटा मोहनी मन्त्रमा बाटिएर पटक-पटक यिनको खोलामा धाएका छन् ।
रमेश क्षितिजप्रति मेरो लगाव २०६० सालदेखि अनवरत् छ । २०५७ सालमा प्रकाशित उनको पहिलो कविताकृति ‘अर्को साँझ पर्खेर साँझमा’ हातमा परेदेखि नौनी जस्तै कोमलताले उनले मलाई बाँधिरहे । (यो संग्रहबारे सानो परिचय यसै ब्लगमा यसअघि गरिसकेको छु ।) सोही कृतिबाट उनी कविताको संसारमा चिनारी स्थापित गराउन पनि सफल भए । चर्चा र पर्चाभन्दा पर बसे पनि तिर्खालुको निरन्तर सोधखोजको केन्द्र बने उनी । त्यसपछि पनि उनले कविता लेखिरहे, गीति गेंडा फुटाइरहे । सांगीतिक एल्बमअघि नै ‘आफैं आफ्नो साथी भएँ’ गीत-गजलसंग्रह पुस्तकाकारमा ल्याए २०६३ सालमा । ताकधिनाधिन बाजाको साथमा सुन्नुपर्ने गीत पढ्दा मजा के आउनु ? मलाई त्यति कसेन यो संग्रहले । तर सडकमा यात्रा गर्दा कुनै स्पिडब्रेकर घचक्क हुन आइपुगे पनि त्यसपछि यात्रा नै अप्रिय त लाग्दैन नि । नत्र कुन ऊर्जाले बगाउनु आफूलाई ? उनको गीत-गजलसंग्रह पनि मेरो लागि त्यस्तै भयो, संग्रहले लोभ्याएर नराखे पनि त्यसभित्रका गीतमा भेटेको काव्यिक तत्वले कता-कता कविताको तिर्सना भने मेटायो ।
जस्तै परदेशीको सुस्केरा भएको एउटा गीतको मुखडा -
दसैं सम्झें, तिहार सम्झें, सम्झें धेरै चाडहरू
नाघ्नै गाह्रो भयो मलाई अग्ला-अग्ला पहाडहरू ।
मायाको अपूरो कथाको गुनासो यसरी गरेका छन् -
दुई दिन सँगै हिंड्दा जिन्दगी नै बदलियो
फेरि कहिले भेट होला भन्नुपर्ने धेरै थियो
सुन्नुपर्ने धेरै थियो !
उनी साधारण कुरा लेख्छन् । मानौं, कसैले बेकामी भनेर फालेको बदामको बोक्रालाई बटुलेर उनले सानो कछुवा बनाउँछन् । फरक यति हो, तिनमा रोगन भर्ने उनको कौशल र अक्कल तेस्रो नेत्रको हुन्छ । यसरी हेर्दा लेखनमा ठूला-ठूला कुरा गर्नुपर्दैन रहेछ । वाद र दर्शनको भकारी बनेर उग्राउनुपर्ने रहेनछ प्रबुद्ध परिचयसहित सम्मान पाउन । डेरिडा, नित्से र सार्त्रको कुरा गर्नेलाई बुझ्नेको सीमा जति गरे पनि सानै हुन्छ । अझ तिनको प्रसंगमा समभाव राख्ने मन त छाँटिंदै जान्छ । देश-परदेश र मनमा लागेको ठेसको कुरा गर्नेले पो मुटुदेखि मुटुसम्मको पुलको काम गर्छ । जीवनमा साहस, जोस, सपना, विद्रोह, कामना छ र छ बेचैनी, अत्यास, सपना चोइटिएपछिको भग्न मन र कसैलाई बिदाइ गर्दा अनि कुर्दाको एक गानो भक्कानो ! सबै-सबै कुरामा मान्छेलाई केन्द्रमा राखेर लेख्नेले नै संसारलाई समग्रमा टिप्छ, संसारलाई समग्रमा सम्बोधन गर्छ । रमेश क्षितिजको कलम त्यही बाटोमा लम्किरहेको पाउँछु ।
उनी कविता, गीतसँगै कथा पनि लेख्छन् । कथामा पनि चोखो कुरा ल्याएको देखिन्छ उनले । संसारमा अहिले लेखिंदै गरेको कुरा पहिले नै कसैले लेखिसकेको पनि भन्ने गरिन्छ, फरक ढाँचाको कथन मात्रै हो रे अहिले । भन्न बाँकी नै केही छैन भने जस्तो । यस हिसाबले त बाँच्नै बाँकी नहुनुपर्ने हो, उहिलेकै मान्छे जस्तो हामी संघर्ष गरिरहेछौं, सास फेरिरहेछौं, लुगा फेरिरहेछौं, पिसाब फेरिरहेछौं … ।
त्यसो त रिपिटेसनको डर आफ्नै लेखनमा पनि केही वर्षभित्र भइरहेको पाइन्छ, संसारको ऐतिहासिक छिटाछिटी पछिल्लो पुस्तासम्म के नछल्किओस् । तपसिलका कुरा हुन् ती ।
पछिल्लो समयमा सांगीतिक एल्बमको ल्याएसँगै रमेश क्षितिज आफ्नो दोस्रो कवितासंग्रह प्रकाशनको अन्तिम तयारीमा छन् – ‘घर फर्किरहेको मानिस’ । यो शीर्षक उनले आफैंप्रति त लक्षित गरेका होइनन् ?
किनभने बेकारी भएर युवाकालमा राजधानीमा रहँदा, कवि हुँ भन्दै अल्लारेहरूसँग दिनभर बरालिएर हिंड्दा, एकदिन यसरी त हुँदैन भनेर सारा सरसंगत छोडेर लोकसेवा आयोगको पढाइमा गुफा पस्दा, जाँचमा पास हुँदै निजामती सेवामा पुग्दा, साहित्यबाट केही समय ओझेल पर्दा, पछि फेरि पुनरागमन जनाउँदै आउँदा, अहिले जनतासँग प्रत्यक्ष जम्काभेटमा रहने स्थानीय विकास अधिकारीको जिम्मेवारीमा रहँदा र बिस्तारै साहित्यिक सक्रियता र चर्चामा आउन थाल्दा उनी आफ्नो घरै त फर्किरहेका छन् । जुन घर उनले जीवन गुजाराको सिलसिलामा संघर्षको नाममा छोड्दै, घरि यसो छोए जस्तो गर्दै आएका थिए । अब घरमा ढुक्कले रहन उनी सक्छन् । कारण, साहित्य लेखनलाई पेशा बनाउन नसकिने सत्यका बीच अब उनीसँग जागिरको रक्षाकवच छ ।
घरमा स्वागत छ क्षितिज !
उस्तो परिचित छैन रमेश क्षितिजका कथा कविताहरुसँग तर गीतहरुमा थोरै नै सही कोमल चिनेको छु जस्तो लाग्छ । वहाँको घर फिर्तीमा नेपाली संगीत र साहित्य अझ खुल्न सकोस् अझ फुल्न सकोस् । शुभकामना !
ReplyDelete