October 12, 2013

दशैं नभए जिन्दगानी …

काठमाडौंबाट दशैंका लागि घर जाने सोच बनाउँदै थिएँ, यस्तैमा झ्वाट्ट लाग्यो – यतिबेला  गाउँका साथीहरु ससुराली जाने सोच बनाइरहेका होलान् ।

विदेशमा पनि छन् कतिपय साथीभाइ । तिनको लागि ‘घर : एक सपना’ भए पनि घर-संसारमै रहेर व्यवहारको रकेट चलाइरहेकाहरुका लागि मन फेर्ने लोकेसन ससुराली बन्छ । बिहेअघि चोकमा बारम्बार भेट हुने साथीहरु साइकलमा बुढियालाई पछिल्तिर बोकेर ससुरालीतिर गुडेको दृश्य धेरै पटक देखेको छु । अहिले साइकलको ठाउँ मोटरसाइकलले लियो होला, फरक त्यत्ति ! उनीहरुसँग बसेर एक झमट अनुहार नियाल्न र स्कुले दिनका बदमासी र पाप-पुन्यका लेखाजोखा गर्न नपाएको युग भएछ ।

समयसँगै मान्छेका सरसंगतिका सीमा फुक्दै जान्छ कि साँगुरिंदै ?

हेर्दा सामान्य लाग्ने कुरा । मलाई भने समय शहरको सपिङ मलको धुरी नाघेर धेरै पर उडिसके झैं लाग्यो । शहरमा अहिलेसम्म म के खोज्दै भौंतारिंदै छु, अन्ततः सपना त रै’छ घरसम्म पुग्ने ! परिवारसँग सुस्ताउने ! ती साथीहरु भने फेरि पनि भेटिने छैनन् । बुढियालाई वाहनमा लिएर ससुराली जाने साथीहरुले लालाबालाको रेखदेखमा आफूलाई खियाइरहेको थप दृश्यको साक्षी बन्नेछु म ।

कहिलेकाहीं सानो जस्तो कुरोले दिमागको गुँडमा अन्डा पार्छ र पूरा दिमाग विशाल अन्डा जस्तो सुन्निएर फुटिदिन्छ छ्यालब्याल । अनि आफ्नै विचारको गन्धमा उकुसमुकुस भइन्छ । सोचका अनेक खुड्किलामा पाइला अनायासै चढ्छन्-झर्छन् ।

दशैंमा बुवाले नयाँ लुगा नकिनिदिएको करिब एक दशक भएछ । अथवा भनूँ, मलाई नयाँ लुगा किनेर दिनुपर्ने जरुरी नरहेको त्यति समय भएछ । त्यसबेलादेखि बुवा-आमालाई बरु मैले लुगा किन्नुपर्ने फरक जिम्मेवारी आएको बुझ्नुपर्छ । बुवाले हरेक वर्ष रुटिनमा बाँधिएर चार सन्तानको ज्यान र मनसम्मै हरियाली ल्यादिनुहुन्थ्यो, नयाँ लुगाले ।

केटाकेटी बेलामा नयाँ लुगाको कडा गन्ध महँगो अत्तरभन्दा कम कहाँ लाग्थ्यो र ! मास्टरको टेलरमा जाँदा नयाँ कपडाका टुक्राहरु खेलाउन पाउँदा पनि अपार आनन्द मिल्ने । मानौं दुर्लभ मोती हुन् ती ! डर र धक मानीमानी मास्टरसँग ‘यो टुक्राटाक्री कपडा लैजाँदा हुन्छ ?’ भनेर सोध्दा ठूलै कुराको प्राप्तिमा अक्कर पहाड फोडे झैं लाग्ने । कपडाको ब्यौला-ब्यौली बनाएर र केटाकेटी मिसिएर आफैं बूढाबूढी बनेर पनि खेलिएकै हो ती दिनहरुमा ।

दशैं बिस्तारै अरुहरुको लागि मनाउन थालिंदो रै’छ । विवाहित जीवनमा रहेकाहरु ‘अहिले त तँलाई केही छैन, जिन्दगी सुरु हुनै बाँकी छ’ भनेर अविवाहित अवस्थालाई ठुँग्छन् र हाउगुजी देखाउँछन् । परिवार र घरगृहस्थीको कुरामा सुविधा पनि छ, संयोजन गर्नुपर्ने दुविधा पनि साथै हुन्छ । म भने दशैंले आफूलाई रमाइलो नदिए पनि बुवा-आमाकै खल्लोपन मेट्न गाउँ पुग्ने गर्छु । दशैं अर्थात् खुसी र उल्लास ! अरुहरुको जस्तै म पुग्दा घरमा बा-आमाको दशैं आउँछ, खुसी भित्रन्छ । यसैले अफिसमा दशैं बिदाको ‘सिस्टम’मा आफूले बिदा नपाउने समय परे पनि जोडबलले घर जाने प्रयासमा हुन्छु सधैं । एक वर्ष जान पाउने र अर्को वर्ष शहीद बनेर काममा घोटिनुपर्ने नियमलाई ‘वर्षदिनभरि दुःख गर्दा पनि दशैं समेत घरपरिवारसँग बसेर मनाउन नपाउने जिन्दगी र जागिर के काम भन्ने’ तर्कले चुनौती दिन्छ । भलै, मिडियाको काममा यस्तो केटौले तर्क व्यावहारिक हुन्न । र, पनि दशैं पुल हो गाउँ र घरपरिवारसँग मेरो । दशैं नभए जिन्दगानी काँडासरि हो मेरो लागि ।

यसपाली पनि म दशैं मनाउन पुग्दै छु त्यही उदयपुर । जहाँ बुढियासहित टीका लगाउन ससुराली जाने हतारमा साथीहरु मसँग बोल्न भ्याउने छैनन् । कति भाइबहिनीहरुले चिन्न सक्ने छैनन् । उनीहरु मेरा कुन चाहिं साथीका भाइबहिनी हुन्, म पनि चिन्न सक्ने छुइनँ ।

दशैंको शुभकामना तपाईंलाई ! विजय मिलोस् यात्रामा ।

1 comment: