April 4, 2010

कालो चिया, गोरो सपना

 Black-tea

Rajen

Rajen2

उटा ठिटो, जो गाउँको जरुवाबाट सहरको खहरेमा मिसिन्छ । उसले सँगालेका कति सपना पालो पर्खेर बस्दा हुन् साकार हुने बाटोमा, र पालो पर्खिँदा-पर्खिँदै बलिको बोकोमा परिणत हुँदा हुन् । सबै धुस्नो हुँदा हुन् आकाङ्क्षाहरू, र कतिपयले भने पानी खान समेत नभ्याउँदा हुन् ! प्रवासको दौडधुपमा हेलिएकाहरूको दर्दनाक स्थितिबारे त झन् के कुरा गर्नु ! देशमै, एउटा जिल्लाबाट राजधानी पसेकाहरूको कहानीमै जर्जर भूकम्प लुकेको हुन्छ । ती ओठको चेपमा खैनीको ठाउँमा हाँसो सञ्चय गर्दै गोडा लतार्छन् सडकमा लम्रङलम्रङ । छ भने पिठिउँमा एउटा ‘पन्चर’ झोला हुन्छ मैलोधैलो । त्यही हुन्छ दिनभरिको साथी । यस्ता अनुहारहरू निकै भेटिने गर्छन् सहरमा । जो सङ्घर्षको सिलौटामा अचार हुनसम्मलाई तयार हुन्छन् ।

सम्झिन्छु म आफ्नै बेरोजगार बेला । जतिखेर विद्यार्थी थिएँ, र विद्यार्थी मात्र थिएँ । अनि हुनुको नाममा एउटा लाचार छोरो पनि थिएँ, जो बाबुआमाले हाड खियाएर तुल्याइदिएको खर्चले राजधानीमा बडो तनाविलो जीवन निर्लज्ज जिउने गर्थेँ । निरुपाय । अभिभावकको काँध थाप्नुपर्ने बेलामा अझै तिनै काँधमा पिङ मच्चाइरहेको हालतमा आफूलाई पाउँदा ग्लानि र हैरानी पाकेर मन कम पिरो हुन्नथ्यो । र त्यही हुँ म, जो सीमित खर्चको चपेटाबीच बाटामा पैसा भेटिइहाल्ला कि भन्ने सोचेर तीखो आँखा गाड्दै हिँड्थेँ । त्यही ठिटो हुँ म ? यतिखेर चिमोट्दैछु आफैँलाई ।

बल्लतल्ल जीवनमा किनारा भेटेको बेला रुखमुन्तिरको चिया पसलमा ज्यान बिसाएर कालो चिया खाएको बेलाको साथी राजेन्द्र पोखरेल फेरि निकै अन्तरालपछि भेटियो अस्ति भर्खर । 'राजा राजेन्द्र'को उपनाममा चिनिने उसको धोको । सङ्गीतप्रतिको लगाव र सेलिब्रेटीमा पनि कसोकसो दरिने भोक उसमा ज्यादा नै बढेको देख्‍छु ।

कालो चिया, दूध चिया । हाम्रो समाजमा अघोषित रूपमा चियाबाट पनि मान्छेहरूको एउटा स्तर बनेको छ, बन्ने गर्छ । कालो चियाको स्तर अलि धमिलै रूपमा व्याख्या हुन्छ । ६१/६२ सालमा हामी हैसियत भएर पनि खै किन हो, कालै चियामा बेस्कन गफिएका थियौँ । अर्को-अर्को राउन्ड चिया थप्दै  । हुन सक्छ, हामीले आफ्नो धरातललाई पैँताला दिइरहन चाह्यौँ । अस्तिको भेटमा पनि त्यही फ्ल्यासब्याक उतार्दै कालो चियामा हामी सामान्यकृत भएर आत्मीयता साट्न एकोहोरियौँ । भेटको थलो मात्र फरक । पहिले गणेशथान कमलादी, पछिल्लो चोटि पुरानो वानेश्‍वर । राजेन्द्र यसबीचमा एउटा रेडियो स्टेशनमा कार्यक्रम चलाउने भइसकेछ । खल्तीमा केही दाम पक्कै बढेको छ, त्योभन्दा ज्यादा तीव्रतर रूपमा पारिवारिक भरोसाको लहरो उसको खल्तीभित्रको छातीमा बाफिएको हुँदो हो । मैले यसबारे भेटमा केही सोधिनँ । बल्ल भेटेको साथी, त्यसमाथि कालो चियाको बैठक छ, के घाउ कोट्याउनु जस्तो लागेर छिल्लिनैमा व्यस्त भयौँ । रेडियोको बोलक्कड जागिर । तर यो उसको आफ्नो सपनाको काम होइन, परिस्थितिले कोरिदिएको एउटा गोरेटो मात्र । हास्यव्यङ्ग्य प्रस्तुति र गायनमा उसको मन बढ्ता रमाउँछ, अङ्ग्रेजी साहित्यको औपचारिक पठनमा तृप्ति मिल्छ उसलाई । गाउँकै ठिटो आनीबानी र स्वरूप अझै उसमा कायम देखिन्छ । सोझो रेखामा हिँडेको उमेर । झापाको आँगन छोडेर काठमाडौँको दैलो छिरेपछि कतिलाई उसले छक्यायो भन्दा पनि कतिबाट ऊ छक्कियो, यो लगत खोतल्दा हुन्छ ।

कारण, सपना  देख्‍ने आँखाहरूले अरूको निद्रा बिगार्दैनन् ।
बरू कालो चिया खान्छन्, खाइरहन्छन्, दूध चोर्न लामो हात पार्दैनन् ।

टुङ्ग्याउनीमा एक टुक्रा :

बोल्न त खोज्छु,
बोलूँ - नेता भइने डर
नबोली बसूँ - लाटो भइने त्राहि ...

3 comments:

  1. एउटा यथार्थ वास्तविकतालाई 'चियाको कहानि'को रुपमा प्रस्तुत गर्नुभएछ । निक्कै घत लाग्यो, लेखाइ ।

    ReplyDelete
  2. ज्यादै नै उत्कृष्ट प्रस्तुती । धाईबा जी तपाईँको Background मा राख्नु भएको तस्विर Photobucket मा अपलोड गर्नु भएको रहेछ । Photobucket ले लामो समयसम्म त्यस्को Account मा लग-ईन नगरे फोटो हरू Disable गरेर आफ्नो प्रचार राख्छ । तपाईँको ब्लगमा पनि त्यस्तै भएको छ । कृपया एक पटक Photobucket मा लग-ईन गरेर यो तस्विर लाई refresh गर्नु होला। मेरो बिचार मा Flickr मा यो समस्या हुँदैन ।
    सबल प्रस्तुतीको लागि बधाई ।

    ReplyDelete
  3. Is it right that Raja Rajendra has no any dram to becom Radio Jockky? But I think he does well. I think I should ask him about it. Otherwise its very nice topic that we daily follow, i.e. "we drink black tea but we don't cheat for the milk one."

    ReplyDelete