जगदीश अवतार : संक्षिप्त आराधना

यस पुस्तकको बिक्रीबाट प्राप्त सबै रकम जगदीश घिमिरे प्रतिष्ठानको अक्षयकोषमा जम्मा गरिनेछ र प्रतिष्ठानको मूल उद्देश्य अनुरूप रामेछापका अति विपन्न जनताको अत्यावश्यक स्वास्थ्योपचारमा खर्च गरिनेछ।

२०६४ सालको मदनपुरस्कार विजेता कृति अन्तर्मनको यात्राको पेटबोली हो यो।

आत्मालापको नयाँ विधागत चिनारी स्थापित गर्ने तोडका साथ आएको उक्त संस्मरणात्मक/आत्मकथात्मक कृतिका लेखक हुन् जगदीश घिमिरे। स्वास्थ्यकै कारण यो लेखियो, स्वास्थ्यकै लागि यसलाई समर्पण गरियो। स्वास्थ्यकै कारण यो लेखिनुमा कति पीडादायी यात्राको चरण पार भएको छ। कम्ता दुःख र अनुभव-अनुभूतिको धारमा खारिएर निस्किएको छैन यो कृति। मल्टिपल माइलोमा नामक रक्तक्यान्सरबाट गिजोलिएर 'अब मसँग धेरै समय छैन' भन्ने आत्मचेतना सँगालेको थिलथिलो ज्यान अस्पतालको बेडमा पीडापूर्ण कोल्टे फेर्दाफेर्दै ल्यापटपमा जीवनकथा लेख्न बस्दा के-कस्तो अनुभूतिसाथ औंला खिटखिटाउला ? पढेपछि लफक्क भिजाउँछ।

आजसम्म मान्छे भइनँ कि भन्ने बोधले पाठकलाई झकझक्याउँछ र मानवताको परिचय एवम् विशेषतासाथ जिउन प्रेरित गर्छ। मैले पनि पढुन्जेल किताबको तिक्खर विषयवस्तुको आनन्दसँगै त्यसको असरले आत्मसमीक्षाको टर्रो झोललाई मुखभरि खेलाइरहें। पुरस्कार नपाउँदैको किताब पढ्नुको गर्विलो मजा बेग्लै थियो। हातमा सूली-नली उनेर अस्पतालको बेडमा पल्टिँदा मृत्युसँगको साक्षात्कारबाट उनी कहालिँदैनन्, बरु अनेक सत्यको बोध र उद्‌घाटनमा उनको दिमागी फित्ता घुमीघुमी दार्शनिक बोलीको मह काढ्न एकसुर बन्छ। सार्वजनिक तथा दैनिक बोलीव्यवहारमा स्पष्टवादी लेखकले आत्मालाप कृतिमा मृत्युको घेरा छुँदै सत्य ओकलेका छन्। त्यो सत्य विगतदेखि बगेर आफ्नै सामाजिक, राजनीतिक र पारिवारिक परिवेश तथा मानवजीवनका विविध सन्दर्भमा खुलेको छ । जसलाई साबित गर्न लेखक नै साक्षी भएर उभिएका छन्।

जीवन बुझ्ने आँखीझ्याल होइन, अन्तर्मनको यात्रालाई त सिङ्गो ढोकै भनिदिए हुन्छ । त्यति सघन ताप उनले शब्दमा भरेका छन्। मर्मस्पर्शी आख्यान र सटीक व्याख्यानको चपैचेप लेखकले एउटा सार्थक किताबको गोरेटो कोरेका छन्। आफ्नो जीवनको उकालीओरालीलाई शब्दमा सम्याउँदासम्याउँदै उनी जीवनदर्शनकै मेहेरो केलाउन पुग्छन्। जस्तै, पुस्तकभित्र भाव, स्वभाव, स्ववास्तविकता शीर्षकको सातौँ परिच्छेदमा जगदीशका हरफहरू छन्-

व्यवहार मान्छेको स्वभाव हो। स्वभावको गहना नम्रता हो । नम्रता हीनता होइन, नम्रता अहङ्कारहीनता हो।

कसैले अहङ्कारीलाई उसको व्यवहारको कमजोरीबारे सङ्केत गर्‍यो भने (कसैलाई पनि संकेतभन्दा बढी गर्न गाहारो हुन्छ, अहङ्कारीलाई त असम्भव हुन्छ) पहिलो, उसले स्वीकार नै गर्दैन। दोस्रो, सुधार्नै चाहँदैन । कदाचित् स्वीकार गरेर सुधार्न चाहिहाल्यो भने पनि समय लाग्छ। समस्या त्यो हो।

