Subscribe:

Ads 468x60px

01 November 2013

यादमा जगदीश दाइ

‘कृपया मलाई तपाईंको फोन टेक्स्ट गरिदिनुहोस्। कुरा गर्न मन लागेको छ। मेरो फोन 980*******. धन्यवाद’

Jagdish Ghimire - 2011गत जुलाई २१ मा लेखक जगदीश घिमिरेको मेसेज आयो फेसबुक इनबक्समा । संसारदेखि विरक्तिएर आफैंमा खुम्चिएर बसेको थिएँ म । कहिलेकाहीं त्यसैत्यसै हराउन मन लाग्छ र समाजका सबै जोर्नीबाट खुस्किएर कतै एकान्तबासमा रहन मन लाग्छ । तर, त्यो सधैं सम्भव हुँदैन, मन लागेको समयमा पनि ।

फेसबुकमा दाइले मलाई गरेको मेसेज त्यति एउटा र एकमात्र हो । मेसेज पाउनासाथै लगत्तै फोन भएको थियो । पाँच वर्षअघि ब्लगमा उहाँको पुस्तक ‘अन्तर्मनको यात्रा’ बारे मैले पुस्तक चर्चा (जगदीश अवतार : संक्षिप्त आराधना) लेखेको थिएँ । दाइले निकै पछि भर्खरै मात्र त्यस बेला फेला पार्नुभएछ सो लेखोट । उतिबेला पुस्तक पढें, उहाँको लेखनबाट मृत्युबोधका किस्साभित्र जीवनबोधले छोइएर जे-जस्तो लाग्यो लेखें । जसको पुस्तकको बारेमा लेखें, उसैलाई थाहा दिन सकिनछु । हल्ला बाहिर रमाउने बानी पर्दा यस्तै हुन्छ ।

फेला पारेर पढेपछि धन्यवाद दिन मलाई खोज्नुभएको रै’छ दाइले । जगदीश घिमिरे जस्तो साहित्यमा अलग प्रतिष्ठा कमाइसकेका व्यक्तिले सम्झिंदै खोजेकोमा भन्दा पनि उहाँ खुसी भएको देख्दा खुसी लाग्यो मलाई त्यतिबेला । उहाँ असाध्य रोगबाट ग्रस्त हुनुहुन्छ भन्ने थाहा पाएकाले पनि समानुभूति थपिएको थियो होला ममा ।

फोनवार्ताकै क्रममा ब्लगमा रहेको सो लेखोट मदन पुरस्कार पुस्तकालयको मुखपत्र ‘नेपाली’ त्रैमासिकमा छाप्न कमल दीक्षितले इच्छा देखाएको कुरा दाइले गर्नुभयो । त्यति सिलसिलेवर हिसाबले त लेखेको थिइनँ पुस्तकबारे । ब्लगको कुनोमा सीमित सामग्री सबैसामु आउने कुरामा खुसी लाग्यो । नभन्दै दीक्षितज्यूको इमेल आयो सोही दिन । पुस्तकको प्रशंसा गर्नुका साथै पुरस्कृत गर्ने मदन पुरस्कार गुठीलाई पनि जस दिएको देख्दा गुठीको मन उचालिनु स्वाभाविकै थियो ।

त्यसअघि पनि जगदीश दाइसँग पटकपटक भेट भएको थियो । पहिले नितान्त लेखक र पाठकको रुपमा र अलिक निकट चिनजान भइसकेपछि पनि । ‘अन्तर्मनको यात्रा’ कृति पढेपछि उहाँलाई अहम् पाल्ने र आत्मबखानमा रमाउने व्यक्ति भनेर निष्कर्ष निकाल्थे । सो कृतिमा आफूले साहित्यका साथै समाजसेवामा गरेका प्रयासका बारेमा खुलेर लेख्नुभएको छ दाइले । रक्तक्यान्सरको पहिचान भइसकेर पनि उत्साहपूर्वक जिउने र गहन जीवनबोधको पुस्तक लेखेकोमा धेरैले प्रेरणापुञ्ज नै मानेका छन् दाइलाई । मैले भने उहाँमा अहम् भन्दा पनि आत्मविश्वास र सघन जीवनवादको प्रमाण मात्रै पाएँ, उहाँका उठबस र सिर्जनाहरुमा । उहाँ रोगले खाँदै गए पनि जीवनलाई फकाएर, मृत्युलाई थर्काएर बाँच्नुभयो । सबै मान्छे मर्ने निश्चित भए पनि आफ्नो स्पष्ट किटानी  छ भनेर सहज मुद्रामा देखिनुहुन्थ्यो । मृत्युको दिन गन्ती गरेर पनि जीवन निकै निचोरेर जिउन सकिने रै’छ । मृत्यु उहाँको लागि जीवन अझ राम्ररी बाँच्न सिकाउने पाचक बनिदियो ।

