उदयपुरमा सिमेन्टको लागि चुनढुङ्गाको प्रचुर खानी छ भन्ने कुरा पुरानो भइसक्यो । उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा आएको नै दुई दशक नाघिसक्यो । र, तपाईँलाई थाहा नभए भनिहालूँ, उद्योगबाट उत्पादित गैंडा छाप सिमेन्ट कतिसम्म गुणस्तरीय छ भने देशभरि लुछाचुँडीमा पर्दा धेरैजसो त उदयपुरभित्रैका बासिन्दाले सिमेन्ट पाउँदैनन् । माग धान्न नसक्ने नमुना उद्योग यो पनि हो एउटा ।
तर उदयपुरको सहरोन्मूख परिवेशमा चुनढुङ्गाको खानी मात्र गन्तीमा आउने कुरा हो र ? पक्कै होइन । यहाँ त लोकसेवापण्डितहरूको छिप्पट खानी पनि देख्न सकिन्छ । त्यसो त स्याङ्जा, लमजुङतिरका धुवाँदार पढन्तेलाई उदयपुरका लोकसेवापण्डितले नभेट्लान् । तर पढन्तेहरूको लर्को र तन्मयता हेर्ने हो भने उदयपुरे ठिटाहरूको 'ग्रामीण ऊर्जा'सामु जोकसैले जिब्रो टोक्नुपर्छ । पढ्ने सवालमा उनीहरू गुफाबासी बन्छन् । र, लोकसेवाको पढाइमा यस्तो पलेँटी कसाइ अचूक अस्त्र नै हो ।
बल्ल साँझपख मात्र पढाइको बोझलाई टाउकोमा हलुका टोपी बनाउने धुनमा टहलिनलाई यी पण्डितहरू चौकतिर निस्किने रहेछन् । नत्र अरुबेला त यिनको नाक-मुख देख्न पनि मुश्किल पो हुने गाँठे ! माथिका दुई तन्नेरीहरूसँगको मेरो तस्बिर पनि चौकतिर टहलिने बेलामा साइत छोपेर खिचिएको हो । एक हुन् अङ्कुल थापा (बायाँ चेक सर्टमा) र अर्का बुद्धराज निरौला (दायाँ छेउ) । थापाजी मेरा स्कुले दौँतरी हुन् भने निरौलाजी प्यारा भाइ । अनुभवको मामिलामा थापाजी सबैतिर आँखमिचौली गर्न सक्ने खुबी भएका मनुवा हुन् ।
सम्वत् २०५८ ताका साहित्यबाट सामाजिक सहभागितामा जोडिएका थापाजी युवा सञ्जालको अभियान, राजनीति हुँदै अहिले भने पूर्णरुपेण लोकसेवाको पढाइमा मोडिएका छन् । निजामतीको एक सिट उनको लागि पनि कतै न कतै पर्खिरहेको होला । अर्का हितैषी निरौलाजी हामीले उदयपुरमा २०५८ सालमा दियालो नामक पाक्षिक भित्ते पत्रिका चलाउँदा यसो कवितासमेत कोर्थे । उनी सोझो विश्लेषणमा साधु मानव हुन् । र, उनीसँग त्यस्तो विघ्न सङ्गत पनि गर्न नपाएकाले बाँकी कुरा मेरानिम्ति निराकार छ ।
भेट हुँदा दुवैका कुरा मैले सुनेँ, मेरा कुरा दुवैले सुनेँ । कुनै बेला अचम्मै छाँटले लोकसेवाको किताबमा उनिन थालेको मलाई उनीहरूको यात्रामा समभाव जनाउन मन लाग्छ । ध्यान र लगन त ठूलो कुरा हो जिन्दगीमा । बाँकी कुरा त गोरेटो आफैँ हाम्रा सम्मुख आएर जवाफ दिइहाल्छ । एक टुक्रा जिन्दगी जागिरे यात्राको निजामती सेवामा पनि छ । तर त्यही नै सबथोक त होइन, कसो ?
शुभ होस् थापाजी !
सफलतम निरौलाजी !!
***
जून १४, २००८ (नक्साल)

No comments:
Post a Comment