May 29, 2009

रुने 'मान्छे'

सँगको १८ महिनाजतिको अन्तरङ्ग सङ्गतमा मैले देखेँ- उसका आँखा 'झरी' शीर्षकको पेन्टिङले कहिल्यै रङ्गिएनन् ।

एक हिसाबमा म खुसी पनि भएँ, सोचेँ र सन्तोषको सास लिएँ- नरून सक्नु र नरून पाउनु साह्रै जाती कुरा हो, कम्तीमा नरूने व्यक्ति स्वयम्‌का लागि । तर रुने कुरालाई पीडादायी रूपमा व्याख्या गरेर दुत्कार्ने ठेक्का कसैले पाएको छैन ।

'म कति दुब्लाएछु हेर न', मेरा औँलाहरू तानेर आफ्नो कम्मरको हाडखोरतिर चाल्दै ऊ हदै निकटता साट्थ्यो मसँग । हाम्रो प्रारम्भिक ताकाको भेटमा सानेपा (ललितपुर)को लोडसेडिङले छोएको भुताहा उकालीलाई जोर पैँतालाले नाप्दै गर्दा उसले एक साँझ भनेको थियो, 'साँच्ची, आँसुमा के हुन्छ, मान्छेहरू रोएर हल्का हुन्छु भन्छन्, के रसायन हुन्छ त्यसमा ? मलाई अध्ययन गर्न मन लागेको छ ।'

ऊ आँसुको वैज्ञानिक पाटोबारे अध्ययन गरेर एउटा गजबको लेख लेख्‍न चाहन्थ्यो । र ऊ यस्तो ठाउँको खोजीमा थियो, जहाँ आँसु र रुवाइबारे लेखिएका सन्दर्भ ग्रन्थ र लेखोटहरू उपलब्ध होस् । त्यो चाहे धूलो र किराको भीड (पुस्तकालयमा अचेल मान्छेको भीड त कहाँ लाग्छ र मेरो मित्र !) ले व्यस्त उच्चाटलाग्दो पुस्तकालय किन नहोस्, त्यहाँ जान ऊ राजी थियो । तर अनुभवको बहीखातामा उसको अश्रु-अध्याय रित्तोरित्तो थियो । ऊ रोएको कहिल्यै देखिएन । रिसाउँदा, दु:खका बाछिटाले छुलुक्क सिर्कना वर्षाउँदा कि त ऊ गुम्म परेर अनुहारभरि अँगारी धुन भरेर अँध्यारिन्थ्यो, कि त 'ह्याऽऽ केही भएको छैन, टेन्सन भन्या यस्तै हो क्या आउँछ जान्छ' भन्ने नाटकीय थेगो उच्चारण गरेर मनमा चाहिँ थला पर्नेगरी ओइलाउँथ्यो । उसको निम्ति सौभाग्यको कुरा यति नै थियो, ऊ एउटा रून्चे मान्छे (म) सँग हिँड्न पाइरहेको थियो !