आफ्ना पुस्तकबारे कसैले कुनै प्रतिक्रिया दिएमा एक पंक्तिको मात्रै छ भने पनि उहाँ त्यसलाई फेसबुकमा उल्लेख गर्नुहुन्थ्यो । त्यसमा आत्मप्रचार हैन, उहाँमा आफ्नो सिर्जनाशक्तिप्रतिको अटल विश्वास प्रकट हुन्थ्यो । बत्तीलाई देखाएर उज्यालोको महिमा गाउँदा नमिल्ने कुरो के छ र ? आफू र सिर्जनामाथि ढुक्क देखिनुहुन्थ्यो दाइ । हुन पनि साहित्यका पण्डितहरुसम्मले सराहना गरेकै थिए उहाँका कृतिहरुलाई ।

नयाँ पुस्तासँग घुलमिल गर्दा बोली खिइएला भने जस्तो सोच्ने र बलजफ्ती दूरी बनाएर आराध्य देव बन्न खोज्ने नेपाली साहित्यका पाका स्रष्टाभन्दा विपरीत रहनुभयो दाइ । ठाडै बोल्नुहुन्थ्यो तर त्यसमा हार्दिकता र सरलता हुन्थ्यो । सानो कुरालाई पनि महत्वसाथ चर्चा गर्ने स्वभाव देख्थें उहाँको । एउटा उदाहरण । फेसबुकमा कवि, लेखक, नाट्यकर्मी, कलाकार लगायतका तस्वीर समेटेर क्रियटर्स कर्नर भन्ने एल्वम बनाएको छु । जे-जस्तो स्तरको तस्वीर खिचे पनि सर्जक र शिल्पीहरुसँग सबैले तस्वीरको झलकमार्फत भए पनि चिनारी गाँस्न सकून भनेरै एल्वम बनाएको थिएँ । माथिको फोटो पुरानो वानेश्वरको गुरुकुलमा दुई वर्षअघि खिचेको थिएँ ।

जगदीश दाइले सधैंको भेटमा सो फोटो एल्वमलाई राम्रो र व्यवस्थित कसरी बनाउने भन्नेबारेमा सुझाव दिइरहनुभयो । खासगरी एल्वममा समेटिएका कवि, लेखक र कलाकारको फोटो उनीहरुको नामको अल्फावेटिकल अर्डरमा राखिंदा राम्रो हुन्छ भन्ने उहाँको विचार थियो । त्यसरी राखिंदा फोटो हेर्ने र खोज्नेलाई पनि सजिलो हुन्छ भनेर उहाँले दूरगामी सोच राख्नुभएको थियो । दुई सय जनाको भन्दा बढी फोटो रहेको एल्वममा फोटोहरु थपिंदै जाँदा कसको फोटो कहाँ छ भन्ने खोज्न पनि सकस !

पछिल्लो पटक बातचित हुनेगरी सकस उपन्यासमाथि अन्तर्वार्ता दिन कान्तिपुर टीभीमा आउनुहुँदा भेटिनुभएको थियो दाइ । अन्तर्वार्ताका क्रममा उहाँलाई मन थियो, क्यामेरामा देखिनेगरी उपन्यासको आवरण देखाउने । देखाउनु पनि भयो । त्यसमा पनि उहाँको पब्लिसिटी नभई जीवनप्रतिको प्रेम र विश्वासका झलक पाइन्थ्यो । मृत्युको किटानी भइसकेको मान्छेलाई नत्र मोह के कुराको ! मोह त भोलिका लागि केही कुरा खर्च गर्न र रमाउन साँचिने कुरा हुन् । त्यसपछि ब्रजेशको उपन्यास ‘यायावर’को विमोचनमा पर्यटन बोर्डको सभाकक्षमा कमजोर स्वास्थ्य छँदाछँदै पनि जोशिलो मन्तव्य राख्नुभएको सुनेको थियो ।

पछिल्लो पटक ओम अस्पतालमा उपचारका लागि राखिएपछि साथी प्रमिला थपलियासँग दाइलाई हेर्न जाने सल्लाह भएको थियो । तर दाइले पर्खिनुभएन ।

जीवन हतारमै घुमेर घडी बाहिर पुग्ने सुई त हो आखिर ! हामी त्यसलाई यति र उति बज्यो भनेर हिसाब निकाल्छौं ।

1 comment:

  1. राम्रो लेखको लागी धाइबाजीलाइ धन्यबाद। साथै जगदिश जी लाई हार्दीक सम्बेदना।

    ReplyDelete