December 18, 2013

आँखाको तराजु

गहना-गृहभित्र झिनो डन्डीमा झुन्डिएको छ सुनौलो तराजु । सेक्युरिटी गार्डको आँखा छल्दै हावा घरिघरि ढोकाको चेपबाट पस्छ र हल्का स्पर्श गर्छ तराजुमा । औंलाका चक्रले समेत छुँला कि नछुँला जस्तो हल्का स्पर्शमै लरबराउँछ तराजुको पल्ला । त्यस्तो लरबराइ देखेर निकै लोभिने गर्छु । सुन बिर्सने या भनौं सम्झाउने रङ अनि रहरलाग्दो छिनेको आकार ! वरिपरि शो-केशमा सजाइएका गहनाले भन्दा तराजुको ढिकिच्याउँमा पिङ खेलिरहन्छ मन ।

ज्यानमा अंगअंगमा गहना जडेर शारीरिक तौलबाटै व्यक्तित्वको वजन साबित गर्ने मिस्टर र मिस रनर अप निकै बढेका छन् आज । आफूलाई भने त्यसरी ठाउँ-कुठाउँ छेडछाड गरी गहना पहिरिएर शो-रुम बन्ने लोभ कहिल्यै पलाएन । तर किन हो, त्यस्तो फुच्चे तराजुमा भने मन टाँस्सिइरहन्छ । उसले मूल्य किट्ने भएर होला सायद ।


निक्खर सुनैको हुन सक्छ तराजु । तर, आजसम्म तराजुलाई किन कसैले सुन्दर र दामी भनेन हँ ? तराजुको काखमा च्यापिने वस्तु/पदार्थकै मादक मूल्यमा गयो सबैको नजर । आवरणमा अल्झिने आम प्रवृत्तिदेखि बिलकुल विपरीत रै'छ तराजुप्रतिको हाम्रो हेराइ । यहाँनेर, गुदीतर्फध्यानै नदिने छिपछिपे मूल्यांकन विधिको सिलसिलालाई तराजुको जोखाइले तोडे झैं लाग्छ ।

तराजु मन पर्छ । तराजु मन पराउन लायक औजार हो ।

धेरै पटक आफ्ना आँखा नै तराजु बनेका छन्, कहिले अरुका आँखाको काखले मापन गरेको छ आफ्नो वजन, जीवनको गति र एक भारी ढोंग ।

देश-काल-परिस्थितिअनुसार फेरिने धेरै कुरामध्ये हेराइ पनि एक हो क्यार ! यी तमाम फेरिने कुरामा सास फेराइ मात्रै साझा होला ।

सँगै काम गर्ने एउटा साथी डीभी परेर अमेरिका हान्नियो केही महिनाअघि । मध्यमवर्गीय सपनामा जुटेको आँखाले सुख र खुसीको रिहर्सल के-कति पापड बेलेर गर्नुपर्छ, भन्नु नपर्ला । उसले पनि त्यस्तै रिहर्सलमा आफूलाई खियाएको थियो । मध्यम वर्गीय परिवारले केही गर्न चाहेमा उसको पुँजी र हैसियत कुलीन परिवारको जति हुन्न । निम्न वर्ग जस्तो हदै उजाडिएर लाजको परवाह नगरी काम गरौं भन्दा पनि इज्जतले कुरीकुरी गर्छ । बडो मझधारको सफरमा लजालु अर्धमुस्कानमा हुन्छ मध्यम वर्गीय मुहार । साथी पनि त्यही अर्धमुस्कान बोकेर नेपालबाट बिदा भएको थियो ।

निकै मिल्ने साथी भएर पनि उसले राति अमेरिकामा सपनामा स्ट्याचु अफ लिबर्टीमा फन्का लगाइरहँदा म यहाँ दिवा सेवामा कुन मालिककोमा बन्धनमा जेलिइरहेको हुन्छु, सर्म्पर्क र कुराकानी पातलिंदै गयो ।

अन्ततः एक दिन इन्टरनेटको अनलाइन कुनोमा धिपधिप बत्ती बाल्दै ऊ आयो :

'के छ खबर ? कता हराएको हो ? कन्ट्याक्ट हुन छाड्यो नि !'

