Subscribe:

Ads 468x60px

01 April 2011

तीनवर्षे ब्लगिङ र आत्मस्वीकृति : यो अप्रिल फुल होइन

देखासिकीमा लेख्‍न सुरु गरेको ब्लगको यात्राले पनि तीन वर्ष पूरा गरिसकेछ । २००८ मा अप्रिल १ कै दिन पहिलो पोस्ट लेख्‍दा धन्न अप्रिल फुल भएर केही न केहीको बकवास भएर हराइनछु ! यसबीचमा ‘क्याफे मङ्गलम्’ को नामबाट सुरु भएको यात्रा अहिले साहित्यप्रधान ब्लगको परिचयमा ‘शब्द’ भएर लम्किरहेछ । नाम फेरिए पनि ‘साहित्य, समाज र संस्कृति’को तीन पाटोलाई लेखन दायराबाट छाडेको छैन । यतिबेला आएर म कुनै अहम् भाव राखेर दाबी गर्दिनँ, कमसलभन्दा कमसल साहित्य पनि लेखेँ होला । तर, समग्रमा विश्‍व, देश, समाज, छिमेकी र व्यक्तिहरूबारे लेख्‍दै आउँदा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन कि जस्तो घरिघरि लागिरहन्छ । बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्‍दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो ।

कतिपय विषयमा दीर्घकालीन प्रभाव पनि सोचिएन होला, कतिपय कुरा अरूलाई पेच पर्नेगरी र ह्‌याकुलाले मिचे जसरी लेखियो होला । तर ढाँटेर लेखिएन । कतिसम्म भने, हल्का काल्पनिक रङ-रोगन लगाएर आफ्नै गुप्‍त प्रेम र वियोगका छटपटीहरू पनि दुरुस्तै यही ब्लगको ऐनामा राखियो, कुनै धक नमानी । त्यो प्रेम कुनै साँच्चै प्रेम नै थियो होला, कुनै भने अति अपेक्षा, आग्रहभाव, एकल स्वार्थ र आक्रोशको कट्टु पहिरिएको नाङ्गेभुतुङ्गे थियो होला । अर्थात् जस्तो प्रेम गरियो, उसरी ब्लगमा लेखियो ।

कहिलेकाहीँ लाग्छ - यतिसम्म पारदर्शी त म नभए पनि हुन्थ्यो ! तर ब्लग लेख्‍नु भनेको आफूसँगको कुराकानी रहेछ (कम्तीमा मेरो लागि यस्तै भइरहेछ) । यो अन्तरङ्ग साथी हो, जो सँग अनुभूतिका गहिरा ओढारहरूबाट कहिले सुस्तरी फुसफुसाउँछु र कहिले उत्तेजनामा चिच्याउँछु । सबैसबै सहिदिन्छ यसले, यसैले त बारम्बार यसैलाई सुनाउन मन लाग्छ आफ्ना अनुभूति र विचारका कुराकन्था ।

ब्लगको कुरा गर्दा पहिले आफ्नै विशेषता र आनीबानीबारे कुरा खोतल्दा ठीक होला । लेखन भनेको त व्यक्तिकै प्रतिकृति तथा प्रतिलिपि न हो । ब्लग पढ्दा मेरो ब्लगका अनियमित पाठकहरूले विविधताको स्वाद पाउँदैनन् कहिल्यै, एकरसताको सिलसिला हुन्छ लेखनमा । यो स्विकार्नुपर्छ मैले, स्विकार्छु । लेखाइको यही एकोहोरो शैली नै मेरो विशेषता हो क्यार ! लेखनमा धेरै स्वाद र विविधता नआउनुको कारण - मेरो विवेकको क्षेत्रफल सीमित छ । साथी सर्कल झन् सानो, आफैंमा मग्न हुन मन पराउँछु अक्सर । साथीभाइ र समाज नै हुन् तपाईँको लेखनका स्रोत । तपाईँ पर्यटक जस्तै तिनमा फन्को लाउनुहुन्छ, सरसङ्गत गर्नुहुन्छ र तिनबाट प्रभाव-छाप लिएर, कच्चा पदार्थ टिपेर शब्दमा उन्नुहुन्छ । म आफूमै खुम्चिन्छु भने नयाँ कुरा के दिउँला लेखनमा ? प्रश्‍न यही हो । पेसागत रूपमा पत्रकारितामा जब आएँ, बल्ल हो अन्तर्मुखीबाट बहिर्मुखीतर्फ मोडिंदै गएको । तर पूर्ण रूपमा बहिर्मुखी हुन सक्ने छुइनँ म, चाहान्नँ पनि । यो समाज र समय पूर्णरूपमा बहिर्मुखी हुन सुहाउँदो त्यस्तो विश्‍वासिलो र ढुक्क खालको छ भन्ने तपाईँलाई पनि लाग्दैन सायद ! 

