![]() |
तालिममा बारम्बार औंला उठाएर सतर्क गराए जस्तो ए है, दशैं त आयो भनेर आफैंलाई याद गराउनुपर्ने भएको छ । होशचेत गुम भए झैं चाडबाडको पत्तो नै छैन । होश नभएपछि यसको अनुभूति नहुनु स्वाभाविकै हो । दशैंको रमझमलाई स्वर्गै ठानेर मक्खिने बालापन अब रहेन, यसैले उमेरकै पनि दोष होला । कि त चाडबाड मनाउने चलन नै फेरिएकोले दशैंको अनुभूति हुन छाडेको हो ! वरिपरि हेर्यो, कुनै रौनक पनि देखिन्न।
हुनत, 'शहरको दशैं' सानो हुन्छ, दशैं मान्ने खास जमात गाउँतिर उर्लिएपछि दशैं उतै बढी फक्रिन्छ । गाउँलेहरूकै ओइरोले त सहरलाई 'सहर' बनाएको हो । काठमाडौंको दशैं कहिल्यै पनि खुलेको देखेको छैन । बरु तिहारमा बेहुली झैं रातो-पिरो हुन्छ । यसैले भुक्तभोगी दाइहरूले दशैंमा गाउँ जान नपाएर काठमाडौंमै कुथुर्किनुपर्दा भनेको सुनेको छु, "यहाँ दशैंमा साह्रै नरमाइलो, तिहारमा बरु ठीक !"
दशैं आयो है भन्ने कुरा पनि टेलिभिजन र रेडियोमा मालश्री धुन बज्न थालेपछि मात्र चस्का लाग्छ । मिडियामा निर्भर हुँदै गयो चाडबाडको रौनक पनि ! अर्कोतिरबाट हेर्दा यस्तो बेला मिडियाको महत्त्व पनि साबित हुँदो हो, रेडियो-टिभी नहुँदा हुन् त चाडको उल्लासमा मन कसरी पो फुरफुर हुँदो हो गाँठे भनेर ! अहो, मालश्रीको मुटु रेट्ने खालको विरही गुञ्जन । कहिलेकाहीं त लाग्छ, यो धुन पर्वकै खुसियालीमा बजाउने हो कि वियोगमा सुकसुकाउँदा ? यो धुन बजिरहँदा औडाहा हुन्छ, मन सुकेको पात जस्तै फरफराउँछ । मेरो अनुभूतिको कुरा यो । कतिलाई रमाइलै लाग्ला । घरदेखि टाढा एक्लै दशैं मनाउनुपर्दा (मनाउनु पनि के भन्नु !) को पिरोलोले होला विरह जागेर निरस लागेको । अझ विदेशमा रहेकाहरूलाई त झन् के बित्दो हो यस्तो व्याकुलताले ! यसपाली आफू पनि घर नजाने भइयो ।
दशैंको रमझमलाई स्वर्गै ठानेर मक्खिने बालापन गयो । आजकाल दशैंमा मक्खिँदै हिंड्ने लालाबाला देख्दा इर्ष्या जाग्छ । सबै उल्लास बालापनसँगै बिदा गरियो जस्तो लाग्छ । त्यही बेला मनाइयो जीवनभरिको दशैं । नयाँ नाना, मीठो खाना, लिङ्गे पिङमा झट्का ! चेलीबेटी आफू नपरिए पनि आँखा पिलपिल पारेपछि उ बेला हजुरबा र बाबाट ५-१० रुपैयाँ भेट्दा मिल्ने खुसीको तुलना केसँग होला र अब ? तिनै हजुरबा-बाको आँखा छल्दै गाई-गोरु बाँध्न भनी बाटिएको डोरी लगेर भाइ-बहिनीहरूको फर्माइशअनुसार तिनकै बटालियन जम्मा पारेर बडहरको रुखमा पिङ हाल्नुको मस्ती अब कुन कुरामा छ ? ठूलो हुन्जेल पनि दशैं-तिहारमा जानी-नजानी जुटपत्तीसम्म भए पनि तास खेल्दा, अर्कोले झेली गर्यो भन्दै २-४ रुपैयाँको लागि झगडा गर्दाको तृप्ति अपरम्पार छ !
![]() |
सर्लाही हरिनगरस्थित मामाघर |
पछि हजुरआमा पनि बित्नुभो । हजुरबा पनि उमेरसँगै होशचेत राख्न नसक्ने हुनुभो। इन्जिनीयर मामा सपरिवार घरबाहिर नै बस्ने । मामाघर उजाड लाग्दै गयो । आफूसँगै फुच्चे रहेका मामाघरका साथीभाइले पनि जुँगारेखी हाल्दै गए । अब बनावटी शिष्टाचार राख्नुपर्ने भो, चञ्चलतामा लगाम कस्नुपर्ने भो। उमेरसँगै समाजले बनाइदिने साँचोमा ढालिँदै गइयो आफूलाई । आफ्नो पढाइको चाप, बा-आमाको पनि व्यावहारिक व्यस्तता । मामाघर भन्ने रहरलाग्दो ठाउँको मोहनी छुटाउँदै जानुपर्यो। त्यस्तो प्यारो मामाघर नगएको अहिले कति वर्ष भइसक्यो।
दशैंको हार्दिक शुभकामना तपाईंलाई!
3 Comments
भक्कानो फुट्ला फुट्ला जस्तो भो दाजू......अनि खुसी नि लाग्यो दशैँको सम्झना ताजा गरिदिनुभएकोमा....पढिराख्दा आँखा झिमिक्क भयो भएन थाहा पाउन सकिन मैले...१ पेग एकै सासमा स्वाट्ट पारे जस्तो.....अलि अलि मातिए जस्तो.....
ReplyDeleteमालश्री धुनले परदेशी मनहरुमा साँच्चै नै बिरहको भू-कम्प ल्याउँछ धाइबा जी :(
ReplyDeleteतपाईंको खिपिएका शब्दहरुमा बालापनको दसैं स्मृतिले मलाई पनि बालापनमा फर्कायो।
तपाईंलाई पनि दसैंको शुभकामना!!!
dashainma gaule timilae pauna saken tar aasa 6 tiharama to abha purti hune 6
ReplyDelete