'म ठीकठाक', थेगो मुखमै आयो । कसैको यस्तो प्रश्नमाथिको प्रश्नको जवाफमा सप्रसंग व्याख्या गर्न हामीलाई समय पनि कहाँ हुन्छ र आज ! फेरि जवाफमा 'ठीकठाक'ले सन्तोकी पनि देखाउनु छ हामीले आफूलाई ।

उसलाई अमेरिकी जिन्दगीको कथा हाल्न लगाउँछु ।

भन्छ : 'जेनतेन चलेको छ ।'

सपना फल्ने, फुल्ने, पाक्ने तर नझर्ने देश अमेरिकामा पनि जेनतेन जिन्दगी !? म जिस्क्याउँछु साथीलाई ।

नेपाल हुँदा मेरा हरेक कुरा र प्रतिक्रियामा खिस्सखिस्स हाँसिरहने ऊ त्यहाँ पुगेपछि नहाँस्ने भएछ ।

च्याटबक्समा एक धर्सो स्माइली समेत नराखी थप्छ : 'गाह्रो छ नि । बाहिरबाट देखे जस्तो छैन । कानुनी रुपमा बस्नेले भन्दा गैरकानुनीवालाहरूले बढी कमाउँछन् ।'

हेराइ र जोखाइमा उसका आँखाहरूमा सपनाको अमेरिका बेस्सरी संघर्षमा क्याटवाक गरिरहेको देखें । ऊसँग कुराकानी भइरहँदा मैले बिर्सिदिएँ, खाडी मुलुकमा आँखा बाहेक सबथोक ढाकेर पसिनाको 'सावर' लिइरहेका कयौं युवालाई । सत्यलाई नमान्नु र नसहनुभन्दा बिर्सिदिनु न्यायसंगत छ ।

मौसमको कुरा हुँदा उसले अमेरिकामा नेपालभन्दा धेरै जाडो हुने कुरा सुनायो । कोठामा गर्मी अनि बाहिर जाडो रे ।

जवाफमा मैले ठेलें - 'मलाई यहाँ ठीकै जाडो हुन्छ, यहाँको जाडो ठिक्क अनि प्रिय छ ।'

साथीको तराजुमा म खै कसरी जोखिएँ ! मैले भने उसलाई कर्मको भट्टामा पाक्दै गएको युवकका रूपमा तौलिएँ ।

हेर्दाहेर्दै देखें, सिकारु कलाकारको क्यानभासमा लतपतिएर बग्नै लागेको रङ जस्तै गाउँको पाखामा रहेको उसको घर पक्की बनेको । अनि देखें, काकाहरूकै हाराहारीमा आफ्नो पारिवारिक सन्तुलन बनाएपछि उसको मुहारमा चढेको वासन्ती पालुवा । जहाँबाट आँसुका झार आफैं सुकेर जानेछ । यस्तैयस्तै कामना गरें ।

अरु सबैसबैलाई नापजोख गरे पनि आफूलाई तख्तामा टिकाउँदा झोक्किन्छ तराजु । कहिले बडप्पनमा अस्वाभाविक बढी स्कोर देखाउँछ, कहिले हीन भावनाको सिकार भएर प्राण शून्य देख्छ । कहिले एक्लो टापुमा बसेर यो जगत्लाई मिथ्या ठान्छ, कहिले सेरोफेरो मेरोको भाकामा जोड-गुणन गर्न एकोहोरिन्छ । घिसारेरै आफूलाई घाटसम्म पुर्‍याउनुअघि बाटोमा अनेक दस्तखत गर्छ मान्छेले । त्यो चाहे रगतले, चाहे पसिनाले । कतिपयको मसीमा घाम पर्दैन, कुनै बुटको थिचोमिचो पर्दैन र कर्मको रेखा रबर प्रिन्ट जस्तो सुन्निएर देखा पर्छ । ती सुन्नाइहरू समग्रमा एउटा पूर्ण यात्राका परिपक्व घाउहरू हुन् । घाम परेर सुकेको मसी र बुटले कुल्चिएर बीच बाटामै मेटिएको यात्राको वजन समेटेर जोड्ने हो भने घाउको गर्व झन् कति हुँदो हो संसारमा !

मलाई घाउ बोक्ने ज्यानभन्दा घाउले बोक्दै उकासेको जिन्दगी कसोकसो मन पर्छ । हेर्दै जाँदा संसारमा सीमारेखा मेटिन्छन् । हामीले प्रतिस्पर्धाका क्रममा एकापसमा छरेका कप्टेरा, बञ्चरो, धमिराको कोतर्‍याइ पनि मूल्यहीन भइदिन्छन् । एउटा सिंगो यात्रामा कमाएका र संसारलाई केही दिएका घाउ मात्रै झन्-झन् गर्विला भएर सामुन्नेमा छाउँछन् ।

आजको दिन हामी आँखाको तराजुमा आफ्ना घाउको लेखाजोखा गरौं !

[शुक्रबार साप्ताहिक, मंसिर २१ को अंकमा प्रकाशित]

1 comment:

  1. दीपक घर्तीJanuary 01, 2014

    एकैछिन भएपनि मन आफूबाटै टाढा कता कता गए जस्तो लाग्यो सम्झनामा डुबुल्की मार्दै। तपाइको लेखमा जादु छ त्यसैले त यसो फुर्सद हुँदा केही खुराक भेट्याउँछकी भन्दै छिर्छु यथा तिर पनि। कलमको मसी अलि छिटो छिटो भर्नुभए आभारी हुन्थे।

    ReplyDelete