Subscribe:

Ads 468x60px

14 August 2013

खुर्सानी र किताब

मनमौजी भएर बरालिन बानी परेपछि सोझो गोरेटोमा हिंड्न झर्किन्छ मन । एक धर्सो डोरीमा झन् के हिंडोस् !

केही समययता यही दुस्साहसमा घचेटेको छु आफूलाई । सर्कस चलाउने चेष्टा गरेको छु जीवनमा । एक धर्सो डोरीमा पैंतालालाई खन्याइदिएको छु । सिंगो विश्वसँग डिभोर्स गरे झैं एउटा ध्याउन्नमा एकोहोरिन बानी बसाउँदै छु । यसरी एकोहोरिने क्रममा खुला रुपमा विश्वमा कावा खानमा रमाएको सास यस क्रममा निसास्सिंदै छ । ‘यही निसास्सिनु तेरो जीवन हो’ भनेर पढाउँदै छु आफूलाई । केहीबेर सास थुनिएपछिको मुक्त उडान कति स्वर्गीय हुन्छ भनेर आश पनि जगाउँदै छु ।

अखबारी लेखरचना, साहित्यका यावत् आकर्षण दिल-दिमागबाट घोप्ट्याएर रुखोरुखो लाग्ने लोकसेवा आयोगका किताब समाउन थालेको छु । मेरो वशको बात हैन यो भने जस्तो लाग्छ । तर बात बनाउनु छ । खासगरी युवावयको यस अवस्थामा चुनौतीले हामीलाई पिंजडाको चरा बनाउँदो रै’छ । आत्मदबाबको जाँतोमा हामी पिसिंदा रैछौं । पारिवारिक अपेक्षा आफ्नै ठाउँमा छँदै छ, जिन्दगीले अब एउटा सुरक्षित बाटो समात्नुपर्छ भनेर आफ्नै ढुकढुकी लगातार भूकम्प बनेर थर्किंदो रै’छ । कुनै ठूलो सपना पालिएन । जिन्दगीमा सादा दाल-भात भए पुग्छ, खिस्स हाँस्न सकिने सामान्य अनुहार भए हुन्छ भनेर सोच्दै आए पनि त्यति दाल-भात जुटाउन पनि अब एउटा याममा पस्नैपर्छ भन्ने लागेको छ ।

अहिले छ, भरे छैन जस्तो अनिश्चित र क्षणभंगुर जीवनमा कुनै दबाब लिएर जिउन कहिल्यै मन परेन । मान्छेलाई बाँच्न र रमाउन गार्डेनसहितको महल हैन, उमंगसहितको मन चाहिन्छ भन्ने बुझ्दै आइयो । तर, भौतिक कुरालाई उपेक्षा गरेर आकाशबाट असिनासरि जीवनका आवश्यकता बर्सन्न । कुनै न कुनै कर्ममा नङ्ग्रा खियाउनै पर्छ । नङका चेपमा घिनलाग्दो फोहोर जम्मा पार्नै पर्छ ।

रुचिको क्षेत्र लेखन हो । तर, लेख्नु कता हो कता ठूलो तप जस्तो लाग्छ, देवताकर्म जस्तो । रुचिको क्षेत्रलाई नै पेसा र कर्म बनायो भने खुसी भेटिन्छ भन्ने सुनिंदै आएको हो । मन रमाउने कर्मको द्वारबाट खुसीको आँगनसम्म पुगिन्छ पक्कै । तर, त्यस्तो रुचिको क्षेत्र भरपर्दो पेसा हुने छाँट नदेखिंदा निकै अप्ठेरो हुने रै’छ । अहिले आफू अविवाहित र एक्लो हुँदा त फजुब गफ चुटेरै बाँच्न सक्छु । भोलि परिवार हुन्छ, व्यावहारिक दायित्व थपिन्छ । आज एक्लै हुँदा केही खर्च आवश्यक परे बा-आमासँग दङ्ग्याउँदा पनि सहयोग माग्न सक्छु, पछि त्यो नैतिकता रहन्न । उमेर र अवस्थासँगै  हामी छोरा-छोरीबाट ‘बुहारीको लोग्ने’ र ‘ज्वाइँकी श्रीमती’मा परिणत हुन्छौं । मेरा बा-आमाका भोलिको ‘बुहारीको लोग्ने’ ले आज साहित्य र पत्रकारिताबाट जीवन गुजारा देख्न छाडेको छ । अझ पत्रकारितामा त तिकडम र खेल नजानेको हामी जस्तो ‘औंठाछाप’को कामै छैन ।