ऊ र म बीच खास नाता के थियो, अझैसम्म अपरिभाषित पाउँछु म । अनौपचारिक हुनहुन खोजेर पनि नसकेका हामी सँगै रहेर पनि टाढा भए जस्ता थियौँ । यदाकदा म रहर पोखिरहन्थेँ ऊ सामु- 'तिमी रोएको एकचोटि हेर्ने मन छ, धक फुकाएर भित्रदेखि रोएको र यी भकुल्ले गाला लेकाली छाँगाले निथ्रुक्क पहरो भएको देख्‍ने मन छ ।' खासमा ऊ दु:खी भएको हेर्ने मन त एक अंश पनि हुँदैनथ्यो । तर उसले भन्दै आएको 'म आफू थाहा पाउने भएदेखि अहिलेसम्म रोएको छुइनँ, किन रुनु वित्थामा, रूनु कमजोरी र दुर्बलताको सूचक मात्र हो' भन्ने उसको कठोरता मेरा हेराइमा अमानवीय निष्‍ठूरता थियो । त्यसैले एकचोटि ऊ रोएको कोमल भाव आँखैअघि बेहोरेर ऊ पनि म जस्ते आम मन्छे हो भन्ने समभाव सँगाल्नु थियो । मेरो आग्रहमा ऊ तिनै भकुल्ले गालाबीचमा खाल्डो बसाउँदै किचिक्क हास्थ्यो-'रोइदिऊँ त अहिल्यै ?' तब म एकाएक आत्तिन्थेँ । भर्खरैको अतुल्य किचिक्क मुस्कानको मोहनीको चेपमा परेर मेरो 'रोइदेऊ न' भन्ने फर्माइश निसासिन्थ्यो र म भन्न पुग्थेँ-'भैगो भैगो पर्दैन यार, यसरी नै हाँसिराख सधैँभरि ।' फेरि अर्को-अर्को भेटमा 'रुनु काम नपाउनेहरूको खेती हो, रून्चेहरूको शीर्ष गीत हो' भने झैँ ऊ नाकका पोरा फुलाउँदै पेश हुन्थ्यो र म उही फर्माइश दोहोर्‍याउँथेँ- 'एकपटक रोएको हेर्ने मन छ, तिमी ।'

हाम्रो सरसङ्गत साप्‍ताहिक भेटको रूटिनबद्ध जीवनमा गुँड लगाइरहेथ्यो । भेट्थ्यौँ-छुट्थ्यौँ फेरि भेट्थ्यौँ । सङ्गतको यस्तो रूटिन थियो, छुट्नैको लागि भेटे जस्तो, अनि फेरि भेट्नैका लागि छुटे जस्तो । के थाहा, सङ्गत गुनाको फल मिलेर कतै पुष्‍ट बचेरा कोरलिहाल्ने पो हो कि ? मानौँ, यस्तै विवेचना मनभरि उब्जाएर हामी राजधानीको फरक-फरक स्टेशनमा डेढ वर्षसम्म अविरल भेट्दै रह्यौँ । नतीजा ? यो सङ्गतमा उसको जेलाइमा जेलिएर अनेक आरोह-अवरोहमा जाकिएर म नै रोएँ धेरै- आफ्नै कोठाको नरम सिरानीमा, फोनमा, मन्दिरका धेरै मूर्तिहरूको लस्करमा अर्को मूर्ति बनेर, साँझपख पल्लो घरको आँगनमा धिपधिपाएको बत्ती हेरेर ।

रुनुलाई पीडा र व्यथाको जनाउचिन्ह मानिन्छ समाजमा । यसलाई कमजोरीको रुपमा व्याख्या र वर्गीकरण गरिन्छ । यही कोणबाट एउटा गीत पनि बनाइएको छ- 'लोग्नेमान्छे भएर रुनु हुन्न रे ...' गीतमा पात्र रुन खोज्छ तर सामाजिक मान्यता, कमजोरी-सबलताको मुद्दा, भावनामाथि तर्कको दादागिरीले गर्दा रुनुसाटो घाँटी मात्र खसखसाएर बस्न बाध्य हुन्छ । सायद उसले पनि यो गीत सुनेको र हेरेको हुनुपर्छ । तर रुने 'फुर्सद' उसलाई थिएन । पाका सिनेकर्मी नीर शाहले गरेको अभिनयले गीतमार्फत हाम्रो समाजको रोगी र सङ्कुचित मानसिकताको पीडाग्रस्त पाटो उजागर गरेको छ । रुनुभन्दा नरोएको (र रुन नपाउनुको) दृश्य अत्यासलाग्दो देखिन्छ त्यसमा ।

