March 30, 2011

Lassi @ NewRoad

काठमाडौंको तापमान धरहरामा उक्लिँदैछ । तर कतिबेला चिसो हावा चल्छ र कतिबेला हप्प हुन्छ, यहाँको मौसमको कुनै ठेगान हुन्न । टन्टलापुर घाम लागेर छ्‌याङ्ग खुलेको दिन अकस्मात् झरी बर्सिन्छ । आकाश धुम्मिएको देखेर घरबाट छाता बोकेर निस्कयो, त्यो दिन छिटा पानी पर्दैन । अनि भोलिपल्ट मौसमको सामान्य अवस्था देखेर निर्धक्क खाली हात हिंड्यो, पानीले चुटेर मुसो बनाउन बेर लगाउँदैन । यस्तो अवस्था धेरै पटक खेप्‍नुपर्छ राजधानीका बासिन्दाले ।

गर्मी जसै बढ्दै जान्छ, न्युरोड इन्द्रचौकको एउटा कुनाको मौसममा भने सधैं उस्तै रौनक देखिन्छ । एकनासको गति । पङ्क्तिबLassiद्ध मानिसहरू धाराको पानी थाप्‍न लाइन लागे झैं एकसुरमा देखिन्छन् । झरी बर्सिएर मानिसहरू ओत लागेका पनि होइनन् । नजिकै खुला रूपमा खोलिएका ओढ्ने पसलहरूमा बर्कोको मोलमोलाइ पनि कोही गरिरहेका छैनन् । बरू आफ्नो रुखो आँतलाई शान्त पार्न लस्सी खानेहरूको त्यहाँ भीड लागेको पाउनुहुनेछ । घमाइलो दिनमा तपाईँ त्यहाँ पुग्नुभयो भने गुरुम्म भीडले सेतो गिलास समाएर ठाडो घाँटी पारिरहेको देख्‍न सक्नुहुन्छ । जनकपुर दही लस्सी भण्डारको के छ त्यस्तो विशेषता, एकचोटि स्वाद चाखेपछि फेरि-फेरि त्यो रुट हिंड्दा त्यो चिनाजाना स्वाद लिन मन लागिहाल्छ । (विज्ञापन नै गरे जस्तो भयो है :-) राम्रो कुरा सबैलाई जानकारी दिँदा विज्ञापन हुन्छ भने त्यो नै सही !)

त्यो लस्सी भण्डारको प्रभाव कस्तो छ भने, त्यसको सिको गरेर अलि पर अर्को लस्सी भण्डार खुलेको छ । जहाँ बिचरा पसलेले लस्सी पसलको नक्कल गरे पनि त्यो गुणस्तर  भने आफ्नोमा कायम गर्न सकेको छैन । नचाहेको हो या नसकेको हो,  कमसल गुणस्तर बेचेरै ग्राहकलाई उल्लू बनाएर पल्लो छेउको असली लस्सीलाई छेड हानिरहेझैं लाग्छ । कसैले कुनै काम वा व्यवसायमा राम्रो गर्‍यो भने, गहिरो गरी नविचारी हत्त न पत्त त्यही काम नक्कल गरिहाल्ने हामी नेपालीको प्रवृत्ति लस्सी पसलले पनि चरितार्थ गर्‍यो ।

Lassi-2जनकपुर लस्सी भण्डारमा झुम्मिने मान्छेहरू साँगुरो सडकमा ठोक्किइहालूँला भने झैँ गुडिरहने सवारी साधनको भय पचाएर लाम लागिरहेका हुन्छन् ।  ठूलो गिलासको ३० र सानोको २० रुपैयाँमा पाइन्छ लस्सी । भड्डुको भाँडामा दही, आइस, चिनी मिसाएर घोलेर लस्सी बनाउँदै गिलास भर्दै गरेका भेटिन्छन् मोटे दाइ । तपाईँको गिलासमा सोझै लस्सीको झोल मात्र आइपुग्दैन; काजु, किसमिस, रावडी र क्रिम पनि सरक्क माथितिर तरपरिएको पाउनुहुनेछ ।

यस हिसाबले स्वादिलो मात्र होइन, पोषिलो पनि मान्नुपर्ला लस्सीलाई । आइस मिसाएकाले केही बिगार चाहिँ गर्ला कि ? नत्र प्रायजसो दही वा कागती-चिनी-पानीको सर्बत र मोही खाने स्वाद बसेको हाम्रो जिभ्रोले पक्कै नौलो स्वाद पाउनेछ लस्सीबाट । कुनै दिन गर्मीले रुखिंदै न्युरोडको इन्द्रचौक पुग्नुभयो भने लस्सी स्वाद लिएर आफैं पारख गर्नुहोला । स्वादको गलत व्याख्या गरेको रहेछु भने कारबाहीको भागीदार बनूँला । :-)

------------------
अपडेट : दूधको मूल्य बढेसँगै चैत १४ गतेबाट लस्सीको भाउ पनि बढेछ है । ठूलो गिलासको ४० र सानो गिलासको २५ रूपैयाँ पुगेछ । छेउको कमसल स्वादवाला लस्सी पसलले पनि मूल्यवृद्धिको सिको नगर्ने कुरै भएन ! महँगीले लस्सी धरीलाई छाडेन बा !

5 comments:

  1. ha ha Lassi garmi ko bela ma ta Moi ko majja dincha ni haina ta .

    Aashish @ Nepali Songs

    ReplyDelete
  2. त्यही भन्या । सहराँ काँ बाट पाउने हो मोही ? डेरीतिरको खलम्पुरे मोही खाँदा झाडाले सताउला ! (खै कस्तो पानी मिसाउने हुन् ?) बिरामी भए पनि लस्सी खाएरै भएको बिरामीको सान बेग्लै ! :)

    ReplyDelete
  3. I remembered one saying which said... If one person in the village buys a "Sanyo" radio, then the whole village buys it.

    Same is the case with the Ranjana Galli ko soda... I hope you have tried it.

    ReplyDelete
  4. न्युरोड पुगिरहिने भइएपनि, यो कुरा मा खासै चासो दिइएको थिएन ! अब ट्राइ गर्नुपर्ला !

    ReplyDelete
  5. yo lassi saachai daami cha dai aus aaunu agillo din khayeko thiye aahile samma yesko swaad mukh ma jhundi raheko cha. raamro kura ko bigyaapan garnu bhako cha dai dhanyawaad
    diwas

    ReplyDelete