पाँच वर्षअघि पनि यस्तै उत्साहले आयोगको किताब समाएको थिएँ । निर्णयकै तहमा पढाइ थालेर अब पत्रकारिता कर्मबाट सदाका लागि बिदा लिन्छु भनेको थिएँ । तर, समय र परिस्थितिले कतिपय संकल्पमा हिलो छ्याप्छन् । उतिबेला अलिक आलोकाँचो पनि थिएँ । संकल्प बचाएर ल्याउन सकिनँ । फुल्दै गरेको माया बीचैमा तोडियो । भत्किएँ । रन्थनिएँ । म यस्तै लबस्तरो बनिदिन्छु भनेर औपचारिक पढाइमा पनि लापरवाही बनिदिएँ । मेरो लागि कोही छैनन् भने वित्थामा मैले कसको लागि दुःख गर्नु भनेर रुन्चे बनें । जमेर बसें । निकै कम मिहिनेत गरेर बनाइएको फिल्मको अल्लारे हिरो जस्तो थिएँ म, चरित्र नमाझिएको ! कसैले हात छाडेर हिंड्दा आफ्नै हातको नसा काट्ने बेहोसी भइदिएँ । यस्तै केटाकेटीपनबाट गुज्रँदै आएँ ।

मान्छेको मन हो, निराशा हात लागे पनि फेरि आश त लाग्छ । एउटा नमीठो भोगाइले अरु राम्रो सम्भावनामाथि आँखा चिम्लिने कुरा पनि भएन । एकाध अरु सम्बन्धमा खुसी खोज्ने प्रयास गरें । तर मायाको हाटबजारमा माया दिनेभन्दा लिनेमै जोड गर्ने भोकाहरुको जमात हुने रै’छ । उसकै वरपर रहू, सोधीखोजी गर,  उसको विरह र दुःख बिसाउने डम्पिङ साइट बन । तिम्रो भूमिका त्यत्ति ! तिम्रो भागमा कमिलाले एक ढिका चिनी पाएजति भाग परे तिमी लाख मान्दा हौ । तर, भाग कहिल्यै नपर्ने अभागी हुन्छन् कति कमिला । एकोहोरो प्रेम खन्याउने तागत भएको आदर्श प्रेमी पक्कै होइन म । त्यति आध्यात्मिक उचाइ कुनै दिन आउला जस्तो पनि लाग्दैन । अपेक्षा दुःखको कारण हो भन्ने थाहा पाई-पाई दोबाटोमा पर्खिन मन लाग्छ । जाँदाजाँदै उसले हेरिरहेको छ कि भनेर बारम्बार शिर घुमाएर फर्किन मन लाग्छ । केही नपाउने परिस्थितिमा मानौं तिमी प्रेमको अवैतनिक जागिरे बन्छौ । यस्तो जागिरबाट अघाएँ । जागिरे कारोबारबाट बचाउँदै ल्याएँ आफूलाई । खनीखोस्री हुँदा आफ्नो मुटु सक्किएला-सक्किएला जस्तो भयो !

