विजयादशमीको हार्दिक मङ्गलमय शुभ कामना!


जो जहाँ रहनुहुन्छ, टीका लगाउने-नलगाउने जस्तो परिस्थिति भए पनि त्यसैमा खुसी हुन सक्नुहोस् । यस वर्ष कतिलाई बिदा मिलेन होला, कतिलाई पाएको बिदामा पनि के-कसरी घरसम्म पुग्ने हो भन्ने झन्झटले पिरोल्यो होला। विदेशिएकाहरूलाई देशको सिमानादेखि टाढा रहनुपर्दा अघिल्ला वर्षहरूका यादको सहारा नै रामरमाइलो गर्ने बाध्यात्मक बहाना बनिरहेको होला। मुलुकमा मौलाएको परिवर्तनको मुना जमरा जस्तै पहेंलिएर त नजाओस्, यही कामनाका साथ दशैंलाई मनाऔं । आखिर वर्षदिनको चाड, नेपाली संस्कृतिको परिचायक मानिने दशैंमा खुसी नै हुन खोज्छौं सुख-दु:ख जे भए पनि । यही गन्थनको साथ दशैंको बहानामा दशैंकै कविता बिसाउँछु:

Ping

संस्मरण दशैं

ताछिएको पाखोबारी र निधार
छैन केही फरक
रोपूँला यही पाखोबारीमा
अक्षताको दूबो
छोपूँला खिया पर्दैगएको शिर
जमराको सिउरले

स्वजनको आशिष्‌ले ओत देला
थामिन्छ कि अब
पलपल झोंक्किने पैँतालाको पहिरो
सरुवा भई आउँछ कि
उही पुरानो ठेगाना पैल्याउँदै
सौभाग्य नामको हल्कारो

छाडेको चिया झैँ एकदम चिसो
निभेको चुरोट झैँ ध्यानमग्न
कुनै घर होला परदेशीको पर्खाइमा
सुकेको सिट्ठा बाँस भएर
कुरेका होलान् निर्बलिया बा-आमाले
तुफान हुँदै आउनुपर्ने लालाबालालाई

भोकले दोब्रिएको पेट जस्तै
बटारिएका यी बाटाहरू पार गराउन
छैन पर्खाइ कुनै देवदूतको
दशैं आउँछ र आउँछन्
सम्झना र समस्याका भँगालोहरू एकसाथ
कतै
टीका उजाडिएको निधार खडेरीग्रस्त पाखोबारी
कतै
टीका टाँसिएको निधार -
ताराको दाग उम्रिएको बिफरग्रस्त आकाश ।