तर समस्या समस्यामा हुँदैन। समस्या मान्छेमा हुन्छ। समस्या मान्छेको अ
हङ्कार, मूर्खता र स्वार्थमा हुन्छ। समस्या तब हुन्छ, जब मान्छेले आफ्नो समस्या आफूमा होइन अरुमा देख्छ । समस्या तब हुन्छ, जब मान्छेको समस्या हेर्ने दृष्टि नै समस्या हुन्छ। समस्या तब हुन्छ, जब मान्छेले आफू मात्रै जान्ने छु भनी ठान्छ । अनि त्यसको समाधान हुँदैन।

किताब पढेपछि लाग्यो, यो नपढेको भए त मेरो अध्ययनयात्रा अधुरै रहने रहेछ। नसोचेको स्वाद घुटुक्क पिलाइदिएको थियो कृति अन्तर्मनले। लेखकको गुदीहरफ २३५ पृष्ठ मा फैलिँदै गर्दा कतै पनि झिँजो लागेन । १८ परिच्छेदको किताब युवाहरूलाई आधुनिक महाभारतको १८ पुराण भन्न मन लाग्यो। सारै जतनसाथ शब्द चलेका छन् भुतुक्कै पार्नेगरी। यसरी मैले भनिरहँदा प्रशंसाको भकारी ठड्याएको लाग्न सक्छ। कति प्रशंसा तान्ने खुबी रहेछ किताबको, कतै निस्तो पो छ कि, यसका लागि एकपल्ट यो किताब अवश्य पढ्नोस्। लेखकको आफैंसँगको कुराकानी अर्थात् आत्मालाप यस कृतिको अध्ययन गरेमा लेखकको भावना अर्कोसम्म पुग्ने हुँदा लेखकलाई त लाभ छँदै छ, पढ्नेले पनि पुस्तकको अन्तिम पृष्ठ पल्टाउँदासम्म आफूमा मलिलोपन लिएर निस्किनेछ। यो पक्का हो।

जगदीशको यो किताब पढुन्जेल मदन पुरस्कारको झस्को पनि पसेथ्यो। अर्थात् कतै यही कृतिले त उम्काउने होइन नेपालको नोबेल पुरस्कार! यतिको मिठासे किताब नपढेको जुग बितेथ्यो । त्यसो त पुरस्कारै नपाए पनि किताब जनजनको मनमा बसेर अलग्गै आस्थाको उचाइमा पुगिसकेको हुनेथ्यो। पुरस्कारले त लेखकीय भावना र जिम्मेवारीको सम्मान मात्र गर्ने हो। पुरकार पाउने लहरमा सञ्जीव उप्रतीको उपन्यास घनचक्कर र डा गोविन्दराज भट्टराईको समालोचनात्मक ग्रन्थ उत्तरआधुनिक विमर्शको चर्चा पनि उर्लिरहेकै थियो। प्रकाशन तिथिमा पनि तीनै कृति २०६४ कै घेरोमा रहेछन् । त्यसैले सम्भावनालाई ठूलो ठाउँ थियो।

पढ्नलाई सकस लाग्दालाग्दै पनि घनचक्कर उपन्यास आफ्नै मान्छेको हातबाट उपहार पाएकाले स्नेहवश तानिएर पढेको थिएँ। त्यसैले चर्चामा आएको र पुरस्कारको दाबेदार उक्त किताबको वजन आफ्नो हेराइमा बनाउन पाएको थिएँ। प्रयोग र विषयवस्तु प्रस्तुतिमा उपन्यासकार उप्रेतीलाई सराहना गर्नुपर्छ, तर मनले राम्रो किताब भने र पटक्कै मान्यता दिएन घनचक्करलाई। उता डा. भट्टराईको पुस्तक रुखो विषय समालोचनाको भएकाले त्यसले पुरस्कार लैजाला भनेर पटक्कै लागेको थिएन। सर्वत्र चर्चामा जगदीश र अन्तर्मनको यात्रा नै थियो। एक हिसाबले 'क्वेश्चन आउट'को स्थितिजस्तो। भविष्यवाणी गरे जस्तै भयो, अर्थात् अन्तर्मनको यात्राका जगदीशलाई मदन पुरस्कार। तिम्रो अमरता साबित भइसक्यो जगदीश!

सेप्टेम्बर २२, २००८ (नक्साल)

Post a Comment

1 Comments

  1. जगदिश घिमिरे: खै कसरी म बयान गरौँ ???
    अनि उनले गरेको काम को कसरी मुल्याङ्कन गरौँ ???

    जेसुकै भए पनि, मदन पुरस्कार पाउन सफल हुनुभएकोमा हार्दिक बधाई, अनि स्वास्थ्य लाभको कामना पनि !

    ReplyDelete