म कति हदसम्म मान्छे बन्न सकेको छु, कतिसम्म मानवीय भावको छु त्यो त मैले किटेर भन्ने कुरा होइन । तर मेरो हेराइमा रूने मान्छेलाई नै मैले 'मान्छे' भन्ने गरेको छु । रुनु कमजोर हुनु होइन, आफैभित्रको आफूलाई नाघेर अरूसम्मलाई छुनु हो । रुनु खालि आँसु बगाउनु होइन, वेदनालाई सेलाएर नयाँ जोसका लगि आफूलाई सघाउनु हो । रुनु, रुनु मात्र होइन, संवेदना हुनु हो, तरलता हुनु हो । मेरा केही साथीहरू छन् जो अनायासै रुन्छन्, यत्तिकै । खुइय्य गर्छन्, दिक्किन्छन्, न्यास्रिन्छन्, फेरि सानै कुराले फुलेल बन्छन्, खुसीले 'पागल' बन्छन् । ध्यानी-ज्ञानी छैनन् कोही वितरागी हुन सकेका छैनन् । र पनि यति भने भन्न सकिन्छ, मान्छे चाहिँ उनीहरू पक्का मान्छे छन् । मानवीय भावले नै उनीहरूलाई यस परिचयमा टिकाएको हो भन्छु म । तिनको लागि रुनु कुनै सत्सङ्गभन्दा कम छैन । तिनको कामकाज राम्रै चलिरहेको छ, घर-परिवारमा पनि सबै ठीकै छ र पनि भन्छन्- 'यार आज खूब रूने मूड छ, कोठामा आज एक्लै हुन्छु राती मज्जाले रुन्छु ।' यस्तो पनि कुरा ? आज बाहिर खाने प्रोग्राम छ भने जस्तै रुवाइको पनि आयोजना हुन्छ तिनको ।

अब कसैले यहीँनेर केरकार गर्ला आफूसँग मानवीय संवेदना भएको प्रमाण दिन रूनैपर्ने हो त ? मान्छे ठोस भए पो त्यो सबलताले सफल यात्रा तय गर्न सक्छ त भन्ने टिप्पणी आउला । तर्कै गर्ने हो भने त तर्कको तीरले नछेड्ने क्षितिज कहाँ पो होला र ? संवेदनाको प्रमाणचिन्ह रोदन हुन नसक्ला, यहाँ रुने कुरा गर्दा धर्धरी आँसु बगाउने गोहीप्रसाद र गोहीमाया पनि खोजिएको होइन । तर अरूको पीरमा दुई थोपा आँसु सट्याकसुटुक नआउने मान्छे, आफैँलाई दु:ख पर्दा पनि स्वाभाविक बह पोख्दै हिक्का नछाड्ने मान्छे के मान्छे ? हाँस्न जान्नु ठूलो कला हो, विद्वान्‌ले भनेका छन् । रुनु पनि कला हो, तर यो नौटङ्की अभ्यासको चाहिँ कुरो होइन । नौटङ्की भयो भने त रुनु र टुथपेष्‍टको विज्ञापनमा हाँस्नुमा के नै अन्तर भयो र ? दुवै तुकविहीन ।

अँ त, उसको सङ्गतमा परेर म धेरै रोएँ । सम्झिनुपर्दा मेरा अश्रुदाता भनेर मैले सम्झिनुपर्ला उनलाई ।

त्यसपछि उसले मलाई ख्वाउनुपर्ने जागिर सकियो सायद, अन्तिम गोलाधागो सकिएको चर्खाबाट अन्तिम फन्को डोरोसरि च्वाट्टै चुँडिएर हरायो ऊ । ऊ र म एउटै सहरमा थियौ, आज पनि यहीँ छौँ । खबर नसोधेर पनि एकचोटि रसायन जोडिएको मान्छेको खबर कसोकसो रहँदोरहेछ आत्माकै एन्टेनामा । तर न त अब मेरो ऊ सँग चिनजान छ, न त उसको मसँग सरोकार नै छ । एउटै चुम्बकको दुई फरक ध्रुब झैँ फाटेका छौँ हामी । यतिखेर यस्तो लाग्दैछ मलाई- यो सबै उही आँसुको खेल हो । रुनु-नरुनुको करामत हो । भावुकता र कठोरताको दूरी हो । उसको नरूने कुराले मलाई रूखासुखा बनायो, मेरो रोइदिनुपर्ने 'नरमपन्थी' आग्रहले उसलाई दिक्यायो । दोषी नम्बर दुई । सायद जलन दुवैको मनमा । फरक यति छ, उसको आँखा कहाँकहाँ फड्को मारेर खितखित गाइरहेको हुँदो हो, म भने रूमाल वा सिरानीको तिर्खा मेटाउन आँसुको शीर्ष भाकामा रोइरहेछु । के यसरी रोइरहेर म मान्छे भइरहेछु ?