समय फेरि पाँच वर्षअघिकै अवस्थामा उभिइदिएको छ । आयोगको किताब हातमा छ । यो पछिल्लो निर्णयलाई गति दिन मोटो किताबसँग रत्तिंदै सुरक्षित जागिरको सपना देखाइरहेछु आफूलाई । जिन्दगीको ग्यारेन्टी नभए पनि हामीलाई यो जिन्दगीभित्र चाहिं हरेक चिजमा ग्यारेन्टी चाहिएको छ । कपाल झर्दै छ, तर पसलमा किन्न लागेको टोपीमा ग्यारेन्टी खोजिन्छ (कपाल नझर्ने ग्यारेन्टी कहाँ खोज्ने हो ?) ।

पढ्ने कुरामा मन बाँध्न गाह्रो छ । क्याम्पसको कोर्सबुक छाडेको लामो समय भइसकेको छ । मन रमाउने साहित्य र गैरसाहित्यका रोचक किताबमा फन्का लगाउँदा-लगाउँदा यति रिंगटा लागिसकेछ, अब थामिएर शान्त हुन गाह्रो छ । अनुशासन मुश्किलको कुरा हो । रमाइलोका लागि कुनै नियम नलगाई, कुनै पट्यार र निद्रा नभनी सयौं पेज पढियो आजसम्मन् । तर, जिन्दगीले निश्चित बाटो समाउँछ भनेर फकाउँदा आज पढ्नु भनेको अक्कर भीर छिचोल्नु जस्तो महान् तपस्या लाग्दै छ ।

पढ्दै जाँदा देश-विदेश र ब्रह्माण्डबारे कहिल्यै थाहा नपाएका कुराले निकै स्वाद पनि लागिरहेको छ । कतिपय हाँसोउठ्दो कुरा पनि पढ्नुपरेको छ । दुइटा उदाहरण :

प्रश्न : नेपालमा कुन उद्देश्यले बढी पर्यटक आउँछन् ?
- मनोरञ्जन ।
प्रश्न : रोग भनेको के हो ?
- शरीर अस्वस्थ हुनु (शारीरिक, मानसिक रुपमा)।

[नायव सुब्बा परीक्षा दिग्दर्शन : सिद्धराज जोशी / किरण जोशी]

इतिहासका वीर योद्धा वलभद्र कुँवर र अमरसिंह थापाको बारेमा पढ्दा विदेशीसामु कुनै राष्ट्रघाती सम्झौता नगर्ने उनीहरु नेपाली नै थिए र भन्ने शंका लाग्छ ।

कहीं पट्यार लागे पनि, कहीं हाँसो लागे पनि  रोचक बनाएर पढ्नु नै छ जसरी पनि । पढ्दै नपढ्ने भुस्कुललाई पढाइको उपयोगिता र असरबारे बुझाउने क्रममा बुवाले सानोमा सुनाएको किस्सा अझै दिमागको पत्रमा सुरक्षित छ ।

दुई बाउ-छोरा कतै आफन्तकोमा गएछन् रे । खाना खाने बेला भएछ । बाउ चाहिंलाई खानासँगै आँगनमा फलेको लोभलाग्दो खुर्सानी खान दिएछन् भान्सेले । छोरालाई पनि रहर लागेछ खुर्सानी टोक्न । लोभी नजर लाउन थालेपछि बुवाले फुच्चे छोराको लागि पनि खुर्सानी मगाएछन् । खुब उत्साहले खुर्सानी टोकेछ । छिनमै आँखाभरि पानीपानी भएछ । पढ्न भनेपछि ज्वरो आउने छोरालाई उतिबेलै बाउले पाठ पढाउने ठाउँ भेटिहालेछन् ।

भने, ‘देखिस् त ? मैले खुर्सानी खाँदा कस्तो न हुन्छ भनेर तँलाई रहर लाग्यो । मेरो खुवाइको असर तँलाई त परेन । तैंले खाँदा बल्ल तँलाई नै पिरो भयो । यस्तै गरी तैंले पढिस् भने तँलाई नै हुन्छ ।’

त्यस दिनपछि त्यो अल्छे छोरो खुब तेजले, मन लगाएर पढ्न थालेछ रे । Smile

1 comment:

  1. तपाइ को लेखन सैली बाट प्रभाबित भएको छु
    http://nepalinovels.blogspot.com/
    http://debendrasubedi.blogspot.com/

    ReplyDelete