गाउँघरतिर किसानलाई रासायनिक मलको सधैं अभाव भइरहँदा शहरका प्रमुख चोकमा ‘सपिङ मल’ छाती फुकाएर फस्टाइरहेका छन् ।
मल बिनाका चोकहरु बुच्चा लाग्न थालेका छन् उपभोक्ताहरुलाई । किनमेल संस्कृतिमा ‘नुनदेखि सुनसम्म एकै थलोमा पाइने’ मलको नाराले उनीहरुलाई ललिपप देखाएर बानी पारिसकेको छ ।
एकादेशमा नेपालका शहरमा मल नामका यस्ता भवन थिएनन् । शहरमा घर मासिएर सटर र कवलहरुको लम्बेतान व्यापारिक क्षेत्र बनिरहेको छ । अर्कातिर, यहाँका मानिसको उँचाइको मोह र ध्याउन्न अग्ला सपिङ मलहरुले झल्काइरहेका छन् ।
एकादेशमा काठमाडौं उपत्यकामा धरहरा भन्ने जिनिस सगरमाथा सरह नै थियो । नौ तलाको धरहरालाई मानव सभ्यता र विकासको प्रतीकका रुपमा पनि धेरै बखान गरियो । २०६१ माघ १ गते सर्वसाधारणका लागि खुला गरिएको धरहरामा दैनिक सयौं चढ्छन् र धुलो-धुवाँले छोपिएको काठमाडौंलाई एक नजर टकटक्याएर हेर्न खोज्छन् । तर धमाधम विशाल संरचना थपिएपछि धरहरा पुड्को बनेको छ ।
१८८२ सालमा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाउन लगाएका १२ तले धरहरा १९९० सालको महाभूकम्पले भत्कियो । त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले नौ तले बनाएर पुन:निर्माण गरेपछि अहिलेको स्वरुपमा आएको हो । तर, अहिले धरहराको अस्तित्व नदेखिन कुनै भूकम्पीय झट्का आउनुपरेको छैन । पहिले शहरको खुला संसार नियाल्न मान्छेहरु धरहरा चढ्थे । अब धरहरा हेर्न वरिपरिका अरु भवनको छत उक्लिनुपर्ने डर बढेको छ ।
यस्तै दुरावस्था खेपिरहेको धरहराको विभिन्न समयमा खिचेका तस्बिर यसपटकको फोटो ब्लगमा :
No comments:
Post a Comment