यो जवाफ दिन अहिले ऊ साथमा छैन । तर उसलाई बताउनु छ मैले यसरी रुँदा म कति हल्का भएको छु, बिना रङ बिना रोगन सादा हाउभाउमा पनि कति मज्जाले खुलेको छु ।

ऊ यही सहरको कतै कुनामा हाँसिरहेको होला उसैगरी … किचिक्क ! हाँस्दा ती भकुल्ले गालामा कस्तरी खाल्डो परेको हुँदो हो !

13 comments:

  1. AnonymousMay 29, 2009

    सारै लोभलाग्दो लेखाई ... गजलका शेरहरुमा शब्द कुँदे झैँ गरेर हरेक वाक्य सुन्दर रुपमा प्रस्तुत गर्नु भएको छ | हार्दिक धन्यबाद |

    रुने सुबिधा त्यागेर नरुन आँट गर्नु सकारात्मक कुरा हो ... तर अरुलाई चाहिं जागिर ख्वाएर आफ्नो भकुल्ले गालामा खाल्डो बसाउंदा ति साथिलाइ पक्का पाप लाग्छ |

    ReplyDelete
  2. भन्छन आँसु को मुहान त मन हो रे, मान्छे भित्र यो मन भन्ने चीज कतै छ भने धेरै थोरै पक्कै आँसु खस्दो हो। धाइबा जी त्यसरी च्वात्तै चुडिएर हराएर जाने पनि कहिले काही एकांतमा रुन्छ की? हास्न त हास्दो हो नि दुनियालाइ देखाउन, लोग्ने मान्छेलाइ पक्षपात गरेर खै कुन "मन" नभा पापीले बनाको "रुन हुन्न रे" भन्ने भ्रममा नराम्ररी फसेको पो हो की?

    ReplyDelete
  3. तपाइको लेखोट र कृष्णजीको टिप्पणी समेत दुबै उत्कृष्ट लागे है मलाई ।

    अनी,आँसु नझार्नु र 'नरुनु' भिन्दा भिन्दै कुरा होईनन् र भन्या !

    ReplyDelete
  4. यहाँनेर बोलिहाल्न हतार लाग्यो ।

    मिलनजीको सकारात्मक सोचसहितको जीवनप्रति मेरो लोभ सुरुदेखिकै हो । पक्कै हो रुने 'सुविधा'मा त को पो तैनाथ हुन चाहला र, सकेसम्म रुन चाहँदैन मान्छे र रुन हुँदैन पनि । नरूनु परोस् । तर मेरो यस लेखोटको झटारो जब्बर मैँ हुँ भन्नेलाई हो, जो नरूनैलाई, आँसु नखसाल्नैलाई सबल भनिटोपल्छ । र तिनमा म मानवताको अंश पनि देख्दिनँ । तिनीहरू झन् बढी रून्छन् जस्तो लाग्छ भित्रभित्रै, जुन आँसु खसाल्नुभन्दा खतरनाक पो हुन्छ कि ? कृष्‍णजीको कुरामा पनि म यहीँनेर मिल्छु ।

    अनि दिलीप दाइले पनि सामान्य लाग्ने तर निकै गहिरो कुरा झिक्नुभयो- 'आँसु नझार्नु र नरूनु फरक कुरा होइनन् ?' पक्कै हो दाइ । आँसु झार्नेले मात्र रुँदैनन्, आँसु नझारी पनि रोइन्छ । तर रुवाइको सार्थकता (रूवाइको प्रोत्साहनमा यो सार्थकता प्रयोग गरेको होइन है, खालि गहिराइ र भावनात्मक आवेगको कुरा गर‍ेको ।)आँसु झार्दै रुनुमै छ । तर आम हेराइमा आँसु नझार्नेहरू नरुने मान्छेको पदवी लिएका छन्, सगर्व । बिना अस्त्र बहादुर र वीराङ्गना कहलिएका छन्, गजब लाग्छ ।

