भक्तपुरतिर यसै घुम्न निस्किएका थियौं । साथमा थिए सहकर्मी, कविमन तथा भक्तपुरकै रैथाने रुपेश श्रेष्ठ । बिस्केट जात्राको रौनक नियाल्ने उद्देश्य रहे पनि मेरो लागि भने भक्तपुर दरबार स्क्वायरतिरको सफर नै जात्राभन्दा कम आकर्षक थिएन, पहिलो पटक पुग्दै थिएँ त्यता । तर त्यो दिन जात्रा रहेनछ । बरु मानिसको बलमिच्याइँ र अत्याचारका कारण रिसाउँदै गएको प्रकृतिको कुरुप अनुहारको साक्षी बन्यौं हामी । जात्राभन्दा कम प्रभावकारी थिएन त्यो कुरुपता । तर जात्राजत्तिको प्राचीन भने होइन ।
खडेरीले डामेको बन्दरगाह जस्ता ढुंगेधाराहरु, आफैं प्यासी बनेर ‘पानी… पानी’ भनेर तड्पिंदै मुख बाइरहे जस्ता इनारहरु अनि पानीको खोजीमा ओठ-तालु सुकाएर युद्धरत मानिसको झुन्ड । पानीको दुःखले आलसतालस बनेर इनार वरिपरि बल्छी थापिरहेका भक्तपुरेहरु धेरै ठाउँमा देखिए । त्यो दयनीय हाल देखेर हामी चुकचुकाउन सक्थ्यौं, चुकचुकायौं । काकाकुल सहरको तिर्खा मेटाउन नसके पनि तिर्खाले सुकेका रुखा मनहरुको तस्बिर पनि खिच्यौं । तस्बिरमा पीडाको खास गहिराइ र टापुको झलक खै के उत्रँदो हो र !
‘पानी… जिन्दगानी’ भनेर बोलीचालीमा र गीति भाकामा समेत निकै सुनिएको हो । तर यहाँ त त्यही जिन्दगानी बोक्दै पानीकै लागि सास फेरिरहे झैं नगरवासीको हुल थियो । सहरमा जारको पानी किनेर मुख धुने र कुल्ला गर्ने ‘भाग्यमानी’ हरु धेरै छन् । त्यसमा कतिपय सुविधाभोगी होलान्, कतिपयको विवशता नै हो । जब सरकारी धारामा पानीको साटो महिना मरेपछि ‘बिल’ मात्रै चुहिन्छ, जब पानीको मुहान भएको ठाउँमा पहुँचवालाले पम्प जोडेर भ्याकुम क्लिनरले धुलो तानेसरि तनतनी पानी सोस्छन् अथवा जब केहीको रोजीरोटीको नाममा कसैको व्यापारिक प्रयोजनका लागि पानीको स्रोत सुक्ने गरी अजंगको भवन ठड्याइन्छ । तब ‘पानी- एक सपना’ बन्छ । हाम्रा लागि अरबको तेलकुवा निकै परको् कुरा हो । केही जरुवा र मूल भए पुग्छ । तेलकुवा भए पनि त्यसलाई खनेर धनी हुनका लागि पहिले त बाँच्नका लागि पानी नै खानुपर्यो नि ।
पानी सुलभ भएको ठाउँमा पनि अर्कै कथा हुन्छ । त्यस्ता ठाउँमा डेराको मोलमोलाइमा पानीको ‘मेनु’ देखाएर भाउ कस्ने घरधनीको पनि छुट्टै बजार छ । मानौं पानी भनेको आधारभूत सुविधा र आवश्यकता नभई अमृत वितरण हो ! पानी कहाँको मीठो, कुन ठाउँको ठुस्स गन्हाउने भन्ने विषयमा पनि सहरवासीले शोधपत्र नै तयार पार्छन् ! मिर्गौलासम्बन्धी रोगबाट बच्न दैनिक कम्तीमा दुई लिटर पानी पिउनुपर्छ भनेर चिकित्सकले दिने परामर्श खानेपानी संस्थानलाई छु मतलब !
पानी-विमर्श पछि पनि गर्दै गरौंला (यो समस्या समाधान हुनुभन्दा विश्वव्यापी रुपमा झनै चर्कंदै जानेछ ) । पानी संकटको विषय सधैं सामयिक रहनेछ ।
अहिले भने भक्तपुर भ्रमणका क्रममा खिचिएका केही तस्बिर नै हेरौं :
रुपेशजी इनार हेर्दै कि पानी ? कति छ पानी, हामी पनि एकछिनपछि हेरौंला …
पानीका लागि बल्छी थाप्दै । कसको पासोमा पर्ने हो पानी !
उछिनपाछिन गर्दै बल्छीहरु । माछा भाग पुग्ला सबैलाई ?
माछा अर्थात् पानी । भुलभुलाउने जरुवा डब्बामा उभाउँदै कहिले पो तानिसक्ने हो बरै !
ल हेर्नुस्, कति कसरत गर्नुपर्ला ठीक ठाउँमा बल्छी पार्न ।
पानी- एक सपना… । पानी भर्दै गर्दा टोलाउँदै युवती ।
त्यति मिहिनेत गरेर पानी झिक्दा यस्तो तुरतुरे धारो !
ट्याङ्करबाट पानी थाप्न भाँडाको लाइन । घुम्तीमा परसम्मै लामबद्ध थिए डब्बाडब्बी ।
ट्याङ्कर कुन बेला आउने हो, ठेगान छैन ।
अर्को इनार, अरु बल्छी । ‘माछा’ भने उस्तै सीमित ।
‘पर्ख है, मेरो भाग पनि राखिदेऊ !’
धारा, कलपछि अब सायद सुक्ने पालो इनारको !
चैत-बैशाख आएर सुकेका होइनन् ढुंगेधारा ।
‘नमस्कार, माफ गर्नुहोला । म आफैं प्यासी छु ।’
पानी आउने (रसाउने भनौं) ढुंगेधारामा दुई थोपा आँसु तप्प-तप्प जस्तो हालत ।
काकाकुल सहरमा नयाँ पुस्ता सायद ‘पानीपुरी’ खाएर प्यास मेट्ने अभ्यास गर्दै छन् ।
जलश्रोतको धनी देश त्या माथी नी राजधानी संगैको शहर । वाह रे हाम्रो शासक,नेताजी- जाबो सशुल्क पानी त दिन सक्दैनौ भने के का लागी भोट माग्छौ ए नमक हराम हो ?
ReplyDeleteफोटो ब्लग गज्जप छ । जोतारे दहि बा
Dherai ramro cha.
ReplyDeleteekdam ramro lagyo :)
ReplyDeleteपानीलाई तेलको ब्यावहार गर्नुछ,
ReplyDeleteकाकाकुल शहर !!
फोटो ब्लग्गिंग राम्रो लाग्यो :)
ReplyDeleteभाँती पुर्याएर खिचिएका ह्रिद्यबिदारक तस्विरहरुमा मन छुने क्याप्सनहर साँच्ची नै राम्रो लाग्यो!!!!!
ReplyDeleteकेही समय अगाडि पनि पढेको (हेरेको) थिएँ यो पोस्ट । आज दिउँसो घुम्दै हिँड्दा कुनै ठाउँमा करिब करिब यस्तै 'नियति' देखियो अनि फेरि हेर्दैछु यो 'काकाकुल'। तस्विर र लेखाइ दुवै बेजोड छन् :)
ReplyDeleteबेजोडको शब्द संगै मुर्त तस्विरहरुको संगालो ले यथार्थको चित्र गरेको छ !
ReplyDelete