आमाबारे जताततै लेखिएका छन्, आमाको महान्ता र गरिमालाई पृथ्वीसँग तुलना गरिएको पाइन्छ । साहित्य र धार्मिक वर्णनमा माता-महिमाको शृङ्खला चहकाउँदो गरी उज्यालो छ । त्यसको अघि बुबा अर्थात् पिता-महिमा शून्य नै छ भन्दा फरक पर्दैन । बुबाबारे साहित्य र धर्म-संस्कृतिमा कमै पढ्न पाइन्छ । देवी-देवताको आराधना गर्ने र रिझाउने मेसोमा सगोलमा "त्वमेव माता च पिता त्वमेव, त्वमेव वन्धु सखा त्वमेव" भित्र समेटिएर आउँछन् पिता ।
यो कविता मैले त्यही अभाव पूर्ति गर्ने हिसाबमा कोटापूर्ति गर्न लेखेको भने होइन । तर लेखिसकेपछि साहित्यमा पिता-प्रसङ्ग कति होलान् भनेर लख काटेँ । आफूले पढेकामध्येमा, र आफैँले लेखेकामध्ये पनि कति मात्रामा र कुन प्रसङ्गमा पिताको कुरा आयो भनेर सम्झिन खोजेँ, दिमाग स्क्यान गरेँ । तर जवाफ चित्तबुझ्दो आएन । यो कविता २०६३ सालको रचना हो मेरो । २०६२ सालमा अनाममण्डली संस्थाबाट देउसी खेल्न साथीहरूसँग संस्थालाई सहयोगको साथमा आफूलाई पनि रमाइलो पनि हुने देखेर देउसी खेल्न काठमाडौँ चहारिएको थियो । त्यसै क्रममा सर्जक मित्र विभोर बरालको काठमाडौँ टङ्गालस्थित घरमा पनि पुगियो । माथि छतमा उपद्रै किसिमले उफ्रिएर रमाइलो गरी भट्याइयो, नाचियो । घरधनीले साथ दिएर देउसेलाई जोस र आत्मीयता थपेको विरलै देखेको मैले त्यहाँ विभोरपिता वासुदेव बराल र हजुरआमाको रमाइलो सहभागितालाई लोभिएर हेरिरहेँ । ज्यादै आत्मीय देउसीमध्येको एउटा देउसी थियो त्यो ।
देउसीको रमझम सकिएपछि सबै साथीसङ्गी जीवनगाडीको इन्धन जुटाउने रनाहामा च्यापिएर आ-आफ्नै कामको मेलोमेसोमा हराए । यस्तैमा एक दिन सुनियो- हामीसँग रमाएर देउसीमा साथ दिने मित्र विभोरका बुबा वासुदेव बराल बित्नुभएछ । २०६३ मङ्सिर १३ गते बित्नुभएछ उहाँ । सुनेर खै कस्तो अत्यासले किचिएँ म, यत्तिकै झोक्रिएँ-फन्किएँ, सामान्य स्थितिमा फर्किँदा कविता थियो साथमा । म कवितामै रोएँ, सुकसुकाएँ । एउटा सन्तानको ठाउँमा बसेर लेखेको थिएँ कविता । वियोगको रन्थनीले मलाई हत्केलाबीचमा कागती बनाइदिएको थियो, निचोरिएँ र अमिलिएँ । त्यसमा मित्र विभोर जीको स्वानुभूति लदबद मिसिएको थियो क्यार मभित्र ! त्यही कविता आज यहाँ प्रस्तुत गरेको छु । कविता उनै बुबा वासुदेव बरालमा समर्पित छ । र साथमा मित्र विभोर जी र बहिनी विप्लवीलाई पनि यतिबेला सम्झिरहेछु ।

बुबाबिना
जानुभयो बुबा,
जसरी
मध्यरातको आकाशबाट
झट्ट खसेर जान्छ
फेरि नफिर्ने गरी
रहरलाग्दो पिलपिल तारा ।
जानुभयो बुबा,
जसरी
मध्यरातको आकाशबाट
झट्ट खसेर जान्छ
फेरि नफिर्ने गरी
रहरलाग्दो पिलपिल तारा ।
बुबा जब साथ हुँदा
हाम्रो आँसुका कारखानामा
भोटेताल्चा हुन्थे
मनमा जे रहन्थे पोख्नलाई
सारा निस्किन्थे मूल फुटेर
र बुबा बन्नुहुन्थ्यो
समर्पित स्रोता,
खै त अब
हाम्रो बोलीको
एकै सुका मोल रहेन ।
बामे सर्दा
बुबाले दिनुभएको एउटा औँला
हाम्रो भरोसाभरि
कति भरिलो हुन्थ्यो
न्यानो औँलाको त्यो गोलाइ
बालापनलाई खित्का बाँडिरहने
कति सुन्दर खेलौना थियो !