अँ त, मेरो लेखाइ अलि जटिल पनि छ रे ! छ नै । एउटी सँगीले भनेको कुरा अझै बेलाबेला सम्झिन्छु, “तिम्रो फलानो कविता तीन पटक दोहोर्‍याएपछि बल्ल अलिअलि बुझे जस्तो भो ।”

बुझिनकै लागि सायद लेख्दिनँ कि म ? बुझाएर कोही-कसैले बुझ्‍ने पनि होइन जस्तो लाग्छ । कक्षामा पाठ घोकाउने शिक्षकले जति नै गलाको नसा फुलाए पनि बरा विद्यार्थी पढाइकै लहरमा एकाकार भएर आफ्नो ग्रहणशीलता उदार पार्दैन भने के लाग्छ पढाउनेको पनि ? मेरो ब्लग लेखन र बुझाइको हिसाबमा त्यो नियम लागू नहोला । तर न म बुझाउनका लागि लेख्‍छु न आफ्नो पाण्डित्य प्रदर्शन गर्दै अलमल्याउनकै लागि लेख्‍छु । बस्, म लेख्‍छु । र सायद यही मेरो अलगपना पनि हो । भन्छन् नि, अलि ‘हटके से’ ! तर यो ‘हटके से’ बनाउने नाममा नियोजित रूपमा भाषिक जटिलताको ओइरो लगाउने गरेको छैन । बरू सम्प्रेषणीय र विशुद्ध नेपाली भाषाको वकालत गर्नमा एउटा मुठी मेरो पनि उठ्दै आएको छ ।

यी तीन वर्षसम्म मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार ! नेपाली ब्लगर सर्कलमा कतिपयसँग सहोदर दाजु-भाइको जस्तो पारिवारिक सम्बन्ध समेत बनेको छ, मेरो कमाइ यही हो ।

अन्त्यमा एक टुक्रा :

आय-व्यय

तीन वर्ष
तीन महिना
तीन दिन

- तिम्रो तीन वर्षको छोरा
- एक फग्लेटा घडेरी
- हिमाल नाघ्‍ने चुली सपना

मेरो भने
शब्दहरू बान्ता गर्ने
झन्-झन् भयानक
दिन-दिन दर्दनाक
अभिव्यक्तिको रोग ।

13 comments:

  1. बधाई तीन वर्षको यात्रा सफलतापूर्वक पूरा गरेकोमा! र शुभकामना आगामी दिनको निरन्तरता र सफलताको लागि!

    बाँकी कुरा, आलोचना आदिका कुरा त तपाईँका रचनामै गरुम्ला:)

    ReplyDelete
  2. ३ वर्ष पार गर्नु भएको मा बधाइ तथा शुभकामना !!!

    बिचमा अनियमित बन्नु भएको भएपनि, हिजोआज नियमित देख्ने गरेको छु ! यो नियमितता कायम रहोस् !!!

    ब्लग भनेकै आफ्नो गन्थन गर्ने थलो हो, अत: राम्रो-नराम्रो भन्ने कुरा समय र परिस्थिति अनि बुझाइमा भर पर्छ !

    ReplyDelete
  3. मेरो पनि हार्दिक बधाई र निरन्तरताको शुभकामना ! ।

    ReplyDelete
  4. Happy Blogging !! Keep on writing !

    :)

    ReplyDelete
  5. मेरो तर्फबाट पनि धेरै-धेरै बधाई तथा आगामी दिनका लागि शुभकामना! यस्तै मिठा र गहिरा कुरा पढ्न पाइरहूँ।

    ReplyDelete
  6. पार भैसकेको तीनवर्षे यात्राको साथै आगामी हिंड्नु पर्ने सिंगो यूगको शुभकामना !

    सँधै पढ्न पाईरहुँ यहाँलाई शब्दहरुमा ।

    ReplyDelete
  7. Happy Blogging, Dhaiba G!!!

    ReplyDelete
  8. ३ बर्ष सफलतापूर्बक सम्पन्न गर्नु भएकोमा हार्दिक बधाइ तथा आगामी दिनका लागि शुभकामना ।

    ReplyDelete
  9. जीवन जी लाइ मेरो पनि ढिलै भए'पनि ब्लग दुनियामा ३ बर्षेकाल पुरा गर्नु भएकोमा हार्दिक बधाइ छ र आउदा दिनहरुमा ब्लगिंगको निरन्तरताको साथै हामी जस्ता लाखौ पठकको मन जिती रहन सफल हुनु होस भन्ने शुभ कामना छ !

    ReplyDelete
  10. Dherai dherai badhaai chha Dhaiba jee... yo 3 barsa ko safal blogging yatra ko laagi... lekhan ko gati ajhai tibra ra dhaarilo bandai jaaos!! Subhakamana cha. Ek hisaable tapaiko blog le malai prabhabit garirahancha.. prabhabit bhairahana awasar dinuhola(Alikati swartha:)

    ReplyDelete
  11. I'm here too late to comment. But it is said - It's never late to start. And there is saying - Jab jaage tab savera :)

    I also have been blogging since last 8 years. And I too write my personal stuffs and some of my blog friends read them with interest.

    I take blog as an E-Diary and of course we have to be honest. At least for the self. As far I understood, you are simply simple person full of feelings so let your feelings to flow no matter it's sweet, bitter, salty or sour.... All these are parts of our line and only one makes life monotonous. So keep enjoying.....

    As regarding style, here I recall the saying of Jonathan Swift - Propers words in proper place make the true definition of style. And I see you already have style and that makes you different. Without being too concern about it, just keep writing with your virtue. Never let change yourself in any condition. :)

    God Bless you. Wish you all the best and keep wliting :)

    ReplyDelete
  12. - तिम्रो तीन वर्षको छोरा
    - एक फग्लेटा घडेरी
    - हिमाल नाघ्‍ने चुली सपना

    hmmmmmmm It reminded me line of one of Bhupi's Poems on/about woman. Specially the line - - एक फग्लेटा घडेरी.....

    Vishwas ko ek kunama euta ghaLbari..........

    :)

    ReplyDelete