    तर रुनुलाई दुर्बलता र हुतीहारापनमा पुर्‍याएर कम आँक्ने सामाजिक दृष्टिलाई मेरो शब्दको निशाना ताकिएको हो । खासमा 'रूँदिन, त्यस्तो लुरेलुरी हुइनँ भनेर कसैले फुइँ लगाउनु नै बेकार छ ।

    ReplyDelete
  5. मानबिय समबेदना रुन मात्रै भयो भने कसो होला यदि त्यसको हल बिनाको रुवाई यसलाई समबेदना भनिन्न होला यसलाई गोहीको आँशु भन्न मिल्छ हैन र धाईबा जी? धेरै राम्रो टाँसो छोड्नु भयो धाईबा जी मलाई त सम्पुर्ण तपाईँको टाँसोहरु ढिलो छिटो पढ्ने गर्छु, के गर्ने धाईबा जी परदेशी जिबन ब्यस्त शहर अनि थकित समयहरु बाट अलिकति फुर्सद निकाल्दा जहिले पनि ढिलो आईपुग्ने गर्छु तपाईँको ब्लगमा धेरै राम्रो छ अझै पनि लेख्दै जानुहोला, धन्यबाद।

    ReplyDelete
  6. कहाँ राख्यौ मलाई देखिँन तिम्रो आँखाको नानीमा
    बगाई दियौ कि मलाई त्यही आँखाको पानीमा.....

    तिमीलाई आँखामा राखेको छु भनेर रोएर देखाउनेहरुले पनि ल्याउन सक्ने अवस्था पहिले मैले यसरी लेखेको थिएँ गीतमा । तपाईँले त रुँदै नरुनेको निम्ती यति मिठो , यति लामो लेख्नुभएछ । साह्रै मन भरेर पढेँ ।


    रुनेहरुले धेरै रोएर धर्म नहुन्जेल रुवाउनेहरुलाई पनि भुकुल्ले गालामा खाल्डो पारुञ्जेल पाप लागी नहालोस भनें है मिलनजी मैले चैं - समय चक्र घुम्दै भोली कता पुग्ला के थाहा ? बरु हुनेसम्म हाँसो र रोदनको योग सँधै सुमधुर बनोस् ।

    ReplyDelete
  7. संवेदनाको प्रमाणचिन्ह रोदन हुन नसक्ला तर अन्तरत्माको गहिराइमा उठाउने संबेगले सिर्जना गरेको भावनालाई मुहारको लचकतामा प्रष्फुटित
    गर्न हाँसो र आँसुलाई साहारा लिएर भौतारिनेहरुको भने कमि छैन है । रुनु पिडा र दुखको साथिमात्रै नभै खुसि र सफलताको भाव पनि हो जस्तो लाग्छ । तर साथिहरुले भने झै आवरणमा ब्लो अप जस्तै चम्किएर पानाहरुमा धमिराले खोतलिरहेको पनि त हुन सक्छ नि? तर म भन्छु जिवनमा कसैको रुवाइलाई हार र हँसाइलाई जितको तिरले हेर्न भने सकिदैन ।
    जागिरलाई लत्याएपछि टुटेको तारले छिटै जोडिने मौका पाओस । फेरि त्यहि भ्कुल्ले गालामा फेरि हाँसो देख्न धाइवा जी ।

    ReplyDelete
  8. रुदा मन हलुङ्गो हुन्छ भनेर चित बुझौने बतो जस्तो मात्र लाग्छ। रुएर याधरु मेतिने भए त भईहल्थ्यो नि

