'ढुंगा अगाडि घन्टौं बस्नुहुन्छ, के दिन्छ त्यसले ?' मैले घर बसुन्जेल आमाको पूजाविधिमाथि टिप्पणी गरेर झिंजो लगाइरहन्थें । आमाको जवाफ हुन्थ्यो - 'आफूले (पूजा) नगरे पनि यस्तो चाहिं नभन्नू काले !'
हुन पनि हो ।
कसैको मनको आस्थामा धावा बोल्नु पापै हो । कसैको मान्यतालाई भत्काउन खोज्नु अधर्म हो । धार्मिक आस्था मानिसहरुले नै रचेको मन बुझाउने मेलो हो भन्ने लागिरहन्छ सधैं । मान्छे नै हो अद्भूत रचनाकार । जीवनशैली सहज तुल्याउन र सामाजिक व्यवस्थापनका लागि उसले अनेक शर्त र सीमा कोरेको छ यो लोकमा । कतिपय निकै वैज्ञानिक पनि छन् । धर्म-अधर्म ईश्वरसँग जोडिन्छ कि जोडिंदैन थाहा छैन, तर पाप र पुन्यको भने ख्याल हुन्छ मलाई । मानवीय भाव कुतकुतिएर अन्तरमा कतै हिउँ पग्लिन्छ । तर ईश्वरको अस्तित्वप्रति कहिल्यै विश्वास भएन । ईश्वर छ भने धर्म-अधर्मको हिसाबले हुनैपर्ने कुरा किन हुन नसकेका र नहुनुपर्ने कुरा किन भएका ? हुन्छ भने झन् यति क्रूर किन हुन्छ त्यो शंकास्पद अस्तित्वको ईश्वर ? शक्तिको दाबी गरिने र रेखदेखको ठेकेदार मानिने ईश्वरले संसारमा हुने उचित-अनुचित घटनामा हिस्सेदारी त पक्कै राख्नुपर्ला ।
यही सन्दर्भमा गत असोज २३ गते २७ वर्षको कलकलाउँदो उमेरमा निधन भएका पत्रकार तारा रेग्मी (आरोह) को नियति र ईश्वरीय लीलामा मन बरालिंदा अमिलिएँ । मृत्यु सत्य हो । तर त्यसको पनि त केही नियम र अवस्था हुँदो हो, यदि ईश्वर छ भने । कि त ईश्वरको लोकमा अनुशासन सबैभन्दा घटिया कुरा हो कि ? ताराको मृत्युमा मैले आफ्नै मृत्यु पनि चाखें । नत्र अराजकता, अनियमितता र भद्रगोल खटन हुन्छ भने के को ईश्वर ! ईश्वर र मान्छेमा फरक के ? कथित दैत्य र ईश्वरलाई मरेको दङदङी गन्हाएका माछासरि एउटै तराजुमा किन नजोख्ने ? यस्तैयस्तै विकृत सोच आएर एउटा कविता लेखेको थिएँ ।
-- ईश्वरको पिशाचलाई --
> पत्रकार तारा रेग्मी (आरोह) < |
ईश्वर,
तँ र दैत्यमा के फरक छ ?
तँ पनि देखिन्नस्, दैत्य पनि देखिँदैन
तँ के हिंड्न सिकाउँछस मान्छेलाई !
तेरो पैंताला अगाडि फर्केको छ कि पछाडि ?
वा तेरो गोडै पो छैन कि !
तँ गोताखोर झैं गाडिएको वीरुपाक्ष होस् ?
पोस्टरमा तँलाई जत्तिकै
चम्किलो गरी छाम्न सकिन्छ दैत्यलाई
तैंले त्रिशूल रोप्दा आँ गरेर रक्तमुच्छेल हुन
उसलाई कति रिहर्सल गराइस् ?
तँ पालनकर्ता रे
चुनौतीलाई चाल्दाचाल्दै मान्छे चाल्नो भएको देख्दैनस् ?
मान्छे कहिले भयो तेरो पशु र पाल्न थालिस् ?
तेरो निराकारमा पनि छैन कुनै आभास
आभास गर्नलाई पनि मान्छे तँ जत्तिकै शक्तिशाली हुनुपर्ने ?
तेरो शक्तिबिना भक्ति सम्भव छ कि छैन ?
भन्छन् - ईश्वरले जे पनि गर्न सक्छन् रे !
तैंले पिसाब फेर्दा हद्द भए
दुई कोपरा फेर्न सक्लास्
यत्तिकैमा तँ कसरी ईश्वर बन्न सक्छस्
ईश्वर,
तँलाई महसुस गर्न सक्दिनँ म
तँ कपास जस्तै हलुका भएर तैरिएलास् हावामा
तर तेरो सास मान्छेलाई कतै गन्हाउँदैन
पृथ्वी आफैं एक्लै गुडिरहेछ मान्छेको पैंतालामा
तैंले घुमाएको लट्टु रहेनछ पृथ्वी, बुझिस् ?
तँलाई होइन यो सम्बोधन
तँ जस्तो बनेर फैलिरहेको तेरो पिशाचलाई ...
सिम्प्ली वाह !!!!
ReplyDeletedaaaami...
ReplyDeleteiswor ko pichas hoina iswor lai nai nayik xa jasto lago,, kina pichas lai vaneko,
ReplyDelete