माडिएको धर्तीकै चेपबाट 
फुटेका हौँ हामी 
कुनै बीज झैँ
अथवा
देहको हारमोनियममा 
घमौराको सरगम झैँ


निश्चिन्त भए हुन्छ-
आपत्तिले हाल्नेछैन सोडा 
हाम्रो धैर्यको उत्सवमा
मर्जी होस् महाराज,

के नगरौँ हामी
के निषेध छ यो लोकमा

अब
मात्र त्यही-त्यही हुनेछ

तुरतुरे कुलोदेखि डराउनुहुन्थ्यो
अब बाढी नै ल्याउनेछौँ
एक सर्को झिल्कोदेखि आत्तिनुहुन्थ्यो
अब घुरको हिमालचुली उठाउनेछौँ

चुप नबस्नुस् महाराज
बकबक जारी रहोस् 
चकचक हुँदै गरोस् 

के नगर्नू हामी
के नबोल्नू हामी
कता नजानू हामी
कुन सपथ नखानू

अब
मात्र त्यही-त्यही हुनेछ ।