    ReplyDelete
  9. पछिल्ला क्रममा मेरा हरफअनुरूप कोमल टिप्पणी दिने हितैषीहरू: दुम्मालीजी, जडितजी, सिकारुजी र दीपजीमा यिनै अक्षरको अभिवादन चढाउँछु ।

    दुम्मालीजीले ठीक भन्नुभयो, मानवीय संवेदना रुन मात्र काम लाग्यो भने त्यसको के अर्थ ? समस्याको समाधान नखोजी रोएर बस्ने मान्छे त मान्छे होइन रून्चे प्रजाति हो । तर यस्तो पनि एउटा मान्छेसँग हुनुपर्छ, मेरो यस लेखको आशय यत्ति हो । मान्छेलाई रुन कुनै विशेष फुर्सदकै व्यवस्था गर्नुपर्दैन, होइन र ?

    जडितजीको आशय ज्यादे सटीक छ, रुनेहरू भोलि हाँस्लान्, हाँस्नेहरू रोलान् । आलोपालोको खेती न हो मान्छेको जीवनमा हाँसो र रोदन ।

    'जागिर' कुनै गुम्तीमा नजोडिई सुखै छैन सिकारुजी । कारण, मान्छेलाई बाँच्न र रमाउन पनि अरूको साथ र मान्यताको जरुरत पर्छ ।

    रोएर याद नमेटिए पनि मन हल्का भए त्यही नै काफी हो, आँसुको लाभ हो नि होइन र दीपजी ? तर यादहरू त रहनकै लागि हुन्छन् नि जीवनमा, मेटाउनका लागि त ती हुँदैनन् जरूर ।

    ReplyDelete
  10. रुनु मानवीय स्वभाव हो, नरुनु होईन। रुन जान्नेहरु कोमल हुन्छन् (कोमल हुनु कमजोर हुनु होईन, संवेदनशील हुनु हो), रुवाइलाई कमजोरी ठानेर आफनो मन पिल्साउनेहरुमा कुण्ठा भरिँदै जान्छ र ती विषालु बन्दै जान्छन्।
    फेरि, भरी बजारमै रुनुपर्छ भन्ने छैन, एक्लै रुन सकिन्छ या कोहि आत्मीयको सामीप्यमा रुन सकिन्छ। तर निर्विवाद के हो रुन जान्नु राम्रो हो।
    ------------------------
    तपाईँको सुन्दर लेखनी पढ्न पाऊँदा जहिले पनि आनन्द लाग्छ।

    ReplyDelete
  11. शत: प्रतिशत चित्त बुझ्यो यहाँको कुराले वसन्तज्यू ।
    मेरो कोणलाई सही रूपमा खुट्याउनुभएकोमा धेरै खुसी लाग्यो । रुनु अभिभारा र कुनै जागिर नै नभए पनि यसको कमाइ तृप्‍तिमै गएर पोल्टाभरि भरिने खालको हुन्छ, मानवीयताको भावगङ्गाले । रुने गुणले नै मेरो अझैसम्म मेरो मनमैँसँग रहेको छ जस्तो लाग्छ, मान्छे भइरहेछु भन्ने अनुभूति गर्छु । यसैले रूइन्छ सायद ।
    अभिवादन !

    ReplyDelete
  12. धाइबा जीको टाँसो ले मन ढक्ढक्यायो एकचोटी ,म कस्तो मा पर्छु ? कतिपय रुनुपर्ने अवस्थामा पनि दह्रोसँग मनलाई कस्सिनु परेको रहेछ ,तर फर्केर कुनै न कुनै दिन ढिला चाँडो आँसु झर्छनै सधैं नरुनु सकिएला र ?
    असाध्यै राम्रो लाग्यो शिर्षक नै , रुने 'मान्छे' यानेकि रुने चाहिँ मान्छे ।

    ReplyDelete
  13. mitra, roonoo pida bisaunu pani ho tara yo matrai hoina. so u've to be empowered by yourself. so nice laguage n fantastic presentation.
    Let's go forward yar.

    ReplyDelete