अहिले बुबा हुनुहुन्न
बुबासँगै उठे ती मायालु औँलाहरू
हो नि, अब त
सहारा छुटेर यो जिन्दगीको बगरभरि
कस्तोसँग लरबराएर पुक्लुक् पुक्लुक्
लड्नुपर्ने हो !
बुबाबिनाको नयाँ वर्ष र
असार १५ को रस,
दसैँको गाढा टीका
अनि देउसीभैलीको तिहार
र घाम ताप्दै चपाइने
माघे सङ्क्रान्तिको तिलको लड्डु …
अहँ छैन
केही स्वाद छैन ।
आँखामाथि बुबाको
त्यो टल्किने चश्मा
हाम्रो लागि ऐना थियो
शृङ्गारकक्षको बेहुली झैँ
खुलेर
बरोबर हेर्थ्यौँ चश्माभरि
र देखिन्थ्यौँ भित्रैसम्म
बुबा ऐना नै हुनुहुन्थ्यो
र त हामीमा सज्जा थियो,
हरेक सोचहरूमा
हाम्रो उमेरको हनुहार पढीपढी
अनेक लगनले सरक्क खुसी थुपार्ने
बुबाको हात
ठेलैठेलाले कतिविघ्न घाइते हुँदो हो !
बुबाबिना
हाम्रो मुहारमा सज्जाको बदला
अब दागको दु:ख खोपिएरै बसिरहला ।
बुबासँगको देउसी-भैली
जे रहेछ यसैपाली रहेछ,
फेरो लाउने जोगी जस्तै
दसतिर हामी डुलेनौँ
बुबासँगै देउसी गायौँ
बुबासँगै भैली भाक्यौँ
पट्याएको इस्टकोट जस्तै
असङ्ख्य चाउरी बोक्ने
मायालु हजुरआमा
र लहरै कुर्सीमा बुबा
देउसी गाउँदै हामी
फुर्किएर नाचिरहँदा
कस्तरी आनन्दमा जाग्नुभएथ्यो,
थाहा थिएन-
बुबा यसरी हाँसीहाँसी हराउनुहुन्छ,
बुबाको त्यो कुर्सी रित्तो छ
चप्पल बजाउँदै ठमठम चाल मार्ने
फराकिलो छत पनि चुपचाप छ
बुबाबिनाको बिहान
म उठ्न सक्दिनँ कि !
(बुबाले मिलाइदिने अलार्म घन्टी
खै त अहिले म कहाँ सुन्न पाऊँ ?)
बुबाबिनाको यो रात
सायद सुत्न सक्दिनँ कि !
(कहाँ छ र
मैले कोल्टे फेर्दा शिर मुसार्ने
त्यो आशीर्वादमय हत्केला ?)
बुबाको चम्किलो चश्मा
त्यो त्यही टेबलमै छ
गलबन्दी ह्याङ्गरमा
उसैगरी झुन्डिएको छ
छैन तर बाँकी
मेरा आँखामा सङ्लो दृष्टि
छैन जिन्दगीमा मखमली न्यानोपन,
यस्तै त हो
आँसुमा नबग् बहिनी !
आमासँगै बुबा टाढा गए पनि
तेरो त म छु
म पनि यदि गएँ भने
रुनू
ए बहिनी
रोइरहनू रहर भरिभरि ।
बुबा गएपछि
आइरहन्छन् आँखाको दुरबीनमा
धूलो जस्तै बुङ्बुङ्ती आँसु
र केही देखिन्न
केही पनि ।
***